मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विजयराज खनाल काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार ०९:४७:००
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वर्षमा आठ करोड रुपैयाँका  सिक्का बजारबाटै हराउँछन् नेपालमा

Read Time : > 7 मिनेट
विजयराज खनाल, काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार ०९:४७:००

- मूल्यभन्दा खर्चिलो : एक रुपैयाँको सिक्का बनाउन दुई रुपैयाँ ४० पैसा खर्च
- महँगोमा बिक्री : दुई–तीन सय डलरमा समेत बिक्री हुन्छन् पुराना सिक्का
- नेपालको सिक्का भारतमा : देवीदेवताको तस्बिरअंकित सिक्का भारत जान्छ

संसारमा अभौतिक मुद्रा (डिजिटल करेन्सी) प्रचलन आइसकेको छ । तर, नेपालमा धातुका एक र दुई रुपैयाँका सिक्काकोे माग घटेको छैन । वार्षिक आठ करोड रुपैयाँबराबरका सिक्का मुलुकमा खपत हुने गरेको छ । राष्ट्र बैंकबाट निष्कासन गरिने यी सिक्काको प्रयोग चलनचल्तीबाटै हराइसकेजस्तै छ । केही डिपार्टमेन्ट स्टोरबाहेक किरानालगायत अन्य पसलबाट एक–दुई रुपैयाँको फिर्ता आउने भयो भने पैसा होइन, टफी आउँछ । सार्वजनिक यातायातका साधनमा समेत खुद्रा पैसा फिर्ता दिँदैनन् । यसरी सिक्काहरूको मौद्रिक मूल्य नै हराइसकेको छ । तर, एकपटक राष्ट्र बैंकबाट बाहिरिएका सिक्का फेरि कहिल्यै फर्किँदैनन् ।

मौद्रिक मूल्य नै नभएका यस्ता सिक्काहरू राष्ट्र बैंकमा किन फर्किँदैनन् त ? सिक्काहरूको सांस्कृतिक महत्व भएकाले तिनको प्रयोग सांस्कृतिक तथा धार्मिक प्रयोजनमा धेरै हुने अनुमान राष्ट्र बैंकको छ । न्वारानदेखि अन्तिम संस्कारसम्मका सांस्कृतिक काममा सिक्काको प्रयोग अनिवार्य छ । त्यसका अतिरिक्त तुलादानजस्ता सांस्कृतिक काममा ठूलो मात्रामा यसको प्रयोग हुन्छ । नेपाली सिक्का सांस्कृतिक प्रयोजनका लागि भारतमा समेत जाने गरेको पाइएको टक्सार विभागका एक अधिकारीले बताए । ‘त्यति मात्रै होइन, पुराना–पुराना सिक्का क्युरियोको रूपमा महँगो मूल्यमा बेचबिखन हुने गरेको छ,’ उनले भने । केही समयअघि वीरगन्जका एक व्यक्तिसँग तीन–चार लाख सिक्का जम्मा भएको राष्ट्र बैंकले फेला पारेका थियो । शाहकालीन सिक्कामा ६४ योगिनी, खड्ग, त्रिशूल, कमललगायतका चिह्नहरू कुँदिएको पाइन्छ । यसको धार्मिक महत्व हुने भएकाले पनि यस्ता सिक्का भारततर्फ जाने अनुमान गरिएको हो । 

तुलादानलाई नै सिक्का पाउन छाड्यो
हजुरआमाले तुलादान गर्ने भनेपछि काठमाडौंका सुमन अधिकारी नेपाल राष्ट्र बैंकको टक्सार विभागमा एक र दुई रुपैयाँका सिक्का लिन गए । तर, सिक्काको अभाव भएको भन्दै राष्ट्र बैंकले उनलाई सिक्का दिएन । तर, अहिले मुलुकमा सिक्काको उत्पादन नै बन्द भएको तथा बाहिरबाट माइनिङ भएर नआएका कारण सिक्का दिन नसक्ने जानकारी राष्ट्र बैंकले दियो । ‘८४ वर्षको उमेरपछि तुलादानका लागि राष्ट्र बैंकमा सिक्का लिन आउने गर्छन्,’ ती अधिकारीले भने, ‘आफ्नो तौलबराबरका सिक्का तुलादानमार्फत दिने गरिन्छ । त्यसका लागि १५–२० हजार थानबराबर एक र दुईका सिक्का चाहिन्छ, तर अहिले सिक्का दिन सकिने अवस्था छैन ।’ 

