
डेढ करोड मूल्यमा खरिद गरिएको साबिक जिल्ला विकास समिति हुम्लाको एक्स्काभेटर कवाडी बनाइएको छ । ०६७/६८ मा खरिद गरिएको डेढ करोड मूल्यको एक्स्काभेटर प्रयोग नहुँदा कबाडी हुँदै गएको हाे । दुर्गम क्षेत्र विकास कोष साबिक जिल्लाका २७ वटा गाउँ विकास समितिबाट एक्स्काभेटर खरिद गर्ने भन्दै बजेट छुट्याइएको थियो । जिल्ला समन्वय समितिले एकजना एक्स्काभेटरचालकसमेत नियुक्ति गरेको छ ।
४० लाख दुर्गम क्षेत्र विकास कोष, साबिक २७ गाउँ विकास समितिबाट ४० लाख र साबिक जिल्ला विकास समितिले ढुवानी भाडासहित डेढ करोड मूल्य लागतमा एक्स्काभेटर खरिद भएको स्राेतले जनाएको छ । जिल्ला समन्वय समिति हुम्लाले मर्मत नगरी दुई वर्षदेखि जिल्ला प्रशासन कार्यालयको खाली जग्गामा थन्क्याएर राखेको छ ।
सरकारी स्राेत–साधन प्रयोग नगरी थन्क्याएर राखेकाे भन्दै पछिल्लो समय आलोचना हुन थालेको छ । सदरमुकाम सिमकोटमा यसरी थन्क्याएर राख्नुभन्दा कुनै स्थानीय तहलाई प्रयोगमा दिनुपर्ने स्थानीयहरूले आवाज उठाउँदै आएका छन् । हिउँदको समय नाम्खा गाउँपालिकाका बाटो बिग्रने भएपछि जिल्ला समन्वय समितिले यसरी थन्क्याएर राख्नुभन्दा नाम्खा गाउँपालिका प्रयोग गर्ने दिए पनि सदुपयाेग हुने स्थानीयले दुःखेसो गर्ने थालेका छन् ।
दुई वर्ष त्यसै थन्कियो
जिल्ला समन्वय समितिले डेढ करोड मूल्यमा खरिद गरेको एक्स्काभेटर मर्मत नगरी जिल्ला प्रशासन कार्यालयको खाली जग्गामै थन्क्याएको छ । न त जिल्ला समन्वय समिति आफूले प्रयोग गरेको छ न त कुनै स्थानीय तहलाई दिएर सदुपयोग गरेको दुई वर्षदेखि प्रशासनको जग्गामा थन्क्याइदिएको छ । यसरी सरकारी स्राेत–साधन प्रयोग नगरी थन्क्याउँदा पछिल्ला समय आलोचना हुन थालेको छ ।
जिल्ला समन्वय समिति हुम्लाले भने थन्क्याएर राखिएको एक्स्काभेटर अब तत्काल मर्मत गरी प्रयोगमा ल्याउने जानकारी दिएको छ । ‘हिल्सामा थन्किएको थियो । मर्मत गरी सिमकोट ल्याइएको र अब मर्मत गरी प्रयोग ल्याउँछौँ,’ जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले बताए ।