मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिन लामबद्ध वैदेशिक रोजगारमा जाने श्रमिक । तस्बिर :दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १५ शुक्रबार १०:००:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोरोनाविरुद्धको खोपमा श्रमिकको छैन पहुँच

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १५ शुक्रबार १०:००:००

वैदेशिक रोजगारीमा जाँदा कोरोनाविरुद्धको खोप अनिवार्य छ । सरकारले त्यस्ता श्रमिकलाई खोपमा प्राथमिकता दिने निर्णय गरे पनि कार्यान्वयन फितलो छ । खोप उनीहरूको पहुँचमा छैन । 

खोप लगाएको प्रमाणपत्र लिन पनि श्रमिकहरूले उस्तै सास्ती झेल्नुपर्छ । सरकारले टेकु अस्पताल, नयाँ बानेश्वरस्थित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट श्रमिकले खोप लगाएको प्रमाणपत्र दिने व्यवस्था गरेको छ । तर, त्यहाँ मध्यरातिदेखि श्रमिक लाइनमा बस्नुपर्छ । 

कतार सरकारले भने क्युआर कोडको व्यवस्था गरिनुपर्ने माग राखेको छ । सरकारले एक–दुई दिनभित्र अनलाइन फारम भरी खोप लगाएको प्रमाणित गर्न क्युआर कोडको व्यवस्था गर्ने आश्वासन दिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव श्रेष्ठले बताए । 

त्यस्तै, साउदी अरब जाने श्रमिकले अराइभल रजिस्टे«सन भर्नुपर्ने हुन्छ । त्यसका लागि साउदी जाने श्रमिकसँग अनिवार्य रूपमा स्मार्ट फोन हुनुपर्नेछ । श्रमिकले प्ले स्टोरमा गएर कोभिड– १९ केएसए एप्लिकेसन डाउनलोड गरी आफ्नो सूचना भर्नुपर्ने महासचिव श्रेष्ठले बताए ।

साउदी अरब, कुवेत र कतारले अक्सफोर्ड एस्ट्राजेनेका, फाइजर, मोडर्ना, जोन्सन एन्ड जोन्सनको खोपलाई मात्रै मान्यता दिएको छ । कतारले भेरोसेलको हकमा भने अवस्था हेरीकन मान्यता दिने गरेको छ । भेरोसेल लगाएकालाई कतारले पुनः परीक्षण गर्ने गरेको छ । त्यसमा सरकारले तोकेअनुसारको स्वास्थ्य अवस्था पाइए श्रमिक सीधै काम गर्न जान पाउँछ, अन्यथा क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । 

युएईले भने अक्सफोर्ड एस्ट्राजेनेका, फाइजर, मोडर्ना र स्पुतनिक खोपलाई मान्यता दिएको छ । ओमानले अक्सफोर्ड एस्ट्राजेनेका, फाइजर, सिनोभ्याक र स्पुतनिकलाई मान्यता दिएको छ । बहराइनले अक्सफोर्ड एस्ट्राजेनेका, फाइजर, जोन्सन एन्ड जोन्सन र भेरोसेललाई मान्यता दिएको छ । त्यस्तै, मलेसियाले अक्सफोर्ड एस्ट्राजेनेका, फाइजर, जोन्सन एन्ड जोन्सन, सिनोभ्याक, स्पुतनिकलाई मान्यता दिएको छ । नेपालमा भने भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप मात्रै उपलब्ध छन् । 

कोरोना महामारीका कारण कोरिया, युएई, मलेसिया र कुवेतमा नेपाली कामदारलाई रोक लगाइएको छ । साउदी, बहराइन, ओमान र कतारले भने नेपाली श्रमिकलाई प्रवेशका लागि खुला गरेको छ । तर, साउदीमा प्रवेश गर्ने नेपाली श्रमिकले १० दिन क्वारेन्टिन बस्नुपर्ने प्रावधान राखेको छ । 

साउदी सरकारले साउदी जाने नेपाली श्रमिकलाई रोजगारदाता कम्पनीले नै क्वारेन्टिनको व्यवस्था गरेको साउदीका लागि नेपाली श्रम काउन्सिलर जीवन राईले बताए । तर, ठूला कम्पनीले मात्रै क्वारेन्टिनको व्यवस्था गरेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए । साना कम्पनीमा काम गर्ने गरी जाने श्रमिकले नेपालबाट नै क्वारेन्टिनको निश्चित गर्नुपर्ने उनले बताए । 

त्यस्तै, कतार सरकारले नेपाली श्रमिकले १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने प्रावधान राखेको छ । क्वारेन्टिनमा बसेका श्रमिकलाई कतार सरकारले नै खोपको व्यवस्था गरेको छ । ओमान जाने श्रमिक भने सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । युएईले गत २३ वैशाखदेखि नेपालबाट कामदार लगेको छैन । यद्यपि, कात्तिकमा मात्रै युएईका अर्धसरकारी कम्पनीले २९ हजार कामदारलाई रोजगारी दिने भन्दै नेपाली दूतावासमा प्रमाणीकरण गरेको छ । 

कुवेतले १७ साउनदेखि खोप लगाइसकेको कामदारलाई प्रवेशमा रोक नलगाउने सूचना जारी गरेको छ । खोप लगाएर पनि प्रमाणीकरण नभएका कारण विदेश जान नपाएका श्रमिकका लागि कुनै अनलाइन प्रमाणीकरणको व्यवस्था गरिदिन वैदेशिक रोजगार व्यवसायी संघले आग्रह गरेको छ ।