मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ २० बिहीबार ०९:०५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दैनिक एक गिलास दूध पिउँदा हर्ट एट्याक्ट र स्ट्रोकको जोखिम कम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ २० बिहीबार ०९:०५:००

बिहानदेखि बेलुकासम्ममा हामी कुनै न कुनै रूपमा दूध प्रयोग गरिरहेका हुन्छौँ । केही अध्ययनले दूधको अत्यधिक प्रयोग शरीरका लागि हानिकारक हुने तथ्य पनि सार्वजनिक गरेका छन् भने कतिपयले दूधले शरीरमा खराबीभन्दा धेरै फाइदा गर्ने जनाएका छन् । 

यसैबीच बेलायतको रिडिङ युनिर्भसिटीले हालै गरेको एक अध्ययनअनुसार दैनिक एक गिलास दूध पिउँदा गम्भीर प्रकारका रोगहरू लाग्ने सम्भावना १४ प्रतिशतले कमी हुन्छ । नियमित दैनिक एक गिलास दूध पिउने व्यक्तिमा हर्ट एट्याक्ट तथा स्ट्रोकको जोखिम निकै कम हुन्छ । तर, दूध पिउने समय भने सबै एउटै समय बनाउनुपर्छ । यस्तो रुटिङ बनाएर दूध पिउँदा शरीरमा कोलेस्ट्रोलको स्तर कम हुन्छ ।

कोलेस्ट्रोल स्तर कम हुँदा, हर्ट एट्याक्टको सम्भावना न्यून हुन जान्छ । हर्ट एट्याक्ट हुनुको प्रमुख कारण कोलेस्ट्रोलको स्तर बढ्नु पनि हो । कोलेस्ट्रोल बढ्दा शरीरमा रगत सञ्चालनमा समस्या आउँछ । कतिपय अवस्थामा रगतमा ब्लकेज हुँदा पनि हर्ट एट्याक्ट हुन्छ । यसकारण रिडिङ युनिर्भसिटीका शोधकर्ताहरूले नियमित एक गिलास दूध पिउन सल्लाह दिएका छन् । 

युनिर्भसिटीले बेलायत र अमेरिकाका २० लाखभन्दा बढी व्यक्तिमाथि महिनौँ लगाएर अनुसन्धान गरेको हो । अनुसन्धानको क्रममा एक गिलास दूध पिउँदाका फाइदा पत्ता लागेकोे जनाएको छ । युनिर्भसिटीका प्रोफेसर तथा शोधकर्ता विमल करणीले नियमित एक गिलास दूध पिउने व्यक्तिको शरीरमा धेरै परिवर्तन भएको बताएका छन् । ‘नियमित दूध पिउने व्यक्तिको शरीरमा धेरै परिवर्तन पायौँ, खराब गर्नेभन्दा पनि धेरै फाइदा पुग्ने देखिएको छ,’ प्रोफेसर विमलले भने, ‘मुख्यतः कोलेस्ट्रोल निकै कम देखिएको छ ।’ 

प्रोफेसर विमलले दूध सेवन गर्दा शरीरमा बिएमआई तत्व परिवर्तन भएको बताएका छन् । उनले कृषि फार्मको भन्दा पनि डेरीबाट उत्पादित दूध सेवन गर्न सुझाब दिएका छन् । ‘डेरीमा उत्पादित दूधले शरीरमा अझै धेरै फाइदा पुर्‍याउँछ,’ उनले भने । 

अनुसन्धानको क्रममै धेरै दूध पिउँदा मधुमेह रोग लाग्ने प्रतिक्रियासमेत आएको उनले बताए । तर, दूध पिउने र मधुमेह रोगबीच केही सम्बन्ध नभएको उनको भनाइ छ । ‘दूध धेरै पिउँदा मधुमेह रोग लाग्नेबारे अनुसन्धानमा केही देखिएन,’ उनले भने, ‘हाम्रो शरीरलाई अतिआवश्यक पर्ने तत्वमध्ये दूध पनि पर्छ, दूधले हड्डी बलियो पार्ने मद्दत गर्छ, किनभने हामीलाई भिटामिन र प्रोटिन आवश्यक पर्छ, जुन दुवै दूधमा पाइन्छ ।’ 

एजेन्सीहरूको सहयोगमा