मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज १ शुक्रबार
  • Friday, 17 September, 2021
नवराज मैनाली काठमाडौं
२०७८ श्रावण १० आइतबार ११:०९:००
Read Time : > 7 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निर्मला पन्त हत्याका तीन वर्ष : फेरि डिएनएबाटै अभियुक्त खोज्दै प्रहरी

Read Time : > 7 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७८ श्रावण १० आइतबार ११:०९:००

नेपाल प्रहरीको इतिहासमा धेरै समय र स्रोत साधन खर्च भएको हत्या घटना, तीन वर्षमा अनुसन्धानका लागि केन्द्रबाट सातवटा टोली खटिए, कञ्चनपुरमा पाँच एसपी फेरिए, तर उपलब्धि शून्य

गत चैतको अन्तिम साता सातै प्रदेशका डिआइजीको नियमित हेरफेरको तयारी चल्दै थियो । सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले आफूलाई १५ दिनको समय दिन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई अनुरोध गरे । १५ दिनमा निर्मला पन्तको हत्यारा पत्ता लगाउँछु भन्ने विश्वास सुवेदीलाई जागेको थियो । 

पन्तको बलात्कारपछि हत्या घटनाबारे उनले केही नयाँ सूचना पाएका थिए । आफ्नै नेतृत्वको अनुसन्धानबाट यो घटनालाई सुल्झाउँछु भन्ने उनलाई लागेको थियो । उनी १५ दिन मात्र होइन, थप दुई महिना सुदूरपश्चिम बसे, तर उनको सपना अधुरै रह्यो । 

जीवन रिजाल, पूर्वप्रमुख : राष्ट्रिय विधि विज्ञान प्रयोगशाला

सुरुमै मृतकको शरीरबाट संकलन गरिएको अभियुक्तको डिएनए नमुनामै मिसावट भइसकेको छ । त्यसैले निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा डिएनए परीक्षणको रिजल्ट सही आउने सम्भावना निकै कम छ । 
 

विगत तीन वर्षदेखि यस्तै नयाँ–नयाँ सूचना पछ्याउँदा अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू उत्साहित हुने गरेका छन् । तर, घटनाको गुत्थी भने पत्ता लगाउन असफल हुँदा त्यो खुसी निराशामा परिणत हुने गरेको छ । तर, डिआइजी सुवेदी अझै निराश भइसकेका छैनन् । सुदूरपश्चिम प्रदेश प्रहरीका रूपमा १४ महिना काम गरेर हालै काठमाडौं फर्किएका उनी यो घटना छिटै सुल्झने विश्वास राख्छन् । ‘अनुसन्धान निकै साँघुरिँदै गएको छ,’ उनी भन्छन्, ‘स्थानीयको सहयोग भयो भने यो घटना सुल्झिन धेरै समय लाग्दैन ।’ 

१० साउन ०७५ मा महेन्द्रनगर, उल्टाखामकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो । भोलिपल्ट अर्धनग्न अवस्थामा उखुबारीमा उनको शव भेटियो । बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भइसकेको छ । प्रहरी लापरवाहीले घटना भएको भन्दै भोलिपल्टैदेखि प्रहरीमाथि सर्वसाधारणको अविश्वास बढेको थियो । तीन वर्षसम्म निरन्तर अनुसन्धान गर्दा पनि प्रहरीले अभियुक्त पहिचान गर्न नसक्दा संगठनमाथिको त्यो विश्वास फिर्ता ल्याउन सकेको छैन ।

सम्भवतः नेपाल प्रहरीकै इतिहासमा यति धेरै समय र स्रोतसाधन खर्च भएको घटना बनेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी प्रधान कार्यालयले तीन वर्षदेखि यो घटनाको अनुसन्धानमा निरन्तर विशेष टोली बनाएर खटाउँदै आएको छ । अनुसन्धान निरन्तर चलिरहेको र त्यसमा प्रगति भइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवर बताउँछन् । ‘सिआइबीको टोली अहिले पनि कञ्चनपुर नै बसेर अनुसन्धान गरिरहेको छ,’ उनी भन्छन्, ‘प्रहरी सफलतातर्फ नै अघि बढेको छ, ढिलोचाँडो नतिजा आउँछ ।’ 

