मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
लोकराज जोशी
२०७८ श्रावण १४ बिहीबार ११:२५:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सेयरबजार र आर्थिक वृद्धि

Read Time : > 4 मिनेट
लोकराज जोशी
२०७८ श्रावण १४ बिहीबार ११:२५:००

नेपालको पुँजीबजारमा निश्चित क्षेत्रका कम्पनीहरूको मात्रै बाहुल्यता भएकाले आर्थिक वृद्धिसँग पुँजीबजारको सम्बन्ध अध्ययनको विषय हो

सन् १७२० को मार्चमा ब्रिटिस एकाधिकार प्राप्त ‘साउथ सी’ कम्पनीले आश्चर्यजनक व्यावसायिक सफलता प्राप्त गरेको हल्ला व्यापक फैलियो र उक्त कम्पनीको सेयरमूल्य अचानक धेरै नै वृद्धि भयो । प्रसिद्ध वैज्ञानिक सर आइज्याक न्युटनले उक्त कम्पनीको सेयर थोरै मात्रामा पहिले नै खरिद गरेका थिए, त्यसबाट न्युटनलाई ठूलो लाभ प्राप्त भयो । सेयर बेचेपछि उक्त कम्पनीको सेयरको मूल्य झन् धेरै आकासियोे । न्यूटनले साउथ सीको सेयर बेचेको विषयले देशभर चर्चा पायो ।

न्युटनले मन थाम्न सकेनन्, आफूले बेचेको दुई महिनापछि नै पुनः उक्त कम्पनीको सेयर खरिद गरे । उनले खरिद गरेलगत्तै बबल (मूल्यमा अतिशय वृद्धि, उसैगरी ओरालिनु) फुट्यो, जुन घटनालाई साउथ सी बबलका नामले चिनिन्छ । यसबाट न्युटनले निकै ठूलो आर्थिक क्षति व्यहोर्नुप¥यो । त्यसपछि महान् वैज्ञानिक, जसले गुरुत्वाकर्षण र गतिको सिद्धान्त पत्ता लगाए, उनै न्युटनले भनेका छन्, ‘मैले आकासका ताराहरूको चाल थाहा पाउन सक्छु, तर मान्छेको पागलपनको सक्दिनँ ।’ त्यसबखत न्युटनले २० हजार पाउन्ड गुमाएका थिए, जुन अहिलेको मूल्यमा पाँच अर्ब रूपैयाँभन्दा बढी हुन आउँछ । बबल फुट्दा न्युटनले मात्रै नभई धेरैले ठूलो रकम गुमाएका थिए । यो घटनाको समाज, अर्थतन्त्र र राजनीतिमा परेको प्रभाव छुट्टै छ ।  

ब्रिटेनले देशको सार्वजनिक ऋणको भारलाई कम गर्न आम्दानीका लागि सन् १७११ मा साउथ सी कम्पनी स्थापना गरेको थियो । सन् १७१३ मा यो कम्पनीलाई एकाधिकार प्रदान गरियो । अफ्रिकन दासहरूलाई साउथ सी टापु र दक्षिण अमेरिकामा आपूर्ति गर्ने तथा व्यापार गर्ने कम्पनीको उद्देश्य थियो । कम्पनी स्थापना भएपछि ब्रिटेन युद्धमा गयो । युद्धमा स्पेन र पोर्चुगलले दक्षिण अमेरिकाको करिब सबैजसो भू–भाग कब्जा गरे । यो कम्पनीले दक्षिण अमेरिकाका देशहरूसँग व्यापार गर्न नसक्दा सोचेअनुसार नाफा आर्जन गर्न सकेन । तर पनि कम्पनीले भविष्यमा मुनाफा आर्जन गर्ने बेलायती नागरिकहरूको अनुमानका कारण कम्पनीको मूल्य अत्यधिक वृद्धि भएको थियो । 

