मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ ४ मंगलबार ०८:१८:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

गीतसंगीत सुन्नुका १० फाइदा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ ४ मंगलबार ०८:१८:००

गीतसंगीत मन नपर्ने मानिस सायदै होलान् । तर, गीतसंगीतले हाम्रो स्वास्थ्यमा पनि फाइदा पुर्‍याइरहेको हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । गीतसंगीतको मधुर ध्वनिले हाम्रो दैनिकी आनन्दमय बनाउनुको साथै स्वास्थ्यमा फाइदा पुग्ने विभिन्न अध्ययनहरूले सार्वजनिक गरेका छन् । अध्ययनअनुसार गीतसंगीतले तनाव कम पार्नेदेखि सिर्जनशील बनाउनसमेत मद्दत गरिरहेको हुन्छ । जब तपाईं गीतसंगीत सुन्दै केही काम गरिराख्नु हुन्छ, यसबाट राम्रो नतिजा दिलाउने अध्ययनहरूले देखाएका छन् । गीतसंगीत सुन्नुका १० फाइदा यस्ता छन् । 

१ . खुसी दिन्छ
धेरै अध्ययन अनुसन्धानले यो प्रमाणित गरेका छन् कि गीतसंगीत सुन्नाले मस्तिष्कलाई डोपा माइन तत्व प्रदान गर्छ । जसले जीवनका हरेक क्षणलाई आनन्दमय बनाउँछ । अनुसन्धानका क्रममा आठजना गीतसंगीतप्रेमीलाई डोपा माइन रिसेप्टर्स ट्याक गर्ने रेडियो एक्टिभ पदार्थ लगाइयो । यस क्रममा उनीहरूले जीवनमा कहिले नपाएको खुसी प्राप्त गरेको अनुभव सुनाएका थिए । डोपा माइन रिसेप्टर्स ट्याकमा सहभागीहरूले खुसी तथा उत्साहित भएको महसुस गरेका छन् । 

२. गति विकास गर्छ
गीतसंगीतसम्वन्धी अर्को अनुसन्धान म्याराथन धावकमाथि गरिएको थियो । धावकहरूले बिस्तारै संगीत सुन्दै वा छिटो गतिमा संगीत सुनी दौडिँदा नियमितभन्दा आठ सय मिटर बढी कुद्न सकेका थिए । एक धावकले आफ्नो गति बढाउन हेडफोन राखी अभ्यास गर्दा गति बढेको बताएका थिए । 

३. स्वास्थ्य र तनावमा सुधार
गीतसंगीत सुन्दा पनि तपाईंको कोर्टिसोल तत्व कम गर्छ । कार्टिसोल भनेको शरीरमा स्ट्रेस (तनाव) उत्पन्न गराउने तत्व हो । कोर्टिसोल अधिक भएका ६० प्रतिशत मानिस स्ट्रेसको सिकार हुन्छन् । यही स्ट्रेस वा तनाव कम गर्न मधुर संगीत सुन्न विज्ञहरूले सुझाब दिएका छन् । यसले शरीरमा इम्युनिटी पावर पनि वृद्धि गर्न मद्दत गर्छ । 

४. निद्रामा सुधार
३० प्रतिशत अमेरिकी नागरिकहरूले एक अध्ययनका क्रममा सुत्नुभन्दा ४५ मिनेटअघि क्लासिकल संगीत सुन्ने गरेको बताएका थिए । क्लासिकल संगीतकै धुनमा राम्रोसँग निद्रा लागेको उनीहरूले बताएका छन् । यसअघि उनीहरूले किताब वा उपन्यास पढ्ने गर्थे । यद्यपि निद्रा लागे पनि त्यति मीठो वा आनन्दित नभएको उनीहरूको भनाइ छ । यसकारण राम्रोसँग निदाउनु छ भने सुत्नु केही समयअघि क्लासिकल वा रोमान्टिक संगीत सुन्न विज्ञहरूले सुझाब दिएका छन् । 

