गण्डकी प्रदेशस्तरीय विपत् व्यवस्थापन कोषमा पाँच करोड रुपैयाँ राख्ने निर्णय गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बिहीबार बसेको प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले कोषमा रकम राख्ने निर्णय गरेको हो ।
कोषमा राखिएको रकम प्राकृतिक विपतमा परेकाहरूको उद्धार, राहत र व्यवस्थापनका लागि खर्च गर्ने निर्णय बैठकले गरेको छ । बैठकपछि मुख्यमन्त्रीसँगै विनाविभागीयमन्त्री दीपक मनाङे, प्रदेश सभा सदस्य चिन्तबहादुर घले स्थलगत अवलोकनका लागि मनाङ गएका छन् ।
केही दिनदेखि लगातार परेको वर्षाका कारण प्रदेशमा सबैभन्दा धेरै क्षति मनाङमा भएको छ । क्षतिबारे बुझ्न मुख्यमन्त्रीसहितको टोली राहत सामग्रीसहित मनाङ गएको हो ।
गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत मुख्यमन्त्रीसहितको टोली अवलोकनका लागि गएको हो ।