मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पर्शुराम काफ्ले मेलम्ची (सिन्धुपाल्चोक)
२०७८ असार २७ आइतबार १४:०८:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थलगत : मेलम्ची क्षेत्रमा जे देखियो

Read Time : > 4 मिनेट
पर्शुराम काफ्ले, मेलम्ची (सिन्धुपाल्चोक)
२०७८ असार २७ आइतबार १४:०८:००

जेठ २५ र २६ गते मेलम्चीमा मुसलधारे पानी परेको थियो । जेठ २८ गते मेलम्चीबाट पूर्व–उत्तरतिरका हिमाल हिउँले ढाकिएका थिए । हेलम्बु र मेलम्चीको जनजीवन सामान्य थियो, आत्तिनुपर्ने अवस्था थिएन । १ असारको साँझसम्म पनि परिस्थिति सामान्य थियो । ‘असार १ गते साँझ ८ बजेतिर इन्द्रावतीको बाढीमा काठ बगेर आए,’ मेलम्ची नगरपालिकाकी उपप्रमसुख भगवती नेपालले शनिबार नेपाली सेनाको ब्यारेकमा नयाँ पत्रिकालाई सुनाइन्, ‘करिब त्यही समयमा मेलम्चीमा लेदो मिसिएको बाढी आयो । त्यसपछि क्षणभरमै भीषण बाढी आयो र एकैक्षणमा जनजीवन तहसनहस बनाइहाल्यो ।’ 

भोजपुरबाट तीन दशकअघि विवाह गरेर मेलम्ची आएकी उपप्रमुख नेपालले यस्तो बाढी न देखेकी थिइन् न त कल्पना नै गरेकी थिइन् । ‘माथिबाट हिमताल फुटेर आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्यामबाट माटो, बालुवा, ढुंगा बगाएर ल्याएको हो कि जस्तो लाग्छ, तर कसरी ठूलो बाढी आयो भन्ने अझै हामी अन्योलमा छौँ,’ त्यो भेगका कोही पनि स्पष्ट नभएको उपप्रमुख नेपालको ठम्याइ छ, ‘अहिलेको पुस्ताले देखेको सिन्धुपाल्चोकको सबैभन्दा ठूलो बाढी यही नै हो ।’ 

बाढीको कारण पत्ता लगाउन इसिमोडका प्रतिनिधिको नेतृत्वमा मौसम पूर्वानुमान विभाग, काठमाडौं विश्वविद्यालय, विज्ञ तथा नगरपालिकाका प्रतिनिधि सम्मिलित कार्यदल गठन भएको छ । तर, कार्यदल स्थलगत अध्ययन गर्न जान सकेको छैन । ‘हिँडेर गएपछि मात्रै वस्तुस्थिति बुझ्न सकिने हुनाले वर्षापछि मात्रै जाने अवस्था होला,’ उपप्रमुख नेपालले भनिन् । 

बाढी गएको २७ दिन भएको छ । बजारमा सामान्य चहलपहल छ, तर फेरि पनि बाढी आउने हो कि भन्ने त्रास कायमै छ । ‘वर्षा भर्खर सुरु भएको छ, कति पानी आउँछ, कति बाढी आउँछ भन्ने अझै यकिन छैन,’ उनले सुनाइन्, ‘फेरि पनि ठूलो बाढी आउँछ, हिमताल फुट्नै बाँकी छ भन्नेजस्तो हल्ला हुने गरेको छ । यहाँका बासिन्दा ढुक्कले बस्न सकेका छैनन् ।’ 
बगरमा परिणत भएको मेलम्ची बसपार्क क्षेत्रमा शनिबार बिहान इन्द्रावती लामा होटेलका सञ्चालक तासी लामा भेटिए । पाँचपोखरी थाङ्पालबाट २६ वर्षअघि व्यापार गर्न आएका उनले मेलम्ची बजारमा जोडेको सबै सम्पत्ति क्षणभरमै नष्ट भयो । ‘२६ वर्ष लगाएर कमाएको सबै चिज २६ मिनेटभन्दा पनि कम समयमा समाप्त भयो, बैंकमा तिर्नुपर्ने ऋणबाहेक मसँग केही पनि बाँकी छैन,’ लामाले सुस्केरा हाले, ‘११ रोपनी जग्गामा हामीले चलाएको निजी बसपार्क, होटेल सबै सकियो । नजिकै डेरा लिएर बस्न थालेका छौँ । तीनजनाले उद्यम गर्न लिएको करिब ४० करोड रुपैयाँको ऋण मात्रै बाँकी छ ।’