पुँजीबजार र आर्थिक वृद्धि : विश्व बैंकको सन् १९९६ को इकोनोमिक रिभ्युमा प्रकाशित रोज लिभाइन र सारा जेरोभको ‘पुँजीबजारको विकास र दीर्घकालीन आर्थिक वृद्धि’ शीर्षकको अनुसन्धानपत्रले पुँजीबजारको आर्थिक वृद्धिसँग सम्बन्ध छ वा खेलाडीहरू आउने र बाजी लगाउने क्यासिनोका रूपमा मात्रै पँुजीबजार तीव्र गतिमा विकसित भइरहेको हो, त्यसको उत्तर खोजेको छ । उक्त अनुसन्धानको निष्कर्ष छ–पुँजीबजारको विकास र आर्थिक वृद्धिका बीच सकारात्मक सम्बन्ध हुन्छ । 

नेपालको पुँजीबजारको इतिहास लामो छैन । ०५० सालमा नेपाल स्टक एक्स्चेन्ज लिमिटेड स्थापना भएपछि व्यवस्थित तरिकाले धितोपत्रको कारोबार भएको हो । त्यसअघि ०३३ सालमा धितोपत्र विनिमय केन्द्र स्थापना गरिएको थियो । अझै अगाडि जाने हो भने वि.सं. १९९३ मा विराटनगर जुट मिलले सेयर जारी गरेको पाइन्छ । नेपालको पुँजीबजारमा निश्चित क्षेत्रका कम्पनीहरूको मात्रै बाहुल्यता भएकाले आर्थिक वृद्धिसँग कस्तो सम्बन्ध छ, त्यो अध्ययनको विषय हो ।

विश्व बैंकको तथ्यांकअनुसार २०१९ मा हङकङमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको १,३३९.६ प्रतिशत रहेको देखिन्छ, जुन विश्वकै सबैभन्दा बढी हो । त्यसैगरी, साउदी अरेबियामा ३०३.५ प्रतिशत, साउथ अफ्रिकामा ३०० प्रतिशत, स्विट्जरल्यान्डमा २६० प्रतिशत देखिन्छ ।

पुँजीबजारको तरलता भयो भने मानिसहरूले बचत नगरी सबैले सेयर खरिद गर्न लाग्ने र बचतको अभाव भई पुँजी निर्माण प्रभावित हुन्छ भन्ने एकखाले तर्क पनि छ । पुँजीबजारद्वारा नै पुँजी निर्माण हुने र बचतको परिचालन भई आर्थिक वृद्धिलाई गति प्रदान गर्न सकिने अर्कोखाले तर्क पनि छ । ठूलो परियोजनाका लागि रकम संकलन र परिचालन पुँजीबजारमार्फत गर्न सकिन्छ । पुँजीबजारबाट प्राप्त लाभ उत्पादनशील क्षेत्रमा पनि परिचालन हुन सक्छ । सेयरबजारबाट मानिसले जोखिम लिने, जोखिम व्यवस्थापन गर्ने बानीको विकास भई देशमा उद्यमशीलता विकासमा मद्दत पुग्छ । पुँजीबजारको आकार, पुँजीबजारको तरलता, उपकरण, विदेशी पुँजीबजारसँगको संयोजनका आधारमा पुँजीबजारको विकासको अवस्था मापन गर्न सकिन्छ । पुँजीबजारको विकासका लागि यससँग आबद्ध पक्षहरूको मानव संसाधनको विकास हुनु अत्यन्त जरुरी हुन्छ ।