‘हामीले बल्लबल्ल थ्री फेज लाइन ल्याउने काम गर्‍यौँ, मेसिनहरू जडान गर्ने परीक्षण गर्ने काम बाँकी नै छ,’ टक्सार विभागका अधिकारीले भने, ‘सम्भवतः असोज–कात्तिकबाट असर्फी सिक्का बनाउन सुरु गर्न सक्छौँ कि ।’ 

विगतमा तुलादानमा सिक्का दिने गरेकोमा कतिपयले त्यस्तो सिक्का आफ्नै ढुकुटीमा जम्मा गर्ने गरेकाले वर्षौँसम्म चलनचल्तीमा नआउने राष्ट्र बैंकका अधिकारीको भनाइ छ । दुवाकोटकी अञ्जु न्यौपानेले भने ०७३ सालमा तुलादान गरेकोमा सिक्का गाउँभरिका ब्राह्मणहरूलाई बाँडेको बताइन् । तुलादानकै कारण मंसिर, माघ र फागुनमा सिक्काको बढी माग हुने गरेको छ ।

महँगोमा बिक्री हुन्छन् पुराना सिक्का 
‘आकारमा केही ठूला हुने भएकाले ०३४ देखि ३६ सालका एक रुपैयाँका सिक्का प्रतिगोटा ३८ रुपैयाँसम्ममा बिक्री हुन्छ,’ बाल्यकालदेखि नै काष्ठमण्डपमा सिक्का बिक्री गर्दै आएका ७४ वर्षीय रवीन्द्रमान राजभण्डारी भन्छन्, ‘लामा नाचलगायतमा लगाउन बनाइने यस्तो मालाका लागि कम्तीमा एक सय सातदेखि एक सय १३ वटासम्म सिक्का प्रयोग हुन्छ ।’ 

पूर्वराजा महेन्द्र, त्रिभुवनका पालाका पाँच पैसाको सिक्का १० रुपैयाँमा, तामाका १० पैसा र एक रुपैयाँको सिक्का २० देखि ४० रुपैयाँमा बिक्री हुने र राजा वीरेन्द्रको पालाका जुनै सिक्का पनि एक रुपैयाँमा बिक्री गर्ने गरेको मानन्धर बताउँछन् । गणेश मन्दिरहरूमा चढाउन यस्तो सिक्का खरिद हुने बताउने मानन्धरले लकडाउनको कारण अहिले पसल खोल्न सकेका छैनन् । 

विश्वभर सिक्का संकलकहरूमा नेपाली सिक्काले पनि छुट्टै महत्व राख्ने गरेको छ । त्यसैले मुद्रा संकलकहरूमा समेत पुरा सिक्काहरूप्रति मोह छ । ‘दरबार हत्याकाण्डको समयका सिक्काको क्युरियो मूल्य अधिक छ,’ मुद्रा संकलक सुगत श्रेष्ठ भन्छन्, ‘त्यस्तै, लिच्छविकालीन समयका, मल्लकालका पुराना सिक्काको पनि राम्रो मूल्य पाइन्छ ।’ नेपाली सिक्का बिक्री गर्न राखिएका विभिन्न अनलाइन साइटहरूमा कतिपय सिक्काहरू दुई–तीन सय डलरमा समेत बिक्रीका लागि राखिएका पाइन्छन् । 

मानदेवका पालादेखि धातुका सिक्काको प्रयोग 
धातुको सिक्काको पहिलोपटक प्रयोग लिच्छविकालीन राजा मानदेवले सुरु गरेको मानिन्छ । सुन, चाँदी, तामालगायतका धातुका सिक्काहरू सो समय प्रचलनमा थिए । १ असोज २००२ मा पहिलोपटक मुलुकमा कागजी मुद्रा प्रचलनमा आउनुअघि या त सिक्का या भारतीय मुद्राहरू पनि प्रयोगमा थिए । ०१० फागुनदेखि सिक्कामा चाँदीको प्रयोग रोकियो । ०३९ साल ताका चलनचल्तीका सिक्कामा कर्पोनिक्कल, आल्मुनियम, ०५१ सालतिर स्टिल, आल्मुनियम, ०६० सम्म आल्मुनियम, ०६२ सम्म तामालगायतका धातुबाट सिक्का बनाइएको राष्ट्र बैंकले प्रकाशित गरेको नोट एन्ड कोइन अफ नेपालमा उल्लेख छ । अहिले भने सिक्का बनाउन स्टेनलेस स्टिलका धातुहरूको बढी प्रयोग हुन्छ । यद्यपि सिक्काको दुरुपयोग कम हुन सकेको छैन । 