उनी १ असारको साँझ मेलम्ची खोलाछेउमै थिए । ‘खोलामा बाढी आएको थियो, काठ, माटो बगाएर ल्याएको थियो, पानी परिरहेको थियो,’ लामाले त्यस दिनको घटना सुनाए, ‘मैले थाङ्पाल र पाँचपोखरीतिर सोधेँ । उताबाट खबर आयो, खोला एकदमै धमिलो छ । लेकको धुपी बगेर आएको छ । सतर्क हुनुहोला भनेपछि मैले साथीहरूलाई खबर गरेँ,’ उनले थपे, ‘त्यसपछि हामीले हेर्दाहेर्दै बाढी बढेर बजार ढाक्यो । हामी भाग्यौँ । एकाएक लेदो, माटो र बालुवाले हाम्रो जायजेथा सबै पुरियो । धन्न हामी बच्यौँ ।’ मध्यरातसम्म मेलम्ची बगर भइसकेको थियो । सुरुमा बाढी आउँदा नदीमा बाफ देखिएको उनले सुनाए । ‘हिमालबाट आएको पानी हामी बसेको गर्मी ठाउँमा आउँदा बाफजस्तो निस्केको हो कि, हामीलाई किन यस्तो भयो थाहा छैन,’ लामाले बताए । 

अहिले लामासहित ५३ जनाको परिवारमध्ये कोही पालमुनि त कोही डेरामा बसेको छ । ‘व्यवसाय चौपट भयो, व्यवसायीहरूलाई आठ–दश लाख रुपैयाँ उपलब्ध गराउन सकियो भने फेरि पनि व्यवसाय गरेर खालान्, नभए हामी सबै डिप्रेसनमा जाने खतरा हुन्छ,’ लामाले भने, ‘अहिले इष्टमित्रहरूले पठाइदिएको खाएका छौँ, उनीहरूले पठाइदिएका ओच्छ्यानमा सुतेका छौँ ।’ 

उनी मात्र नभएर मेलम्चीका जीवित पुस्ताले १ असारमा आएजस्तो बाढी कहिल्यै देखेका थिएनन्, कल्पनासमेत गरेका थिएनन् । वर्षौँदेखि बसेर जीविकोपार्जन गरेका, उद्यम सञ्चालन गरेकाहरूको सम्पत्ति क्षणभरमै बगरमा परिणत भयो, परेका वेला अरूलाई सहयोग गर्ने दाताहरूको अहिले डेराको वास भएको छ, बाहिरबाट आफन्त र दाताले दिएको सामानमा गुजारा सुरु गर्नुपरेको छ । 

मेलम्चीमा नदेखेको र कल्पना पनि नगरेको बाढीबाट प्रभावित मेलम्ची र हेलम्बुका बासिन्दा फेरि पनि बाढी आउने त्रासमा छन् । अकल्पनीय बाढीबाट उठीबास लागेका एक सय ८० परिवारका पाँच सय सदस्य मात्र होइन, उच्च जोखिममा रहेका ६५ घरधुरी पनि बाढी आएर विस्थापित हुने त्रासमा छन् । 

मेलम्ची पूर्ववत् अवस्थामा फर्किएला ? निवर्तमान सांसद शेरबहादुर तामाङ भन्छन्, ‘पहिला जस्तो थियो, त्यस्तै मेलम्ची हामी फर्काउँछौँ । नदी नियन्त्रण गर्छौँ ।’ तर, त्यहाँ शनिबार पुगेका प्रधानमन्त्री केपी ओलीले भने तामाङको भनाइ खण्डन गरे । उनको भनाइ थियो, ‘अब जोखिमको सम्भावना भइरहेको मेलम्ची बजारलाई पहिलेकै अवस्थामा फर्काउन सम्भावना हुँदैन । बाढी–पहिरो नजाने ठाउँमा एकीकृत बस्ती बनाऊँ, भूकम्पप्रतिरोधी संरचना बनाऊँ । पहिरोमा नपर्ने गरी संरचना बनाउने गरी सोचिएन भने फेरि पनि यस्तै हालत हुन्छ ।’ 

