०७२ को भूकम्पले क्षतिग्रस्त २८ वटा ऐतिहासिक सम्पदाहरू बन्दै, नदी संरक्षण र सौन्दर्यकरणमा जोड
बागमती नदीसँग जोडिएका टेकु दोभान, कालमोचनघाट र तीनदेवल क्षेत्रका २८ वटा ऐतिहासिक सम्पदा र जीर्णोद्धार धमाधम भइरहेको छ । गोकर्णदेखि बल्खुसम्म बागमती नदीको काठमाडौंपट्टि पौने ६ किलोमिटरमा पैदलमार्ग निर्माण भइरहेको छ । राणाकालीन र त्यसपछि निर्माण गरिएका सत्तल र पाटी पुसभित्र जीर्णोद्धार गर्ने लक्ष्य छ । बागमती नदी सभ्यता संरक्षण गर्दै त्यस क्षेत्रलाई हराभरा बनाउन लागिएको छ ।
अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बागमती सुधार आयोजनाले तीनवटा प्याकेजमा बागमती नदी किनारका ऐतिहासिक सम्पदा र स्मारकको जीर्णोद्धार गरिरहेको छ । एउटा प्याकेजमा टेकु दोभान क्षेत्रका कार्की सत्तल, मानन्धर सत्तल, शिव मन्दिर, मुन्सीघाट सत्तल, पञ्चनारी सत्तल, लक्ष्मेश्वर मन्दिर र सत्तल, राजभण्डारी सत्तल, पुजारी सत्तल, पुरोहित घाट र सत्तल र पश्चिम सत्तल जीर्णोद्धार सम्पन्न हुँदैछन् ।
दोस्रो प्याकेजमा तीनदेवल क्षेत्रका नारायण सत्तल, पञ्चलिंगेश्वर मन्दिर, तीनदेवल मन्दिर चौघेडा सत्तल, कृष्णसुभद्रा मन्दिर, शिव मन्दिर, सीताराम मन्दिर, हनुमान सत्तल, माथेमा सत्तल र धर्मशाला सत्तल जीर्णोद्धार हुनेछन् । तेस्रो प्याकेजमा भने कालमोचनघाट क्षेत्रमा कालमोचनघाट सत्तल, वैरागी सत्तल, उदासी सत्तल र सन्यासी सत्तल पनि पुनर्निर्माण सम्पन्न हुनेछन् ।
एसियाली विकास बैंकको लागतमा सम्पदाहरूको जीर्णोद्धार भइरहेको हो । ०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका टेकु दोभानका २३ वटा ठूला र पाँचवटा साना सम्पदा निर्माण भइरहेको बागमती सुधार आयोजनाकी परियोजना उपनिर्देशक रमिता श्रेष्ठले जानकारी दिइन् ।
‘सत्तलहरूको जीर्णोद्धार तीनवटा प्याकेजमा भइरहेको छ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भनिन्, ‘सन् २०२१ भित्रै सम्पन्न गरेर हस्तान्तरण गर्छौँ ।’ कुन मोडालिटीमा स्थानीय तहलाई हस्तान्तरण गर्ने र हस्तान्तरणपछिको संरक्षण कसरी गर्ने भन्नेमा पनि छलफल भइरहेको उनले बताइन् । ऐतिहासिक सम्पदा तथा स्मारकहरूको पुनस्र्थापनाका लागि एक करोड १० लाख ५० हजार अमेरिकी डलरको बजेट व्यवस्था गरिएको छ । ऐतिहासिक सम्पदाको जीर्णोद्धारसँगै सातवटा अपांगमैत्री शौचालय पनि निर्माण भइरहेको छ ।
आयोजनाले परापूर्वकालदेखिको बागमती सभ्यता संरक्षणका लागि करिडोरमा सौन्दर्यकरण गर्न लागेको छ । करिडोरमा वृक्षारोपण तथा पैदलयात्रु हिँड्ने पेटी, घाट र भकारी पनि निर्माण भइरहेको छ । एक वर्षभित्रै यो काम सम्पन्न हुने आयोजनाले जनाएको छ । बागमती किनारमा हरियाली, सौन्दर्यकरणसँगै पैदल यात्राका लागि पेटी निर्माण गर्दा प्रदूषण पनि घट्ने विश्वास आयोजनाको छ ।
रमिता श्रेष्ठ, परियोजना उपनिर्देशक बागमती सुधार आयोजना
०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका टेकु दोभानका २३ वटा ठूला र पाँचवटा साना सम्पदा निर्माण भइरहेको छ । आयोजनाको मुख्य अभिप्राय सफा, स्वच्छ, हरियालीयुक्त नदी प्रणालीको पुनस्र्थापना गर्ने रहेको छ, जसमा जीवन सम्भव हुनेछ र सबैका लागि त्यो प्रणाली महत्वपूर्ण हुनेछ ।
बागमती सभ्यता नदीसँग जोडिएका कारण नदी संरक्षण र सौन्दर्यकरणमा जोड दिइएको उपनिर्देशक श्रेष्ठले जानकारी दिइन् । बागमती नदीको बागद्वारदेखि चोभारसम्मको लम्बाइ करिब ३५ किमि छ । उपत्यकाभित्रको जलाधार क्षेत्र करिब १५७ वर्ग किमि छ । बागमती नदीमा सातवटा सहायक नदी र पाँचवटा खोलाहरू मिसिएका छन् । यसमा बागमती, विष्णुमती, धोबीखोला (रुद्रमती), मनहरा, नख्खुुखोला, बल्खु र टुकुचा (इच्छुमती) छन् । गोदावरी, हनुमन्ते, साङ्ला, महादेव र कोड्कु खोलाको निकास पनि बागमतीमै मिसिन्छ ।