एक रुपैयाँको सिक्का बनाउन दुई रुपैयाँ ४० पैसा खर्च हुन्छ 
हाल एक रुपैयाँको सिक्का बनाएर ल्याउँदा लागत मूल्य प्रतिसिक्का दुई रुपैयाँ ४० पैसा पर्छ । त्यस्तै, दुई रुपैयाँ सिक्काका लागि प्रतिसिक्का लागत दुई रुपैयाँ ७० पैसा पर्दै आएको छ । केहीअघि मात्रै राष्ट्र बैंकले गरेको ग्लोबल टेन्डरपछि मिन्ट अफ पोल्यान्डले ३० करोड थान रु. एकको सिक्का बनाउन लागेको छ । यही माघ–फागुनमा पहिलो लटअन्तर्गत नौ करोड थान नेपाल आउने भएको छ । त्यस्तै, युके रोयल मिन्टले पाएको टेन्डरअनुसार उसले दुई रुपैयाँको १० करोड थान सिक्का बनाउनेछ । पहिलो लटमा चार करोड थान नेपाल आउनेछ । अहिले आधुनिक प्रविधिको प्रयोग हुने तथा सिक्कामा प्रयोग हुने धातु पनि महँगो पर्ने हुनाले सिक्का टक्सार (माइनिङ)को लागत उच्च हुने गरेको नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए । 

राष्ट्र बैंकको टक्सार विभागबाट भने ०६२/६३ अघिबाटै चलनचल्तीका सिक्का टकसार गर्न छाडिएको छ । त्यसअघिसम्म भने चलनचल्तीमा रहने सिक्काहरू नेपालभित्रै टकामरी हुन्थ्यो । राष्ट्र बैंककै टक्सार विभागले आव ०६०÷६१ मा २५ रुपैयाँको १० हजार सिक्का, दुई रुपैयाँको ६१ लाख ८७ हजार सिक्का, एक रुपैयाँको एक करोड ६९ लाख ४७ हजार सिक्का र ५० पैसाका २८ लाख ३४ हजार सिक्का निकालेको सो समयको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ । आव ०६१/६२ मा भने १०, २५, ५० पैसादेखि एक, दुई र पाँच रुपैयाँका चार करोड २६ लाखबराबरका सिक्का निकालेको थियो । त्यसयता नेपाल राष्ट्र बैंकले १०, २५, ५० पैसाको टकामारी गरेको छैन । 

राष्ट्र बैंकले सार्वजनिक गर्ने वार्षिक प्रतिवेदनहरूका आधारमा १८ वर्षयता करिब ७८ करोड थानका एक अर्ब रुपैयाँभन्दा बढीका (एक अर्ब तीन करोड थान) सिक्का टकामरी (मुद्रण) भएका छन् । अन्तिमपटक आव ०६७/६८ र आव ०६८/६९ मा एक रुपैयाँको ५२ करोड थान (५२ करोड रुपैयाँ) सिक्का र दुई रुपैयाँको करिब २२ करोड थान (४४ करोड) सिक्का मुद्रण भएर नेपाल भित्रिएका थिए । फिनल्यान्ड र पोल्यान्डबाट ती सिक्का टकमारी भएर आएका थिए । 

पछिल्लो समय ०७२ को भूकम्पयता राष्ट्र बैंकको टक्सार विभागसमेत लथालिंग अवस्थामा सञ्चालन भइरहेको छ । भूकम्पपछि अस्तव्यस्त बनेको यो विभाग बाहिरी स्रोतबाट चलाउने निर्णय राष्ट्र बैंकले गरेसँगै चलनचल्तीका नयाँ सिक्का बाहिरबाट समेत टकामरी गरेर ल्याइएको छैन । अहिले बल्ल सिक्का ल्याउन ग्लोबल टेन्डर भई माइनिङको प्रक्रियामा छ । 