फेरि डिएनएकै सहारा 
यो घटनामा प्रहरी अनुसन्धानमाथि नै पटक–पटक प्रश्न उठ्दै आएको छ । घटनास्थलमा भएको लापरवाहीदेखि डिएनए परीक्षण विधिको मात्रै आलोचना भयो । खासगरी, प्रमाण संकलन र डिएनएन परीक्षणमा त्रुटि हुँदा यो घटना नसुल्झिएको कतिपय प्रहरी अधिकारी बताउँछन् । 

डिएनए परीक्षणको विषयमा दुईवटा छानबिन समितिले यसमा त्रुटि रहेको औँल्याएको छ । राष्ट्रिय मानवअधिकार आयोग र डिएनए विशेषज्ञ जीवन रिजालको नेतृत्वको विज्ञ टोलीले यसबारे छुट्टाछुट्टै छानबिन गरेको थियो । दुवै टोलीले डिएनए परीक्षण प्रक्रियामै कमजोरी भएको तथ्य औँल्यायो । जसअनुसार अब डिएनए प्रविधिबाट अभियुक्त पत्ता लाग्न सक्दैन भन्ने दुवै प्रतिवेदनको निष्कर्ष थियो । तर, हाल प्रहरीले डिएनए विधिलाई नै अनुसन्धानको मुख्य आधार बनाएको छ । स्रोतका अनुसार दुई महिनाअघि पनि एक शंकित व्यक्तिको परिवारका सदस्यको डिएनए परीक्षण गरिएको थियो । तर, ‘म्याच’ नभएपछि प्रहरीले उनलाई पक्राउ गर्न सकेन ।

उत्तमराज सुवेदी, डीआईजी

निर्मला हत्या घटनाको अनुसन्धान निकै साँघुरिँदै गएको छ । स्थानीयको सहयोग भयो भने यो घटना सुल्झिन धेरै समय लाग्दैन ।
 

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा भनिएको छ, ‘डिएनए परीक्षणका लागि भजाइनल स्वाबलगायतका नमुना संकलन गर्दा सिन्कोमा बेरिएको कपासबाट गरिएकोमा यस्तो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न सकिने अवस्था छैन । यसरी संकलन गरी टेस्टट्युबमा राख्दा पर्याप्त मात्रामा डिएनए संकलन नहुने र डिएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही आउन नसक्ने जस्ता समस्या रहेको पाइयो । मूलतः नमुना संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो ।’ आयोगले पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा पूर्वएआइजी विज्ञानराज शर्मा, फरेन्सिकविज्ञ डा. हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा र आयोगका अनुसन्धान अधिकृत रहेको समिति गठन गरेको थियो । 

पछि गृह मन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक जीवन रिजालको नेतृत्वमा विज्ञ समिति गठन गरेको थियो । सो समितिले पनि अब अनुसन्धानमा डिएनए प्रविधि प्रभावकारी नहुने निष्कर्ष निकालेको थियो । मृतकको शरीरबाट संकलन गरिएको नमुनामै मिसावट भइसकेकाले अब डिएनए प्रविधिबाट अभियुक्त पत्ता लगाउन धेरै गाह्रो हुने रिजाल बताउँछन् । ‘यो घटनामा अब डिएनए परीक्षणको रिजल्ट सही आउने सम्भावना कम छ,’ उनले भने, ‘सुरुमा स्याम्पल नै कन्टामिनेट भइसकेको छ ।’  

निर्मलाको भजाइनल स्वाबबाट निकालिएको नमुनाबाट डिएनए परीक्षण गरी अभियुक्त पत्ता लगाउन असम्भव रहेको विज्ञहरूले बताइसकेका छन् । प्रहरीले वाई–एसटिआई विधिबाट डिएनए परीक्षण गरेको थियो, जुन विधि वंश पत्ता लगाउन प्रयोग गरिन्छ । सामान्यतया अभियुक्त पहिचान गर्न अटोसोमल प्रविधिबाट परीक्षण गरिन्छ । ‘वाई–एसटिआईबाट कुनै पनि व्यक्तिको पुस्ता मात्र पत्ता लाग्छ,’ राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनएविज्ञ दिनेश झा भन्छन्, ‘त्यसकारण त्यो प्रविधिबाट बलात्कार गर्ने व्यक्तिको निकटसम्म प्रहरी जान सक्छ, ठ्याक्कै व्यक्ति मेल खाँदैन ।’ 

