१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ १० सोमबार
  • Sunday, 08 September, 2024
२o७८ जेठ १० सोमबार १२:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निषेधाज्ञामा विकास निर्माणका काम धमाधम

नेपालडाँडा–तार्कुघाट - बोराङखोला सडक कालोपत्रे हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ १० सोमबार १२:१२:oo

कोरोना भाइरसको दोस्रो लहरबाट नेपालका धेरै जिल्लामा निषेधाज्ञा भएको छ । लमजुङमा पनि समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि निषेधाज्ञा गरिएको छ । तर, जिल्लामा निषेधाज्ञाका बीच पनि विकास निर्माणको कामलाई भने निरन्तरता दिइएको छ । 

जिल्लामा विकास आयोजनालाई प्रभावित हुन नदिइएको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । उनले भने, ‘सामाजिक दूरी कायम गरेर विकास निर्माणका कामलाई प्रभावित पारिएको छैन ।’  गत वर्षको बन्दाबन्दीमा जिल्लामा धेरै विकास निर्माणका काम रोकिएका थिए । रोखिएका काम करिब नौ महिनापछि सञ्चालनमा आएका थिए । निर्माण सामग्री, उपकरणको व्यवस्था अपनाएर विकास निर्माणका कामलाई निरन्तरता दिइएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीले बताए । 

उनले भने, ‘लमजुङको राइनास नगरपालिकाअन्तर्गत मुख्य सडक मानिएको नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक कालोपत्रेको काम पनि धमाधम भइरहेको छ ।’ गण्डकी प्रदेश सरकारको प्रादेशिक सडक योजनाअन्तर्गत नेपालडाँडा–राइनास–बोराङ सडकखण्डअन्तर्गत १० किलोमिटर सडक कालोपत्रे अन्तिम चरणमा पुगेको छ ।

नौ महिना लकडाउन भए पनि निर्धारित समयभन्दा पाँच महिना अगावै निर्माणकार्य सकिने सडक निर्माणको जिम्मा लिएको लामा कन्सट्रक्सन प्रालिले जनाएको छ । कम्पनीका प्रोजेक्ट म्यानेजर मधुसूदन साँखीले पाँच किलोमिटर काम सम्पन्न भइसकेकाले आयोजनाको काम जेठ महिनाभित्रै सकेर पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिने बताए । प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत उक्त सडक ०७६ पुसबाट ०७८ मसिर महिनामा सम्पन्न हुने गरी निर्माण सुरु भएको हो ।

सडक कालोपत्रेका लागि प्रदेश सरकारले २८ करोड ८४ लाख ८३ हजार एक सय ८७ रुपैयाँ ५५ पैसा विनियोजन भएको गरेको थियो । उक्त सकड कालोपत्रे भएसँगै राइनास नगरपालिकासँगै दूधपोखरी गाउँपालिकाको मुख्य मार्गको रूपमा रहेको उक्त सडक कालोपत्रे भएसँगै दुवै स्थानीय तह र छिमेकी जिल्ला गोरखाका नागरिकलाई पनि सहज हुनेछ । राइनास सडकसँगै जिल्लाका आधा दर्जन सडक कालोपत्रे र ग्राभेलको काम धमाधम भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । साथै चारवटा मोटरेबल पुलको निर्माण कार्य पनि भइरहेको छ ।