मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ ८ मंगलबार ०६:४०:००
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कस्ता व्यक्तिमा दोहोरो संक्रमणको जोखिम बढी ?

दुई वा दुईभन्दा बढी भेरियन्ट संक्रमण सामान्यतया भ्याक्सिन नलगाएका वा एक डोज मात्रै लगाएकाहरूमा देखिएको अध्ययनले देखाएको छ

Read Time : > 2 मिनेट
२०७८ भदौ ८ मंगलबार ०६:४०:००

पछिल्लो समय दोहोरो संक्रमण अर्थात् एकैपटक कोभिडका दुईवटा भेरियन्टका केसहरू फेला पर्न थालेपछि कोभिडबारे अनुसन्धानमा नयाँ विषय थपिएको छ । एउटै समयमा एकभन्दा बढी भेरियन्ट संक्रमण भए स्वास्थ्यमा गम्भीर समस्या हुने भएपछि वैज्ञानिक र चिकित्सकहरूमा चिन्ता बढेको हो । 

अघिल्लो साता भारतको आसाममा एकजना चिकित्सकमा एकैपटक डेल्टा र अल्फा भेरियन्ट संक्रमण देखिएपछि दक्षिण एसियामा समेत दोहोरो संक्रमणबारे अध्ययन हुन थालेको छ । दुई भेरियन्ट संक्रमण देखिएका व्यक्तिमा अनिद्रा, घाँटी दुख्ने र शरीर दुख्नेजस्ता सामान्य लक्षण मात्रै देखिएको आसाममा चिकित्सकहरूको समूहले बताएको छ । योसँगै दुई वा दुईभन्दा बढी भेरियन्टले एकैपटक संक्रमण गराउन सक्ने पुष्टि भएको छ । यद्यपि, यस्ता केसहरू एकदमै कम भेटिएकाले संक्रमणदर र मृत्युदरबारे हालसम्म ठोस परिणामहरू सार्वजनिक भइसकेका छैनन् । 

विश्वभर एकभन्दा बढी भेरियन्ट संक्रमणका केसहरूको खोजी भइरहेको छ । यस्तै भाइरसले शरीरमा गर्ने अन्तक्र्रिया र यसबाट निम्तिने नयाँ भेरियन्टबारे पनि विभिन्न प्रश्न उठाएको छ । एक अध्ययनले दुई वा दुईभन्दा बढी भेरियन्ट संक्रमण सामान्यतया भ्याक्सिन नलगाएका वा एक डोज मात्रै लगाएकाहरूमा देखिएको जनाएको छ । तर, एकदमै न्यून व्यक्तिहरूमा अन्य भाइरसमा समेत एउटै परिवारका भेरियन्टहरू एकैपटक संक्रमण हुने भएकोले मल्टिपल इन्फेक्सनलाई अध्ययनमा संलग्न विज्ञहरूले सामान्य भएको बताएका छन् । 

 भ्याक्सिनको पहुँच नभएकाहरूमा मल्टिपल संक्रमण 
मल्टिपल भेरियन्ट संक्रमण देखिएका अधिकांशमा भ्याक्सिनको पहुँच नभएको एक अध्ययनले जनाएको छ । आसाममा मल्टिपल भेरियन्टको केसहरू भेटिएपछि गरिएको अध्ययनमा कोभिडविरुद्धको भ्याक्सिन नलगाएका र एक मात्र डोज लगाएका व्यक्ति बढी जोखिममा रहेको पाइएको छ । कोभिडबाहेक अन्य संक्रमणमा समेत दोहोरो संक्रमण सम्भव भए पनि खोप नलगाएका मानिसमा बढी देखिनुले प्रश्न उब्जाएको विज्ञहरूले बताएका छन् ।