अभियुक्त दिलीप विष्ट कि अन्य व्यक्ति ? 
घटनाको २५औँ दिनमा प्रहरीले स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गर्‍यो । पहिला पनि हत्या मुद्दामा जेल बसेर छुटेको पृष्ठभूमि भएको, बयानमा अभियोग स्वीकार गरेको र बयान र घटनास्थलको प्रकृति मिल्दोजुल्दो रहेको आधारमा प्रहरीले उनी नै अभियुक्त भएको दाबी गरेको हो । तर, स्थानीयले वास्तविक अभियुक्त लुकाएर मानसिक अवस्था ठीक नभएका विष्टलाई फसाउन खोजेको भन्दै आन्दोलन चर्काए । डिएनए परीक्षणका क्रममा पनि म्याच नभएपछि प्रहरी समस्यामा पर्‍यो । 

त्यसयता प्रहरीले नयाँ–नयाँ टोली खटाएर थप अनुसन्धान गर्दै आएको छ । प्रहरी अधिकारीदेखि विभिन्न शंकास्पद व्यक्तिको डिएनए जाँच भयो । तर, डिएनए म्याच भएन । थप व्यक्तिमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले स्थानीय प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गर्‍यो । प्रारम्भिक सोधपुछमा उनीहरूले आरोप स्वीकार गरेपछि काठमाडौं ल्याएर सोधपुछ गरियो । करिब तीन साता थुनामा राखेर अनुसन्धान गर्दा उनीहरूको पनि डिएनए म्याच हुन सकेन । 

डिएनए परीक्षणमै गल्ती भएको भनेर रिपोर्टहरू आएपछि दिलीप नै अभियुक्त भएको तर डिएनए म्याच नभएको हुन सक्नेतर्फ केही प्रहरी अधिकारीले निष्कर्ष निकाल्यो । अभियोग स्वीकार गरेको भिडियो हेरेपछि निर्मलाकी आमाले पनि दिलीपविरुद्ध किटानी जाहेरी दिइन् । तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि दिलीप नै अभियुक्त भएको निष्कर्षमा पुगेका थिए । उनलाई नै पक्राउ गरेर मुद्दा चलाउने प्रयास पनि उनले गरे । तर, पर्याप्त प्रमाणको अभाव र सरकारको अनुमति नपाउँदा उनको प्रयास सफल नभएको स्रोत बताउँछ । उनकै कार्यकालको अन्तिम साता अनुसन्धानमा विगतमा कुनै गल्ती नभएको भन्दै तत्कालीन एआइजी धिरु बस्नेत नेतृत्वको टोलीले गरेको छानबिन खारेज गरेको थियो । सो छानबिन समितिले प्रहरीले अनुसन्धानमा गल्ती गरेको भन्दै उनीहरूविरुद्ध कारबाहीको सिफारिस गरेको थियो । 

यो घटनाबारे प्रहरी अधिकारी पनि विभाजित छन् । त्यतिवेला अनुसन्धानमा आबद्ध एसपी दिल्लीराज विष्ट, डिएसपी अंगुर जिसीलगायत प्रहरी अधिकारी अझै पनि दिलीप नै अभियुक्त भएको अडानमै छन् । तर, पछिल्लो समय अनुसन्धानमा खटिएका प्रहरी भने दिलीपको सम्भावना कमजोर देखिएको बताउँछन् । ‘पछिल्लो केही महिना हामीले उनलाई (दिलीपसिंह विष्ट) धेरै तरिका अपनाएर निगरानी र अनुसन्धान ग¥यौँ,’ सिआइबीका एक अधिकृत भन्छन्, ‘तर, सुनिए जस्तो एकान्तमा महिलालाई भेट्नेबित्तिकै आक्रमण गर्ने स्वभाव देखिएन ।’ उनले केही स्थानीयसँग आफूले नै निर्मलाको हत्या गरेको भनेर बताएका थिए । त्यस विषयमा पनि प्रहरीले थप बृहत् रूपमा बुझ्दा रक्सी खुवाएपछि कहिले हो भन्ने त कहिले होइन भन्ने गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । जसकारण हाल दिलीपमाथि प्रहरीले अनुसन्धान केन्द्रित गरेको छैन । 

