१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
भवानीश्वर गौतम काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o५:२१:oo
Read Time : > 4 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

शिक्षा क्षेत्रमा कोभिडको  आक्रमण : दुई सय  शिक्षक–प्राध्यापकको मृत्यु

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o५:२१:oo

शैक्षिक संस्था खुले खोप नलगाएका शिक्षक, प्राध्यापक र विद्यार्थी जोखिममा

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार १६ जेठसम्म एक सय ३४ शिक्षकको कोभिड– १९ को संक्रमणका कारण मृत्यु भएको छ । अहिलेसम्म करिब दुई सय शिक्षकको मृत्यु भएको छ । 

नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा. बुद्धबहादुर थापाका अनुसार यकिन विवरण नभए पनि कोभिड– १९ संक्रमणबाट ३० देखि ४० प्राध्यापकको निधन भएको छ ।त्रिभुवन विश्वविद्यालयमा मात्रै कार्यरत १४ प्राध्यापक र ११ कर्मचारीको कोभिड– १९ को संक्रमणकै कारण ज्यान गएको छ । यी तथ्यांक कोभिड– १९ महामारीले शिक्षा क्षेत्र पनि गम्भीर रूपमा प्रभावित रहेको देखाउने आँखीझ्याल हुन् । तर, विद्यार्थीमाझ ठूलो समूहमा रहनुपर्ने शिक्षक र प्राध्यापक खोप अभियानमा भने सरकारको प्राथमिकताबाहिर छन् ।

नतिजा– ठूलो संख्यामा शिक्षक, प्राध्यापक र विद्यार्थीले ज्यान गुमाउनुपरेको छ । अहिलेसम्म कोभिड– १९ को संक्रमणमा परेकामध्ये विद्यालयका शिक्षक तथा विश्वविद्यालयका प्राध्यापक गरी करिब दुई सयले ज्यान गुमाएका छन् । 

शिक्षक एवं प्राध्यापक अग्रपंक्तिमा खटिने जनशक्ति भए पनि सरकारले बेवास्ता गरेको सरोकारवालाहरूको आरोप लागेको छ । रसियालगायत देशले डाक्टरसँगै फ्रन्टलाइनर भनेर शिक्षकलाई सुरुमै कोभिड– १९ विरुद्धको खोप दिएका थिए । तर, नेपालमा शिक्षा मन्त्रालयले पत्र लेख्दासमेत स्वास्थ्य मन्त्रालयले यसलाई गम्भीरतापूर्वक लिएको छैन । शैक्षिक संस्था खुले खोप नलगाएका शिक्षक, प्राध्यापक र विद्यार्थी जोखिममा हुनेछन् । 

नेपाल शिक्षक महासंघका अनुसार अहिलेसम्म एक सय ३४ शिक्षकको मृत्यु भएको पुष्टि भएको छ । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले १६ जेठसम्म एक सय ३४ मृत्यु भएको र यसको कारण अग्रपंक्तिमै खटिएका शिक्षकलाई सरकारले गरेको उपेक्षा रहेको बताए । 

‘शिक्षकहरू पनि फ्रन्टलाइनर हुन्, सरकारी कर्मचारीभन्दा बढी भिडमा खटिने शिक्षक हो,’ महासंघका महासचिव सुवेदीले भने, ‘सरकारले शिक्षकलाई बेवास्ता गर्‍यो, खोप दिएको भए संक्रमित भएर मर्दैनथे ।’ 

सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ४४ जना शिक्षकको मृत्यु भएको छ । त्यसैगरी प्रदेश १ मा पाँच, प्रदेश २ मा २३, बागमतीमा १४, गण्डकीमा १२, कर्णालीमा १६ र सुदूरपश्चिममा २० शिक्षकको निधन भएको सुवेदीले बताए । 

पछिल्लोपटक चीनबाट आएको १० लाख डोज खोपमा पनि शिक्षकलाई प्राथमिकता नतोक्नु पूर्वाग्रह भएको उनको गुनासो छ । ‘शिक्षा क्षेत्र सुरक्षित नहुँदा धेरै क्षति हुन्छ, अब खोप नलगाएसम्म संक्रमण घटे पनि कक्षामा पढाउन जाँदैनौँ,’ उनले भने । कम्तीमा सरकारी कर्मचारीसरह प्राथमिकता दिन्छ भन्ने आशामा रहे पनि राज्यले अन्याय गरेको उनको भनाइ छ । 

