प्रहरीले हुन्डी कारोबारमा संलग्न चार अभियुक्तलाई ९१ लाख ९६ हजार रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्ने ताहचलका ५३ वर्षीय तरुण अग्रवाल, तनहुँ भिमाद- १ का २५ वर्षीय नितेश श्रेष्ठ, रामेछाप देउराली- २ का २९ वर्षीय नरबहादुर खड्का र जोरपाटीका ३४ वर्षीय अर्जुन चौलागाईं रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएकाे प्रहरी टोलीले उनीहरूलाई गणबहालबाट पक्राउ गरेको हो । हुन्डी कारोबार भइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार तनुज इन्टरप्राइजेज प्रालिका नाममा उनीहरूले हुन्डी कारोबार गर्दै आएका थिए ।