१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख ३१ सोमबार ११:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नक्कली कागजात बनाएर अर्काको नामको जग्गा बिक्री

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:१२:oo

जग्गा दलाल राजाबाबु पासवानका कारण हरिपुर नगरपालिका–८ का ईश्वरी महतोको परिवारको उठिबास, न जग्गा पाए न पैसा

सर्लाहीको हरिपुर नगरपालिकामा जिल्ला मालपोत कार्यालयबाट नक्कली कागजात बनाएर अर्काको नामको जग्गा बिक्री गरेको फेला परेको छ । हरिपुर नगरपालिका–८, निवासी ईश्वरी महतो र रामकुमारी महतोले गाउँकै जग्गा दलाल राजाबाबु पासवानसँग घर बनाउन भन्दै १९ पुस ०७३ मा १९ धुर जग्गा खरिद गरे । यसअघि महतो परिवारले सो जग्गा ठेक्कामा लिएर खेती गर्दै आएको थियो । 

महतो परिवारसँग एक धुर पनि जग्गा थिएन । उनीहरू आफन्त माइजू पर्नेको घरमा बस्दै आएका थिए । पासवानले एकदिन उक्त जग्गा बिक्री गर्नुपर्ने भएकाले महतो परिवारलाई लिन दबाब दिए । नत्र सो जग्गा अरूलाई नै बिक्री गर्ने बताए । महतो परिवारले पनि घर बनाउने जग्गा पाएका थिएनन् । आफू बसिरहेको ठाउँ, आफैँले खेती गरिरहेको जग्गा भएकाले उनीहरूले आफैँले किन्ने निधो गरे । राजाबाबुले जग्गाको मूल्य पाँच लाख २० हजार रुपैयाँ राखे । महतो परिवारसँग त्यति धेरै पैसा थिएन । उनीहरूले आफूसँग भएको दुई लाख २० हजार र तीन लाख रुपैयाँ गाउँमा ऋण गरेर जग्गा खरिद गरे । राजाबाबुकी श्रीमती मीनकुमारी पासवानको नाममा मालपोत कार्यालय मलंगवाको स्रेस्तामा रहेको कित्ता नम्बर २९५ को जग्गा रामकुमारी महतोको नाममा नामसारी भयो । 

आफ्नो नाममा जग्गा आएपछि उनीहरू निकै खुसी भए । विदेशमा भएको छोरा फर्किएपछि उक्त घडेरीमा सानो घर बनाउने उनीहरूको सपना थियो । छोरा रामदुलारले विदेशमा कमाएको पैसा घडेरी किन्दा छिमेकीसँग लिएको तीन लाख ऋण महतो परिवारले तिर्दै गयो । तर, एकदिन रामकुमारी छाँगाबाट खसेजस्तै भइन्, जब उनीहरूले एक–एक रुपैयाँ जोडेर किनेको जग्गा तीन महिनापछि आफ्नो भन्दै अरू नै मानिस आए । त्यसपछि रामकुमारीले असली जग्गाधनी गोरखा फुजेल गाविस–४, निवासी नीलकण्ठ देवकोटा रहेको थाहा पाइन् ।

आफूले किनेको जग्गाको असली धनी अर्कै भएको थाहा पाएपछि उनी चिन्तामा परिन् । असली जग्गाधनी देवकोटाले आफ्नो नाममा रहेको जग्गा सहमतिबेगर जालसाजी गरेर बिक्री गरेको भन्दै कानुनी कारबाहीको मागसहित १० वैशाख ०७४ मा जिल्ला अदालत सर्लाहीमा मुद्दा हाले । महतो परिवार अलमलमा प¥यो । उनीहरूले आफूलाई जग्गा बिक्री गर्ने राजाबाबु पासवानकहाँ गएर हारगुहार गरे । पासवानले जग्गा आफ्नो भएकाले मुद्दा आफूले जित्ने र जग्गा उनीहरूकै हुने भन्दै आश्वासन दिए । 

निरक्षर रामकुमारीले अड्डा अदालत कहिल्यै गरेकी थिइनन् । उनलाई चिन्ताले गाँज्दै लग्यो । छोराले रगतपसिना गरेर कमाएको पैसा ठगिएको उनले सहन सकिनन् । तीन वर्षअघि उनको मृत्यु भयो । आफ्नो घरमा बस्ने उनको सपना अधुरै रह्यो । जिल्ला अदालतले १२ चैत ०७८ मा अर्काको जग्गा जालसाजी गरेर बिक्री गरेको ठहरसहित जग्गा पुनः नीलकण्ठ देवकोटाको नाममा नामसारी गर्ने फैसला गरिदियो ।

अदालती मुचुल्कामा उक्त कित्ता नम्बर २९५ को जग्गा ग्रामीण आवास तथा बस्ती विकास कम्पनी लिमिटेड जुटपानीले जिल्ला मालपोत र नापी कार्यालयको सहयोगमा १० जेठ ०५२ मा गोरखाको फुजेल गाविस–४, निवासी नीलकण्ठ देवकोटाको नाममा दर्ता गरी लाजपुर्जा तयार गरेर दिएको उल्लेख छ । अर्काको नाममा रहेको जग्गा राजाबाबु पासवानले मालपोत र नापीका कर्मचारीसमेतको मिलेमतोमा जालसाजी गरेर आफूलाई बेचेको रामकुमारीका छोरा रामदुलारले गुनासो गरे ।

आफू ठगिएको भन्दै उनले न्यायको माग गरेका छन् । जग्गा नभए चलनचल्तीअनुसार जग्गाको मूल्यमा पैसा फिर्ता गरिदिन भन्दा जग्गा विक्रेता राजाबाबु पासवानले उल्टै धम्क्याउने गरेका उनले बताए । ‘अदालतले पनि यो जग्गा तपाईंको होइन, किर्ते कागज बनाएर जग्गा तपाईंलाई बेचिएकाले तपाईंले मुद्दा हार्नुभयो भन्यो ।’ उनले भने । 

ad
ad