मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
यम बम काठमाडाैं
२०७८ असार १३ आइतबार ०५:१७:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लोकसेवामा नयाँ पदाधिकारीको ‘हनिमुन’ योजना : सय दिनमा सबै तहको परीक्षा, अन्तर्वार्ता र नतिजा प्रकाशनको कार्ययोजना बन्दै

Read Time : > 4 मिनेट
यम बम, काठमाडाैं
२०७८ असार १३ आइतबार ०५:१७:००

माधवप्रसाद रेग्मी अध्यक्ष लोकसेवा आयोग

अबको सय दिनमा फूलपातीको अघिल्लो दिनभित्र सबै तहको परीक्षा, अन्तर्वार्ता र नतिजा प्रकाशनको काम सक्ने कार्ययोजना बन्दै छ, रोकिएका र नियमित काम सँगसँगै हुन्छ । पछिल्ला दुई वर्षका बाँकी काम दसैँअघि नै सक्छौँ।

...                                        ...

पदाधिकारी नियुक्त भएपछि लोकसेवा आयोगले बाँकी रहेका काम पूरा गर्ने तयारी थालेको छ । परीक्षा, अन्तर्वार्ता र नतिजा प्रकाशन तथा सचिव बढुवा आयोगको पहिलो प्राथमिकतामा छन् । 

‘अबको सय दिनमा फूलपातीको अघिल्लो दिनभित्र सबै तहको परीक्षा, अन्तर्वार्ता र नतिजा प्रकाशनको काम सक्ने कार्ययोजना बन्दै छ, रोकिएका र नियमित काम सँगसँगै हुन्छ,’ लोकसेवाका नवनियुक्त अध्यक्ष माधवप्रसाद रेग्मीले नयाँ पत्रिकासँग भने ।

लोकसेवाका सचिव महेन्द्रप्रसाद गुरागाईंले बिहीबार नै अध्यक्ष रेग्मीलाई ब्रिफिङ गर्दै साउन पहिलो साताबाट अन्तर्वार्ता तथा १५ साउनबाट सबै तहका परीक्षा सञ्चालन गर्न सकिने कार्ययोजना पेस गरेका थिए ।

२१ वैशाखमा सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेशमार्फत सिफारिस भएका ११ संवैधानिक आयोगका २० पदाधिकारीले बिहीबार नियुक्त भई त्यसै दिन शपथग्रहण गरेका थिए । जसमा लोकसेवा आयोगका पदाधिकारी पनि थिए । संसदीय सुनुवाइविनै नियुक्त भई शपथ लिएका सबै पदाधिकारीले बिहीबार नै पदभार पनि ग्रहण गरेका थिए ।

लोकसेवाले ०७६ मा चार हजार सात सय ५४ सिटका लागि विज्ञापन आह्वान गरेकोमा चार लाख ५१ हजार पाँच सय २५ को दरखास्त परेको थियो । तर, कोरोना महामारी सुरु भएपछि अधिकांशको परीक्षा हुन सकेन । यसबीचमा प्रक्रिया पूरा गरेर तीन सय चारजना मात्रै छनोट भए । 

०७६ मा विज्ञापन भएका एक हजार पाँच सय ७८ पदका लागि ०७७ को विभिन्न मितिमा परीक्षा भयो । त्यसको नतिजा अझै आउन बाँकी छ । त्यसमा अधिकृतमा सात सय ७१, कम्प्युटर इन्जिनियरमा ३२, नायब सुब्बामा पाँच सय ४८, विभिन्न उपसमूहका इन्जिनियर एक सय ५५, नासुसरह कृषि र पशु समूहतर्फ ५३ र स्वास्थ्य समूहका विभिन्न पदमा १९ सिट छन् ।

बाँकी पदका लागि ०७७ मा पनि परीक्षा हुन नसकेपछि ०७८ मा सारिएको छ । ०७६ मै विज्ञापन भएको स्वास्थ्य सेवा नवौँ तहको परीक्षा भएर उत्तरपुस्तिका परीक्षण भइसकेको छ । जसको नतिजा साउन पहिलो साता प्रकाशन गर्ने आयोग स्रोतले जनाएको छ । 

त्यही वर्ष विज्ञापन भएका नायब सुब्बा र प्राविधिक अधिकृत तहको परीक्षा र अन्तर्वार्ता पनि सकिएको छ । त्यसको नतिजा पदाधिकारी नहुँदा रोकिएको थियो । त्यो नतिजा पनि चाँडो सार्वजनिक गर्ने तयारी आयोगले गर्दै छ । 

नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय वाणिज्य बैंक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बिमा समिति, दुग्ध विकास संस्थान, नेपाल आयल निगम तथा नेपाल धितोपत्र बोर्डलगायतमा परीक्षा भइसकेको र नतिजा चाँडै प्रकाशित हुने आयोगले नयाँ पत्रिकालाई जानकारी दियो ।

न्याय, प्रशासन र व्यवस्थापिका–संसद् सेवाको संयुक्त र एकीकृत परीक्षा प्रणालीअन्तर्गत खरिदार पदको दोस्रो चरणको परीक्षा हुन बाँकी छ । आयोगले ती परीक्षा १५ साउनपछि सञ्चालन गर्ने तयारी गरेको छ । ‘अहिले निषेधाज्ञा पनि खुकुलो बनेको छ, अबको परिस्थिति कस्तो हुन्छ, सोहीअनुसार निर्णय हुन्छ,’ अध्यक्ष रेग्मीले भने, ‘पछिल्ला दुई वर्षका बाँकी काम दसैँअघि नै सक्छौँ ।’

