मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर २० सोमबार
  • Monday, 06 December, 2021
तस्बिर सौजन्य : जीवन आले
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण २१ बिहीबार ०६:५६:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सहरमा नाटक : पृथ्वीमा अनुपस्थित तीन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण २१ बिहीबार ०६:५६:००

‘आजाद’ नामको एक अध बैँसे पुरुष स्टेजमा उक्लन्छ । आजाद अर्थात् स्वतन्त्र । तर, नामको अर्थ अर्कै, यथार्थ अर्कै । नामजस्तो ऊ आजाद छैन, बाँधिएको छ । ऊभित्र अनेकानेक तहहरू छन् । ऊभित्र अस्तित्वको भोक छ । ऊ आफू हुनुको दाबी कुनै न कुनै माध्यमबाट उद्घोष गरिरहन चाहन्छ । ऊ पाप–पुण्यको हिसाबकिताबका कारण नर्क पुगेको छ । त्यहाँ पनि अस्तित्वको मोह छुटेको छैन । ऊ आफूलाई कुनै पनि हालतमा प्रमाणित गर्न चाहन्छ । 

उसको साथमा छ नर्कका म्यानेजर । सुनासन, सन्नाटामय नर्कको उज्यालो कोठामा बत्ती निभ्दैन । बत्ती ननिभेपछि निदाउन सकिँदैन । आरामले निदाएर मिठो सपना देख्न पाइँदैन । उक्त अधबैँसे पुरुष नर्कको म्यानेजरको सर्त सुनेर चकित हुन थाल्छ । उसको व्यवहारले भन्छ, ‘मानिसलाई उज्यालो जति आवश्यक हुन्छ, अँध्यारो पनि उत्तिकै आवश्यक हुन्छ ।’ के–के गर्न पाइने र के–के गर्न नपाइने ? म्यानेजरको सर्तहरूले आजित भइरहन्छ । केही नभए पनि कमसेकम ऐना भए त हुने ! आफैँलाई हेरेरै दिन कटाउन हुने थियो । ऊ दिक्दार हुँदै बोल्छ, ‘यहाँ फुटाउने सामानसम्म केही छैन, कसरी दिन कटाउनू !’ 

ऊ भर्खरै नर्कमा आइपुगेको छ । पृथ्वीमा हुँदा श्रीमतीको विश्वासमाथि घात गरेको थियो । साथमा ऊ क्रान्तिकारी थियो, जसकारण छातीमा बाह्र गोली थापेको थियो । ऊसँगै अरू दुईजना महिला पनि आउँछन् । एकछिन, जिद्दी केटी अभिलाषा । हक्की स्वभावकी छे । छोटो–छोटो कपाल काटेकी ऊ चाँडै आक्रामक बनिहाल्छे । चाँडै नरम बनिहाल्छे । ऊ समलिंगी हो ।

अर्को एक पात्र इच्छाको लासमा धुवाँ पुत्ताइरहेको छ पृथ्वीमा । कोही आफन्त रोइरहेका छन् त कोही आफन्तको आँखामा थोपो आँसु छैन । उसले सम्पत्तिको लोभमा वृद्ध पुरुषसँग विवाह गरेकी थिई । ऊ पनि नर्कमा आइपुगेकी छे । तीन पात्रले नाटकलाई अगाडि बढाउँछन् । मानिसको चेतन अथवा अवचेतन मस्तिष्कले अस्तित्वको दाबी गरिरहन्छ । ऊ मृत्युपछि पनि आफ्नो अस्तित्व जीवित राख्न चाहन्छ । मर्नेवेला अन्तिम चाहना भन्छ । कसैले पाटीपौवा, चौतारा बनाइदिनू भन्छ । कसैले प्रतिष्ठान वा मूर्ति बनाइदिनू भन्छ । मृत्युपछि पनि जीवित हुन चाहने अभिलाषाले ग्रसित सारा मानिस जीवनभर अनेक हर्कत गरिरहन्छन् । ‘अनुपस्थित तीन’मा पाप गरेर नर्कमा पुगेका पात्रहरूले त्यहाँ पनि उक्त हर्कत गर्न छाड्दैनन् । 

