१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
सगरमाथा आरोही युवराज धिताल ।
मनीष खड्का रुकुम पश्चिम
२०७८ जेठ २३ आइतबार ०८:३६:००
Read Time : > 2 मिनेट
फिचर प्रिन्ट संस्करण

ऋण गरेर सगरमाथाको कीर्तिमानी आरोहण

Read Time : > 2 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७८ जेठ २३ आइतबार ०८:३६:००

सफलताको न कुनै सीमा हुन्छ, न त निश्चित दायरा नै । न यसले वर्ग, जात, समुदाय वा क्षेत्रलाई नै हेर्छ । सफलता त उसले मात्रै प्राप्त गर्छ, जसले कठोर संघर्ष गर्छ, दृढ इच्छाशक्तिका साथ अघि बढ्छ र लक्ष्यमा लगातार ध्यान केन्द्रित गरिरहन्छ । 

यसलाई साबित गरेका छन्, रुकुम पश्चिमका एक युवाले । सामान्य परिवारमा जन्मिएर निजामती सेवामा प्रवेश गरेका बाँफिकोट गाउँपालिका–१० सेजेका युवराज धितालले आफूलाई जागिरेमा मात्रै सीमित राखेनन् । सानै उमेरदेखि देख्दै आएको सगरमाथा आरोहणको सपना पनि उनले पूरा गरेका छन् । सपना देख्नुपर्छ र देखेको सपना साकार पार्न जस्तोसुकै अप्ठ्यारोसँग पनि लडेर अघि बढ्नुपर्छ भन्ने एउटा ज्वलन्त उदाहरण बनेका छन्, उनी । 

उनले प्राप्त गरेको यो सगरमाथा आरोहण रेकर्डसमेत बनेको छ । गत १७ चैतमा २३ वर्ष पूरा भएका धिताल सगरमाथाको चुचुरोमा पाइला टेक्ने सबैभन्दा कम उमेरका निजामती कर्मचारी बनेका छन् । उनी अहिले नापी कार्यालय दाङअन्तर्गत लमही शाखामा अमिन पदमा कार्यरत छन् । यसअघि यो रेकर्ड खिमलाल देवकोटाको नाममा थियो । उनी पनि नापी प्राविधिक नै थिए । उनले करिब १० वर्षअघि २७ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरेका थिए । धितालले ३१ मे अर्थात् १७ जेठको बिहान ७:४५ मा सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । 

अविस्मरणीय सफलता 
केही वर्षअगाडिसम्म मेरो मनमा सगरमाथाका बारेमा कुनै सोच नै थिएन, तर एक्कासि सगरमाथा चढ्ने योजना बनाए । सफल पनि भए । एउटा रेकर्ड बनेको छ, यो नै मेरा लागि ठूलो उपलब्धि हो । सगरमाथा आरोहण जिन्दगीभर बिर्सन नसकिने याद बनेको छ । दुर्गममा त्यो पनि सामान्य परिवारमा जन्मिएको एउटा केटाले यो आँट र हिम्मत गर्‍यो र यस प्रकारको सफलता प्राप्त गर्‍यो भनेर केही व्यक्तिको प्रेरणाको स्रोत पनि बनेको छु जस्तो लागेको छ । पर्यटन विभागका अनुसार हालसम्म सगरमाथा आरोहण गरेका निजामती कर्मचारीहरूमध्ये सबैभन्दा कम उमेरको म नै हुँ । विभागले सगरमाथा आरोहणका लागि अनुमति लिएका सबैको रेकर्ड राख्ने गर्छ ।

आधारशिविरबाट हिँडेको ६–७ दिनमा आरोहण पूरा गरेर फर्किसक्नुपर्थ्यो। तर, हामीलाई १२–१३ दिन लाग्यो । प्रतिकूल मौसमका कारण पहिलो प्रयास सफल भएन । अत्यधिक हावाहुरीका कारण आठ हजार मिटरसम्म पुगेर टोली फेरि बेस क्याम्पमा फर्कनुपर्‍यो । प्रतिकूल मौसम र बाटोमा भेटिने बेवारिसे शवले मनलाई झस्काउँथ्यो । तर, सगरमाथाको चुचुरोमा पाइला टेक्ने हुटहुटी र दृढ विश्वासले थप अघि बढ्न प्रेरणा थपिरह्यो । सारा चिज बिर्सिए, मेरो दिमागमा खाली परिवारका सदस्य र मलाई सहयोग गर्ने व्यक्तिहरूको याद आइरहेको थियो । आरोहण सफल भएपछि संसारको भाग्यमानी ठाने । 

