मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असार ५ शनिबार १६:४६:००
Read Time : > 2 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना खोपको दोस्रो डोज नपाउँदा ज्येष्ठ नागरिकमा छटपटी

Read Time : > 2 मिनेट
२०७८ असार ५ शनिबार १६:४६:००

रसुवाको आमाछोदिङ्मो गाउँपालिका¬–४ का ६८ वर्षीय मिलन तामाङले २७ फागुन २०७७ मा कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो डोज लगाए । कोरोनाको पहिलो डोज लगाएर भ्याउँदानभ्याउँदै नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भयो ।

सरकारले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राख्दै भारतसँग खरिद गरेको १० लाख र अनुदानमा दिएको १० लाख डोज खोपबाट प्राथमिकता क्रमसँगै ज्येष्ठ नागरिकलाई खोप लगाइएको थियो । सरकारले कोरोना महामारीकै बीच फ्रन्टलाइनमा काम गर्नेहरूलाई जसोतसो कोभिसिल्डको दोस्रो डोज लगायो । तर, ज्येष्ठ नागरिकलाई खोप पुगेन । 

महामारीले दैनिक एक सयभन्दा बढी मानिसको ज्यान लिइरहेका वेला कोरोनाको दोस्रो डोज कुरिरहेका ज्येष्ठ नागरिकमा भने छटपटी सुरु भएको छ । ‘खै हामीले कहाँ भन्ने, हेल्थपोस्टबाट लगाएको, दोस्रो खोप लगाउनुपर्याे भन्दा आउँछ, आउँछ मात्र भन्छन्, खोप लगाउन पाए हुने’ तामाङले दुःखेसो पोखे । उनलाई एक साताअघि मात्र रुघाखोकी, जीउ दुख्ने, छाती दुख्ने समस्या देखिएको थियो । ‘म दीर्घ रोगी पनि छु, सुगरको समस्या छ, दिनमा तीनपटक औषधि खानुपर्छ, खोप नआउँदा डर लागिरहेको छ’ उनले भने । 

सरकारले निःशुल्क दिन नसके किनेर पनि लगाउन आफू तयार रहेको उनले बताए । ‘खोप कहाँ पाइन्छ, भनिदिनुहोस् न, बरु हामी किनेर लगाउँछौँ’ उनले भने ।

कालिका गाउँपालिका ५ जिबजिबेका ७० वर्षीय चिरन्जिवी पौडेल पनि दोस्रो खोपको पर्खाइमा छन् । उनलाई पनि पर्खनुस् आउँछ आउँछ भन्दै कुराएको तीन महिना नाघिसकेको छ । अब पहिलो डोजले पनि काम गर्दैन कि भन्ने चिन्ता उनमा छ । खोप नआएका कारण भिडभाडमा नजाने, मास्क स्यानिटाइजरको प्रयोग, अरू मानिससँग अलग्गै बस्ने गरेको उनले सुनाए । ‘पूरै खोप लगाउनुपर्छ रे’ उनी भन्छन्, ‘खोप पूरा नहँुदा केही भइहाल्यो भने कसलाई भन्ने ?’ खोप नआउँदा मन अझ बढी आत्तिने गरेको उनले बताए । ६९ वर्षीया काइँली तामाङ र अयोध्यादेवी पौडेलको गुनासो पनि उस्तै छ । 

यी त प्रतिनिधि पात्र मात्र हुन् । रसुवाका ६५ वर्षमाथिका करिब २१ सय ज्येष्ठ नागरिक कोभिसिल्डको दोस्रो खोपको पर्खाइमा छन् । ८ देखि १२ हप्ता सम्ममा खोप लगाइसक्नुपर्ने भनिएको थियो । तर, १२ हप्ता पूरा भइसक्दा पनि खोप कहिले आउने टुंगो छैन । 

जिल्लामा ६५ वर्षमाथिका २२७१ जना ज्येष्ठ नागरिकले कोभिसिल्डको पहिलो खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय रसुवाको तथ्यांक रहेको छ । जसमध्ये १ सय ७४ जना ज्येष्ठ नागरिकलाई मात्र दोस्रो खोप दिइएको छ । बाँकी दुई हजार ९७ जना दोस्रो खोप लगाउन पाएका छैनन् । 

जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी गरी एक हजार सातजना फ्रन्टलाइनमा काम गर्नेले कोभिसिल्डको पहिलो र दोस्रो मात्रा पूरा गरिसकेका छन् । 
स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेका अनुसार ६५ वर्षमाथिका दोस्रो मात्राको खोप लगाउन बाँकी ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराउन परिवार कल्याण महाशाखामा पत्र पठाइएको छ । तर, यो खोपको मौज्दात देशमा नरहेको र भारतबाट आउन रोक लगाइएका कारण नेपालले पाउन नसकेको उनले जानकारी दिए । रसुवामा ज्येष्ठ नागरिकसहित कुल ३७९४ जनाले दोस्रो डोज लगाउन बाँकी छ । यो चीनले अनुदानमा दिएको भेरोसेल लगाउनेसमेतको तथ्यांक हो । 

केन्द्रमै आएन खोप
भारतले १० लाख डोज अनुदानमा दिएपछि सरकारले १४ माघबाट नेपालमा कोभिसिल्डमार्फत खोप अभियान थालेको थियो । सोही खोप सरकारले भारतसँग थप २० लाख डोज किन्न प्रक्रिया अगाडि बढायो । सोहीअनुसार १० लाख डोज नेपाल ल्याइयो । त्यसपछि सरकारले २३ फागुनबाट देशभर खोप अभियान सुरु ग¥यो । तर, अर्को १० लाख डोज भने नेपाल नआउँदै भारतमा दोस्रो लहरको महामारी सुरु भयो । त्यसपछि भारतले खोपको निर्यात रोकेको छ । यसको प्रत्यक्ष असर ज्येष्ठ नागरिकमा परेको छ । 

शनिबारसम्मको तथ्यांकअनुसार जिल्लामा एक हजार ४१ जनामा कोरोना संक्रमण भइसकेको छ । यसमध्ये ६ सय ९६ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमित भएकामध्ये जटिल प्रकृतिमा रहेका केही बिरामीको नुवाकोट तथा काठमाडौंमा उपचारको क्रममा निधन भएको छ । तर, जिल्लाका कति नागरिकको कोरोनाका कारण मृत्यु भयो भन्ने आधिकारिक विवरण छैन । स्वास्थ्य कार्यालयको विवरणमा एकजनाको मृत्यु भएको तथ्यांक रहेको छ । रसुवा स्थायी घर भएका पाँचजना कोरोना संक्रमितको कोरोनाका कारण मृत्यु भएको पाइएको छ ।