मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सिंगटी जलविद्युत् आयोजनाको बाँध क्षेत्र । तस्बिर : नयाँ पत्रिका ।
२०७८ श्रावण ३ आइतबार ०९:१७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिंगटी खोलाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

Read Time : > 1 मिनेट
२०७८ श्रावण ३ आइतबार ०९:१७:००

दोलखाको कालिञ्चोक र बिगु गाउँपालिकास्थित सिंगटी खोलामा निर्माण सम्पन्न भएको २५ मेगावाटको सिंगटी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यसअघि नै निर्माण सम्पन्न भई सबै संरचनाहरूको सफल परीक्षणसमेत भइसकेको सिंगटी खोलाको विद्युत् शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उत्पादित विद्युत् सिंगटी लामोसाँघु प्रसारण लाइनमार्फत नेसनल ग्रिडमा जोडिएको कम्पनीका कार्यकारी निर्देशक गणेश कार्कीले जानकारी दिए ।  

आयोजनाको सोरुङदेखि सिंगटीसम्मको ५ हजार ६ सय ७ मिटर लामो प्रेसर टनेलबाट पहिलो चरणमा प्रतिसेकेन्ड ५ हजार लिटर पानी छाडिएको छ । जसबाट विद्युत्गृहका २ वटा टर्बाइनमार्फत विद्युत् उत्पादन भएको छ । आयोजनामा १ हजार १ सय मिटर पेनस्टक र २ सय ५८ मिटर हेड रहेको छ । आयोजनाका इन्जिनियर अशोक पन्थीका अनुसार शुक्रबार दिउँसोको ३ बजेदेखि उत्पादित विद्युत् प्रसारण लाइनमा जोडिएको हो । इन्जिनियर पन्थीले वर्षाको समय भएकाले खोलामा पर्याप्त पानी भएका कारण क्रमशः २४ घन्टाभित्र तोकिएको २५ मेगावाट नै विद्युत् उत्पादन हुने र उत्पादित विद्युत् नेसनल ग्रिडमा थपिने बताएका छन् । 

०७३ अन्तिमबाट सिभिल संरचना निर्माणको काम सुरु गरिएको आयोजना झन्डै डेढ वर्षअघि नै निर्माण सम्पन्न भए पनि प्रसारण लाइन समयमा निर्माण सम्पन्न नहुँदा विद्युत् उत्पादन गरिएको थिएन । बिहीबार बेलुकीबाट सिंगटी लामोसाँघु प्रसारण लाइन सञ्चालनमा आएलगत्तै सिंगटी जलविद्युत् आयोजनाले आफ्नो उत्पादन नेसनल ग्रिडमा जोड्न सफल भएको सिंगटी हाइड्रोका कम्पनी सचिव सुदीप खड्काले जानकारी दिए । खड्काले प्रसारण लाइन निर्माण सम्पन्नका लागिसमेत आयोजनाका तर्फबाट आवश्यक सहयोग गरेको बताए । उनले अब सिंगटीले निरन्तर पूरै क्षमतामा विद्युत् उत्पादन गर्ने जानकारी दिएका छन् ।
    
 ‘सुपर सिक्स’मध्येको नमुना आयोजना 
नेपाल विद्युत् प्राधिकरणले ०६७ सालमा सबैभन्दा छिटो विद्युत् उत्पादन हुने ६ वटा आयोजनाहरू फास्ट ट्र्याकबाट बिजुली उत्पादन गर्न भन्दै ‘सुपर सिक्स’ नामकरण गरी निजी क्षेत्रलाई जिम्मा लगाएको थियो । प्राधिकरणले तत्कालीन समयमा दोलखाका २ वटा आयोजना सिंगटी र खारेखोला, संखुवासभाको माया खोला, ताप्लेजुङको मेवा खोला र सोलुखुम्बुको अपर सोलुसहित अर्को एक आयोजना निजी क्षेत्रलाई दिएको थियो । त्यसमध्ये सबैभन्दा पहिला आयोजना निर्माण सम्पन्न गरी उत्पादित विद्युत् नेसनल ग्रिडमा जोड्ने सिंगटी पहिलो आयोजना हो । अपर सोलु निर्माण पूरा भए पनि प्रसारण लाइन अभावका कारण नेसनल ग्रिडमा जोडिएको छैन ।

अन्य आयोजनाहरू केही निर्माणाधीन अवस्थामा छन् भने केहीले अहिलेसम्म पनि निर्माणको सुरुवात गरेका छैनन् । नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूले निजी क्षेत्रले निर्माण गरेका आयोजनामध्ये सिंगटी सफल र भरपर्दो आयोजना भएको दाबी गर्ने गरेका छन् । उनीहरूले ट्रान्समिसन लस असाध्यै छोटो हुनु नै आयोजनाको सुन्दर पक्ष रहेको जिकिर गरेका छन् । आयोजनाको विद्युत्गृहदेखि प्राधिकरणले निर्माण गरेको सबस्टेसनसम्मको दूरी २ सय मिटर मात्रै छ । 

३ वर्षमा आयोजना सम्पन्न
०७३ अन्तिमबाट निर्माण सुरु गरिएको आयोजना ३ वर्षभित्रै सम्पन्न भएको थियो । डेढ वर्षदेखि प्रसारण लाइनकै कारण अड्केर बस्नुपरेको निर्देशक कार्की बताउँछन् । नयाँ पत्रिकासँग कुरा गर्दै कार्कीले भने, ‘समयमा प्रसारण लाइन निर्माण सम्पन्न नहुँदा डेढ वर्षदेखि सम्पन्न भएको आयोजनाबाट विद्युत् उत्पादन गर्न सकिरहेका थिएनौँ, बल्ल हाम्रो उद्देश्य पूरा भएको छ ।’

कार्कीले २ सय मिटरको दूरीमा सबस्टेसन हुनु, खोलामा आवश्यक पर्ने पानी पर्याप्त हुनुजस्ता थुप्रै सकारात्मक कारणले पनि आफूहरू उत्साहित भएको जनाएका छन् । आयोजना निर्माण सम्पन्न हँुदा अहिलेसम्मको लागत ५ अर्ब ५० करोड पुगेको आयोजनाले जनाएको छ ।