भूकम्पपछि नियमित चलनचल्तीका सिक्काको व्यवस्थापन गर्न समस्या भएपछि भण्डारणमा भएका धेरैजसो सिक्का वाणिज्य बैंकमार्फत बिक्री गर्‍यो । यसले अहिले सिक्काको माग र आपूर्तिमा असन्तुलन भएको छ । चलनचल्तीमा सिक्का अभाव यति चुलिएको छ, अहिलेको मौज्दातले यही माघसम्म मुस्किलले धान्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । टक्सार विभागका एक अधिकारीले भने, ‘अहिले सिक्का माग्न आउनेलाई निकै कम दिइरहेका छौँ ।’ राष्ट्र बैंककै आव ०७६/७७ को प्रतिवेदनले सो आव अन्त्यमा रु. एक दरको ६६ लाख ९३ हजार र रु. दुई दरको एक करोड ९३ लाख १४ हजार सिक्का मौज्दात रहेको उल्लेख गरेको छ । 

राष्ट्र बैंकले बजारबाटै पनि चलनचल्तीमा ल्याइएका मुद्रा फिर्ता लिएर तत्कालको माग धान्न सक्छ । कम्तीमा एकपटकमा हजारवटा सिक्का खरिद गर्ने नीति राष्ट्र बैंकले लिएको भए पनि हाल यसका लागि स्रोत नै नछुट्याइएको टक्सार विभागका एक अधिकारीले भने । यसरी सिक्का फिर्ता लिँदा राष्ट्र बैंकलाई लागतमा समेत फाइदा हुन्छ । 

पछिल्लोपटक टकामरी भएको सत्यमोहन जोशीको चित्रांकित सिक्का
विशेष अवसरमा बनाइने गरिएका सुन, चाँदीका असर्फी तथा सिक्काको माइनिङ राष्ट्र बैंकले आफ्नै टक्सार विभागबाट ०७६ सम्म गर्ने गरेको भए पनि हाल विभागले त्यो काम पनि बन्द गरेको छ । पछिल्लोपटक ०७६ मा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सय, हजार र २५ सय रुपैयाँका चाँदीका सिक्का टकसार गरेको थियो । जोशी सय वर्ष पुगेको उपलक्ष्यमा ललितपुर महानगरपालिकाको अनुरोधमा राष्ट्र बैंकले ती सिक्का निष्कासन गरेको थियो । त्यसअघि ०७२ मा लौहपुरुष गणेशमान सिंहको जन्मशताब्दीको उपलक्ष्यमा दुई हजार दरका सिक्का निष्कासन गरिएको थियो । त्यो नै जनताको तस्बिरअंकित पहिलो सिक्का थियो । 

तत्कालीन समयमा राजा तथा राजपरिवारका सदस्यको जन्मोत्सवलगायत अवसर पारेर सिक्का टकसार गर्ने चलन थियो । पछिल्लो समयमा तत्कालीन मुमाबडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहको ६०औँ जन्मोत्सव, राजा वीरेन्द्र वीरविक्रम शाहको ५०औँ जन्मोत्सव, ०४७ को संविधान जारीको सम्मानमा, शिख गुरु नानकको सम्मानमा, नेपाल परिवार नियोजन संघको रजतजयन्ती, ०४४ मा भएको तेस्रो सार्क समिट, नेपाल बैंकको स्वर्णजयन्तीलगायतमा सुन तथा चाँदीका असर्फी टकसार गरिएका थिए । तिहारमा मनाइने धनतेरसको समयमा पनि सर्वसाधारणले सुन, चाँदीका असर्फी राष्ट्र बैंकबाट खरिद गर्ने गरेका छन् । सुन्धारामा रहेको टक्सार भवनमा ०७२ को भूकम्पले क्षति भएसँगै मेसिन नै अहिले बबरमहलमा रहेको औषधि विभागको भवनमा सारिएको छ । पुराना मेसिन जडान चलिरहेकाले असर्फी सिक्कासमेत टकसार हुन सकेको छैन ।

सिक्काको दुरुपयोग
सिक्काको दुरुपयोग पनि त्यत्तिकै हुने गरेको छ । पुराना आल्मुनियमका सिक्का भान्छामा प्रयोग हुने भाडाकुँडा बनाउन, मूर्ति बनाउन प्रयोग हुने गरेको छ । पछिल्लो समयमा निस्किएका सुनौला रङका सिक्का औँठीलगायत गहना बनाउनसमेत प्रयोग भइरहेका छन् । एक हजार मूल्यमा एक तोलाबराबरका यस्ता औँठी बिक्री हुने गरेको पाइन्छ । त्यसबाहेक आल्मुनियमबाट बनाइएका सिक्काहरू जनजाति तथा दुर्गम पहाडी भेगका समुदायमा ‘हारी’ बनाउने प्रचलन पनि रहेको छ । कतिपय दुर्गम पहाडी समुदायले भारतीय मुद्राको समेत हारी बनाउने गरेको पाइन्छ । 