सगरमाथा आरोणको यात्रा 
नेपाल सरकारले नापी प्राविधिकहरू प्रयोग गरेर सगरमाथाको उचाइ नाप्ने घोषणा गरेको थियो । जसअनुसार सन् २०१९ मा देशभरबाट नापी प्राविधिकहरूलाई आवेदन दिन भनिएको थियो । सगरमाथाको उचाइ नाप्ने कार्यक्रममा सहभागी हुन देशभरका धेरै नापी प्राविधिकले आवेदन दिएका थिए । त्यसमा एकजना धिताल पनि थिए । उनी देशभरिबाट छनोट भएका चारजनामा पर्न पनि सफल भए । छनोटका लागि विभिन्न काम पूरा गरेको र त्यसमा अब्बल हुँदै छनोटमा पर्न सफल भएको उनले बताए । त्यसवेला उनी पहिलोपटक सगरमाथाको नजिक पुगे । आधारशिविरभन्दा माथि जाने मौका भने उनले पाएनन् । उनीसँगै छनोट भएका चारमध्ये दुईजना चुचुरोमा पुगे भने उनीसहित अर्का व्यक्ति आधारशिविरमै रहे ।

यसैवेला उनले आरोहणबारे धेरै बुझे । किनभने, सगरमाथाको उचाइ नाप्ने टोलीमा खटिने सदस्यलाई आरोहणसम्बन्धी एड्भान्स तालिम दिएको थियो । त्यसवेला उनले ६१८९ मिटर उचाइ रहेको आइल्यान्ड पिक पनि चढेका थिए । ६ हजार एक सय १९ मिटरको लोबुचे हिमाल पनि आरोहण गरे । त्यसले पनि उनमा आरोहणप्रतिको लगाव बढेको थियो । ‘बर्सेनि विश्वका विभिन्न देशबाट धेरै व्यक्ति सगरमाथा आरोहण गर्न आउँछन्, हामीले हाम्रै सगरमाथा किन आरोहण नगर्ने भन्ने सोच ममा पलायो, त्यसपछि तयारी थालेको हुँ,’ उनले भने । उनी संलग्न टोलीले नै सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम गरेको थियो । 

ऋण लिएर सगरमाथा आरोहण 
धितालले सगरमाथा आरोहणका लागि ऋण लिनुपरेको बताए । आरोहणका लागि ठूलो रकम लाग्ने हुँदा ऋण निकाल्नुपरेको उनको भनाइ छ । आरोहणका लागि २० लाख रुपैयाँभन्दा बढी खर्च भएको र आधाभन्दा बढी ऋण लिएको उनले बताए । ‘स्थानीय तहदेखि विभिन्न संघसंस्थामा गुहारे, तर कतैबाट राम्रो सहयोग भएन, केही आफन्त, साथीभाइहरूले सकेको सहयोग गर्नुभयो,’ उनले भने । अहिले पनि सगरमाथाबाट फर्किने क्रममै रहेको र फेरि पनि सहयोगका लागि विभिन्न निकायलाई गुहार्ने उनको योजना छ । ‘कान्छो उमेरमा सगरमाथा आरोहण गर्दै छु, सकेको सहयोग गर्नुहोस् भनेर सबैतिर धाएको थिएँ,’ उनले भने, ‘तर, आस गरेअनुसार सहयोग जुट्न सकेन, एकपटक फेरि पनि सबैलाई आग्रह गर्ने सोचिरहेको छु ।’

आरोहणमै रहने योजना छ 
उनले आरोहणबाट टाढा नहुने प्रतिक्रिया दिएका छन् । समय र आर्थिक अवस्थाले साथ दिएमा वर्षमा एउटा हिमाल चढ्ने योजना सुनाए । ‘म अब हिमाल आरोहणबाट टाढा हुनेछैन, सबै कुराले साथ थियो भने हरेक वर्ष एउटा हिमाल चढ्ने सोच बनाएको छु, हेरौँ कति सफल हुन्छु,’ उनले भने ।