पछिल्लोपटक ०७८ को १ देखि १० वैशाखसम्मका लागि तय भएर अन्तिम समयमा स्थगित भएको खरिदारको दोस्रो चरणको परीक्षा १५ साउनपछि सञ्चालन हुने भएको छ ।आयोगले ०७७ मा पनि दुई हजार पाँच सय १७ सिटका लागि विज्ञापन आह्वान गरेको थियो । त्यसमा कुनै पनि परीक्षा हुन सकेको छैन । जसमा सहसचिव, उपसचिव, शाखा अधिकृत, नायब सुब्बा र खरिदार तथा स्वास्थ्य सेवा समूहका ११औँ, नवौँ, आठौँ, सातौँ र पाँचौँ तहका पद छन् । यी विज्ञापनका परीक्षा पनि दसैँअघि नै सञ्चालन गर्ने तयारी भएको छ। 

दसैँपछि मात्र नयाँ विज्ञापन
कोभिड– १९ र आयोग पदाधिकारीविहीन हुँदा अनिश्चित भएको नयाँ विज्ञापन दसैँ–तिहारपछि आह्वान हुने भएको छ । ०७७ मा आह्वान हुने भनिएका विज्ञापनलाई ०७८ को कार्ययोजनामा समावेश गरेर क्यालेन्डर बनाइने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिए ।

निजामतीतर्फ राजपत्रअनंकित द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) र स्वास्थ्य सेवाका चौथो तह, प्रहरीमा इन्स्पेक्टर, असइ र जवान (प्राविधिक), सशस्त्र प्रहरीमा जवान तथा राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायकको विज्ञापन गत फागुन–चैतमा आह्वान गर्ने कार्यतालिका थियो । तर, अब यी विज्ञापन दसैँपछि मात्र आह्वान हुनेछन् ।

‘अब परीक्षा, अन्तर्वार्ता र नतिजा प्रकाशनको प्रक्रिया सुरु हुन्छ,’ प्रवक्ता सुवेदीले भने, ‘नयाँ विज्ञापन दसैँपछि मात्र हुने भयो, आगामी वर्षलाई असर नपर्ने गरी कार्यतालिका बनाउँदै छौँ ।’

१० जना सचिवमा बढुवा हुँदै
तीन महिनादेखि अवरुद्ध राजपत्रांकित विशिष्ट श्रेणी (सचिव)को बढुवा सिफारिस आगामी साताबाट सुरु गरिने आयोग स्रोतले जानकारी दियो । लोकसेवाका अध्यक्षको अध्यक्षतामा हुने बढुवा समितिको सिफारिसमा मन्त्रिपरिषद्बाट सचिव बढुवा गर्ने व्यवस्था छ ।

अहिले सचिवमा १० सिट रिक्त छ । त्यसमा वरिष्ठतम सहसचिवले निमित्त सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । ‘सचिव रिक्त हुँदा प्रशासनिक क्षेत्रमै समस्या देखिएको छ, अब आइतबारदेखि नै सिफारिसको काम हुन्छ,’ आयोग स्रोतले भन्यो ।

राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, खानेपानी मन्त्रालय, मानव अधिकार आयोग, गण्डकी प्रदेश प्रमुख सचिव र कर्णाली प्रदेश प्रमुख सचिवविहीन छन् । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको एउटा पद रिक्त छ । 

यसैगरी, कृषि तथा पशुपक्षी विकास मन्त्रालय (पशुपक्षी) र शिक्षा विज्ञान तथा प्रविधि (विज्ञान प्रविधि) र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पनि सचिव पद रिक्त छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव तीर्थराज ढकालले पनि चैतमा अवकाश पाएका हुन् । गण्डकी प्रदेश सरकारमा चैतबाट प्रमुख सचिव रिक्त छन् । तत्कालीन सचिव विष्णुप्रसाद नेपालले अनिवार्य अवकाश पाएपछि प्रदेश सरकार प्रमुख सचिवविहीन भएको हो । 

बागमती प्रदेश सरकार वैशाखदेखि तथा कर्णाली प्रदेश सरकार जेठबाट प्रमुख सचिवविहीन छ । बागमतीका प्रमुख सचिव मानबहादुर विकेले ६ वैशाखमा र कर्णालीका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले १५ जेठमा अवकाश पाएका हुन् । 

वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले वैशाखमा अवकाश पाएका थिए । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव प्रेमनारायण कँडेल त्यो पदमा लगिए । त्यसपछि कृषि मन्त्रालयमा सचिव पद खाली छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधुसूदन अधिकारीले अवकाश पाएपछि उनको ठाउँमा पुनर्निर्माण प्राधिकरणका सचिव मणिराज गेलाल पुगेका छन् । अहिले प्राधिकरण निमित्त सचिवको भरमा चलिरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञापन प्रविधि) सचिव सञ्जय शर्मा, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जेठमा अवकाश पाएका हुन् ।अहिले खानेपानी मन्त्रालय निमित्त सचिव सुनीलकुमार दासले सम्हाल्दै आएका छन् । उपराष्ट्रपति कार्यालयका सचिव गोपीनाथ मैनालीले २ असारमा अवकाश पाए । 

राष्ट्रपति कार्यालयका सचिव सचिव हरि पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त भएका छन् । उनी झन्डै साढे दुई वर्ष कार्यकाल बाँकी छँदै अख्तियार पुगेका हुन् । रक्षा मन्त्रालय पनि छिटै सचिवविहीन हुँदै छ । मन्त्रालयका अहिलेका सचिव रेश्मीराज पाण्डेले १७ असारमा अवकाश पाउँदै छन् ।