मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्याम मैनाली
२०७८ श्रावण १२ मंगलबार १२:१३:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सिद्धान्त र संस्कारविहीन राजनीतिका प्रभाव

Read Time : > 6 मिनेट
श्याम मैनाली
२०७८ श्रावण १२ मंगलबार १२:१३:००

जनताले संस्कारविहीन राजनीतिक दल र राजनीतिज्ञलाई तह लगाउन नसके लोकतन्त्र जनताकै लागि प्रत्युत्पादक ठहरिनेछ


देश समृद्धिको परिकल्पना राजनीतिबाट मात्र गर्न सकिन्छ । अन्य क्षेत्र राष्ट्र निर्माणका लागि सहायक भूमिकामा रहन्छन् । दीर्घकालीन सोचसहित देशमा सामाजिक, आर्थिक, राजनीतिक सबै प्रकारका रूपान्तरणका लागि राष्ट्रिय राजनीति र यसका पात्रहरू समर्पित भई निश्चित गन्तव्यमा पुग्ने मार्गचित्र निर्माण गरी कार्यान्वयनमा इमानदारीपूर्वक जुट्दा मात्र देशमा समृद्धि सम्भव हुन्छ । विश्व परिवेशमा विकसित देशहरूको अध्ययन गर्दा राजनीतिले नेतृत्व गर्ने र राजनीतिलाई सबै नागरिकले आआफ्नातर्फबाट सहयोग गर्दा मात्र देश प्रगतिको दिशामा लम्किन सकेका उदाहरण भेटिन्छन् । यसका केही प्रतिनिधि उदाहरण प्रस्तुत गर्नु सान्दर्भिक नै हुनेछ ।

अन्तर्राष्ट्रिय दृष्टान्त : राष्ट्रिय स्वार्थ निहित रहेका मुद्दामा सबै दलबीच मतैक्य प्रदर्शन गर्ने महान् संस्कार विकसित देशमा पाइन्छ । आजका सम्पन्न देश हिजो विपन्नताको अवस्था पार गरेरै यहाँसम्म आएका छन् । जापानको उदाहरण हेरौँ । जापानी युवाले स्वस्फूर्त हिसाबले देशमा विकासका लागि महत्वपूर्ण प्रयास गरेका थिए । विश्वको तेस्रो ठूलो अर्थतन्त्र, प्रविधिको विकासमा सबैभन्दा उच्च स्थान हासिल गर्न सफल र आतिथ्यका हिसाबले अनुकरणीय देश जापानको विकासको शृंखलालाई हामी सबैले मनन गर्नु आवश्यक छ । १८६८ मा जापानमा मेइजी क्रान्ति सफल भइसकेपछि ‘इवाकुरा मिसन’ लागू गरेर आजको विकसित जापानको जग बसालिएको थियो ।

३० वर्षमुनिका सयभन्दा बढी युवा अमेरिका र युरोपका विकसित मुलुकको विकास कसरी सम्भव भएको रहेछ भनेर अध्ययन र अनुसन्धान गर्न विश्व भ्रमणमा निस्केका थिए । १८७१–१८७३ सम्मको दुई वर्षको अवधिमा राम्ररी ज्ञान हासिल गरेर सो टोली जापान फर्कियो र जापानलाई समृद्ध देशमा रूपान्तरण गर्न ठूलो योगदान पु¥यायो । जुन देशका जनताले आफ्ना नेतालाई मनैदेखि सम्मान गर्छन्, त्यस देशको भविष्य सुनिश्चित हुन्छ, समृद्धि छिटो सम्भव हुन्छ । जनता र देशको भलाइमा अविचलित नेताहरू पनि सम्मानित हुन्छन् । यस्ता नेता पाउँदा जनता कृतकृत्य बन्छन् । माहात्मा गान्धी, नेल्सन मन्डेलाजस्ता नेता विश्वमै चर्चित छन् । आफ्नै देशभित्र असल नेता विजयी हुँदा जनतामा आशाको जागरण हुन्छ । उदाहरणका लागि अगस्ट २०२० मा जापानका प्रधानमन्त्रीले आफ्नो प्रतिकूल स्वास्थ्यलाई कारण देखाउँदै पदबाट राजीनामा दिए । आफूलाई जनताले सुम्पेको अभिभारा पूरा गर्न नसकेको भन्दै उनले सार्वजनिक रूपमै माफीसमेत मागे । 