यी पात्रहरू आफैँभित्रको अन्तरद्वन्द्वमा फसेका छन् । अनेक चरित्रसँग छन् । अनेक मुखौटासँग छन् । नाटक अगाडि बढ्दै जाँदा मुखौटा बिस्तारै उप्किँदै जान्छन् । असली अनुहार देखाउँदै जान्छन् । तर, फरक–फरक विगत र फरक स्वभावसहितका पात्रहरू एक ठाउँमा रहँदा कति होलाहल्लामय हुन्छ परिवेश ? जहाँ अल्मलिनका लागि केही केही छैन । आफ्नो सोच र दृष्टिकोणभन्दा बिल्कुल फरक चरित्रहरूसँग एक कोठामा समय कटाउन कति सकस होला ? उनीहरूबीचको छटपटी कस्तो होला ? त्यहाँ देखिने व्यक्तिवाद कस्तो होला ? एक अर्काबीचको आकर्षण र घृणा कति सुन्दर अथवा कुरुप होला ? शिल्पी थिएटर, बत्तीसपुतलीमा चलिरहेको नाटक ‘अनुपस्थित तीन’ ले यी प्रश्नहरू खोतल्ने प्रयत्न गर्छ ।

जाँ–पल सात्र्रले दोस्रो विश्वययुद्धको वेला अस्तित्ववादी फिलोसोफीमाथि लेखेको नाटक ‘नो एक्जिट’को नेपाली अनुवाद झन्डै आठ दशकपछि शिल्पीमा प्रदर्शन भइरहेको छ । सबै कुरा अस्तित्वमै निर्धारित हुन्छ, तर अस्तित्व नै दुःख हो, नाटक यस्तै तर्क गरेर अगाडि बढ्छ । अंग्रेजीबाट अनुवाद भएको नाटकलाई नेपालीकरण गरिएको छ । नेपाली लोकेसन र नेपाली थरसहितका पात्र छन् । पात्रहरू विचलित र अस्थिर छन् । आफ्नै निजी विश्वास भत्काइरहन्छन्, तमासा देखाइरहन्छन् । 

कोभिड महामारीले अप्ठ्यारोमा परेको छ, नेपाली रंगमन्च । यहीवेला सात्र्रको अस्तित्ववादी नाटक नै अनुवाद गर्नुको कारण खोतल्छन् अनुवादक अवतार पाठक, ‘नाटकमा हामीले जसरी सामाजिक विषयको उठान गरिरहेका छौँ त्यो तरिका र शैलीप्रतिको असन्तुष्टिले यो नाटक अनुवाद गरेको हुँ ।’ साथमा, त्यो वेलाको फ्रान्सको समाज र अहिलेको हाम्रो समाजको तुलनात्मक खोजका लागि नाटक अनुवाद गरेको पाठकको तर्क छ । भन्छन्, ‘हाम्रो समाज कति पछाडि छ भनेर देखाउन पनि यही नाटक छानेको हुँ ।’

करिब एक घन्टा दश मिनेटको नाटक एकै स्टेजमा सकिन्छ । ठूलो स्टेजमा निरन्तर तीनजना पात्रहरूलाई मात्रै हेरिरहँदा, सुनिरहँदा दर्शकलाई ‘मोनोटोनस फिल’ हुन सक्छ । एकै प्रकारको लाइट र एकै स्टेजमा तीन कुनामा बाँडिएका तीन पात्रमा कसलाई प्राथमिकता दिएर हेर्ने ? दोधारमा पर्न सक्छन् दर्शक ।