 कुल गार्हस्थ्य उत्पादन र बजार पुँजीकरण ः एक वर्षको अवधिमा देशको सीमाभित्र उत्पादन गरिएका वस्तु तथा सेवाहरूको बजारमूल्यलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) भनिन्छ । धितोपत्र विनिमय बजारमा सूचीकृत कम्पनीहरूको अन्तिम मूल्यलाई सम्बन्धित कम्पनीको सेयर संख्याले गुणन गर्दा आउने योगफललाई बजार पुँजीकरण भनिन्छ । चालू आर्थिक वर्षमा जिडिपीको आकार ४२ खर्ब रहने प्रक्षेपण छ । विकासशील देशहरूमा कुल आर्थिक क्रियाकलापहरूको ५० प्रतिशतसम्म अनौपचारिक क्षेत्रमा रहने हार्वर्ड विश्वविद्यालयका प्राध्यापकहरूद्वारा लिखित जर्नल अफ इकोनोमिक प्रोस्पेक्टिभ्समा उल्लेख छ । नेपालमा अनौपचारिक अर्थतन्त्र कति छ भन्ने पनि अध्ययनको विषय हो । 

विश्व बैंकको तथ्यांकअनुसार २०१९ मा हङकङमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको १,३३९.६ प्रतिशत रहेको देखिन्छ, जुन विश्वको सबैभन्दा बढी हो । त्यसैगरी, साउदी अरेबियामा ३०३.५ प्रतिशत, साउथ अफ्रिकामा ३०० प्रतिशत, स्विट्जरल्यान्डमा २६० प्रतिशत देखिन्छ । साथै, थाइल्यान्ड, कुवेत, अस्ट्रेलिया, मलेसिया, क्यानडा, जापान, नेदरल्यान्ड्सलगायतका मुलुकहरूमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनभन्दा बढी छ । हाल भारतमा बजार पुँजीकरण जिडिपीको सय प्रतिशतमाथि छ । तर, अन्य सार्क मुलुकहरूमा भने बजार पुँजीकरण न्यून रहेको छ । 

अहिले नेपालमा कुल बजार पुँजीकरण ४३ खर्ब नाघेको छ । यो कुल गार्हस्थ्य उत्पादनको शतप्रतिशतभन्दा बढी हुन आउँछ । जिडिपीमा देशबाहिर भएका आर्थिक क्रियाकलापहरूबाट प्राप्त आयलाई समावेश गरिएको हुँदैन । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा विप्रेषण भिœयाउने विश्वका मुलुकको सूचीमा नेपाल अग्रस्थानमा नै पर्छ । देशको सीमाभित्रै भएका आर्थिक गतिविधिबाट प्राप्त आयले मात्रै सेयर खरिद भएको छैन, विदेशबाट प्राप्त आयले पनि सेयर खरिद हुने गरेकाले बुलिस ट्रेन्डमा रहेको अवस्थामा बजार पुँजीकरण बढ्नु स्वाभाविकै हो । 

हालको अवस्था : आर्थिक सर्वेक्षण ०७७÷७८ अनुसार नेपालको जिडिपीमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको २५.८ प्रतिशत छ । त्यसपछि महत्वपूर्ण योगदान गर्ने क्षेत्रमा क्रमशः थोक तथा खुद्रा व्यापार १५.७ प्रतिशत, घरजग्गा कारोबार ९.४ प्रतिशत, शिक्षा ८ प्रतिशत, सार्वजनिक सेवा ७.७ प्रतिशत, वित्तीय तथा बिमा क्रियाकलाप ६.९ प्रतिशत, निर्माण क्षेत्र ५.७ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्र ५.४ प्रतिशत, उत्पादनमूलक उद्योगको ५.१ प्रतिशत योगदान छ ।

कुल गार्हस्थ्य उत्पादनमा छैटौँ स्थानमा ६.९ प्रतिशत योगदान भएको वित्तीय तथा बिमा क्षेत्रको बाहुल्यता नेपालको सेयर बजारमा छ । जुन कुल सूचीकृतमध्ये ७५ प्रतिशत हुन आउँछ । जलविद्युत् क्षेत्रका ४० कम्पनी, उत्पादनमूलक क्षेत्रका ६ कम्पनी, लगानी गर्ने कम्पनी पाँच, होटेल तथा पर्यटन क्षेत्रका चार कम्पनी, व्यापार गर्ने दुई कम्पनी, अन्यअन्तर्गत दुई कम्पनी सूचीकृत छन् । कृषि, होलसेल तथा रिटेल व्यापार, शिक्षा, निर्माण, यातायतका क्षेत्रहरूको पनि पुँजीबजारमा प्रवेश हुन सके बजार सन्तुलित हुने थियो । यद्यपि, जिडिपीमा सबैभन्दा बढी योगदान गर्ने कृषि क्षेत्र बढी मात्रामा स्वउपभोग प्रवृत्तिको छ ।

