१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असार १२ शनिबार ०७:५३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सञ्चालकहरू उत्साहका साथ पाहुना कुरिरहेका छन् 

Read Time : > 1 मिनेट
२०७८ असार १२ शनिबार ०७:५३:००

कोभिड–१९ मा होमस्टे

देशकै सबैभन्दा पहिला होमस्टे स्थापना भएर सञ्चालनमा आएको स्याङ्जाको सिरुबारी होमस्टेमा पहिलो लहरको कोरोनाकालमा १० महिना र दोस्रो कोरोनाकालको सुरुवातदेखिको यो अवधिमा पर्यटक गएका छैनन् । तर, जान चाहनेहरूको मन भने सिरुबारी पुगिरहेको स्थानीय नवयुवा क्लबकी सचिव उर्मिला गुरुङ बताउँछिन् । उनी भन्छिन्, ‘पाहुना आउन पाउनुभएको छैन । उहाँहरूको मन भने सिरुबारी आइरहेको छ । दैनिकजसो हामीलाई सिरुबारी कहिले खुल्छ ? आउने अवस्था कस्तो छ भनेर फोनबाट सोधिरहनुहुन्छ । अवस्था सहज हुनासाथ हामीलाई स्वागत गर्न भ्याइनभ्याई हुने पक्का छ ।’ 

पहिलो लहरको कोरोना संक्रमणको प्रभाव कम हुनेबित्तिकै माघ २७ देखि दोस्रो लहरको कोरोना संक्रमण आएपछि लकडान सुरु नहुँदाका दिनसम्म हरेक दिन खाली नभई पाहुना आउने गरेको गुरुङको अनुभव छ । अहिले पनि काठमाडौं, पोखरा र पाल्पालगायतका जिल्लाबाट पाहुनाहरूले दैनिक फोनमार्फत सिरुबारीको बारेमा चासो राख्दै आउने इच्छा राखिरहेको उनी बताउँछिन् । ग्राहकको यही सोधपुछले नै आफूहरूलाई निराश हुन नदिएको बताउँछिन् उनी । 

पाहुनालाई स्वागत गर्नेबाहेक पर्यटकलाई आकर्षण गर्नका लागि नियमित गर्नुपर्ने काम स्थानीयले गरिरहेको उनी बताउँछिन् । गाउँको सरसफाइदेखि लिएर घरहरूलाई चिटिक्क पारेरै राखिएको उनको भनाइ छ । गुरुङ भन्छिन्, ‘यहाँको विशेषता भनेकै गुरुङ संस्कृति हो । यहाँको एकता हो । अझ यहाँको सरसफाइ व्यवस्थापनलाई हामीले निरन्तरता दिएका छौँ । मात्र पाहुना आएका छैनन् र उनीहरूलाई स्वागत गर्दै सांस्कृतिक कार्यक्रम देखाउन पाएका छैनौँ । अरू हाम्रा नियमित काम गरेरै बसेका छौँ । छिट्टै कोरोना अन्त्य भएर पाहुनालाई स्वागत गर्न पाइयोस् । हाम्रो प्रतीक्षा यसैमा छ ।’ 

जब वातावरण सहज हुन्छ, तब सिरुबारी होमस्टे जागा भइहाल्नेमा सिरुबारी होमस्टे व्यवस्थापन समितिका संयोजक जुमबहादुर गुरुङ पनि विश्वस्त छन् । जुमबहादुर भन्छन्, ‘कोरोना सकियोस्, पाहुना त आइहाल्नुहुन्छ । हामी स्वागत गरिहाल्छौँ । तर, पहिलो कुरा मानिसको ज्यान जोगाउनुपर्छ । यसवेला हिँडडुल नगर्नु भनेर सरकारले भनेको छ, सबैले मान्नुपर्छ । त्यसपछि पाहुना आउने र हामीले स्वागत गर्ने त भइहाल्छ ।’ तत्कालको आफ्नो व्यवसायभन्दा मानिसको ज्यानको महŒव बढी भएको बताउँदा भोलिको दिन उज्यालो रहेको उनको बुझाइ छ । 

व्यवस्थापन समितिका संयोजक जुमबहादुरका अनुसार अहिले सिरुबारीमा होमस्टेकै स्ट्यान्डरमा ६० जना पाहुना राख्न सकिन्छ । आवश्यक परेको खण्डमा १ सय ५० जना पाहुनालाई व्यवस्थापन गर्न सक्ने उनी बताउँछन् । हाल २३ घरमा होमस्टे सञ्चालन गरिएको छ । आफूहरूले होमस्टेमा दिने सुविधा स्टार होटेलसँगको तुलना गर्ने हो भने थ्री स्टार होटेलको सुविधासरहको सुविधा हुने उनको तर्क छ । यद्यपि, होटेलको स्ट्यान्डरमा मापन भने नहुने र आफूहरूको सेवा–सुविधा सबै होमस्टेका प्रावधानअनुरूपको उत्कृष्ट सुविधा रहेको जुमबहादुर तर्क गर्छन् ।