१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
कृष्ण रिजाल काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o९:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

खर्च गर्ने क्षमता बढेन, तर बजेटको आकार बढेको बढ्यै : वास्तविक खर्चभन्दा ५४% ठूलो बजेट ल्याउने तयारी

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:४६:oo

पछिल्ला पाँच वर्षयताको तथ्यांक विश्लेषण गर्दा सरकारले खर्च गर्न क्षमता बढाउन सकेको देखिँदैन । तर, खर्च गर्न नसके पनि ठूलो आकारको बजेट ल्याउने प्रवृत्ति भने बढेकै देखिन्छ । 

सरकारले पछिल्ला पाँच वर्षमा वार्षिक औसत ७८.६ प्रतिशत मात्रै कुल खर्च गर्न सकेको देखिन्छ । खासगरी ठूलो आकारको बजेट ल्याउने, चालू खर्च गर्ने, तर विकास खर्च गर्दै नगर्ने प्रवृत्ति तथ्यांकले देखाउँछ । पछिल्ला पाँच वर्षमा सरकारले वार्षिक औसत ८२.८१ प्रतिशत चालू खर्च गर्न सकेको छ । जब कि विकास खर्च भने वार्षिक औसत ६५.९९ प्रतिशत मात्रै हुन सकेको देखिन्छ । 

सरकार जनताप्रति जवाफदेही नहुँदा ठूलो आकारको बजेट ल्याउने, तर खर्च गर्न नसक्ने प्रवृत्तिको विकास भइरहेको अर्थविद् डा. विश्व पौडेल बताउँछन् । ‘जनतालाई उल्लु बनाउँदै जुटाउनै नसक्ने स्रोत देखाएर ठूलो बजेट ल्याउने अनि खर्चचाहिँ नगर्ने अनुशासनहीनता मौलाइरहेको छ,’ उनले भने, ‘ठूलो बजेट ल्याउने, चालू खर्च गर्ने, नचाहिँदो ठाउँमा बाँड्ने, तर विकास खर्च नगर्ने नेपालको दीर्घरोग नै भएको छ ।’

सरकारले अहिलेसम्म कुनै पनि वर्ष ११ खर्ब रुपैयाँभन्दा बढी बजेट खर्च गर्न सकेको देखिँदैन । तर, बजेट १५ खर्बभन्दा बढीको ल्याएको छ । ‘पछिल्ला तीन वर्षलाई हेर्ने हो भने पनि सरकारले १०–११ खर्ब मात्रै बजेट खर्च गर्न सकेको छ,’ पौडेलले भने, ‘तर, यस वर्ष पनि सरकारले १७ खर्ब हाराहारीको बजेट ल्याउने चर्चा भइरहेको छ जुन गलत हो ।’ सरकारले स्रोत र खर्चको विश्लेषण तथा परिस्थितिको मूल्यांकन गरेर आगामी आवका लागि छरितो आकारको बजेट ल्याउनुपर्ने उनको सुझाब छ । 

यस वर्ष पनि ठूलो बजेट ल्याउने तयारी
चालू आर्थिक वर्षमा पनि सरकारले ठूलो बजेट ल्याउने तयारी गरिरहेको छ । सरकारले आगामी आवमा १७ खर्ब हाराहारी आकारको बजेट ल्याउने तयारी गरिरहेको हो । चालू आर्थिक वर्षको भन्दा करिब १५ प्रतिशत ठूलो आकारको बजेट बनिरहेको अर्थ मन्त्रालय स्रोत बताउँछ । चालू आवमा सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ ।

‘सवा ११ खर्ब हाराहारी राजस्व परिचालन, दुई खर्ब ३० अर्ब हाराहारी आन्तरिक ऋण र तीन खर्ब ४० अर्ब हाराहारी बाह्य ऋण परिचालन गर्ने स्रोत अनुमानसहित बजेट बनिरहेको छ,’ स्रोतले भन्यो, ‘यद्यपि, राजनीतिक तहबाट बजेटको आकारदेखि स्रोत अनुमानलगायतमा थपघट हुन सक्छ ।’ चालू आवमा सरकारले १० खर्ब ९३ अर्ब रुपैयाँ खर्च गर्न सक्ने देखिन्छ । यसलाई आधार मान्दा सरकारले आगामी आर्थिक वर्षका लागि चालू आवको वास्तविक खर्चभन्दा करिब ५४ प्रतिशत बढी हुने गरी ठूलो आकारका बजेट ल्याउन लागेको देखिन्छ ।

पौने १५ खर्बको बजेट, ११ खर्ब मात्रै खर्च हुने अनुमान
चालू आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७४ अर्ब रुपैयाँबराबरको बजेट ल्याएको छ । तर, हालसम्मको खर्च प्रवृत्तिलाई हेर्दा सरकारले बजेटको ७४ प्रतिशत हाराहारी मात्रै खर्च गर्न सक्ने देखिन्छ । गएको वैशाखको एक महिनामा सरकारले कुल एक खर्ब ३४ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ । आगामी दुई महिनामा यही दरमा खर्च भए कुल खर्च १० खर्ब ९३ अर्ब पुग्ने देखिन्छ । सरकारले चालू आर्थिक वर्षमा ल्याएको बजेट गत आवको वास्तविक खर्चभन्दा तीन खर्ब ८३ अर्ब ५१ करोड रुपैयाँले बढी हो । गत आवमा सरकारले कुल १० खर्ब ९३ अर्ब खर्च गर्न सकेको थियो ।

तर, वास्तविक खर्चभन्दा करिब ३५ प्रतिशत बजेट बढाएर चालू आवको बजेट ल्याइएको थियो । गत आवमा सरकारले अघिल्लो आवको वास्तविक खर्चभन्दा चार खर्ब २५ अर्ब रुपैयाँ बढी आकारको बजेट ल्याएको थियो । गत आव ०७६/७७ मा सरकारले १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । जब कि अघिल्लो आव ०७५/७६ को वास्तविक खर्च ११ खर्ब १० अर्ब रुपैयाँ मात्रै थियो ।

ad
ad