मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन अर्याल काठमाडौं
२०७८ असार ५ शनिबार ०७:४९:००
Read Time : > 5 मिनेट
अर्थ प्रिन्ट संस्करण

रेस्टुराँका परिकार फेरि पनि घर–घरमै डेलिभरी  

Read Time : > 5 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७८ असार ५ शनिबार ०७:४९:००

निषेधाज्ञा खुकुलो गर्ने क्रममा रेस्टुरेन्टहरूलाई टेक अवे वा होम डेलिभरी सुविधा दिन पाउने व्यवस्थापछि टेस्टुरेन्ट सञ्चालक सक्रिय, निषेधाज्ञापछि पनि निरन्तरता दिने तयारी

डेढ महिनादेखि बन्द रहेका काठमाडौं उपत्यकाका रेस्टुरेन्टहरूले घर–घरमै खानाका परिकार डेलिभरी गर्न सुरु गरेका छन् । सरकारले निषेधाज्ञाको ढाँचा परिवर्तन गर्दै १ असारदेखि ‘प्याकिङ’ र ‘टेक अवे’ सेवा सञ्चालन गर्न अनुमति दिएपछि रेस्टुरेन्टले ग्राहकसँग अर्डर लिएर घर–घरमै खाना पुर्‍याउन सम्भव भएको हो ।  

अहिले काठमाडौं उपत्यकामा सञ्चालित चल्तीका रेस्टुरेन्टहरूले आफ्नै कर्मचारी र डेलिभरी पार्टनरमार्फत घर–घरमा खानाका परिकार पुर्‍याउन थालेका हुन् । गत वर्ष पनि लकडाउन खुकुलो भएसँगै रेस्टुरेन्टले ‘टेक अवे’ सेवा सुरु गरेका थिए । तर, कोभिड मत्थर भएपछि ग्राहकहरू रेस्टुरेन्ट धाउन थालेसँगै ‘टेक अवे’ सेवा प्राथमिकतामा पर्न छाडेको थियो । मंगलबारदेखि खानाका परिकार ग्राहकको घर–घरमा पुर्‍याउन थालेको चेन रेस्टुरेन्ट त्रिशाराका सञ्चालक शोभनवीर मालाकार बताउँछन् । सरकारको पछिल्लो निर्णयअनुसार ग्राहकले रेस्टुराँको प्याकिङ खाना किनेर घरमा लैजान पाउँछन्, तर रेस्टुरेन्टमै बसेर खान भने पाउँदैनन् । रेस्टुराँलाई स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी सीमित कर्मचारीमार्फत प्याकिङ र टेक अवे सेवा सञ्चालन गर्न अनुमति दिएको हो । पटक–पटकको लकडाउन र निषेधाज्ञाले आर्थिक संकटमा परेका रेस्टुरेन्टहरूले घर–घरमै खानका परिकार डेलिभरी गर्न पाउँदा सञ्चालन खर्चको केही अंश मात्र भए पनि आम्दानी हुने मालाकार बताउँछन् ।  

कोभिडको दोस्रो लहर सुरु भएपछि स्थानीय प्रशासनले आवश्यकताअनुसार निषेधाज्ञा लगाउँदै जाँदा देशका सबैजसो जिल्लाका सबैजसो नगरपालिका तथा गाउँपालिकामा पनि निषेधाज्ञा लगाइयो । काठमाडौं उपत्यकामा १६ वैशाखदेखि सुरु भएको निषेधाज्ञा केही कडा तथा केही खुकुलो बनाउँदै अहिले पनि जारी छ । कोभिडको दोस्रो लहर पहिलोभन्दा अत्यन्तै संक्रामक देखिएको र मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेपछि सरकारले कडा निषेधाज्ञा जारी गर्नु स्वाभाविक पनि थियो । त्यही कडाइका रूपमा सरकारले अनलाइनमार्फत हुने खरिदको डेलिभरीमा पनि रोक लगाइएको थियो । तर, पछिल्ला दिनमा संक्रमित र मृतकको संख्या कम हुँदै गएपछि रेस्टुरेन्टलाई टेक अवे सेवा सञ्चालनका लागि अनुमति दिइएको हो ।  

