१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ २४ सोमबार
  • Wednesday, 03 July, 2024
बेंसीसहर नगरपालिका– ११ मालेबगरमा फुटबल खेलमैदान निर्माणका लागि जग्गा सम्माइँदै । 
२o७८ जेठ २४ सोमबार १८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

निषेधाज्ञामा खेलमैदान निर्माणमा जुटे युवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ २४ सोमबार १८:oo:oo

कोरोनाका कारण निषेधाज्ञा जारी रहेको समयमा लमजुङमा फुटबल मैदान निर्माणमा युवाहरू जुटेका छन् । बेंसीसहर नगरपालिका– ११ रामचोकबेंसीको मालेबगरमा खेलमैदान निर्माण कार्य सुरु गरिएको हो । 

निषेधाज्ञाको समयमा विकास निर्माणलाई आफूहरूले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी फुटबल खेलमैदानको काम सुरु गरेको समाजसेवा युवा क्लबका अध्यक्ष ईश्वरराज सेढाईंले बताए । उनले भने, ‘क्लबले नेतृत्व लिएर खेलमैदान निर्माण सुरु गरेको छ, यो अभियानमा युवा क्लबका सदस्यहरूसँगै स्थानीयको सहभागिता रहेको छ ।’ 

इलेभेन ए साइडको खेलमैदान निर्माण गर्ने क्लबको योजना छ । ७५ रोपनी क्षेत्रफलमा रहेको सार्वजनिक जग्गामा खेलमैदान बनाउन लागिएको हो । 

रामचोकका स्थानीय वासुदेव सेढाईंले खेलमैदान निर्माण सुरु भएसँगै युवाहरूमा उत्साह थपिएको बताए । उनले भने, ‘खेलमैदान निर्माण भएसँगै प्रदेशस्तरीय खेल खेलाउन सकिनेछ ।’

स्थानीय स्रोत उपयोग गरेबापत पिपुल्स हाइड्रोपावरले २० घन्टा मैदान खन्ने मेसिन उपलब्ध गराएको छ । उक्त मालेबगर क्षेत्रमा तालिमको लागि ठाउँ प्रयोग गरेबापत श्रीजंग गणले खेलमैदान निर्माणका लागि २१ हजार तीन सय रुपैयाँ सहयोग गरेको छ । खेलमैदान निर्माण सुरु गरिए पनि सरकारी निकायबाट हालसम्म कुनै सहयोग प्राप्त नभएको चिती–काठमाडौं सेढाईं समाजका सदस्य प्रकाशबाबु सेढाईंले बताए । 

प्रदेश सरकार र स्थानीय सरकारलाई खेलमैदान निर्माणमा सहयोग गर्न सेढाईंले अपिलसमेत गरेका छन् । निषेधाज्ञामा फुर्सदको समयको सदुपयोग गरी गाउँका युवाहरूलाई एकताबद्ध बनाई विकास निर्माणको काममा अगाडि बढेको सेढाईंको भनाइ छ । खेलमैदान निर्माण सम्पन्न गरेसँगै युवालाई खेलक्षेत्रमा लाग्न प्रेरित गर्ने र गाउँमै राष्ट्रियस्तरमा खेल खेल्न सक्ने खेलाडी उत्पादन गर्ने समाजसेवी सुरेशबाबु पाण्डे बताउँछन् ।

ad
ad
ad
ad