मेलम्ची क्षेत्रको तालामाराङ बजारदेखि ढाँढखोला बजारसम्म करिब १५ किलोमिटर तटीय क्षेत्र प्रभावित भएको छ । मेलम्ची नगरपालिका ६, ७, १० र ११ नम्बर वडाका एक सय ८० घर पूर्ण क्षति भएका छन् । हाल उच्च जोखिममा ६५ घर छन् भने एक सय २३ घर जोखिममा छन् । ३५ सय रोपनी खेतीयोग्य जमिन पूर्ण रूपमा पुरिएको छ । नगरपालिकाका अनुसार ३१ वटा सार्वजनिक संरचनाहरू पूर्ण क्षति भएका छन् भने १० वटा संरचनामा आंशिक क्षति पुगेको छ । यसैगरी दुईवटा पक्की पुल र दुईवटा झोलुंगे पुल क्षतिग्रस्त भएका छन् । 

नगरपालिकाकी उपप्रमुख भगवती नेपालले भनिन्, ‘यदि गम्भीरतापूर्वक काम गर्ने हो भने तीन–चार वर्षमा मेलम्ची बजार पूर्ववत् अवस्थामा आउनेछ । सरकारले बेवास्ता ग¥यो भने पहिलेको अवस्थामा फर्किन धेरै नै गाह्रो छ ।’ उनका अनुसार मेलम्ची बजार क्षेत्र अझै त्रसमा छ । ‘वर्षा अझै बाँकी छ, कति पानी पर्ने हो, थाहा छैन,’ उपप्रमुख नेपालले भनिन्, ‘माथि के भएर विनाशकारी बाढी आएको हो, बुझ्न सकिएको छैन । इसिमोडका विज्ञको नेतृत्वमा विज्ञहरूको एउटा कार्यदल बनाएका छौँ । कार्यदलले पनि यो वर्षाअघि स्थलगत अध्ययन गर्ने अवस्था छैन ।’ 

के हुन्छ मेलम्ची खानेपानी आयोजना ? 
मेलम्ची खानेपानी आयोजनाको बाँध मेलम्ची बजारबाट २४ किलोमिटर दूरीमा छ । बाँधसम्म मेलम्ची आयोजनाका प्राविधिक पुगेका छन्, तर के–कस्तो क्षति भएको छ भन्ने विस्तृत अध्ययन भएको छैन । अध्ययनविना नै प्रधानमन्त्री ओलीले शनिबार मेलम्ची पुगेर घोषणा गरे, ‘सन् २०२१ (पुस)भित्र त मेलम्चीको पानी आउन कठिन हुने भयो, आगामी वैशाखसम्म ल्याइन्छ, यसका लागि क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण गरी जतिसक्दो चाँडो पानी पथान्तरणमा लाग्नुपर्छ ।’ ओलीले वैशाखभन्दा उता नजाने गरी मेलम्चीको पानी काठमाडौं पु¥याइने घोषणा गरे पनि प्राविधिक रूपमा अध्ययन नभएका कारण अझै निधो गर्न नसकिने आयोजनाका अधिकारीहरूको भनाइ छ । 

बाढीले आयोजनाका विभिन्न संयन्त्रहरूमा असर परेको छ । आयोजनाको हेडवक्र्स स्थलबाट करिब आठ किलोमिटर सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । आयोजनाको पहिलो प्राथमिकता सडकखण्डको पुनर्निर्माण रहेको छ । ‘यो सडकखण्डमा रहेका पाँचवटा पुलको पुनर्निर्माणका लागि समितिले यसअघि नै विभिन्न स्तरमा पहल अघि बढाइसकेको छ,’ मेलम्ची खानेपानी विकास समितिका सञ्चारविज्ञ निमेष रेग्मीले भने, ‘मेलम्ची आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री–लार्के पहुँच मार्गकोे करिब ६ किलोमिटर भागमा बाढीपहिरोले व्यापक क्षति पु¥याएकोमा त्यसलाई सञ्चालन गर्ने प्रयास भइरहेको छ ।’