हाम्रै जीवन अवधिमा भोकमरी र दरिद्रताबाट प्रताडित चीन आज विश्वमा आर्थिक दृष्टिकोणबाट दोस्रो स्थानमा पुगेको छ र प्रथम हुन प्रयासरत छ । चीनको विकास सहजै भएको भने होइन । १९७५ मा देङ सियाओ पिङको नेतृत्वमा केही उच्च चिनियाँ अधिकारी पाँचदिने फ्रान्स भ्रमणमा गएका थिए । उनीहरूले त्यहाँको विकास र समृद्धिको अध्ययनपश्चात आफूहरूले देशमा धेरै गर्न बाँकी रहेको महसुस गरे । यसैबाट प्रेरित हुँदै देङले सन् १९७८ मा १० वर्षे भिजन तयार पारेर आधुनिक चीनको जग बसाल्ने प्रयत्न गरेका थिए । नेपालभन्दा गरिब देश चीन आज विश्वमै अग्रस्थानमा पुगेको छ । 

दक्षिण कोरियाका श्रममन्त्रीले यस स्तम्भकारसँगको छलफलका क्रममा नेपाल पछि पर्नुका कारणबारे जिज्ञासा राख्दा असहज महसुस गर्नुपरेको थियो । कुनै वेला दक्षिण कोरियामा भोकमरीको समयमा खाद्यान्न पठाई सहयोग गरेको देश नेपालमा आज १०७१ डलर प्रतिव्यक्ति आय कायम हुँदा दक्षिण कोरियाको प्रतिव्यक्ति आय ३२ हजारको नजिक पुगेको छ । अति सम्पन्न देशहरूले गरेको प्रगतिको सम्बन्धमा उल्लेख गरिरहनै परेन । 

लामो त्याग र तपस्या गरेका स्वाभिमानी कार्यकर्ताभन्दा नेताहरूका दृष्टिमा व्यापारी र उद्योगपतिहरू प्राथमिकतामा पर्नु संस्कारयुक्त राजनीतिका लागि शुभ र स्वीकार्य लक्षण होइन

वैमनस्य, कलह र द्वन्द्वको परिणामले देश तहसनहस हुन्छ । जापानले दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकी सहरमा सहन गर्नुपरेको आणविक बमको पीडा र बिन लादेनको आतंककारी संगठन र अमेरिकाबीचको तनावलाई प्रतिनिधि उदाहरणका रूपमा लिन सकिन्छ । यस यथार्थलाई मनन गरेर ३० वर्षे युद्ध अन्त्य गर्दै १६४८ मा ‘वेस्टफेलिया सन्धि’ मार्फत विकास र समृद्धिको यात्रामा तत्कालीन युरोप अग्रसर हुन पुगेका कारण आज युरोपको अवस्था अत्यन्त सबल बन्न पुगेको छ ।

नेपालको सन्दर्भ : नेपालको राजनीतिले आफ्नो स्पष्ट गन्तव्य निर्धारण गर्न कहिल्यै सकेन । ०४६ सालमा प्राप्त बहुदलीय प्रजातन्त्र र ०६३ सालमा प्राप्त संघीय गणतन्त्रात्मक लोकतन्त्रको समय गणना गर्दा लोकतन्त्रको अभ्यास गर्दै आएको अवधि तीन दशक पूरा भइसकेको छ । यस अवधिमा नगण्य केही विकास निर्माणका कार्यहरू सुस्त गतिमा अघि बढ्नुका अतिरिक्त अन्य उत्साहित हुने खालका कार्यहरू कुनै पनि लोकतान्त्रिक सरकारले गर्न सकेनन् । राष्ट्रिय उत्थानका विषयमा अघि बढ्दा सबैभन्दा पहिला राष्ट्रलाई सर्वोपरी प्राथमिकतामा राखी तत्पश्चात् राष्ट्रियता, लोकतन्त्र, राजनीतिक दल, समूह र व्यक्तिको क्रम निर्धारण हुनुपर्छ । नेपालमा यो क्रम बिलकुल विपरीत दिशातर्फ उन्मुख भएको छ । राजनीतिक दलहरू दलगत, समूहगत र व्यक्तिगत स्वार्थका लागि एकताबद्ध हुने गरेका छन् ।

