मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७८ श्रावण ३ आइतबार ०९:४८:००
Read Time : > 2 मिनेट
फिचर प्रिन्ट संस्करण

सगरमाथा चढ्न ५२ दिन, झर्न तीन दिन

Read Time : > 2 मिनेट
२०७८ श्रावण ३ आइतबार ०९:४८:००

हरेराम खड्काको आरोहण अनुभव

उच्च पहाड र हिमाली भेगमा हुर्के–बढेको मान्छेलाई समेत मध्यमस्तरका हिमाल आरोहण गर्नु जटिल विषय हो । यसैकारण हिमालनजिकै हुर्किएर पनि त्यसको चुचुरोमा पुग्ने सपना जो–कोहीले देख्दैनन् । हिमाल आरोहणमा लाग्ने समय, खर्च र मिहिनेत त छँदैछ, त्यसबाहेक मौसमको साथ नपाउँदासमेत कैयौँ व्यक्तिले ज्यान गुमाउनुपर्छ । यस्तै घटनाका कारण कैयौँले त हिमाल आरोहणको सपना देखे पनि बीचमै तिलाञ्जली दिन्छन् । तर, केही व्यक्ति भने यी सबै दृश्य देख्दादेख्दै पनि हिमाल आरोहणको सपना पूरा गरेरै छड्छन् । यस्तै उदाहरणमध्ये एक हुन्, पर्सा ठोरी गाउँपालिका–५ सुवर्णपुरका ४६ वर्षीय हरेराम खड्का । 

खड्का माउन्टेन ट्रेकिङ गाइड हुन् । यसकारण तराईका स्थायीवासी भए पनि उनको अधिकांश समय पहाड, हिमाल र उकाली–ओराली गर्दैमा बित्छ । उनी यो पेसामा लाग्नुको प्रमुख कारण हो, सगरमाथा आरोहणको सपना पूरा गर्नु ।  यो पेसामा लागेकै कारण उनले १६ वर्षमा आफ्नो सपना पूरा गरेका छन् ।

यसअघि आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल चढ्ने अवसर पाए पनि सात हजार मिटर (क्याम्प–३) भन्दा माथि पुग्न सकिनँ । त्यसवेला शेर्पाहरूको भारी बोकेर आरोहणमा गएको थिएँ, सात हजार मिटरसम्म पुगेपछि सगरमाथा आरोहणको सपना देख्न थालेँ । अन्ततः सफल भएँ ।

उनले डेढ महिनाअघि अर्थात् १ जुनमा विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला राखेका हुन् । प्रदेश २ बाट सगरमाथाको सफल आरोहण गर्ने खड्का पहिलो व्यक्ति पनि हुन् । खड्का भन्छन्, ‘१६ वर्षको सपना पूरा भएको छ ।’ उनले करिब ५२ दिनमा सगरमाथाको सफल आरोहण गरेका हुन् । ११ अप्रिल २०२१ मा सगरमाथा आरोहणका लागि उनी निस्किएका थिए भने १ जुनमा चुचुरोमा पुगेका थिए ।

उनीसँगै भारतीय र नेपाली गरी २० जनाले एकै दिन चुचुरोमा पाइला राखेका थिए । यस वर्ष मौसम प्रतिकूल भएका कारण धेरै विदेशी पर्यटक चुचुरोमा नपुगी आधारशिविरबाटै फर्किएको उनले बताए । यद्यपि, दुई दिन मात्रै मौसम अनुकूल बन्दा आफूहरू चुचुरोमा पुग्न सफल भएको उनको भनाइ छ । सगरमाथा आरोहणपछि उनी अहिले जिल्लाका विभिन्न पालिका र सदरमुकाममा सम्मान ग्रहणमा व्यस्त छन् । 

सगरमाथा आरोहण गर्न कति लाग्यो खर्च ?
आरोही खड्काका अनुसार सगरमाथा आरोहण गर्न करिब साढे २७ लाख रूपैयाँ खर्च भएको छ । यो रकम जुटाउन करिब एक महिना लागेको खड्काले बताए । सगरमाथा आरोहणको तयारी गरेपछि लाग्ने आवश्यक रकम जुटाउन विभिन्न स्थानमा पुग्नुपरेको उनले बताए । उनी भन्छन्, ‘जिल्लाका सबै पालिकामा साइकलमार्फत सहयोग रकम जुटाउन घुमेँ, तर दुईवटा पालिकाले मात्रै सहयोग गरे । वीरगन्ज महानगरपालिकाले साढे दुई लाख र ठोरी गाउँपालिकाले दुई लाख सहयोग गरे पनि निकै राहत भयो ।’

