मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हेलम्बु क्षेत्रमा बाँकी रहेको एउटा मात्रै पुल । दिनभरि हिँडेर यही रातोपुलबाट मेलम्ची खोला वारिपारिका स्थानीय आवतजावत गर्छन् ।
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ असार ७ सोमबार ०६:५७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हेलम्बु र मनाङका बाढीपहिरोपीडितसम्म पुगेन सरकार

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ असार ७ सोमबार ०६:५७:००

मेलम्ची बाढीले पुर्‍याएको क्षतिमध्ये ७५ प्रतिशत हेलम्बु क्षेत्रमा पर्छ, तर अहिलेसम्म सिडिओ, सुरक्षा निकायका प्रमुख, संघीय मन्त्री, दलका नेता हेलम्बु पुगेनन्, मेलम्चीमै बसेर तथ्यांक लिँदै

पाँच दिनपछि आइतबार मेलम्ची खोलाको बाढी मत्थर भएको छ । तर, पहिरोसँगै आएको बाढीको वास्तविकता यकिन नभएकाले ढुक्क हुने अवस्था छैन । सबै सडक र पुल भत्केकाले हेलम्बुवासी मेलम्ची खोलाको दुई किनारमा विभक्त भएका छन् । सेमिसिदाङ हिमालको फेदीमा गएको पहिरोको खास अवस्था पत्ता लाग्न सकेको छैन । 

यस्तो प्राकृतिक विपद्मा सरकारका कुनै पनि निकाय बाढीपहिरोपीडितसम्म नपुग्दा हेलम्बुवासीको मन कुँडिएको छ । सिमसिमे पानी परिरहन्छ । लेकाली भूमि कुहिरोले छोड्दैन । मेलम्ची खोलाको वारिपारि रहेका दुई गाउँ तार्केघ्याङ र मेलम्चीघ्याङ पैदल हिँडेर एक घन्टामा पुगिन्छ । दुई गाउँ जोड्ने पुल बाढीले बगाएपछि वारिपारि आवतजावत बन्द भयो । विद्युत् छैन । सञ्चार छैन । बेसरी कराएर बोलाए पनि भलबाढीको आवाजले कतै सुनिँदैन । 

मेलम्चीघ्याङ र तार्केघ्याङमा मात्रै २० दीर्घरोगी र १५ गर्भवती महिला छन् । पाँच दिनदेखि दीर्घरोगीले औषधि पाएका छैनन् । सुत्केरी हुन मिति पुगेका गर्भवती महिला अस्पताल जान पाएका छैनन् । हेलम्बु क्षेत्रमा दिनहुँ तीनवटासम्म हेलिकोप्टर आकाशमा उडेको देखिन्छ । ती हेलिकोप्टर बाढीको वितण्डा हेरेर मात्रै फर्किन्छन् । पीडित स्थानीय हेलिको आवाज सुन्दा आफैँलाई लिन आएको हो कि भन्ने ठान्छन् । ‘आकाशमा हेलिकोप्टर उडेको देख्छु । तर, उद्धारमा कोही नपाउँदा दुःख लाग्छ,’ हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने । 

बाढीको पाँच दिनसम्म कसैको साथ पाएनौँ

निमा ग्याल्जेन शेर्पा
अध्यक्ष, हेलम्बु गाउँपालिका

पर्यटकीय क्षेत्र हेलम्बुमा विकासको मूल फुटाउन गाउँपालिकाले थुप्रै कामको सुरुवात गरेको थियो । ती सबै बाढीले ध्वस्त पारेको छ । बाढीले ७५ प्रतिशत क्षति हेलम्बु क्षेत्रमा हुँदा पनि राज्यका माथिल्लो निकाय कोही उपस्थित भएनन् । दुःखमा ढाडस दिने कोही भएन । जिल्ला प्रशासन, सुरक्षा निकायका प्रमुख, प्रदेश सरकार र केन्द्रीय सरकारका कोही आएनन् । सबै बैठक मेलम्चीमा बसियो । मलाई जानकारी भएन । सडक र सञ्चारविच्छेद भएपछि म पहिला जनता बचाउन लागेँ । हामी हेलम्बुका जनप्रतिनिधि सुरुमा होसमै थिएनौँ । ठूलो मानवीय र भौतिक क्षति भएपछि हामी अलमलियौँ पनि । मेलम्चीवासीको भागाभाग भयो । हेलम्बुको नाकोतेदेखि मेलम्चीको तल्लो तटसम्म ठूलो क्षति भएको हो । यद्यपि, बाढीको पूर्वसूचना पाएका मेलम्चीवासी भाग्न भ्याए । हेलम्बु क्षेत्रको तटीय क्षेत्रमा रहेका कुनै घर बाँकी छैनन् । नेपाली सेना वेलैमा नआएको भए ठूलो क्षति हुन्थ्यो । बाढीको डर कत्ति पनि घटेको छैन । हेलम्बुवासीको दुःख कसले पो सुन्छ र ?

