१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
 एक महिनाको शिशुसँग तुलसा लोहार । तस्बिर : नयाँ पत्रिका 
२०७८ असार ३ बिहीबार १३:२३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अन्तर्जातीय विवाहको पीडा : घर जाँदा गाउँलेले लखेटे, डेरा बस्दा श्रीमानले छाडे

Read Time : > 2 मिनेट
२०७८ असार ३ बिहीबार १३:२३:००

अर्जुनधारा– ११ सालबारीकी तुलसा लोहार (२२)ले एक वर्षअघि हल्दिबारी– २ का बलराम कट्टेलसँग  अन्तर्जातीय विवाह गरिन् । दलित समुदायकी तुलसाले गत वर्ष १६ साउनमा प्रेमलाई विवाहमा परिणत गरिन् । तर, विवाह गरेको आठ महिनामै श्रीमान् बलरामले तुलसालाई छाडे । कारण– तुलसा कथित सानो जातकी थिइन् । 

विवाह गर्नेबित्तिकै बलरामले तुलसालाई हल्दिबारीस्थित आफ्नो घर लगेका थिए । आठ दिनसम्म घरमा राखे । परिवारले दलित भनेर थाहा पाएपछि गाउँले भेला गरेर तुलसा र बलरामलाई घरबाट लखेटे । ‘मैले त बलरामलाई म विश्वकर्माकी छोरी हुँ भनेकी थिएँ । उसले स्वीकार गर्छु भन्यो । तर, घरमा भनेको रहेनछ । थाहा पाएपछि साउन २४ गते राति उसको सानोबुबा विष्णु भट्टराईले खेदाउनुभयो । हामी राति नै भागेर बिर्तामोड आयौँ,’ उनी भन्छिन्, ‘कामीकी छोरी ल्याएको रहेछ । एकछिन पनि मेरो घरमा नबस् भन्दै खेदाए । बलरामको घरमा आमा मात्र हुनुहुँदोरहेछ । सानोबुबाको घर नजिकै रहेछ । आमाले त बिहान पठाउनु राति यसो नगर्नु भन्नुभएको थियो । तर, अरूले दिएनन् ।’ 

दलितसँग विवाह गरेको थाहा पाएपछि उनीहरूलाई लेखेट्न ३०–३५ जना गाउँले आएको तुलसा बताउँछिन् । गाउँबाट लखेटिएपछि उनीहरू बिर्तामोडमा डेरा बस्न थाले । समय बित्दै गएपछि बलरामको रहस्य थाहा पाइन्, तुलसाले । उनले पहिल्यै विवाह गरेका रहेछन् । जेठी श्रीमती र छोरा भारतमा बस्दा रहेछन् । त्यसपछि बलरामले तुलसालाई फरक व्यवहार गर्न थाले ।

आठ महिना त सँगै बसे । तर, गत फागुनमा श्रीमान् हराए । फोन अफ गरे । अहिलेसम्म उनी सम्पर्कमा छैनन् । आठ महिनाकी गर्भवती श्रीमती छाडेर फागुनमा हिँडेका बलराम अझै फर्किएनन् । ‘दिदी खसेको (मृत्यु भएको) र काममा जान्छु भनेर हिँडेका थिए । हिँडेपछि मोबाइल पनि अफ छ । पर्खेर एक हप्ता डेरामै बसेँ,’ उनी भन्छिन्, ‘एक पैसा थिएन । कति दिन त नखाई बसेँ । तर, नफर्किएपछि बुबालाई बोलाएर माइत फर्किएँ ।’

उनले वैशाखमा छोरा जन्माइन् । अहिले छोराको भविष्य अन्योलमा छ । बुबा हराइरहेकाले जन्मदर्ता पनि हुन सकेको छैन । बलरामसँग विवाह दर्ता पनि भएको छैन । तुलसाको नागरिकतासमेत बनाएको छैन । माइती पनि विपन्न छन् । पहाडबाट सुख खोज्दै तराई झरेको तुलसाको माइती सानो बाँसले बारेको झुप्रो बनाएर बसेको छ । बुबा पूर्णकुमार पुर्ख्याैली पेसा आरान चलाएर बसेका छन् ।

आठजनाको परिवार यही आरानबाट जसोतसो धानिएको छ । ‘दुःख–बिराम पर्दा उपचार गर्ने पैसा त हुँदैन । यो पेसाले धन्न खानचाहिँ पुगेको छ,’ पूर्णबहादुर भन्छन्, ‘यहीमाथि छोरीको यस्तो बिचल्ली भयो ।’ पूर्णबहादुरले छोरीलाई डेराबाट ल्याउँदा पनि ऋण गरेर ल्याए । ‘केही महिनादेखि कोठाको भाडा तिरेको रहेनछ । पसलमा पनि ऋण रहेछ । मैले पनि खोजेर तिरेर छोरी ल्याएँ,’ पूर्णबहादुर भन्छन्, ‘ज्वाइँ एकपटक घर आएका थिए । त्यो वेलै शंका लागेको थियो । दलित भएकै कारण उसले मेरो छोरीलाई छाडेको हो । कम्तीमा छोरीले न्याय पाउनुपर्छ भन्नेर लागेका छौँ । के गर्ने केही थाहा छैन ।’

बलराम हराएपछि पूर्णबहादुर आफैँ लागेर खोज्न लागे । खोजतलासका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन पनि दिए । ‘सुरुमा निवेदन लिन पनि मानेको थिएन । प्रहरीले वडामा गएर निवेदन लिएर आउनु भने । वडामा जाँदा यो मान्छे हामीले चिनेको सीधा छ भनेर दिनै मानेनन्,’ पूर्णबहादुर भन्छन्, ‘बल्लबल्ल प्रहरीले निवेदन दर्ता गरेको छ । तर, अहिलेसम्म खोजी गरिदिएको छैन ।’

इलाका प्रहरी कार्यालय अनारमनीले भने निवेदन लिएर खोजतलासको प्रक्रिया अघि बढाइएको जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बलरामको खोजीका गर्न हल्दिबारीका प्रहरीलाई घरसम्म पठाइएको बताए । ‘खोजतलासका लागि निवेदन लिएर सबैतिर हुलिया परिपत्र गरेको छ,’ उनले भने, ‘हल्दिबारीको घरमा समेत पुलिस पठायौँ । अहिलेसम्म घरमा आएको छैन भन्ने भयो । यसमा त हुलिया परिपत्र त गर्ने हो नि । अरू त के छ र ? ’