अहिले त्रिशारा, पेरोस पिज्जा बाई त्रिशारा, त्रिशारा द बेकिङ फ्याक्ट्री, द पाओ, एटिक बार, बाजेको सेकुवा, रोड हाउस क्याफे, केएफसी, पिज्जा हट, बर्गर स्याकजस्ता रेस्टुरेन्टले होम डेलिभरीको सुविधा दिन सुरु गरिसकेका छन् । त्यस्तै, केकेएफसी, लुना, द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन, कमलादीको डल्ले रेस्टुरेन्ट, दरबारमार्गको नौलो रेस्टुरेन्ट, झम्सिखेलको रेडमड र क्युबिस किचेन, लाजिम्पाटको चाइना टाउन र मुगल एम्पायर, मण्डला स्ट्रिटको  भेरा पिज्जा, ठमेलको फायर एन्ड आइस, भ्याली एक्सप्रेसलगायत दर्जनौँ रेस्टुरेन्टहरूले प्रतिस्पर्धात्मक रूपमै खानाका परिकारहरू होम डेलिभरी गर्न सुरु गरिसकेका छन् । 

चेन रेस्टुराँ त्रिशाराले व्यवसाय विस्तार गर्ने क्रममा फरक कम्पनीमार्फत पेरोस पिज्जा र बेकरी रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याएको छ । तीनवटै रेस्टुरेन्टका परिकार त्रिशाराको लाजिम्पाटको आउटलेटबाट होम डेलिभरी गरिरहेको सञ्चालक मालाकार बताउँछन् । ‘इन्डियन, चाइनिज, कन्टिनेन्टल परिकार, परोस पिज्जा र सम्पूर्ण बेकरी आइटम लाजिम्पाटमा तयार पारेर अर्डरअनुसार घर–घरमै पुर्‍याउन थालेका छौँ,’ मालाकार भन्छन्, ‘फुड डेलिभरीका लागि आफ्नै ६ जना कर्मचारी र फुडमान्डुलगायत अनलाइन डेलिभरी पार्टनरको पनि सहयोग लिइरहेका छौँ ।’ 

त्रिशाराले १५ जना स्टाफलाई आवासीय सुविधा दिएर राखेको छ । उनका अनुसार पिसिआर टेस्ट गरेर नेगेटिभ रिपोर्ट आउनेलाई मात्र काममा लगाइएको छ । पहिलो दिन मंगलबार मात्र ९० वटा अर्डर डेलिभरी गरेको उनले बताए । त्रिशाराले पहिलो चरणको लकडाउन खुकुलो भएपछि त्यतिवेला पनि होम डेलिभरी सेवा सञ्चालनमा ल्याएको थियो । 

अघिल्लो वर्षको लकडाउनमा होम डेलिभरी सेवा सञ्चालन गरेको ज्ञानेश्वरको एटिक बार र गैह्रीधाराको द पाओ रेस्टुरेन्टले अहिले पनि सरकारले अनुमति दिनेबित्तिकै डेलिभरी सेवा सुरु गरेको छ । दुवै रेस्टुराँका सञ्चालक रेमनदास श्रेष्ठ मंगलबारदेखि सीमित कर्मचारी राखेर टेक अवे सेवा तथा डेलिभरी सुरु गरेको बताउँछन् । एटिकमा फुडमान्डु जोडिएको छ भने पाओसँग फुडमान्डु, तातोमीठो, फुडटोल, भोजडिललगायत थुप्रै डेलिभरी पार्टनर जोडिएकाले डेलिभरीको समस्या नहुने श्रेष्ठको विश्वास छ । ‘गत वर्ष पनि ग्राहकहरूको राम्रै रेस्पोन्स पाएका थियौँ, यो वर्ष पनि राम्रै रेस्पोन्स पाउनेमा ढुक्क छौँ,’ श्रेष्ठ थप्छन्, ‘हामीले पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर खानाका परिकार ग्राहकको घर तथा अफिससम्म पुर्‍याउँछौँ ।’ 

धेरै कर्मचारी राख्दा स्वास्थ्य मापदण्ड पालना गर्न र खर्च धान्न कठिन हुने भएकाले धेरै रेस्टुरेन्टले सीमित कर्मचारीमार्फत सेवा प्रदान गरिरहेका छन् । सरकारले पनि महामारीमा सीमित कर्मचारीमार्फत सेवा प्रदान गर्न आग्रह गरेको छ । बाजेको सेकुवाले पनि अनलाइन अर्डर तथा डेलिभरी सेवा सुरु गरेको सञ्चालक नीतिमा भण्डारीले जानकारी दिइन् । बाजेको सेकुवाले फेसबुक, वेबसाइट, फोनलगायत माध्यमबाट अर्डर लिएर बत्तीसपुतली र अनामनगरका आटउलेटबाट डेलिभरी दिन्छ । ‘होम डेलिभरीका लागि रेस्टुरेन्टको आफ्नै डेलिभरी टिम पनि तैनाथ छ र अरू डेलिभरी पार्टनरसँग पनि सहकार्य गरेका छौँ,’ उनी भन्छिन्, ‘ग्राहकले अर्डरसाथी, फुडमान्डुलगायत अनलाइन फुड डेलिभरी कम्पनीमार्फत पनि खानाको अर्डर गर्न सक्नुहुन्छ ।’ खाना प्याक गरेर घरमा पुर्‍याउँदासम्म सेलाउने भएकाले मरमसला मोलेर पकाउन ठिक्क पारेको (रेडी टू कुक) आइटम पनि डेलिभरी दिइने भण्डारी बताउँछिन् । सेकुवा, कटिया, मःमः, खसीका विभिन्न थरी परिकार, फ्रोजन आइटमलगायतका परिकार बाजेको सेकुवाले डेलिभरी गरिरहेको छ । 