रकम संकलन गर्ने क्रममा जनप्रतिनिधिहरूले सकारात्मक रूपमा लिए पनि सहयोग गर्ने वातावरण नबनाएको उनको दुखेसो छ । रकम नपुगेपछि विदेशमा रहेका साथीहरूले पनि सहयोग गरेको उनले बताए । आरोहणमा लागेको कुल खर्चमध्ये विभिन्न संस्था, व्यक्तिबाट १७ लाख जुट्यो र अपुग १० लाख रकम कर्जा लिएको उनले बताए । कर्जा लिएको रकम चुक्ता गर्नका लागि अहिले फेरि सहयोग जुटाउन लागेको उनले बताए ।

सगरमाथा आरोहणमा करिब साढे २७ लाख खर्च भयो, कुल खर्चमध्ये १७ लाख सरसहयोगबाटै जुट्यो, अपुग १० लाख कर्जा लिएको थिएँ, त्यही कर्जा लिएको रकम चुक्ता गर्न अहिले फेरि सहयोग जुटाउन लागेको छु ।

सगरमाथा आरोहणअघिको तयारी
नातामा काका पर्ने एक व्यक्तिका माध्यमबाट खड्का सन् २००५ मा सोलुखुम्बु जिल्ला पुगेका थिए । उनी भन्छन्, ‘सोलुखुम्बु पुग्दा माउन्टेन ट्रेकिङ गाइडको भर्ना खुलेको जानकारी पाएँ । त्यसपछि तालिम लिएर माउन्टेन ट्रेकिङ गाइडको रूपमा काम थालेँ ।’

कामकै सिलसिलामा सन् २००७ मा नेपाल पर्वतारोहण संघमार्फत मनाङमा ३५ दिने आधारभूत कोर्स पनि गरेको बताए । यही क्रममा उनले माउन्टेन ट्रेकिङ गाइडको रूपमा पाँच हजार पाँच सय मिटर अग्ला पर्वत पनि आरोहण गरे । खड्काका अनुसार काम गर्दै जाँदा सन् २०१० मा ३५ दिने हिमाल आरोहणसम्बन्धी तालिम पाएर लाङटाङ हिमाल चढ्न पाएँ । 

उनले सन् २०१२ को आइजेलम्पिक प्रतियोगितामा सहभागी हुने क्रममा ६ हजार एक सय ८९ मिटरको खुम्बु हिमाल आरोहणको अवसर पनि पाएका थिए । तर, उनी पाँच हजार आठ सय मिटरसम्म मात्रै पुगे ।

२०१३ मा आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल चढ्ने अवसर पाए पनि सात हजार मिटर (क्याम्प–३) भन्दा माथि पुग्न सकेनन् । ‘त्यसवेला शेर्पाहरूको भारी बोकेर आरोहणमा गएको थिएँ,’ खड्का भन्छन्, ‘सात हजार मिटरसम्म पुगेपछि सगरमाथा आरोहणको सपना देख्न थालेँ । अन्ततः सफल भएको छु ।’ 

उनी भन्छन्, ‘१७ जना भारतीय र तीनजना नेपालीको टोलीमा १२ जना भारतीय र दुईजना नेपालीले मात्र आरोहण गर्न सफल भयौँ । चढ्न सजिलो भए पनि मौसमले साथ नदिँदा धेरै समय लाग्छ ।’ नेपाल पर्वतारोहण संघको गाइडलाइनअनुसार सगरमाथा आरोहण गर्न कम्तीमा ४५ दिन लाग्नुका साथै मौसम पनि अनुकूल हुनुपर्छ । गाइडलाइनविपरीत सगरमाथा आरोहण गर्न नसकिने उनको भनाइ छ । सगरमाथा आरोहण गर्न लामो समय लाग्ने भए तल झर्न भने तीन दिन मात्रै लाग्ने उनले बताए ।