मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ श्रावण १४ बिहीबार १८:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दोर्दीका बाढीपीडित भन्छन्– गाँसको भन्दा वासको चिन्ता छ

Read Time : > 1 मिनेट
२०७८ श्रावण १४ बिहीबार १८:०२:००

गत १ असारको बाढीले विस्थापित भएका दोर्दी गाउँपालिका– ८ हिलेबजारका बाढीपीडितले आफूहरूलाई गाँसको भन्दा वासको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । दोर्दी गाउँपालिका– ८ हिलेबजारमा दोर्दीखोलाको बाढीले घर बगाएपछि कोठा भाडामा लिएर बस्दै आएकी अमृता विकले आफूहरूलाई गाँसको भन्दा वासको चिन्ता भएको बताइन् । 

उनले भनिन्, ‘बस्न पाए गाँसको व्यवस्था त दैनिक ज्यालादारी गरेर पनि मिलाउने थिएँ ।’ बाढीले घर बगाएपछि कहिले विद्यालय त कहिले आफन्तकोमा बस्दै आएकी अमृता हाल कोठा भाडामा लिएर बसेकी छिन् । 

दोर्दीकै गंगामाया गुरुङ पनि सुरक्षित ठाउँमा बस्नलाई सानो टहरा बनाइदिए गाँसको व्यवस्था त अरूको काम गरेर भए पनि निर्वाह गर्ने बताउँछिन् । उनी भन्छिन्, ‘बाढीले बस्ने घर नै बगायो, बाढीबाट ज्यान त बच्यो, तर बस्नलाई घर नै छैन ।’ सरकारले गाँसको भन्दा वासको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । 

विक र गुरुङले जस्तै बाढीले विस्थापित परिवारले गाँसको भन्दा पनि वासको व्यवस्था गर्न माग गरेका छन् । बाढीबाट विस्थापित भएका हिलेबजारवासी अहिले छिमेकीका घरमा डेरा गरी बसेका छन् । 

प्रदेश सरकार, स्थानीय सरकार, जिल्ला प्रशासन र विभिन्न सहयोगी व्यक्ति तथा संघसंस्थाबाट राहत पाएको, तर आफूहरूलाई बस्ने घरको खाँचो रहेको बाढीबाट विस्थापित आइते परियार बताउँछन् । बाढी प्रभावितको पुनस्र्थापनाका लागि पालिकाले पहल गरिरहेको दोर्दी गाउँपालिकाका सूचना अधिकारी धर्म गुरुङले बताए । उनले भने, ‘गाउँपालिकाले बाढी प्रभावितलाई प्राथमिकतामा राखेर काम गरेको छ ।’ 

विपतमा परेका नागरिकको घरदैलोमा पुगेर राहत तथा उद्धार कार्यमा आफूहरू खटिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । उनले भने, ‘बाढीपीडितको पुनस्र्थापनाका लागि संघ र प्रदेश सरकारमा पहल भइरहेको छ ।’ 

लुइँटेलका अनुसार संघ सरकार, प्रदेश सरकार साथै अन्य सम्बन्धित निकायलाई अनुरोध गरी पुनर्निर्माणका काम अघि बढाइनेछ । बाढीको जोखिमबाट हिलेबजारको बस्ती तथा अन्य भौतिक संरचना जोगाउन नेपाली सेना र स्थानीयले दोर्दी खोलामा तटबन्ध निर्माण गरेका छन् । 

बस्ती संरक्षणका लागि दोर्दीखोलामा तटबन्धका लागि गाउँपालिकाले पाँच लाख र प्रदेश सरकारको १० लाख विनियोजन गरेको थियो । दोर्दी खोलामा आएको बाढीले दोर्दी गाउँपालिका– ८ हिलेबाजरका २० घर बगाएको थियो ।