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा चेन रेस्टुराँ चलाइरहेको रोडहाउस क्याफेले पनि फुड डेलिभरी सुरु गरेको सञ्चालक चन्दन कायस्थ बताउँछन् । उनी थप्छन्, ‘हामीले भाटभटेनी र झम्सिखेलको आउटलेटमार्फत टेक अवे सेवा दिइरहेका छौँ ।’ फुडमान्डुलगायत डेलिभरी पार्टनरमार्फत खानाका परिकार घर–घरमा पुर्‍याइरहेको कायस्थको भनाइ छ । 

केकेएफसीले बिहान १० बजेदेखि साँझ ७ बजेसम्म खाना डेलिभरी गर्दै आएको छ । मुख्य परिकारका रूपमा क्रिस्पी चिकेन पस्कँदै आएको यो रेस्टुरेन्ट पनि फुडमान्डु, भोजडिल्स, पठाओ फुड्सलगायत डेलिभरी पार्टनरमार्फत ग्राहकको घर–घरमा पुगेको छ । यस्तै, द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनको मध्यबानेश्वरमा रहेको आउटलेटबाट पनि खानाका परिकारको अनलाइन अर्डर तथा डेलिभरी भइरहेको छ । बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म खानाका परिकार डेलिभरी गर्न सकिने रेस्टुरेन्टले जानकारी दिएको छ ।

त्रिशारा सञ्चालक मालाकारका अनुसार उपत्यकाका धेरैजसो रेस्टुरेन्टले टेक अवे सेवा सुरु गरिसकेका छन् । लकडाउनमा पनि ग्राहकसँग जोडिरहनका लागि टेक अवे सेवा उपयुक्त रहेको उनको बुझाइ छ । ‘होम डेलिभरी सेवाले घरभाडा, बैंकको किस्ता, कर्मचारीको तलबलगायत सबै खर्च धान्दैन,’ उनले भने, ‘काममा फर्किएका कर्मचारीलाई तलब खुवाउन र ग्राहकसँग जोडिरहन सकिन्छ कि भन्ने मात्र हो ।’ कोभिड सुरु भएसँगै लामो समय रेस्टुराँ नखुल्ने भएपछि गत वर्षदेखि नै बिजनेसको नयाँ मोडल अंगीकार गरेको उनको भनाइ छ । एटिक रेस्टुराँका सञ्चालक श्रेष्ठ पनि टेक अवे सेवा सर्भाइभ हुने एक उपाय भएको बताउँछन् । उनी भन्छन्, ‘यसबाट अलिकति भए पनि खर्च धानिन्छ ।’ 

घरकै किचनमा पकाएको खाना डेलिभरी गर्नेहरूलाई भने सरकारको निर्णयले राम्रै सहयोग पुगेको छ । अनलाइन डेलिभरी कम्पनी फुडमारियोले घर–घरमा गृहिणीहरूले पकाएको खानाका परिकार अर्डर लिएर ग्राहकको घर–घरमा पुर्‍याउने काम गर्दै आइरहेको छ । फुडमारियोले घरमा फुर्सदमा रहेका गृहिणी र ठूलो लगानी गरेर रेस्टुराँ खोल्न नसक्नेहरूलाई घरकै किचनमा खानाका परिकार बनाएर बिक्री गर्न सक्ने प्लेटफर्म उपलब्ध गराइरहेको छ । तर, बैंकबाट ऋण लिएर ठूलो लगानी गरी रेस्टुरेन्ट खोल्नेहरूलाई टेक अवे सेवाले मात्र खर्च धान्न मुस्किल पर्ने सञ्चालकको भनाइ छ । 