देउवा सरकारले सुल्झाउला ? 
घटनाको वेला कञ्चनपुरको एसपीमा दिल्लीराज विष्ट थिए । उनलाई एक सातामै त्यहाँबाट हटाएर कुबेर कडायतलाई पठाइयो । कडायतपछि दिनेश आचार्य, मुकुन्द मरासनी हुँदै हाल उमाप्रसाद चतुर्वेदी कञ्चनपुरको प्रहरी प्रमुख छन् । तीन वर्षको अवधिमा जिल्लामा पाँच एसपी फेरिँदा पनि यो प्रकरण सुल्झन सकेको छैन । 

यो अवधिमा प्रहरीमा तीन महानिरीक्षक फेरिए । उनीहरूको प्राथमिकता पनि यही घटनाको अनुसन्धान थियो । केपी ओली नेतृत्वको सरकारको असफलतामध्ये यो पनि एउटा थियो । त्यतिवेला प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले समेत यही विषयलाई लिएर ओली सरकारको चर्काे आलोचना गरेको थियो । अहिले कांग्रेसकै नेतृत्वमा सरकार बनेको छ । विगतमा यही प्रकरणमा सरकारको आलोचना गर्दै आएका बालकृष्ण खाँण गृहमन्त्री बनेका छन् । जसकारण निर्मला प्रकरणको सफल अनुसन्धान शेरबहादुर देउवा नेतृत्वको सरकारका लागि पनि चुनौतीपूर्ण छ । 

प्रहरीले के पाठ सिक्यो ? 
निर्मला पन्त प्रकरणले केही प्रहरी अधिकारीको करिअरमा धक्का लाग्यो, उनीहरूले यातना झेले, त्योभन्दा ठूलो धक्का नेपाल प्रहरीको विश्वासमाथि लाग्यो । यो घटनाले प्रहरी अनुसन्धान प्रणालीमाथि गम्भीर अविश्वास जन्मायो । प्रहरीले हचुवाको भरमा अनुसन्धान गर्छ भन्ने सन्देश गयो । सोही घटनाका कारण प्रहरीप्रति बढेको अविश्वास अझै कम भएको छैन । कुनै घटना भयो कि प्रहरीमाथि अविश्वास व्यक्त गरी दबाब दिने गरिएको छ । 

एसएसपी बसन्त कुँवर : प्रवक्ता, नेपाल प्रहरी

निर्मला हत्या प्रकरणबारे अनुसन्धान गर्न सिआइबीको एउटा टोली अहिले पनि कञ्चनपुरमै खटिएको छ । प्रहरी सफलतातर्फ नै अघि बढेको छ, ढिलोचाँडो नतिजा आउँछ ।
 

यो प्रकरणपछि अनुसन्धान प्रणालीमा केही सुधार आए पनि अपराध अनुसन्धानमा लगानी भने बढ्न सकेको छैन । ‘मुख्य कुरा नागरिक र प्रहरीबीचको दूरी यो घटनाले बढायो,’ एक प्रहरी अधिकारी भन्छन्, ‘त्यसलाई पूर्ति गर्न प्रहरीले धेरै दुःख गर्नुपर्ने हुन्छ ।’ सो घटनामा नागरिकबाट सर्वसाधारणले सहयोग नै नपाएको प्रहरी अधिकारीहरू बताउँछन् । कतिपय घटनामा सर्वसाधारणको सहयोगविना सूचना नै प्राप्त नहुने प्रहरी अधिकारी बताउँछन् । 

अर्काेतर्फ प्रहरी अनुसन्धान मोबाइलमा मात्र केन्द्रित हुने गरेको छ । तर, यो घटनामा पीडितसँग मोबाइल थिएन । अभियुक्तले पनि मोबाइल नबोक्ने भएको हुन सक्ने प्रहरी आशंका छ । प्रहरीको मानवीय सूचना संयन्त्र कमजोर भएको यो घटनाबाट प्रस्ट हुन्छ । सूचना संयन्त्र बढाउन अझै कुनै योजना बनेको छैन । 

यो घटनापछि कुनै पनि अपराधको अनुसन्धानमा भने प्रहरीको गम्भीरता बढेको र लापरवाही घटेको छ । निर्मला हराएलगत्तै उनको परिवारले खबर गर्दा पनि प्रहरीले खोजीका लागि चासो दिएको थिएन भने भोलिपल्ट घटनास्थलको सुरक्षासमेत गर्न नसक्दा प्रहरी विवादमा पर्‍यो । सो घटनापछि खासगरी महिला पीडित भएका घटनामा प्रहरीले विशेष चासो दिने गरेको छ । चितवनकी सुजिता भण्डारी प्रकरणमा पनि सुरुमा प्रहरीमाथि स्थानीयले विश्वास नगरेकोमा पछि विश्वासमा लिएर अनुसन्धान गरेको थियो । अर्काेतर्फ, अभियुक्तले आरोप स्वीकार गरेलगत्तै सार्वजनिक गर्ने प्रवृत्ति पनि कम भयो । 