जब–जब स्वार्थसिद्ध हुने सन्दर्भ देखा पर्छ, तब–तब सबै दलका नेतृत्व पंक्तिमा समान धारणा बन्छ । हामीकहाँ सम्पूर्ण राजनीतिक दल र तिनका नेतृत्वले राजनीतिक सिद्धान्त र आस्थालाई स्वार्थसिद्ध गर्ने औजारका रूपमा प्रयोग गरिराखेका छन् । देशमा विद्यमान लोकतान्त्रिक र साम्यवादी दुई शक्तिमध्ये दुवैले राष्ट्रिय समृद्धि, सुशासन, सामाजिक, आर्थिक, राजनीतिक सबै प्रकारका रूपान्तरणका दिशामा अभिमुख हुने लक्ष्य निर्धारण गरेका छन् ।

दुवै शक्तिको मात्र नभई सबै नेपालीको साझा दस्ताबेज नेपालको संविधानमा समेत यी प्रावधानसँगै समाजवादतर्फ देश अभिमुख हुने प्रस्ट प्रतिबद्धता आएको छ । तर, सबै राजनीतिक दलका कार्यशैली हेर्दा तिनलाई सिद्धान्त र वादका आधारमा खासै पृथक् देख्न सकिएको छैन । देशभित्रको साम्यवादी भनिएका शक्ति चरम व्यक्तिगत, गुटगत र दलगत स्वार्थमा चुर्लुम्म डुबेका छन् । परिणामतः उनीहरू आफूले अवलम्बन गरेको शासकीय शैली र चरित्रबाटै विकृत स्वरूपको पुँजीवादी पार्टीमा दरिन पुगेका छन् । तिनले ‘कम्युनिस्ट ब्रान्ड’मा राजनीति गर्दै व्यवहारमा सामन्ती प्रवृत्तिलाई निर्बाध रूपमा स्वीकार गर्दै आएका छन् । भ्रष्टाचार र फुटपरस्त राजनीतिको पर्याय बन्दै आफ्नो पहिचान सिद्धान्तविहीन राजनीतिक दलका रूपमा स्थापित गराएका छन् । 

लोकतान्त्रिक शक्तिका रूपमा चिनिने दलमा पनि चरम स्वार्थलोलुप झुन्डहरूबाट नेतृत्व परिवेष्टित छ । दलभित्रको आन्तरिक लोकतन्त्र समाप्त भएको छ । लोकतान्त्रिक शक्तिको आभास जनतालाई गराउन असफल भएको छ । दलका शीर्षस्थ नेतृत्वले स्वार्थलोलुप झुन्डहरूको प्रशंसामा मुग्ध भई आत्मरतिमा रमाउँदै त्यही सानो समूहलाई समग्र नेपाल ठान्ने भूल गरिरहेका छन् । लोकतन्त्रका सेनानी र इमानदार कार्यकर्ता यस दलमा आएको विचलनबाट वाक्कदिक्क भइसकेका छन् । नेतृत्वले इमानदार कार्यकर्तालाई पाखा लगाउँदै गएको छ । नेपालका शीर्षस्थ नेतृत्वमा रहनेहरूको आर्थिक तरक्की नाटकीय शैलीमा विकसित भएको छ । राजनीतिक नेतृत्वले नवधनाढ्य र अभिजात वर्ग उत्पादन गर्ने पात्रका रूपमा आफ्नो पहिचान बनाउँदै जनताको पक्षमा राजनीति गरेको झुटो दाबी गरिराखेका छन् ।