भारतबाहेक अन्य देशहरूमा पनि दोहोरो संक्रमण देखिएको छ । तर, यो दर एकदमै न्यून देखिनुले गम्भीर समस्या ननिम्त्याउने भाइरोलोजिस्टहरूको अनुमान छ । भाइरोलोजिस्ट डा. शेरबहादुर पुन भन्छन्, ‘विश्वभर करिब ५० भन्दा बढी देशमा अल्फा र डेल्टा भेरियन्टले संक्रमण फैलाइरहेका छन्, तर दोहोरो संक्रमण न्यून देखिन्छ ।’ अमेरिकामा पनि यसअघि यस्ता केसहरू भेटिएका थिए । भ्याक्सिन लगाउनको संख्या बढ्दै गए पनि दोहोरो संक्रमण नदेखिएको हुन सक्ने विज्ञहरूको अनुमान छ । सामान्यतया कोरोना भाइरसविरुद्धको पूर्ण डोज लगाएकाहरूमा पुनः संक्रमण र गम्भीर संक्रमणको सम्भावना कम हुन्छ, यस्तै दोहोरो संक्रमणको जोखिमसमेत घटाउने भएकोले सकेसम्म भ्याक्सिनेसन कार्यक्रम बढाउनुपर्ने चिकित्सकहरूको भनाइ छ ।

दोहोरो संक्रमण सामान्य : चिकित्सक
संक्रमणदर र मृत्युदर न्यून रहेकाले दोहोरो संक्रमण सामान्य रहेको चिकित्सकहरू बताउँछन् । कोभिडका दुइटा भेरियन्ट एकैपटक संक्रमण भएको पहिलो केस बेल्जियममा भेटिएको थियो । युरोपियन कंग्रेस अफ क्लिनिकल माइक्रोबायोलोजी एन्ड इन्फेक्सियस डिजिजले दोहोरो संक्रमित एक महिलामा अध्ययन गरेको थियो । उनले भ्याक्सिन नलगाएको अध्ययनले पुष्टि गरेको छ ।

दुर्घटनामा परेर ३ मार्चमा अस्पताल भर्ना भएकी ती महिलामा चेकजाँचको क्रममा कोभिड पजिटिभ पाइएको थियो । संक्रमणका अन्य लक्षण नदेखिए पनि श्वासप्रश्वासमा तीव्र समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको पाँच दिनपछि अस्पतालमै मृत्यु भयो । परीक्षणको क्रममा डेल्टा र बेटा भेरियन्ट फैलिएको पुष्टि भएको थियो । मार्चमा बेल्जियममा यी दुई भेरियन्टले संक्रमण फैलाइरहेका थिए । तर, ती महिलामा दुईवटा संक्रमण कसरी देखियो भन्ने हालसम्म पुष्टि भएको पाइँदैन । विज्ञहरूले यसलाई कोभिडमा दोहोरो संक्रमणको पहिलो केस मानेका छन् ।


यसबाहेक गत मार्चमै बाज्रिलमा समेत दुईजनामा दोहोरो संक्रमण देखिएको थियो । चिकित्सकहरूमा अनुसार अन्य भाइरसमा यस्ता केसहरू सामान्य भए पनि कोभिड संक्रमणमा भने बृहत् अध्ययनको अभावमा यसको असर पहिचान हुन सकेको छैन । कोभिडमा मल्टिपल संक्रमणदर र मृत्युदर एकदमै न्यून रहेको बताउँछन्, भाइरोलोजिस्ट डा. पुन । उनी भन्छन्, ‘अन्य भाइरल संक्रमणमा पनि यस्ता केसहरू भेटिन्छन् ।

नेपालमा पनि कोभिडका विभिन्न भेरियन्ट फैलिएकाले दोहोरो संक्रमणको केसहरू भेटिन सक्छन्, तर हालसम्म यसबारे अध्ययन नभएको र सामान्य परीक्षणमा नभेटिएकाले यसलाई सामान्य रूपमा लिन सकिन्छ ।’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झा नेपालमा हालसम्म दोहोरो संक्रमणका कुनै पनि केसहरू नभेटिएको बताउँछिन् । उनी भन्छिन्, ‘सिक्वेन्सिङका आधारमा हामीले गर्र्दै आएको परीक्षणमा एकै समयमा दुईवटा भेरियन्ट संक्रमण भेटिएको छैन ।’