मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ जेठ २९ शनिबार
  • Tuesday, 15 July, 2025
२o७८ जेठ २९ शनिबार ११:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गंगा दशहरामा लाग्ने गोसाइँकुण्ड मेला यस वर्ष पनि प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ २९ शनिबार ११:४६:oo

रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला प्रभावित भएको छ । हरेक वर्ष जेठ प्रतिपदादेखि  जेष्ठ शुक्ल दशमीका दिनसम्म गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला यो वर्ष पनि प्रभावित भएको हो । यो वर्ष शुक्रबारदेखि मेला सुरु भएको छ ।

मेला असार ६ गते दशमीका दिनसम्म लाग्नेछ । तर, गत वर्षजस्तै यो वर्ष कोरोना महामारीका कारण मेला नै प्रभावित भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । गत वर्ष पनि कोरोना महामारीका कारण गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा र जनैपूर्णिमामा लाग्ने मेला प्रभावित भएको थियो ।

बर्सेनि हजारौँको संख्यामा तीर्थयात्रीहरू गोसाइँकुण्ड पुग्ने गरेको भए तापनि कोरोनाका कारण चहलपहल शून्य रहेको छ । मेलाको समयमा भरिभराउ हुने सदरमुकामका धुन्चे, चन्दनबारी, लौरीबिनाका तथा गोसाँइकुण्डका होटेलहरू अहिले सुनसान छन् ।

पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइँबाबा भगवान् शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पत्ति भई त्रिशूल धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंबदन्ती रहेको पाइन्छ ।

कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षाहरू पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौैँ हजार भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् ।

जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्ड मेलाको अवसरमा स्वदेश तथा विदेशबाट बर्सेनि हजारौँ तीर्थयात्री आउने गरेका थिए । काठमाडौंको गोंगबु बसपार्कबाट नुवाकोटको त्रिशूली हुँदै रसुवाको सदरमुकाम धुन्चे आइपुग्न सकिन्छ भने दुई दिनको पैदलयात्रापछि चन्दनबारी हुँदै  गोसाइँकुण्ड पुग्न सकिन्छ ।

१०८ कुण्ड रहेको रसुवा जिल्लामा बर्सेनि हजारौँको संख्यामा तीर्थालु भक्तजनहरू आउने गरेका छन् । समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड सन् २००७ सेप्टेम्बरमा रामसार सूचीमा समेत सूचीकृत छ । गोसाइँकुण्ड गाउँपालिका– ५ मा अवस्थित गोसाइँकुण्डमा हरेक वर्षको गंगा दशहरा र जनैपूर्णिमामा गरी दुईपटक मेला लाग्ने गर्दछ ।