
५१ पद आरक्षण रहेकोमा ४२ जना मात्र लिखितमा पास, महिला, मधेसी, दलित र अमर/अशक्त प्रहरी परिवारका लागि छुट्याइएको कोटामा मागभन्दा कम उत्तीर्ण
नेपाल प्रहरीको सहायक निरीक्षक (असइ) पदको लिखित परीक्षामा समावेशी कोटाअन्तर्गत मागभन्दा थोरै मात्र उत्तीर्ण भएका छन् । महिला, मधेसी, दलित र अमर÷अशक्त प्रहरी परिवारका लागि छुट्याइएको कोटामा मागभन्दा कम उत्तीर्ण भएका हुन् ।
बिहीबार सार्वजनिक गरिएको लिखित परीक्षाको नतिजाअनुसार ४१ पदमा मागभन्दा कम उत्तीर्ण भएका छन् । महिलाका लगि ५१ पद आरक्षण रहेकोमा ४२ जना मात्र लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।
त्यस्तै, मधेसीका लागि आरक्षण गरिएको ७२ कोटामा ५३ जना, दलिततर्फको ३९ पदमा ३४ जना र अमर/अशक्त प्रहरी परिवारको १२ जनाको कोटामा चारजना मात्र उत्तीर्ण भएका हुन् । समावेशी कोटामा मागभन्दा कम भर्ना भएको पद खुलातर्फ जोडेर भर्ना प्रक्रिया अघि बढाइएको छ ।
असइका लागि ५८४ पदमा लोकसेवा आयोगले लिखित परीक्षा लिएको थियो । प्रहरी भर्नाको परीक्षा पूर्ण रूपमा लोकसेवा आयोगले लिन थालेपछि कतिपय पदमा मागभन्दा कम उत्तीर्ण हुने गरेका छन् ।