Skip This
गोलबजार कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ २९ शनिबार
  • Saturday, 27 July, 2024
२o७८ जेठ २९ शनिबार १५:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गोलबजार कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ २९ शनिबार १५:४५:oo

कोरोना महामारीलाई लक्षित गरी सिराहाको गोलबजार नगरपालिकाद्वारा सञ्चालित अस्थायी कोभिड अस्पतालले सञ्चालन भएको दुई हप्ता नबित्दै करिब ४२ लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त गरेको छ । 

विकास निर्माणको बजेट कटौती गरी नगरपालिकाले आफ्नै बलबुतामा अस्थायी कोभिड अस्पताल सञ्चालन गरेपछि अमेरिकाको मिचिगनस्थित हेल्पिङ ह्यान्ड नेपाल च्याप्टरले स्वास्थ्य सेवा तथा उद्धार संघ (हेस्रा नेपाल) मार्फत एक सय २९ प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । हेल्पिङ ह्यान्डका नेपाल च्याप्टर प्रमुख जीवा पोखरेलका अनुसार प्रसूति विद्युतीय बेड, आइसियू बेड, इसिजी, भिडियो एक्सरे मेसिनलगायत अस्पतालका लागि आवश्यक एक सय २९ प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो । 

‘कोभिड १९ को महामारीका वला अस्पताललाई दिइएका स्वास्थ्य सामग्रीले नगर क्षेत्रका बासिन्दाले स्तरीय स्वास्थ्य उपचार सेवा पाउन सघाउनेछ,’ प्रमुख पोखरेलले भने, ‘सहयोगस्वरूप दिइएका सामग्रीमध्ये केही अस्पतालको गरिब विपन्न कोषमा राखेर उपचारका लागि आउने निम्न आर्थिक अवस्थाका बिरामीलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिनुपर्छ ।’

गोलबजार नगरप्रमुख देवनाथ साहले अस्पतालाई प्राप्त सहयोगले स्तरीय उपचार सेवाका लागि सिराहा बाहिर जान बाध्य बिरामीका लागि फाइदा पुग्ने बताए । ‘कोभिड– १९ को महामारी मत्थर भएपछि भविष्यमा अस्थायी कोभिड अस्पताललाई क्षेत्रीय स्तरको ट्रमा सेन्टरसहित करिब एक अर्ब रुपैयाँ लगानीमा सुविधासम्पन्न अस्पताल बनाउने योजनासहित डिपिआर बनाइएको छ,’ साहले भने । त्यसअघि हेल्पिङ ह्यान्डले हेस्रा नेपालमार्फत २४ जेठमा गोलबजार कोभिड अस्थायी अस्पताललाई करिब तीन लाख रुपैयाँ मूल्यको थर्मोगन, पिपिई, स्यानिटाइजर, सर्जिकल ग्लोब्स, सर्जिकल फेस मास्क र तीन सय थान कपडाको मास्क उपलब्ध गराएको नगरप्रमुख साहले बताए । 

हेस्रा नेपालका प्रमुख कार्यकारी अधिकृत जियाउद्दिन खानले गुणस्तरीय स्वास्थ्य उपचारमा सघाउ पुग्ने गरी दातृ निकायहरूसँगको सहकार्यमा संस्थामार्फत सरकारी स्वास्थ्य संस्थाहरूलाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराउँदै आएको बताए । 

नगरको आफ्नै कोभिड अस्पताल 
कोभिड– १९ महामारीको दोस्रो लहरमा जिल्लामै सबैभन्दा बढी प्रभावित बनेको सिराहाको गोलबजार नगरपालिकाले आफ्नै लगानीमा १६ जेठदेखि विधिवत् रूपमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । नगरप्रमुख साहले नगर क्षेत्रसहित जिल्लाका विभिन्न ठाउँमा कोभिड संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय स्तरमै उपचार सेवा दिन अस्पताल सञ्चालन गरिएको बताए । 

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले अस्पताल सञ्चालन विपत् प्रतिकार्यका लागि जरुरी रहेको औँल्याउँदै संक्रमित बिरामीले सहज उपचार सेवा पाउने गरी स्वास्थ्य सामग्रीको उपयोग गर्न आग्रह गरे । 

कोभिड– १९ को पहिलो लहर केही मत्थर भए पनि अस्पतालको आवश्यकता महसुस गरीे आर्थिक वर्ष ०७७/७८ को वडा क्षेत्रका लागि विनियोजन गरिएको बजेट नगर कार्यपालिकाको निर्णयमार्फत कटौती गरी गत १९ भदौदेखि अस्पताल निर्माण थालिएको नगरका प्रमुख प्रशासकीय अधिकृत उपसचिव श्रीधर केसीले बताए । उपसचिव केसीका अनुसार अस्पताल निर्माणका लागि एक करोड ३५ लाख विनियोजन गरिएकोमध्ये २३ लाखबाहेकको रकम निर्माण कम्पनीले भुक्तानी लिइसकेको छ । 

गोलबजार– ८ का स्थानीयसमेत रहेका पूर्वप्रशासक ललितबहादुर थापाले करिब १० वर्षअघि आफूले खरिद गरेर अस्पताल निर्माणका लागि दान दिएको चोहर्वा माविदेखि पूर्व मैनाबत्ती खोलाको पश्चिमपट्टि एक बिघा जग्गामा अस्पताल बनाई सञ्चालन गरिएको हो । कुल २१ कोठा रहेको अस्पतालमा संक्रमितको उपचारका लागि १३ र बाँकी अस्पताल प्रशासन, ड्युटीमा खटिने स्वास्थ्यकर्मीका लागि उपयोग गरिने जनाइएको छ ।