१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
मुना कुँवर काठमाडौं
२o८१ बैशाख ३० आइतबार o७:१३:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तीन जीवन र तीन निर्जीवन बिमा कम्पनी थपिँदै 

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:१३:oo

जीवनतर्फ स्ट्यान्डर्ड लाइफ इन्स्योरेन्स, युनी लाइफ इन्स्योरेन्स र शुभ लाइफ इन्स्योरेन्स तथा निर्जीवनतर्फ शुभ जनरल इन्स्योरेन्स, मनकामना इन्स्योरेन्स र अभियान जनरल इन्स्योरेन्सलाई लाइसेन्स दिने तयारी

बिमा समितिले तीन–तीनवटा जीवन र निर्जीवन बिमा कम्पनीलाई सुटुक्कै लाइसेन्स दिने तयारी गरेको छ । समितिले जीवन बिमा कम्पनीलाई लाइसेन्स दिने प्रक्रियाको सहमतिका लागि अर्थ मन्त्रालय पठाएको छ ।

समिति स्रोतका अनुसार स्ट्यान्डर्ड लाइफ इन्स्योरेन्स, युनी लाइफ इन्स्योरेन्स, शुभ लाइफ इन्स्योरेन्स, शुभ जनरल इन्स्योरेन्स र मनकामना इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढाइएको छ । जीवन बिमा कम्पनीलाई लाइसेन्स दिन अर्थ मन्त्रालयको सहमति चाहिने भए पनि निर्जीवन बिमा कम्पनीलाई समिति आफँैले लाइसेन्स दिन सक्छ । 

नयाँ कम्पनीसँगै पुराना कम्पनी पनि ब्युँतिने तयारीमा
यतिवेला नयाँ बिमा कम्पनीसँगै दशकअगाडि नै दर्ता भएका पुराना कम्पनी पनि लाइसेन्सका लागि लबिङ गरिरहेका छन् । सञ्चालन अनुमतिको पर्खाइमा रहेको जीवन बिमा कम्पनीमध्ये शुभ जनरल इन्स्योरेन्स मात्रै नयाँ कम्पनी हो । तर, युनी लाइफ र स्ट्यान्डर्ड लाइफ इन्स्योरेन्स भने ०६४/६५ सालमा नै कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका कम्पनी हुन् । त्यस्तै, निर्जीवन बिमा कम्पनीमध्ये मनकामना जनरल इन्स्योरेन्स पनि दशकअगाडि दर्ता भएको कम्पनी हो । तत्कालीन बिमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीले नेपालको बिमा बजार सानो भएका भन्दै नयाँ कम्पनीलाई लाइसेन्स वितरणमा रोक लगाएपछि यी कम्पनीहरू निष्क्रिय थिए । 

तर, ०७३ सालमा समितिको अध्यक्षमा नियुक्त भएका चिरञ्जीवी चापागार्इंले कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका सबै कम्पनीलाई लाइसेन्स वितरण गरे । चापागार्इंले ०७४ साल वैशाखमा दर्ता भएका कम्पनीलाई २१ दिनभित्र कागजपत्र अद्यावधिक गरी ल्याउन निर्देशन दिए । तर, सो अवधिमा भित्र पनि कागजपत्रको प्रक्रिया पूरा गर्न नसकेका कारण स्ट्यान्डर्ड लाइफ, युनी लाइफ र मनकामना जनरल इन्स्योरेन्सले लाइसेन्स पाउन सकेनन् । तत्कालीन समयमा लाइसेन्स नपाएका कम्पनीसँगै नयाँ कम्पनी शुभ लाइफ, शुभ जनरल इन्स्योरेन्स र अभियान जनरल इन्स्योरेन्स पनि दर्ताको तयारीमा छन् । 

सर्वसाधारणदेखि ठूला व्यावसायिक घरानाको लगानी
सञ्चालन अनुमतिका लागि लबिङ गरिरहेका बिमा कम्पनीहरूमा सर्वसाधारणदेखि ठूला व्यावसायिक घरानासमेतको लगानी रहेको छ । स्ट्यान्डर्ड जीवन बिमा कम्पनीमा चौधरी समूहको लगानी रहेको छ । युनी लाइफ इन्स्योरेन्स कम्पनीमा ओम सिंहको लगानी रहेको छ । बिमा क्षेत्रमा धेरै जानकारी राख्नेमध्येमा सिंह पनि पर्छन् । 

शुभ लाइफ इन्स्योरेन्स कम्पनीमा बैंक, विश्वविद्यालयदेखि व्यवसायीहरूको लगानी रहेको छ । कम्पनीको अधिकृत पुँजी ५ अर्ब तथा चुक्ता पुँजी ३ अर्ब ५० करोड रहने कम्पनीका लगानीकर्तामध्येका एक ऋषिराम चापागाईंले बताए । उनका अनुसार कम्पनीमा कृषि विकास र मेगा बैंकको २५–२५ करोड रुपैयाँ लगानी रहेको छ । रिद्धिसिद्धी ज्वलेर्सको ७५ करोड, तीनवटा विश्वविद्यालयको ५० करोड लगानी रहेको कम्पनीका लगानीकर्ता चापागाईंले बताए । उनका अनुसार कम्पनीको अध्यक्षमा पोषराज सुवेदी रहेका छन् । सुवेदीले यसअघि पनि विभिन्न बिमा कम्पनीमा लगानी गरेका छन् । सोही समूहले शुभ जनरल इन्स्योरेन्स कम्पनी दर्ताका लागि समितिको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब रहेको सञ्चालक चापागाईंले बताए ।