अनुसन्धानमा तालिम र प्रविधिमाथि लगानी बढ्न नसकेको प्रहरी अधिकारी बताउँछन् । ‘यदि त्यो सडकखण्डमा सिसिक्यामेरा थियो भने अनुसन्धान गर्न धेरै सहज हुन्थ्यो,’ एक प्रहरी अधिकारी भन्छन्, ‘सिसिक्यामेराको संख्या बढेको, तर ज्यादै न्यून छ ।’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवर निर्मला पन्तको घटनाबाट प्रहरीले अपराध अनुसन्धानमा पाठ सिकेको स्विकार्छन् । ‘यस्ता घटनाको अनुसन्धानमा प्रहरीको सतर्कता बढेको छ,’ उनले भने । 

त्यस्तै, यो प्रकरणमा प्रहरीले आफ्नै प्रहरीविरुद्धसमेत हचुवाको भरमा मुद्दा चलायो । एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्ट, डिएसपी ज्ञानबहादुर सेठी, डिएसपी अंगुर जिसी, इन्स्पेक्टर एकेन्द्र खड्का, सइहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा दायर भएको थियो । उनीहरूमध्ये एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्स्पेक्टर खड्कालाई भने दिलीपसिंह विष्टलाई यातना दिएर अपराध कबोल गर्न लगाइएकोमा यातनासम्बन्धी मुद्दासमेत चलाइयो । दुवै मुद्दामा उनीहरूले सफाइ पाएका छन् । 

अझ एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई सेवाबाटै हटाउने निर्णयसमेत भएको थियो । पछि सरकारले ‘गल्ती महसुस’ गरी आफ्नै पुरानो निर्णय उल्टाएर उनीहरूलाई सेवामै फर्काउने निर्णय गरिसकेको छ । प्रहरीले नियोजित रूपमा अनुसन्धानमा लापरवाही गरेको कुनै तथ्य नहुँदा पनि भीडको दबाबको भरमा तत्कालीन प्रहरी नेतृत्वले मुद्दा चलाउने निर्णय गरेको थियो । जसले अनुसन्धानमा खटिँदै आएका प्रहरीको मनोबल गिराएको थियो । 

पूर्वएआइजी पुष्कर कार्की यो घटनामा प्रहरी असफल हुनुको चार कारण देख्छन् । नागरिकको अविश्वास, अनुसन्धानमा नियमनको कमी, प्रहरीमाथि हचुवाको भरमा मुद्दा र घटनाको राजनीतिकरणले यो घटनामा प्रहरी असफल भएको उनको भनाइ छ । सुरुमा प्रहरीले पीडित पक्षलाई विश्वासमा लिन नसक्दा नै यो घटना ठूलो बनेको उनी बताउँछन् । ‘धेरै घटनामा परिस्थितिजन्य प्रमाण नै पर्याप्त हुन्छन्,’ उनी भन्छन्, ‘तर, यसमा अब सर्वसाधारणले परिस्थितिजन्य प्रमाणले मान्ने अवस्था छैन, डिएनए परीक्षणमा त्रुटि भइसकेको कुरा आएको छ, त्यही कारण अहिले समस्या भएको हो । त्यतिवेला सुरुदेखि प्रहरी नेतृत्व नै राम्रोसँग नियमन र निर्देशन हुन नसकेको उनको बुझाइ छ । 

त्यस्तै, हचुवाको भरमा आफ्नै प्रहरीलाई मुद्दा चलाएका कारण प्रहरीको मनोबल खस्किएको उनी बताउँछन् । ‘दबाबको भरमा प्रहरीलाई नै पीडित बनाइयो,’ उनी भन्छन्, ‘पछि अदालतले उनीहरूको गल्ती छैन भन्यो ।’ यो प्रकरणलाई बढी राजनीतिकरण गर्दा पनि अनुसन्धान प्रभावित भएको कार्कीको ठम्याइ छ ।