यसरी सुरु भयो आयोजना
केही दशकयता काठमाडौं उपत्यकाको जनघनत्वमा तीव्र वृद्धि हुँदै गएको छ । जनसंख्या वृद्धिको चाप यहाँका प्राकृतिक स्रोतहरूमा परिरहेको छ । उपत्यकाको बढ्दो प्रदूषण र नदी प्रणालीमा परेको प्रभावलाई मध्यनजर गरी नदी सभ्यताको संरक्षणका लागि सरकारले सन् २००९ मा बागमती कार्ययोजना तयार पारेको थियो । त्यसको कार्यान्वयनका लागि सरकारले एसियाली विकास बैंकको ऋण र अनुदान प्राप्त गरी सहरी विकास मन्त्रालयको मातहतमा ०७१ देखि बागमती सुधार आयोजना कार्यान्वयन गरिरहेको छ । आयोजना कार्यान्वयन तहमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, जल तथा ऊर्जा आयोग र सिँचाइ विभाग संलग्न छन् ।
आयोजनाको पहिलो चरणमा बागमतीको उद्गमस्थल धापमा वर्षात्को पानी संकलन गरी सुख्खायाममा नदीमा पानी प्रवाह गर्न धाप बाँधको निर्माण भएको छ । यसैगरी, नदीको गोकर्णदेखि सिनामंगल पुलसम्मको दुवै किनारा सुधार गरी सुन्दर बनाउने, शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलाधार व्यवस्थापनका कार्य गर्ने, घरघरमा वर्षात्को पानी संकलन र पुनर्भरणको कार्य सञ्चालन गरिएका छन् । आयोजनाका अनुसार फोहोरमैला व्यवस्थापन तथा सामाजिक परिचालनको कार्यक्रममार्फत सुन्दरीजलदेखि सिनामंगल क्षेत्रसम्म फोहोरमैला व्यवस्थापन, जनचेतना विस्तारलगायतका कार्यहरू भएका थिए ।
‘आयोजनाको मुख्य अभिप्राय सफा, स्वच्छ, हरियालीयुक्त नदी प्रणालीको पुनस्र्थापना गर्ने रहेको छ, जसमा जीवन सम्भव हुनेछ र सबैका लागि त्यो प्रणाली महत्वपूर्ण हुनेछ,’ उपनिर्देशक श्रेष्ठले भनिन् ।
आयोजनाका अनुसार सुख्खायाममा नदीमा पानीको प्रवाह बढाउन जलाधार संरक्षणमा जोड दिइएको छ । टुकुचामा फोहोर पानी प्रशोधनशाला निर्माण र सञ्चालन गरी बागमतीमा सफा पानी प्रवाह गर्ने लक्ष्य राखिएको छ । यसका लागि टेन्डर आह्वान भइसकेको छ । आयोजनाले बागमतीमा बाढी पूर्वानुमान र पूर्वसूचना प्रणाली स्थापना गर्ने क्रममा तल्लो तटीय क्षेत्रका १८ समुदायको दक्षता अभिवृद्धिमार्फत समुदायमा आधारित पूर्वसूचना प्रणाली स्थापना गर्ने पनि लक्ष्य राखेको छ ।
टुकुचामा फोहोर पानी प्रशोधन केन्द्रको डिजाइन, निर्माण र सञ्चालन गर्ने आयोजनाको तयारी छ । टुकुचा र बागमतीको संगमस्थलमा दैनिक एक करोड ७३ लाख लिटर क्षमताको फोहोर पानी प्रशोधन केन्द्र स्थापना गरी प्रशोधित पानी बागमतीमा प्रवाह गराउने आयोजनाको लक्ष्य छ । यसका लागि दुई करोड ९६ लाख २० हजार अमेरिकी डलर खर्च हुनेछ ।
नदी किनारा संरक्षण तथा भूसतह व्यवस्थापन (ल्यान्डस्केपिङ) को काम पनि धमाधम भइरहेको छ । आयोजनाका अनुसार पैदलमार्ग, पर्खाल, भकारीसहितको घाट तथा साना संरचनाजस्तै शौचालय निर्माण हुनेछ । भूसतह व्यवस्थापन कार्यअन्तर्गत नदीकिनाराको भूसतहको व्यवस्थापन गर्ने क्रममा गोकर्ण÷उत्तरगया, गुह्वेश्वरी क्षेत्र तथा थापाथलीदेखि बल्खुसम्म नदीको दुवै किनाराको ५.७५ किलोमिटरमा नदीवरपरको क्षेत्र व्यवस्थित गर्ने लक्ष्य छ । यसका लागि आयोजनाले एक करोड ४८ लाख ५० हजार डलर खर्च गर्दै छ ।
आयोजनाले सामुदायिक नेतृत्व विकासमार्फत बागमतीको पर्यावरण सुधार कार्यक्रम पनि जारी राखेको छ । भौतिक निर्माण कार्यसँगै जनसहभागिता प्रवद्र्धनमार्फत नदी प्रणालीलाई स्वच्छ राख्ने उद्देश्यले आयोजनाले सिनामंगल पुलदेखि नख्खु दोभानसम्म नदीवरपरको क्षेत्रलाई समेटिएको सामुदायिक नेतृत्व विकासमार्फत बागमतीको पर्यावरणीय सुधार कार्यक्रम सञ्चालन गरिरहेको छ । बागमती सुधार आयोजनाको सुरुको लागत तीन करोड ६० लाख अमेरिकी डलर थियो । अतिरिक्त लगानीअन्तर्गत गरिने कार्यहरूको लागत सात करोड ८८ लाख अमेरिकी डलर रहेको छ ।