युवाशक्ति विदेश पलायन भई उनीहरूले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्र जसोतसो चलिरहेको छ । देशभित्र रोजगारीका अवसर प्रदान गर्न असफल नेपालका राजनीतिज्ञहरूले विप्रेषणबाट नेपाली अर्थ बजारमा तरलता अभाव नहुँदा यसले अर्थतन्त्रमा पारेको सकारात्मक पक्षमा रमाउँदै यसका नकारात्मक पाटोलाई बिर्सिरहेका छन् । सहजै देशको अर्थतन्त्र धानिँदै गएकोमा गौरवान्वित मात्र नभई विदेशमा रगतपसिना खर्चिन आफ्ना युवाशक्ति पलायन हुँदाको अवस्थालाई समेत सरकारको उपलब्धिका रूपमा विश्लेषण गरिराखेका छन् । कांग्रेस र साम्यवादी दलका गरी करिब ६० लाख सक्रिय कार्यकर्ता अथवा देशमा सबै प्रकारका सुविधाभोगीका रूपमा दर्ज भएका नागरिक छन् । यो समूहले आफ्नो स्वार्थपूर्तिका लागि नेतृत्वको अन्धभक्तका रूपमा प्रस्तुत हुने गरेको छ ।

करिब ६० लाख जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको छ । यस समूहलाई शासकीय शैली र सरकारको क्रियाकलापबारे चिन्तन गर्ने समय र सचेतनाको अभाव छ । देशको जनसंख्याको ठूलो हिस्सा र दक्ष जनशक्तिले आफ्नो गन्तव्य र भविष्य विदेशी भूमिमा खोज्न बाध्य हुनुपरिरहेको छ । यस्तो उत्पादक जनशक्तिलाई देशभित्रै जिम्मेवारी दिएर उनीहरूको सेवा राष्ट्रले लिने वातावरण निर्माण गर्न हाम्रो राजनीतिक नेतृत्वले आजसम्म आवश्यक ठानेकै छैन । बाँकी जनसंख्या बालबालिका र ज्येष्ठ नागरिकको छ । देशका प्रबुद्ध वर्ग राजनीतिक कित्तामा सामेल हुन पाउँदा गौरवान्वित महसुस गर्छ । यस्तो अवस्थामा जनता राजनीतिक दलका क्रियाकलापबाट क्षुब्ध छन् ।

विकल्पको अभावमा आवधिक निर्वाचनमा यिनै परीक्षण भइसकेका पात्रलाई पटक–पटक आलोपालो मतदान गर्दै निर्वाचित गराउने र उसको शासन अवधिभर आफैँले चुनेका प्रतिनिधिको आलोचना गर्ने कार्यमा नेपालीको बहुमूल्य समय खेर गइरहेको छ । नेपालको राजनीति क्रमशः व्यापारतर्फ अभिमुख भइरहेको छ । सेवाभावबाट राजनीति निरपेक्ष रूपमा पृथक् बन्दै गएको छ । राजनीतिक दलहरू र यसका पात्रहरूले स्रोतसाधन संग्रह गर्न विदेशी शक्तिसँग गर्दै आएको गठजोडको यथार्थ पहिचान गरी उपयुक्त उपचार नेपाली नागरिकका तहबाट नहुँदासम्म नेपालको राजनीतिलाई ठीक दिशामा निर्देशित र परिचालित गर्न सकिँदैन । जातजाति, समन्याय, सामाजिक विकृतिको अन्त्य र समतामूलक समाजका नारा सत्तामा निरन्तरता दिने रणनीतिका रूपमा उपयोग गरिँदै आएका छन् ।

समावेशीकरणले समेटिएका हरक्षेत्रका पात्रहरू आर्थिक हिसाबले सम्पन्न उच्चमध्यम र उच्चस्तरका रहेका छन् । राज्यले लक्षित समूह नै निर्धारण गर्न सकेन । देशको राजनीतिलाई व्यक्तिगत सम्पत्तिका रूपमा परिणत गर्दै व्यक्तिगत लहडमा नेताहरूले एक्लै हिँड्ने प्रवृत्तिलाई प्रश्रय दिँदै गर्दा लोकतान्त्रिक शासन प्रणाली तानाशाहीतन्त्रमा परिणत हुने सन्त्रास देखिँदै छ । यो गलत संस्कार र प्रवृत्ति शीर्षस्थ नेतृत्वबाट कार्यकर्तास्तरसम्म पुगेकाले गाउँगाउँमा गलत संस्कारले निरन्तरता पाइराखेको छ । विभिन्न राजनीतिक घटना क्रमबाट नेपालका नेताहरू राष्ट्रिय स्वार्थ र राष्ट्रियतामा समझदारी गर्दा विदेशी शक्तिसामु लम्पसार पर्दै गएका दृष्टान्तहरू यत्रतत्र पाइन्छन् ।