शुभ लाइफ इन्स्योरेन्स कम्पनीको दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको लगानीकर्ता चापागाईंले बताए । उनका अनुसार कम्पनीले बिमा समितिमा कागजपत्र बुझाइसकेको छ । ‘समितिले सहमतिका लागि कागजपत्र अर्थ मन्त्रालयमा पठाइसकेको छ । अर्थ मन्त्रालयले पनि स्वीकृति दिने शतप्रतिशत निश्चित छ । त्यसपछि सञ्चालकहरू जुटाए पनि समितिले लाइसेन्स दिइहाल्छ,’ उनले भने । शुभ लाइफ इन्स्योरेन्सका लगानीकर्ता चापागाईंका अनुसार स्ट्यान्डर्ड लाइफ इन्स्योरेन्सले पनि लाइसेन्स पाउने निश्चित छ । 
समितिका पूर्वकार्यकारी निर्देशक श्रीमान कार्कीसहित साना लगानीकर्ताको लगानीमा अभियान जनरल इन्स्योरेन्स सञ्चालनको तयारीमा छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुने सञ्चालकमध्येका एक कार्कीले बताए । मनकामना जनरल इन्स्योरेन्समा खुमा अर्याललगायतको लगानी रहेको छ । कम्पनीमा मनकामना केबलकार सञ्चालक लक्ष्मणबाबु श्रेष्ठसहितको लगानी रहेको अर्यालले बताए । 

अध्ययनविना नै लाइसेन्स दिने तयारी
बिमा समितिले पुनः बजारको अध्ययनविना नै लाइसेन्स वितरण गर्ने तयारी गरेको छ । यसअघि पनि बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंले एकैपटक १३ वटा बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएका थिए, जसको चौतर्फी आलोचना भएको थियो । 

चापागाईंपछि समितिको अध्यक्षमा नियुक्त भएका सूर्यप्रसाद सिलवालले फेरि नयाँ कम्पनीलाई लाइसेन्स वितरण गर्ने तयारी गरेका छन् । राजनीतिक दबाबमा नै कम्पनीलाई लाइसेन्स वितरण गर्न लागिएको सरोकारवालाको भनाइ छ । 

नेपालमा २००४ सालमा नेपाल इन्स्योरेन्स कम्पनीको स्थापना भएपछि बिमा व्यवसाय सुरुवात भएको हो । त्यसअगाडि केही भारतीय कम्पनीहरूले गैरकानुनी रूपमा नेपालमा बिमा व्यवसाय गर्दै आएका थिए । ०२४ सालमा आएर राष्ट्रिय बिमा संस्थानको स्थापना भयो । यसले सुरुमा निर्जीवन बिमा गर्‍यो । ०२९ सालमा आएर यसले जीवन बिमाको पनि काम सुरु गर्‍यो । ०४४ सालमा नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनीको स्थापना भयो । यो कम्पनीले पनि सुरुमा निर्जीवन बिमा व्यवसाय गर्‍यो र दुई वर्षपछि जीवन बिमा पनि गर्न थाल्यो । 

निर्जीवन बिमाको हकमा ०२४ सालमा ओरियन्टल इन्स्योरेन्सको स्थापना भयो । ०३१ सालमा नेसनल इन्स्योरेन्सको स्थापना भयो । ०५० सालमा हिमालयन जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीको स्थापना भयो । ०५१ सालमा प्रिमियर र एभरेस्ट इन्स्योरेन्स कम्पनीको स्थापना भयो । ०५३ मा नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको दर्ता भयो । 

०५७ सालमा आइएमई जनरल इन्स्योरेन्स, ०५९ सालमा प्रुडेन्सियल, ०६१ सालमा शिखर इन्स्योरेन्स, ०६२ मा एनएलजी इन्स्योरेन्स र लुम्बिनी जनरल, ०६३ मा सिद्धार्थ इन्स्योरेन्स, ०७४ सालमा अजोड, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सको स्थापना भएको हो । 

त्यस्तै, जीवन बिमा कम्पनीको हकमा ०५८ सालमा नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन र अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको स्थापना भयो । ०६५ सालमा गुराँस लाइफ, सूर्या लाइफ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको स्थापना भयो । ०७४ आइएमई, ज्योति, युनियन, सन नेपाल, रियलायन्स, रिलायबल, सिटिजन्स, सानिमा र प्रभु इन्स्योरेन्सको स्थापना भयो । ०७५ सालमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि सञ्चालन अनुमति पायो ।

ad
ad