मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
बाढीले घर डुबाएपछि पोकापन्तरा बोकेर सडकमा आएका सर्वसाधारण । फाइल तस्बिर : नयाँ पत्रिका
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ असार १८ शुक्रबार ०८:१५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मेलम्चीवासी भाडाको कोठामा, हेलम्बुवासी त्रिपालमुनि

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ असार १८ शुक्रबार ०८:१५:००

इन्द्रावती नदीकिनारबाट पाँच सय मिटर पर रहेको मेलम्ची निवासी श्याम खड्काको तीनतले घर १ असारको बाढीले आधा पुर्‍यो । खेत र घरसहित नौ रोपनी जमिनमा अहिले खोला बग्छ । १७ रोपनी जमिन सामाजिक क्षेत्रलाई दिएर दानवीरको नामले चिनिएका खड्का अहिले छिमेकीको कोठामा बस्छन् । घरखेत बगरमा परिणत भएकाले उनको बिचल्ली भएको छ । गोपाल दुलाल, प्रेम कोइराला र कुमार श्रेष्ठको घर कटानले नदीमा पल्टियो । ७३ घर पूर्ण रूपमा काम नलाग्ने गरी बाढीले पुर्‍यो । एक सय ६ घर बाढीले आंशिक रूपमा पुरेको छ । 

एक सय ७९ घरका सपरिवार मेलम्ची बजारमाथि टारमा भाडाको घरमा बसेका छन् । विभिन्न दाताले दिएको ग्यासचुलो, भाँडावर्तन, ओढ्नेओछ्याउने र खाद्य सामग्रीसहित पीडित मेलम्चीवासी भाडाको कोठामा बसेका हुन् । बाढीको बितन्डापछि मेलम्चीवासी १० दिनसम्म नेपाली सेनाको ब्यारेक र इन्द्रेश्वरी माध्यमिक विद्यालयमा बाँडिएर बसे । घरखेत बगाएपछि उनीहरू निराश छन् । नदीमा बाढी घटेकोले पुरिएको घर खोतल्ने र बचेखुचेका सामग्री संकलन गर्ने काममा पीडितको दिनचर्या बितिरहेको छ । 

मेलम्ची नगरपालिका प्रमुख डम्बरबहादुर अर्यालले दिएको जानकारीअनुसार सबै पीडितले भाडामा बस्न पाएका छन् । पाँच महिनासम्मको भाडा नगरले बेहोर्ने भएको छ । ‘पाँच महिनासम्मको भाडा नगरले तिर्नेछ,’ अर्यालले भने, ‘त्यसपछि अस्थायी आवास बनाएर बिस्तारै स्थायी पुनर्वासको व्यवस्था गर्नेतर्फ लाग्ने हाम्रो लक्ष्य छ ।’ स्थायी बसोबासका लागि बागमती प्रदेशका मुख्यमन्त्रीले खासै चासो नदिएको उनले आरोप लगाए । प्रदेश सरकार जिल्ला विपत् व्यवस्थापनमा एक करोड र तटबन्धका लागि ५० लाख दिएर पन्छिएको छ । केन्द्रीय सरकारले आजसम्म केही दिएको छैन । 

बाढीपहिरोपछि एक सातासम्म सडक र सञ्चारबाट विच्छेद भएको हेलम्बुको अवस्था झनै दर्दनाक छ । गाउँपालिकाले दिएको तथ्यांकअनुसार हेलम्बुमा २३ सय ३१ जना विस्थापित छन् । एक सय एक घर मेलम्ची खोलाको बाढीले बगायो । चार सय १२ घरमा आंशिक क्षति पुग्यो । हल्दे, अम्बाथान, तिम्बु, किउल, गणेशेबगर, चनौटे र ग्याल्थुमका स्थानीयले घर छोडेका छन् । पीडित सबै त्रिपालमुनि छन् । संघीय र प्रदेश सरकारले हेलम्बुका पीडितलाई आजसम्म नगद वा जिन्सी कुनै पनि सहयोग गरेको छैन । 

गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको जानकारीअनुसार दाताले उपलब्ध गराएको त्रिपाल र खाद्यान्नबाट पीडितलाई विभिन्न सुरक्षित ठाउँमा राखिएको छ । मृत्यु भएका १५ जनाको प्रत्येक परिवारलाई गाउँपालिकाले एक÷एक लाख राहत दिने घोषणा गरेको छ । एक महिनाभित्र अस्थायी टहरा बनाएर राख्ने र सरकारले ल्याएको विपद् कार्यविधिअनुसार ६ महिनाभित्र स्थायी बसोवास गराउने लक्ष्य रहेको शेर्पाले बताए । 

संघीय सरकारबाट उपप्रधानमन्त्री राजेन्द्र महतो र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ हेलम्बु आइपुगेको दिन मन्त्री पद नै खुस्केकाले सरकारबाट थप केही आश्वासन आएको छैन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल हेलम्बुको चनौटेसम्म आएर बाढीपीडितलाई नभेटेको गुनासो शेर्पाको छ । प्रदेश सांसद युवराज दुलाल बाढी गएको भोलिपल्टदेखि १० दिनसम्म हेलम्बु, मेलम्ची र पाँचपोखरी थांपाल क्षेत्रमा पुगेर उद्धारमा खटिका छन् । बाढीले अवरुद्ध मेलम्ची–चनौटे सडक खुलाएर दुलालको नेतृत्वमा नेपाली सेना, प्रहरी र स्थानीयले हेलम्बुको वारिपारि जोड्ने रातोपुल बचाउ अभियानमा जाली–गारोको काम गरिरहेका छन् ।