भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसहित इरान, अफगानिस्तान, चीन र साउदी अरेबियाका राजदूतहरूमाथि पनि निगरानी
आइतबार विश्वका १७ प्रमुख मिडिया संस्थाले संसारका कैयौँ राजनीतिज्ञ, अधिकारकर्मी, पत्रकार र व्यवसायीहरू जासुसी गर्ने सफ्टवेयर (स्पाइवेयर)को निसाना बनेको खुलासा गरे । इजरायली प्राविधिक कम्पनी एनएसओ यसका संस्थापक निभ कार्मी, सलेभ हुलियो र ओम्री लाभीको छोटो रूप हो । यसका उत्पादनमध्ये ‘पेगासस स्पाइवेयर’ विश्व चर्चित छ ।
पछिल्लो खुलासापछि पेगाससलाई विश्वभरका अधिनायकवादउन्मुख सरकारले आफ्नाविरोधीहरूविरुद्ध प्रयोग गर्ने गरेको बलियो संकेत पाइएको छ । तर, एनएसओले भने अपराधी र आतंकवादीविरुद्ध प्रयोग गर्ने उद्देश्यमा ‘पेगासस स्पाइवेयर’ निर्माण गरेको दाबी गरेको छ । कम्पनीले मानवअधिकारमा राम्रो रेकर्ड भएका देशहरूको सेना, प्रहरी र गुप्तचर एजेन्सीहरूलाई मात्र सफ्टेवयर बिक्री गर्ने र कुनै निजी निकायलाई बेच्ने नगरेको जनाएको छ । तर, उसले सुरक्षाको कारण भन्दै आफूले सफ्टवेयर बिक्री गरेको देशको नाम भने खुलाएको छैन ।
नेपाली राजदूत आचार्यको मोबाइल ह्याक गरी ‘जासुसी’ गरेको खुलासा : निलाम्बर आचार्य भारतका लागि नेपाली राजदूत
‘स्पाइवेयर’ पेगाससद्वारा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसमेत गोप्य ‘जासुसी’मा परेका छन् । सन् २०१८ देखि राजदूत आचार्यसँगै तीस सय भारतीयको मोबाइल ह्याक गरी ‘जासूसी’ गरिएको खुलासा भएको हो ।
आचार्यसहित इरान, अफगानिस्तान, चीन र साउदी अरेबियाका राजदूतहरूमाथि पेगासस प्रयोग भएको फ्रेन्च पत्रिका ‘ल मोन्ड’ले जनाएको छ । यो खुलासापछि विपक्षी पार्टीले संसद्मा विरोध जनाएका छन् । सदन अवरुद्ध भएको छ र सरकारसँग जवाफ मागिएको छ ।
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलाई खरो आलोचना गर्ने पत्रकारहरूमाथि जासुसी गरिएपछि सरकारमाथि नै आशंका गरिएको विभिन्न सञ्चारमाध्यमले दाबी गरेका छन् ।
पेगासस प्रोजेक्ट सार्वजनिक हुँदै छ भन्ने थाहा पाएपछि एनएसओले विज्ञप्ति जारी गरेर सफ्ट्वेयर बिक्री गरिसकेपछि तिनको प्रयोगमा आफ्नो नियन्त्रण नहुने भन्दै बचाउको प्रयास गरेको थियो । द वासिंगटन पोस्टसँग कुराकानी गर्दै एनएसओका सहसंस्थापक हुलियोले ‘आफ्ना केही ग्राहकले पेगाससको गलत रूपमा प्रयोग गरेको’ स्वीकारे । स्पाइवेयरलाई गलत रूपमा प्रयोग गरेको प्रमाण भेटिएका खरिदकर्ताहरूको प्रणाली निस्तेज गर्ने गरेको उनको दाबी थियो ।
सन् २०२० मा एम्नेस्टी इन्टरनेसनल र पेरिसमा मुख्यालय रहेको गैरनाफामूलक संस्था ‘फरविडन स्टोरिज’ले एनएसओका खरिदकर्ताले ‘रुचि देखाएको मानिस’का झन्डै ५० हजार फोन नम्बरको सूची हात पारेको थियो । ती दुई संस्थाले यो सूचनालाई विश्वका १७ मिडिया संस्थाहरूसँग मिलेर विश्लेषण सुरु गर्यो । सूचना पाउनेमा बेलायतको द गार्जियन, फ्रान्सको ल मोड र रेडियो फ्रान्स तथा जर्मनीको डी जेइट, सुडडोइच जाइटुङ, डब्लुडिआर र एनडिआर थिए ।