६ चैत ०७६ देखि कोभिड– १९ का कारण बन्द रहेका विद्यालय कतिपय मंसिर ०७७ देखि खुले पनि काठमाडौं उपत्यकालगायत सहरका विद्यालयले माघ–फागुनबाट मात्रै भौतिक रूपमा पठनपाठन सुरु गरेका थिए । संक्रमण घटेपछि शैक्षिक संस्थामा भौतिक रूपमा पठनपाठन सुरु भए पनि कोभिड– १९ को दोस्रो वेभले शिक्षक र विद्यार्थी संक्रमित हुने र मृत्युसमेत भयो । 

विद्यालय शिक्षक मात्र होइन, विश्वविद्यालयका शिक्षकले पनि कोभिड– १९ को संक्रमणबाट ज्यान गुमाएका छन् । नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा. बुद्धबहादुर थापाले यकिन विवरण नभए पनि कोभिड संक्रमणबाट ३० देखि ४० प्राध्यापकको निधन भएको बताए । सरकारले प्राध्यापक र शिक्षकलाई सम्मान नगरेको पाइएको उनले गुनासो गरे । 

चारपटक विज्ञप्ति निकालेर खोपमा प्राध्यापकलाई प्राथमिकता दिन आग्रह गरे पनि सरकारले नसुनेको उनले गुनासो गरे । अध्यक्ष थापाले भने, ‘धेरै व्यक्तिसँगै पुगेर काम गर्ने हामीलाई सरकारले हेला गर्‍यो । हामी विद्यार्थीसँग भौतिक रूपमा सँगै रहेर काम गरिरहेका हुन्छौँ, सामाजिक अभियन्ता पनि हौँ, तर यो वर्ग खोपमा प्राथमिकतामा परेन ।’

त्रिभुवन विश्वविद्यालयमा कार्यरत ६ सय १६ जनामा संक्रमण देखिएको र तीमध्ये १४ प्राध्यापक र ११ कर्मचारीको मृत्यु भएको छ । यो संख्या बढ्दो छ । विश्वविद्यालयका परीक्षा, रिजल्टसमेत प्रभावित नहोस् भनेर उनीहरूलाई खोपका लागि स्वास्थ्य मन्त्रालयमा पत्राचार गरी समन्वय गरिरहेको उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले बताए । ‘हामीले प्राध्यापक कर्मचारीलाई काममा खटाइरहनुपर्छ, उनीहरूको स्वास्थ्य सुरक्षाका लागि खोप आवश्यक छ,’ उपकुलपति बाँस्कोटाले भने । हालै मात्र त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसका प्राध्यापकहरूलाई खोप दिने निर्णय भएको छ ।

देशभर विद्यालयदेखि विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त शैक्षिक संस्थामा अध्यापन गराउने शिक्षकको संख्या झन्डै साढे तीन लाख छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार विद्यालय तहमा सामुदायिक तथा संस्थागत विद्यालयका सबै प्रकारका शिक्षकको संख्या तीन लाख १४ हजारभन्दा बढी छ । त्यसैगरी विश्वविद्यालयका आंगिक क्याम्पसमा अध्यापन गराउने शिक्षकको संख्या झन्डै १० हजार छ । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा मात्रै साढे सात हजार शिक्षक छन् । निजी, सामुदायिक र आंगिक क्याम्पसमा अध्यापन गराउने शिक्षक करिब २० हजार रहेको अनुमान छ । केन्द्रले प्राथमिकतामा नराखे पनि केही पालिका तथा आफ्नै पहलमा पनि कतिपय शिक्षकले खोप लगाएका छन् । करिब तीन लाखको हाराहारीमा शिक्षकलाई खोप आवश्यक हुने अनुमान छ । 

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले शिक्षक–कर्मचारी र प्राध्यापक खोपको प्राथमिकतामा पर्नुपर्ने भएकाले आफूहरूले स्वास्थ्य मन्त्रालयमा पत्र लेखेको बताए । उनले शिक्षक, प्राध्यापकले खोप पाएमा विद्यार्थी, उनीहरूका परिवार संक्रमित हुनबाट जोगिने पनि बताए । 

