१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अस्ट्रेलियाविरुद्ध प्रशंसनीय प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:२९:oo

फिफा विश्वकप २०२२ र एसियनकप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटको आफ्नो अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग ३–० को पराजय व्यहोरेको छ । खेलको पहिलो हाफमै दश जनामा सीमित भएको नेपालले फिफा वरीयतामा एक सय ३० स्थान माथिको अस्ट्रेलियाविरुद्ध यो नतिजाका लागि भने प्रशंसनीय प्रदर्शन गर्‍यो । यद्यपि अर्काे वर्ष कतारले आयोजना गर्ने फिफा विश्वकपको छनोटबाट यसअघि नै बाहिरिसकेको नेपालको यसै प्रतियोगिताबाट एसियनकपको छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना पनि कमजोर बनेको छ । 

नेपाल अझै समूह बीको चौथो स्थानमा छ । चौथो स्थानमा रहेका टोली २०२३ मा चीनले आयोजना गर्ने एसियनकपको तेस्रो चरणको छनोटमा पुग्न सक्छन् । यद्यपि, त्यसका लागि नेपाललाई अन्य सात समूहको चौथो स्थानमा रहेका टोलीमध्ये उत्कृष्ट चारभित्र पर्नुपर्नेछ । जुन मुस्किल देखिएको छ । आगामी १ असारमा हुने समूह चणको अन्तिम खेलपछि यसको टुङ्गो लाग्नेछ । नेपालले यो अवसर गुमाएको अवस्थामा एसियनकपको तेस्रो चरणको छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ ।

फिफा वरीयतामा अगाडि रहेका कारण पहिलोपटक विश्वकप छनोटको सीधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएको नेपालले योभन्दा अगाडिको यात्रा तय गर्न सकेन । नेपालले दोस्रो चरणको छनोटमा खेलेको आठमध्ये ६ खेलमा हारको सामना गर्‍यो । नेपालले चाइनिज ताइपेईविरुद्धको दुई खेलमा मात्रै जित हात पार्न सक्यो । नेपालले अस्टे«लियासहित जोर्डन र कुवेतसँगको सबै खेलमा पराजय व्यहोरेको हो । 

आफ्नो मैदानमा खेल्नुपर्ने दोस्रो लेगको खेल सबै नेपालले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बाहिर खेल्नुपर्‍यो । कुवेतविरुद्ध दशरथ रंगशालामा खेल्नुपर्ने आफ्नो ‘होम गेम’ भुटानमा खेलेको नेपालले बाँकी तीन खेल कुवेतमा खेलेको हो । कुवेतको जाबर अल अहमाद रंगशालामा नेपालले अस्ट्रेलियाविरुद्ध कुनै गतिलो अवसर सिर्जना गर्न सकेन । खेल पूर्ण रूपमा अस्ट्रेलियाको पकडमा रह्यो । यद्यपि, नेपालले उसको धेरै राम्रा अवसर असफल बनाइदियो । नेपाल खेलको छैटौँ मिनेटमै एक गोलले पछि पर्‍यो । अजिज बेहिचको क्रसमा कप्तान माथ्यु लेकीले पेनाल्टी प्वाइन्टबाट हेडिङ गोलमार्फत अस्टे«लियालाई १–० ले अगाडि बढाएका थिए । अजिजको हेडिङ रोक्न नेपाली गोलरक्षक किरणकुमार लिम्बूले कुनै अवसर पाएनन् । 

अस्ट्रेलियाले खेलको ३८औँ मिनेटमा अग्रता दोब्बर बनायो । कप्तान माथ्युले नेपाली रक्षक सुमन अर्याललाई काटेर दिएको पासलाई फ्रान कारासिकले सिक्स यार्ड बक्सबाहिरबाट गोल गरेका थिए । पहिलो हाफ सकिनैलाग्दा नेपाल दशजनामा सीमित हुन पुग्यो । बल लिएर अघि बढिरहेका अस्ट्रेलियाका मार्टिन बोयललाई लडाएपछि रक्षक रोहित चन्दलाई ओमानी रेफ्री अहमेद अबु बकार अल काफले सीधै रातो कार्ड देखाएका थिए ।

त्यसपछि दोस्रो हाफ पूरै १० जनामा खेलेको नेपाल थप दबाबमा पर्‍यो । सोहीकारण अस्ट्रेलियाले खेलको ५७औँ मिनेटमा तेस्रो गोल गर्‍यो । ज्याक्सन इर्भिनले नेपालका चार खेलाडी बिट हुने गरी सहज उपलब्ध गराएको बल मार्टिनले गोलमा परिणत गरेका थिए । त्यसबाहेक अस्ट्रेलियाको धेरै उत्कृष्ट आक्रमणलाई नेपाली खेलाडीले असफल बनाइदिएका थिए । त्यसमा नेपाली गोलरक्षक किरणको प्रदर्शन उच्च स्तरको रह्यो । 

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत सोमबार जोर्डनसँग ३–० ले पराजित भएको टोलीबाट पहिलो रोजाइमा पाँच खेलाडी परिवर्तन गरेका थिए । जोर्डनविरुद्ध पहिलो रोजाइमै मैदानमा प्रवेश पाएका अञ्जन विष्ट, अभिषेक रिजाल, सन्तोष तामाङ, दिनेश राजवंशी र विकास खवासको स्थानमा नवयुग श्रेष्ठ, विशाल राई, सुनील बल, एरिक विष्ट र गौतम श्रेष्ठलाई अवसर दिएका थिए । यसै खेलबाट तीन नेपाली खेलाडीले डेब्युको अवसरसमेत पाएका छन् । युवा खेलाडी सुरज ठकुरी, आयुष घलान र कमल थापाले पहिलोपटक राष्ट्रिय जर्सीमा मैदानमा उत्रने अवसर पाए ।

ad
ad