कोभिड महामारीका कारण मानिसहरू घरमै बस्न बाध्य भए । बन्द कोठाभित्र बसिरहँदा मानसिक समस्याहरूको सामना गरिरहेका छन् । अस्तित्वको संकटमा परिरहेका छन् । बन्द कोठाभित्र आफैँलाई खोज्नु र त्यहाँ आफूलाई भेट्नु गाह्रो त छँदै छ । त्यसमाथि मानसिक जटिलताहरू निम्तिइरहेको विविध रिपोर्टहरू सार्वजनिक भइरहेका छन् । हामीले बाँचिरहेको अहिलेको समय र यो नाटकबीच कतै न कतै अन्तरसम्बन्ध देखिएकाले मञ्चन गरिएको निर्देशक घिमिरे युवराजको भनाइ छ ।

नाटकमा तीन पात्र नर्कमा पुगेका छन् । तर, भनिन्छ, स्वर्ग र नर्क मिथ्या हुन् । फेरि स्वर्ग र नर्कप्रति विश्वास राख्नेहरूको जमात पनि कम छैन । झनै नर्कमा तातो तेलमा डुबाउनेदेखि आगोको भुंग्रोमा पोल्नेसम्मका विश्वासहरू छन् । तर, ‘अनुपस्थित तीन’मा देखाइएको नर्कमा त्यस्तो केही देखिँदैन । सात्र्रले नर्कको विम्ब लिनुमा त्यसवेला धर्म मान्नेहरूलाई व्यंग्य गरेको अनुमान गर्छन् पाठक । यथार्थमा मानिसहरू नै नर्क हुन् भन्न विम्बको रूपमा सात्र्रले ‘नर्क’लाई प्रयोग गरेको पाठकको बुझाइ छ । 

नाटक सरसर्ती अगाडि बढ्छ । नाटकसँगै पात्रभित्रका पात्रहरू अगाडि बढ्छन् । पात्र–पात्रबीचको खिचतानी अगाडि बढ्छ । उनीहरू पृथ्वी देख्छन् । पृथ्वीमा आफ्नाहरूलाई देख्छन् । आफ्नाहरूले गरिरहेको क्रिया देख्छन् । तर, नर्कबाट उनीहरूले बोलेको पृथ्वीमा सुनिँदैन । स्टेजको बीचमा चार इन्चजतिको काठको फलक छ । त्यहाँबाट मात्रै पृथ्वी देखिन्छ । जसै त्यहाँ उभिन्छन् पात्रहरू, त्यहाँ हरियो बत्ती बल्छ अर्थात् जीवनको बत्ती । 

करिब एक घन्टा दश मिनेटको नाटक एकै स्टेजमा सकिन्छ । ठूलो स्टेजमा निरन्तर तीनजना पात्रहरूलाई मात्रै हेरिरहँदा, सुनिरहँदा दर्शकलाई ‘मोनोटोनस फिल’ हुन सक्छ । एकै प्रकारको लाइट र एकै स्टेजमा तीन कुनामा बाँडिएका तीन पात्रमा कसलाई प्राथमिकता दिएर हेर्ने ? दोधारमा पर्न सक्छन् दर्शक । नाटकको सार र दर्शनभन्दा पर ‘रफ संवाद’लाई दर्शकले ज्यादा मजा मान्न सक्छन् । निर्देशक, कलाकार र टिमले एक तरिकाबाट भन्न खोजिरहेका हुन्छन्, दर्शकले अर्कै तरिकाबाट बुझिदिन सक्छन् । यसकारण पनि नाटकको सारसम्म पुग्न दर्शकले पनि निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । दर्शकलाई यो दुःख किन दिने भन्ने सवाल पनि जायज हुन सक्छ ।

तर, निकै लामो समयपछि रंगमञ्चमा फिरेका विपिन कार्की, उषा रजक र पवित्रा खड्काको अभिनय दर्शकको ध्यान खिचिरहन सक्षम छ । खड्का तुलनात्मक रूपमा अन्य कलाकारभन्दा खरो उत्रिएकी छिन् । कलाकारको अभिनयले नै दर्शकलाई एक घन्टा ज्यादा ‘होल्ड’ गर्न सक्षम छ नाटक । साथै रंगमञ्च अब पुनः लयमा फर्किँदै छ भनेर पनि शिल्पी थिएटर र ‘अनुपस्थित तीन’ले उद्घोष गरेको छ ।