उत्पादनमूलक क्षेत्रका कम्पनी किन ठूलो संख्यामा सूचीकृत भएनन् भन्ने सन्दर्भमा सञ्चालनमा रहेको, मुनाफा भइरहेको प्राइभेट लिमिटेड कम्पनीलाई सेयर जारी गरेर पब्लिक लिमिटेड कम्पनीमा किन रूपान्तरण गर्ने भन्ने प्रश्न उठ्न सक्छ । आकर्षण बढाउन पछिल्लो समय नीतिगत केही व्यवस्था भएका छन् । कम्पनीले प्रिमियममा प्राथमिक सेयर जारी गर्न सक्छन् । साथै, आयकर ऐन २०५८ को दफा ११ (३)(छ) मा धितोपत्र बजारमा सूचीकृत भएका उत्पादनमूलक, पर्यटन सेवा, जलविद्युत् उत्पादन, वितरण तथा ट्रन्समिसन गर्ने कम्पनीलाई लाग्ने करमा १५ प्रतिशत छुट हुने उल्लेख छ । प्राइभेट लिमिटेड कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने, सेयर जारी गर्ने वा नगर्नेे कम्पनीको स्वतन्त्रता हो । 

उतारचढाव : अर्थतन्त्रमा व्यापार चक्र चलिरहन्छन् । व्यापार चक्रका चार चरण हुन्छन् : प्रोस्पेरिटी, रिसेसन, डिप्रेसन र रिकभरी । व्यापार चक्र अन्य क्षेत्रका उद्योग, व्यापार तथा व्यवसायमा पनि चलिरहन्छ । सेयरबजारमा पनि बुल र बियरको चक्र चलिरहन्छ । सेयरबजारमा कारोबार भएको दिनमा बुल र बियरको लडाइँ भइराख्छ । सेयरको माग बढी भएमा बुल बलियो हुन्छ भने सेयरको आपूर्ति वृद्धि भएमा बियर बलियो हुन्छ ।

बुल हावी भएमा सेयरको मूल्य बढ्न जान्छ, बियर हावी भएमा सेयरको मूल्य घट्न जान्छ । सेयरको माग र आपूर्ति घट्ने–बढ्ने कारण भने धेरै हुन सक्छन् । तरलताको अवस्था, बैंकको ब्याजदर, अर्थतन्त्रको अवस्था, राजनीतिक घटना, विश्व परिवेश, मास साइकोलोजी, राज्यको नीति, नियमनकारी निकायहरूको नीति, भविष्यप्रतिको आशा वा निराशाले सेयरको मूल्यको उतारचढावमा प्रभाव पार्ने हुन्छ । त्यस्तो प्रभाव क्षणिक, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हुन सक्छ । 

अन्त्यमा, सेयरबजार अत्यन्त संवेदनशील बजार हो । नियमनकारी निकायले सुपरिवेक्षणलाई चुस्त र प्रभावकारी बनाई लगानीकर्ताको बजारप्रति विश्वास र मनोबललाई उच्च बनाइराख्नुपर्छ । पुँजीबजार आधुनिक वित्तीय प्रणालीको वरदान हो । अर्थतन्त्रमा अल्पकालमा सेयरबजार र आर्थिक वृद्धिबीचमा महत्वपूर्ण सम्बन्ध भेटाउन नसकिए पनि पुँजीबजारको विकासले आर्थिक वृद्धिमा सकारात्मक सम्बन्धकै विकास गर्नेमा भने द्विविधा छैन । (जोशी नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हुन्)