धार्मिक मात्र नभई अन्य प्रयोगका लागि समेत सिक्काहरू भारत र बंगलादेशसम्म पनि जाने देखिन्छ । भारतकै सञ्चारमाध्यमहरूले समेत तामा, आल्मुनियम र निकेलको मिश्रणबाट बनाइने सिक्काहरू भारत र बंगलादेशका साना ब्लेड, रेजर बनाउने उद्योगले केही बढी मूल्यमा किन्ने गरेका छन् । यसरी सिक्का संकलनका लागि उद्योगले परिचालित गरेका व्यक्ति सडकमा बस्ने मगन्तेकहाँसम्म पुग्नेसमेत पाइएको समाचारहरूमा उल्लेख छ । सिक्का गलाएर भाँडाकुँडा बनाउने, गहना बनाउने गरिन थालेसँगै सिक्कामा प्रयोग हुने धातुहरू फेरिँदै लगिएको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार सिक्काको धातुको तौल घटाउने वा धातुको अंश फरक पारेमा पाँच वर्षसम्म कैद तथा ५० हजारसम्म जरिवाना हुन्छ । त्यस्तै, नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्ने वा नोटमा लेख्ने गरेमा तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । तैपनि सिक्काको दुरुपयोग रोकिएको छैन । यसले मुलुकलाई अनावश्यक खर्च भार परिरहेको छ ।

किन हराउँछन् सिक्का ?
सिक्काहरूको प्रयोग सांस्कृतिक तथा धार्मिक प्रयोजनमा धेरै हुन्छ । न्वारानदेखि अन्तिम संस्कारसम्मका सांस्कृतिक काममा सिक्काको प्रयोग अनिवार्य छ । त्यसका अतिरिक्त तुलादानजस्ता सांस्कृतिक काममा ठूलो मात्रामा यसको प्रयोग हुन्छ । नेपाली सिक्का सांस्कृतिक प्रयोजनका लागि भारतमा समेत जाने गरेको पाइएको टक्सार विभागका एक अधिकारीले बताए । त्यसैले बजारमा एकपटक गएका सिक्का कहिल्यै राष्ट्र बैंकमा फर्कंदैनन् ।

जति पुराना, उति महँगा
०३४ देखि ०३६ सालका एक रुपैयाँका सिक्का प्रतिगोटा ३८ रुपैयाँसम्ममा बिक्री हुने बाल्यकालदेखि नै काष्ठमण्डपमा सिक्का बिक्री गर्दै आएका ७४ वर्षीय रवीन्द्रमान राजभण्डारीले बताए । ‘लामा नाचलगायतमा लगाउन यस्ता सिक्काका माला बनाइन्छ, जसका लागि एक सय सातदेखि एक सय १३ वटासम्म सिक्का प्रयोग हुन्छ ,’ उनले भने । पूर्वराजा महेन्द्र, त्रिभुवनका पालाका पाँच पैसाको सिक्का १० रुपैयाँमा, तामाका १० पैसा र एक रुपैयाँको सिक्का २० देखि ४० रुपैयाँमा बिक्री हुन्छ । मुद्रा संकलकहरूमा समेत पुराना सिक्काहरूप्रति मोह छ । ‘दरबार हत्याकाण्डको समयका सिक्काको क्युरियो मूल्य अधिक छ,’ मुद्रा संकलक सुगत श्रेष्ठ भन्छन् । विभिन्न अनलाइन साइटहरूमा कतिपय सिक्काहरू दुई–तीन सय डलरमा समेत बिक्रीका लागि राखिएका पाइन्छन् । 

धेरैको दुरुपयोग
पुराना आल्मुनियमका सिक्का भाडाकुँडा बनाउन, मूर्ति बनाउन प्रयोग हुने गरेको छ । पछिल्लो समयमा निस्किएका सुनौला रङका सिक्का औँठीलगायत गहना बनाउनसमेत प्रयोग भइरहेका छन् । धार्मिक मात्र नभई अन्य प्रयोगका लागि समेत सिक्काहरू भारत र बंगलादेशसम्म पनि जाने देखिन्छ । भारतकै सञ्चारमाध्यमहरूले समेत तामा, आल्मुनियम र निकेलको मिश्रणबाट बनाइने सिक्काहरू भारत र बंगलादेशका साना ब्लेड, रेजर बनाउने उद्योगले केही बढी मूल्यमा किन्ने गरेका छन् ।