बाढी गएको तीन दिनसम्म सबै सडक बन्द थियो । विद्युत् नभएकाले सञ्चार पनि बन्द भयो । कुनै पनि सरकारी निकाय हेलम्बु सरकारलाई सघाउन पुगेनन् । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, संघीय सरकारका मन्त्री र राजनीतिक दलका नेता हेलम्बु पुगेनन् । बाढी गएको पाँच दिनसम्म पनि प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल हेलम्बु गएनन् ।

‘मेलम्ची बाढीले पु¥याएको क्षतिमा ७५ प्रतिशत हेलम्बु क्षेत्रको हो । तर, राज्यका अरू निकाय मेलम्चीमा बसेर हामीलाई बेवास्ता गरियो,’ शेर्पाले गुनासो पोख्दै भने, ‘हामी जनप्रतिनिधि बाढीको वितण्डाले तितरबितर भयौँ । समयमा न उद्धार गर्न सकियो, न पीडितलाई सान्त्वना प्रदान गर्न सकियो ।’ हेलम्बुमा रहेको प्रहरीचौकी खोलामा पल्टेपछि प्रहरी अत्तालिए । नेपाली सेनाको टोली समयमै पुगे पनि उचित मार्गनिर्देशन नपाउँदा काम गर्न अलमलियो । 

यतिवेला हेलम्बुका सातवटा वडामध्ये ६ वटा वडाका बस्ती सडक, सञ्चार र विद्युत्बाट कटेका छन् । खोला दुई किनारका स्थानीय भागेर जंगल क्षेत्रमा बसेका छन् । किउलदेखि माथि नाकोतेसम्मको अवस्था अझै पत्ता लागेको छैन । ‘यहाँको मानवीय र भौतिक क्षति स्पष्ट यकिन भएको छैन, शेर्पाले भने, ‘राज्यका विभिन्न अंगले मेलम्ची बजारमा बसेर हचुवाका भरमा टिपेको डाटाले हेलम्बुको वास्तविक चित्र आउँदैन ।’ 

बाढीपछि बुधबार दिउँसोभर हिँडेर नाकोते पुगेका वडा नम्बर १ का वडाध्यक्ष मिङ्मार लामाले खोला किनारका सबै घर बगाएको बताए । ज्यान जोगाउन भागेका वडावासी सबैसँग अझै सम्पर्क स्थापित भइनसकेको उनको भनाइ छ । बाढीपछि हेलम्बुका स्थानीयलाई गाउँपालिकाको केन्द्रसम्म आइपुग्न दिनभर लाग्छ ।

चनौटेमा रहेको रातोपुल बाढीबाट जोगिएकाले वारिपारि गर्न दिनभर हिँडेर त्यही पुलसम्म आइपुग्नुपर्ने भएको छ । बिरामी पर्दा मात्रै होइन, दैनिक आवश्यक खाद्य सामग्री आपूर्ति गर्न हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था छ । ‘महँगो हेलिकोप्टर प्रयोग गरेर कतिन्जेल धान्ने ? अध्यक्ष शेर्पा प्रश्न गर्छन् । दाताले दिएको राहतसमेत सडक र सञ्चार अवरुद्ध हुँदा हेलम्बुवासीकहाँ आउन नसकेको उनले सुनाए । बाढी रोक्नलाई तत्काल केही एक्साभेटर प्रयोग गरेर किनार क्षेत्रमा ठूला ढुंगाले तटबन्ध बनाउन सुरु गरिएको छ । सडक र सञ्चार नियमित पार्न गाउँपालिका लागेको छ । 

आइतबार मेलम्चीबाट हेलम्बुको सीमा चनौटेसम्म लेदो पन्छाएर साना गाडी जाने अस्थायी बाटो बनेको छ । बागमती प्रदेशका सांसद युवराज दुलाल, माओवादी केन्द्रका नेताद्वय माधव सापकोटा र सरल सहयात्री पौडेलको नेतृत्वमा स्थानीयले अस्थायी बाटो बनाएका हुन् ।