त्यस्तै, अमेरिका द वासिंगटन पोस्ट र पिबिएस फ्रन्टलाइन, इजरायलको हारेट्ज र सिरियाको डराज, हंगेरीको डाइरेक्ट ३६ र ओसिसिआरपी पनि अनुसन्धानमा संलग्न थिए । यसमा छिमेकी भारतको ‘द वायर’ पनि संलग्न थियो । ती मिडियासँग आबद्ध ८० जना पत्रकारहरूले महिनौँ लगाएर लिक भएको फोन नम्बरको सूचीहरूको विश्लेषण गरेका थिए । अनुसन्धानको क्रममा एनएसओबाट पेगासस खरिद गरेका कैयौँ सरकारी निकायहरूले सन् २०१६ देखि नै जासुसी गरिरहेको पाइएको छ ।
इजरायलसँग सुमधुर सम्बन्ध भएका देश पेगाससका खरिदकर्ता
जासुसीका लागि एनएसओले निर्माण गरेको सबैभन्दा चर्चित स्पाइवेयर पेगासस प्रयोग भएकाले यो मिडिया अनुसन्धानको नाम ‘पेगासस प्रोजेक्ट’ दिइएको हो । पेगासस प्रोजेक्टको एक हिस्सेदार द वासिंगटन पोस्टका अनुसार इजरायल सरकारले पेगाससलाई हतियारको वर्गीकरणमा राखेको छ र यो प्रविधिको निर्यात गर्न कम्पनीले अनिवार्य रूपमा इजरायल सरकारको अनुमति लिनुपर्छ । यसको अर्थ पेगाससका खरिदकर्ताहरू मुख्यतः इजरायलसँग सुमधुर सम्बन्ध भएका देशका सरकार हुन् ।
पेगासस प्रोजेक्टमा काम गरिरहेको मिडिया संस्थाले आफूहरूले सूचीमा ५० भन्दा धेरै देशका एक हजार व्यक्ति पहिचान गरेको जानकारी दिएका छन् । विश्लेषणका क्रममा पेगासस प्रयोग गर्ने भनेर टिपाइएका फोन नम्बरहरू राजनीतिज्ञ तथा राज्य प्रमुख (६ सयभन्दा बढी), व्यावसायिक सिइओ (६४), मानवअधिकार अभियन्ता (८५), पत्रकार (१८९) र अरब क्षेत्रका शाही परिवारका कैयौँ सदस्यको भएको पाइएको छ । तर, लिक भएको तथ्यांकमा रहेको सबै ५० हजार फोन ह्याक नभएको पनि हुन सक्ने आकलन गरिएको छ ।
२१ देशका पत्रकार पेगाससको सिकार भएको अनुमान
पेगाससको सिकार भएका पत्रकारहरू झन्डै २१ देशका छन् । गार्जियनका अनुसार विश्वका सबैभन्दा ठूला सञ्चारमाध्यमहरू एएफपी, द वाल स्ट्रिट जर्नल, सिएनएन, द न्युयोर्क टाइम्स, अल–जजिरा, फ्रान्स २४, रेडियो फ्रि युरोप, ल मोन्ड, ब्लुमबर्ग, द इकोनोमिस्ट, रोयटर्स र भ्वाइस अफ अमेरिकाका पत्रकारहरूको मोबाइलको जासुसी गरिएको थियो । फाइनेन्सियल टाइम्सका सम्पादक रोला खलाफ मेक्सिकोका स्वतन्त्र पत्रकार पिनेडा विरतो (उनको फोन नम्बर छनोट भएको एक महिनामा उनी मारिएका थिए) पनि सूचीमा पाइएको छ ।
एम्नेस्टी इन्टरनेसनलको सेक्युरिटी ल्याबमा भएको फोरेन्सिक विश्लेषणले अक्टोबर २०१८ मा टर्कीस्थित साउदी महावाणिज्य दूतावासमा मारिएका जमाल खसोग्गीकी श्रीमतीको फोनमा उनको हत्या हुनुअघि पेगासस पठाइएको र प्रेमिकाको फोन भने हत्यापछि पेगासस हमलामा परेको पाइएको छ ।
यसले कसरी काम गर्छ ?