व्यापारिक घरानाका व्यवसायीहरू सबै दलका लागि स्वीकार्य बनेका छन्, व्यापारीलाई देशको नीति निर्माण गर्ने स्थानमा स्थापित गराउने प्रतिस्पर्धा राजनीतिक दलबीच भइरहेको छ । लामो त्याग र तपस्या गरेका स्वाभिमानी कार्यकर्ताभन्दा नेताहरूका दृष्टिमा व्यापारी र उद्योगपतिहरू प्राथमिकतामा पर्नु संस्कारयुक्त राजनीतिका लागि शुभ र स्वीकार्य लक्षण होइन । दलका कार्यकर्ताहरू प्रायः सबै दास प्रवृत्तिमा रमाइरहेका छन् । उनीहरू पराक्रममा भन्दा परिक्रमामा विश्वास गर्छन् । परिणामतः यस्ता अनेकौँ विकृति र विसंगति नेपालको राजनीतिमा मर्यादाका सीमाहरू भत्काउँदै अघि बढिरहेका छन् । 

सम्मानित सर्वोच्च अदालतले पटक–पटक संविधान अतिक्रमण नगर्न सतर्क गराउँदासमेत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान प्रतिकूल गरेका कामले देशमा अस्थिरता निम्त्याउँदै गयो । आफैँले विघटन गरेको प्रतिनिधिसभामा आफैँलाई विश्वासको मत माग्न ओलीजीलाई थोरै मात्र पनि संकोच भएन । सभाले उहाँलाई स्पष्ट रूपमा अस्वीकार गर्दासमेत पदप्रतिको आसक्तिले गर्दा उहाँले आफ्नो विगत र वर्तमानसमेत धमिल्याउने कार्य गर्नुभयो । उहाँको राजनीतिक कदको उचाइ उहाँकै पदमोहले घटाएको हो । विधि, पद्धति, लोकतन्त्र र संविधानको सम्मान गर्दा विश्वमा कुनै पनि राजनेताको अवमूल्यन भएको छैन र हुँदैन पनि । तर, ओलीजीमा एक्लै हिँड्ने मनोदशाको विकास भयो । उहाँले आफूलाई मात्र नभई राष्ट्रपतिलाई समेत विवादमा मुछ्ने कार्य गर्नुभयो । त्यो उहाँको ठूलो राजनीतिक भूल थियो ।

अदालतले ओलीजी र राष्ट्रपतिका त्रुटिहरूको लेखाजोखा राम्ररी गरी लोकतन्त्रको पक्षमा निर्णय दिएको छ । ओलीजी सरकारबाट हट्नु या रहनुभन्दा पनि ओली प्रवृत्तिले नेपालको राजनीतिबाट मुक्ति पाउनु जरुरी थियो । राष्ट्रपतिले पनि नेपाली जनतासमक्ष आफूबाट भएका गल्ती कमजोरीलाई स्विकार्दै भविष्यमा यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता व्यक्त गर्न सके यसबाट उहाँको उचाइ बढ्ने नै थियो । लोकतन्त्रमा जनता सबैभन्दा सम्मानित हुन्छन् । यस्ता जनतासँग आफ्ना कमी–कमजोरीबारे आत्मालोचना गर्नु बुद्धिमानी ठहर्छ । अब नागरिक स्वयंले संस्कारविहीन राजनीति, राजनीतिक दल र राजनीतिज्ञलाई तह लगाउन सक्नुपर्छ । अन्यथा, नेपालको लोकतन्त्र जनताका लागि सदैव प्रत्युत्पादक सिद्ध भइरहनेछ ।

(मैनाली नेपाल सरकारका पूर्वसचिव हुन्)