ग्राहकले रेस्टुरेन्टको फेसबुक, वेबसाइट, भाइबर, फोन कलमार्फत खानाका परिकार अर्डर गर्न सक्छन् । सम्बन्धित फुड डेलिभरी पार्टनरको वेबसाइट, फेसबुक, मोबाइल एपबाट पनि परिकार अर्डर गर्न सकिन्छ । ‘हामीले आफ्नै कर्मचारीमार्फत डेलिभरी गरेको कुनै पनि सर्भिस चार्ज लिँदैनौँ, नि:शुल्क डेलिभरी गर्छौँ, तर फुड डेलिभरी कम्पनीहरूले अर्डर तथा डेलिभरी सेवा दिएबापत निश्चित सर्भिस चार्ज लिने गर्छन्,’ बाजेको सेकुवाकी सञ्चालक भण्डारी भन्छिन्, ‘फुड डेलिभरीमार्फत सेवा लिँदा निश्चित सेवा शुल्क तिर्नुपर्ने हुन्छ ।’ 

ग्राहकले अनलाइन अर्डर तथा डेलिभरी सुविधा लिएपछि पेमेन्ट पनि अनलाइनमार्फत गर्न सक्छन् । फोन पे, इसेवा, मोबाइल बैंकिङ, कार्ड वा सीधै क्यासमार्फत पनि पेमेन्ट गर्न सक्ने रेस्टुरेन्ट सञ्चालकको भनाइ छ । लकडाउनमा अनलाइनमार्फत राम्रै अर्डर आउन थालेपछि रेस्टुरेन्ट सञ्चालक पनि उत्साहित देखिएका छन् । अघिल्लो वर्षको लकडाउनमा पनि टेक अवे सेवाले राम्रै रेस्पोन्स पाएको थियो । यसपटक पनि सुरुमै राम्रो अर्डर आउन थालेको उनीहरूको भनाइ छ । ‘अब हामीले अनलाइन अर्डर तथा डेलिभरीलाई रेस्टुरेन्टको मुख्य पार्ट बनाउने आवश्यकता देख्यौँ,’ त्रिशाराका सञ्चालक मालाकार भन्छन्, ‘लकडाउन खुलेपछि पनि होम डेलिभरीलाई निरन्तरता दिन्छौँ होला ।’ अरू रेस्टुरेन्ट सञ्चालकहरूले पनि टेक अवे सेवालाई निरन्तरता दिने सोच बनाइरहेका छन् ।

कोभिडले देखाएको सम्भावना 
कोभिड महामारी फैलिन नदिन सरकारले लकडाउन र निषेधाज्ञा जारी गरेपछि व्यवसायमा पनि नयाँ–नयाँ आइडिया जन्मिन थालेका छन् । रेस्टुरेन्टले खानाका परिकारहरू ग्राहकको घर तथा अफिसमै डेलिभरी दिन थालेका छन् । अरू थुप्रै इ–कमर्स कम्पनी पनि कोभिड महामारीकै बीचमा सञ्चालनमा आएका छन् । ठूला सपिङ स्टोरहरूले पनि कोभिड महामारीमा आफ्ना सामान बिक्री गर्न अनलाइन प्लेटफर्मलाई नै उपयुुक्त ठहर्‍याए । कोभिडकै बीचमा अनलाइन सपिङ प्लेटफर्म अर्डरसाथी डटकम सुरु भएको छ । यसमा उपत्यकाका तीन दर्जनभन्दा बढी रेस्टुरेन्ट जोडिएका छन् । अनालाइन मार्केट प्लेस ग्यापुले पनि कोभिडकै बीचमा आफ्नो सेवा सुरु गरेको हो । निर्माण सामग्रीमा सम्भवतः पहिलोपटक प्रयोगका रूपमा शिवम् सिमेन्टले मोबाइल एपबाट सिमेन्टको अर्डर लिने र डेलिभरी दिने सेवा सुरु गर्‍यो । 

कोभिड महामारीकै बीचमा फेसबुक, इन्स्टाग्राम र वेबसाइटमा दर्जनौँ अनलाइन अर्डर तथा डेलिभरी गर्ने प्लेटफर्महरू जन्मिएका छन् । अहिले ग्रोसरी आइटम, खानाका परिकार, औषधि, मेडिकल सामग्री, लुगाफाटा, मास्क, इलेक्ट्रोनिक्स उपकरणदेखि घरायसी उपकरणसम्म आफूलाई आवश्यक सबै सामग्रीहरू उपभोक्ताले घरमै बसेर अनलाइन अर्डर गरी मगाउन सक्छन् । ठूला व्यावसायिक घरानादेखि साना लगानीकर्तासम्मले कोभिडकै बीचमा इ–कमर्समा लगानी गर्न तम्सिएको देखिन्छ । कोभिडले इ–कमर्सलाई सबैभन्दा आकर्षक स्टार्टअप बनाइदियो ।