पेगाससलाई लक्षित व्यक्तिको फोनमा फोन म्यासेज, ह्वाट्सएप म्यासेज, आइफोनमा आई–म्यासेजमार्फत पठाइन्छ । जब फोन प्रयोगकर्ताले ती मालवेयरलाई क्लिक गर्छन्, तब पेगासस पठाउनेले प्रयोगकर्ताको फोनमा रहेको म्यासेज, इमेल, फोटो तथा भिडियो, फोन कन्ट्याकमा रहेका नम्बर, रेकर्ड कल, ह्वाट्सएप च्याटलाई सजिलै हेर्न सक्छ । पेगाससको त्योभन्दा पनि खतरनाक क्षमता त्यसले फोन कुन स्थानमा छ भनेर सूचना निगरानीकर्तालाई दिन्छ । साथै फोन बोक्ने व्यक्तिले फोनको माइक्रोफोन तथा क्यामेरालाई नखुलाउँदा पनि आफैँ स्वचालित रूपमा खुल्छ र मोबाइलको छेउछाउका आवाज सुन्न तथा दृश्य खिच्न सक्छ । त्यसपछि आफूले थाहै नपाई हरेक गतिविधिमाथि निगरानीकर्ता निकायले नजर लगाउन सक्छ ।
पछिल्लो खुलासालाई मुख्यतः १० मुलुक केन्द्रित गरिएको छ । तिनमा अजरबैजान, बहराइन, हंगेरी, भारत, कजाखस्तान, मेक्सिको, मोरक्को, रुवान्डा, साउदी अरब र युएई छन् । पेगासस प्रोजेक्टले भारतमा ठूलो तरंग उत्पन्न गरेको छ । भारतमा पेगाससको निसानामा झन्डै ४० पत्रकार (जसमध्ये एकजना नेपाली मूलका प्रशान्त झा पनि छन्), तीन प्रमुख प्रतिपक्षी नेता, एक संवैधानिक पदाधिकारी परेका छन् । यिनमा अधिकांश वर्तमान नरेन्द्र मोदीका आलोचकहरू छन् । तर, स्वयं मोदी सरकारमा रहेका दुई मन्त्री, सुरक्षा संगठनका वर्तमान तथा पूर्वप्रमुख, कैयौँ व्यापारीको नाम पनि पाइएको छ ।
यसअघि पनि प्रयोग भएको थियो पेगासस
एनएसओ समूहको उत्पादन जासुसीका लागि प्रयोग भएको आरोप लागेको यो पहिलोपटक होइन । अहिले यसको विश्वव्यापी प्रयोगको एकैपटक खुलासा भएकाले बढी हलचल उत्पन्न भएको हो । यसअघि सन् २०१८ मा टोरन्टो विश्वविद्यालयस्थित सिटिजन ल्याबले पेगासस ६ देशका नागरिक समाजमाथि प्रयोग भएको रिपोर्ट जारी गरेको थियो । ती ६ मुलुकमा बहराइन, कजाखस्तान, मेक्सिको, मोरक्को, साउदी अरब र युएई थिए । त्यसवेला जासुसी भएका अधिकांश अधिकारकर्मीको मोबाइल नियन्त्रण गर्न ह्वाट्सएपमा म्यासेजमा पेगासस मालवेयर पठाएको सिटिजन ल्याबले बताएको थियो । यो खुलासापछि फेसबुकको स्वामित्वमा रहेको सञ्चार एप ह्वाट्सएपले एनएसओविरुद्ध मुद्दा हालेको थियो । आफ्नो उत्पादनलाई जासुसीको औजार बनाएको र त्यसले अमेरिकाको संघीय ह्याकिङविरोधी कानुन उल्लंघन भएको कम्पनीको दाबी छ ।
(एजेन्सीहरूको सहयोगमा )