‘विद्यालय शिक्षक–कर्मचारी र प्राध्यापक खोपको प्राथमिकतामा पर्नुपर्ने हो । यो वर्गलाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छौँ । विद्यार्थीको ठूलो समूहमा जाने भएकाले शिक्षक–कर्मचारीलाई खोपको प्राथमिकतामा राख्नुपर्छ भन्ने हो,’ उनले भने, ‘भर्खरै फेरि औपचारिक पत्र स्वास्थ्य मन्त्रालयलाई पठाएका छौँ । स्वास्थ्य मन्त्रालयले सिसिएमसी तथा विज्ञहरूसँग पनि सल्लाह गर्नुपर्ने होला । शिक्षक, प्राध्यापकले खोप पाएमा विद्यार्थी, उनीहरूका परिवार संक्रमित हुनबाट जोगिन्छन् ।’ 

शिक्षाविद् केदारभक्त माथेमाले शिक्षक–प्राध्यापकलाई ‘फ्रन्टलाइनरको परिभाषा’भित्र राख्नुपर्ने बताए । ‘सरकारले फ्रन्टलाइनर्स को हो परिभाषित गरेको छैन । शिक्षक, प्राध्यापक पनि फ्रन्टलाइनर्स हुन् । शिक्षक–प्राध्यापकलाई विदेशमा पनि खोपमा प्राथमिकता दिएका छन् । शिक्षक, प्राध्यापकलाई खोप दिएर शैक्षिक संस्था सञ्चालन गरेका पनि छन्,’ उनले भने, ‘बैंकमा अगाडि बसेर ग्राहकलाई सेवा दिने र सिइओ उस्तै होइनन् । सरकारले बैंकका सिइओदेखि उनीहरूका परिवारलाई पनि खोप दियो । उमेरअनुसारको खोप दिँदा पनि दीर्घरोगीलाई प्राथमिकता दिनुपर्छ । खोप वितरण पारदर्शी हुनुपर्छ ।’ 

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शिक्षकहरूलाई पनि फ्रन्टलाइनमै राखेर खोप दिएको दाबी गरेको छ । ‘सरकारले शिक्षकहरूलाई पनि फ्रन्टलाइनमै राखेर खोप दिएको छ । भेरोसेल खोप वितरणमा प्रशासनिक कर्मचारी र प्राध्यापकलाई पनि छुट्याएको थियो । पहिलो चरणको खोप अभियानमा शिक्षकलाई खोप कार्यक्रममा समेट्न नसकिए पनि बिस्तारै सबै तहका प्राध्यापक र शिक्षकलाई प्राथमिकतामा राखिएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहायक सूचना अधिकारी गणेश श्रीवास्तवले भने ।

...                                 ...  

खोप नलगाएसम्म संक्रमण घटे पनि कक्षामा पढाउन जाँदैनौँ : नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी

शिक्षकहरू पनि फ्रन्टलाइनर हुन्, सरकारी कर्मचारीभन्दा बढी भिडमा खटिने शिक्षक हो । शिक्षा क्षेत्र सुरक्षित नहुँदा धेरै क्षति हुन्छ, अब खोप नलगाएसम्म संक्रमण घटे पनि कक्षामा पढाउन जाँदैनौँ । राज्यले अन्याय गरेको छ ।


विद्यार्थीसँग भौतिक रूपमा जोडिएका  हुन्छौँ, तर खोप प्राथमिकतामा परेन :  नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा. बुद्धबहादुर थापा

धेरै व्यक्तिसँगै पुगेर काम गर्ने हामीलाई सरकारले हेला गर्‍याे । हामी विद्यार्थीसँग भौतिक रूपमा सँगै रहेर काम गरिरहेका हुन्छौँ, सामाजिक अभियन्ता पनि हौँ, तर यो वर्ग खोपमा प्राथमिकतामा परेन ।

शिक्षक, प्राध्यापकले खोप पाए विद्यार्थी र उनीहरूका परिवार जोगिन्छन्  : शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा

धेरै व्यक्तिसँगै पुगेर काम गर्ने हामीलाई सरकारले हेला गर्‍यो । हामी विद्यार्थीसँग भौतिक रूपमा सँगै रहेर काम गरिरहेका हुन्छौँ, सामाजिक अभियन्ता पनि हौँ, तर यो वर्ग खोपमा प्राथमिकतामा परेन ।


विदेशमा शिक्षक–प्राध्यापकलाई पनि खोपमा प्राथमिकता छ : शिक्षाविद् केदारभक्त माथेमा

सरकारले फ्रन्टलाइनर्स को हो परिभाषित गरेको छैन । शिक्षक, प्राध्यापक पनि फ्रन्टलाइनर्स हुन् । विदेशमा उनीहरूलाई खोपमा प्राथमिकता दिएर शैक्षिक संस्था सञ्चालन गरेका छन् । खोप वितरण पारदर्शी हुनुपर्छ ।

ad
ad