५. डिप्रेसनमुक्त हुने एक उपाय
एक अध्ययनअनुसार लगभग विश्वमा तीन करोड ५० लाख मानिस डिप्रेसनको सिकार भइरहेका छन् । यीमध्ये ९० प्रतिशत मानिस डिप्रसेनकै कारण राम्रोसँग निदाउन सक्दैनन् । अध्ययनमा के देखाएको छ भने सुत्नु केही समयअगाडि शास्त्रीय संगीत सुनेर निदाउँदा डिप्रेसनको मात्र घट्छ । जर्मनीमा भएको एक अनुसन्धानमा डिप्रेसनमा रहेका व्यक्तिले नियमित संगीत सुन्दा डिप्रेसन मात्रा कम भएको पाइयो । अझ यसमा मेडिटेसन तथा क्लासिक संगीत धेरै उपयोगी भएको विज्ञहरूले बताएका छन् । 

६. खाना नियन्त्रणमा मद्दत
जर्जिया टेक विश्व विद्यालयको प्रतिवदेनमा मधुरो बत्ती तथा सफ्ट संगीतबीच खाना खाँदा रुचि कम हुने उल्लेख छ । यदि तपाईं खानामा नियन्त्रण गर्न चाहनुहुन्छ भने यस्तै रणनीति अपनाउन सक्ने विश्वविद्यालयको प्रतिवेदनमा उल्लेख छ । 

७. ड्राइभिङमा ध्यान केन्द्रित
नेदल्यान्ड्समा भएको एक अध्ययनअनुसार जब तपाईं ड्राइभिङ गरिराख्नुहुन्छ । त्यसवेला ध्यान यताउता जान सक्छ । यस्तो अवस्थामा दुघर्टनामा पनि पर्न सक्छ । यो अवस्थाबाट बच्नका निमित्त ड्राइभिङ समय संगीतमय बनाउन विज्ञहरूले सुझाब दिएका छन् । संगीत सुन्दा आवाज भने मध्यम राख्नुपर्छ । यस किसिमको ड्राइभिङ सुरक्षित तथा आनन्ददायी हुने विज्ञहरूले बताएका छन् । 

८. अध्ययन र स्मृति बढाउने
नियमति संगीत सुन्नाले स्मरण शक्ति तथा अध्ययन गर्ने शक्ति बढाउँछ । तर, यसमा संगीत सुन्ने क्षमता कति र यसमा ध्यान कति दिइन्छ भन्नेमा ख्याल गर्न आवश्यक छ । यसै आधारमा स्मरण तथा अध्ययन गर्ने क्षमता वृद्धि हुन्छ । जापानिजहरूले जुनसुकै समयमा पनि संगीत सुनिरहेका हुन्छन् । जापानमा भएको अनुसन्धानमा समय दिएर नियमित संगीत सुन्नेहरूको स्मरण शक्ति ह्वात्तै वृद्धि भएको देखाइएको छ । 

९. शल्यक्रिया पछि वा अघि आराम दिने
शल्यक्रिया शब्द नै डरलाग्दो छ । जो व्यक्ति शल्यक्रिया गराउँदै छन्, शल्यक्रिया अगाडि वा पछाडि उसलाई मीठो संगीत सुनाइयो भने सबै किसिमको डर हट्ने विश्वास छ । शल्यक्रिया अघि दिइने मिडाजोलम बढी प्रभावकारी बनाउन संगीत सुनाइन्छ । जुन एक किसिमको औषधि सावित भएको छ । जुन बिरामीलाई निन्द्रा महसुस गर्ने मद्दत गर्छ । शल्यक्रियापछि सुखदायक संगीत सुन्नाले बिरामीले आराम प्राप्त गर्छन् । 

१०. दुखाइ कम गर्ने
फिला डेल्फियाको डेक्सन विश्वविद्यालयका अन्वेषकहरूले यो पत्ता लगाएका छन्, संगीत उपचार र प्रि रेकर्डिङ गरिएको संगीत बजाउँदा क्यान्सरका बिरामीमा पीडा कम भएको बताएका छन् । यस्तो किसिमको वातावरणमा उनीहरूले दैनिक पीडा कम भएको महसुस गरेका छन् । यसैगरी जेरेट्रिक केयरका बिरामीहरूले पनि संगीत सुनेरै पीडा कम भएको महसुस गरेका छन् । 

एजेन्सीहरूको सहयोगमा