मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार ११ शुक्रबार १६:११:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कार्यभार सम्हाल्दै गृहमन्त्री पौडेलले भने- सरुवा, बढुवा र थमौतीका लागि एकजना प्रहरी पनि आफूकहाँ नआउनू

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार ११ शुक्रबार १६:११:००

गृहमन्त्री विष्णुप्रसाद  पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरी पनि आफूकहाँ नआउनका लागि निर्देशन गरेका छन् ।  शुक्रबार गृहमन्त्रीको रूपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफू मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उनले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्न सक्ने बताए । 

उनले भने, ‘मकहाँ एउटा पनि पुलिस नआओस् । अन्याय भयो भनेर साँच्चि नै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु । नभए प्रमोसनका निम्ति, थमौतीका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस मकहाँ नआओस् । प्रहरी संगठनका प्रमुखका हैसियतले गर्नुपर्ने कामका निम्ति उहाँहरू स्वतन्त्र हुनुहुन्छ । मेरो जिम्मेवारी सहजीकरणको हो । हामीले गर्नुपर्ने निर्णय, निर्देशनका लागि हामी जवाफदेही/जिम्मेवार छौँ, त्यस ढंगले गर्नेछौँ । त्यसबाहेकका यावत् कामहरू यहाँहरूले गर्नुपर्दछ ।’

मन्त्री पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारीअनुरूपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताए ।   आफूले मन्त्रीको रूपमा गृह प्रशासन र प्रहरीलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेही भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताए । उनले आफूसहित गृहसचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए ।  संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा आफ्नो जिम्मेवारी पूरा गर्न उनले  निर्देशन दिए ।

 मन्त्री पौडेलले नतिजामुखी काम आफूले खोजेको पनि बताए । उनले भने, ‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिनँ । म हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ । कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यसहिसाबले अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । यहाँहरुले आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ । कुनै प्रहरी संगठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन । गृहसचिवले हस्तक्षेप गर्दैन । संवैधानिक व्यवस्था, कानुनी प्रबन्ध र स्थापित प्रणालीहरू छन्, त्यसका आधारमा आ–आफ्ना जिम्मेवारी पूरा गर्नका निम्ति यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ । मलाई नतिजा चाहिन्छ । नतिजाप्रति जवाफदेही भएर, जिम्मेवार भएर यहाँहरूले काम गर्नुपर्छ भन्नेमा पनि मान्यता राख्छु ।’

उनले  राजनीतिक परिस्थितिको प्रभाव गृह मन्त्रालयमा पर्न नहुने पनि बताए । अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्न पनि उनले  निर्देशन दिए । उनले भने, ‘राजनीतिक परिस्थितिको प्रभावचाहिँ गृह प्रशासनमा पर्नुहुँदैन । सुरक्षा निकायमा पर्नुहुँदैन । राजनीतिक परिस्थिति अलग चिज हो । त्यो आफ्नो ढंगले चल्दै गर्छ । त्यसबाट यहाँहरू प्रभाव नहुनुहोला । अदालतको मुद्दा, राजनीतिक परिस्थितिको प्रभावबाट गृह प्रशासन, सुरक्षा निकाय प्रभावित हुँदैन । शान्ति सुरक्षा, जिउधनको रक्षामा रम्भीरताका साथ ध्यान दिनुस् ।’

मन्त्री पौडेलले आफू मन्त्रालयको कामका साथै राजनीतिक काममा पनि लाग्नुपर्ने भएकाले मन्त्रालयमा समय दिन नसक्ने पनि बताए । उनले गृहसचिवसँग दिनमा एकपटक भेट गर्ने भन्दै प्रहरी प्रमुखलाई आवश्यक परे मात्रै भेट्न अन्यथा गृहसचिवसँगकै समन्वयमा काम गर्न निर्देशन दिए ।