मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १५ शुक्रबार
  • Friday, 30 July, 2021
शुक्रराज ट्रपिकल अस्पताल टेकुमा कोभिडका बिरामी भर्नाका लागि लगिँदै । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
मञ्जु टेलर काठमाडौं
२०७८ जेठ ४ मंगलबार ०७:४१:००
Read Time : > 6 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अस्पताल डुलाउँदाडुलाउँदै एम्बुलेन्समै बिरामीको मृत्यु

Read Time : > 6 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७८ जेठ ४ मंगलबार ०७:४१:००

एम्बुलेन्सचालकहरू भन्छन्– अक्सिजन र बेडको आसमा ६ घन्टासम्म कोभिड बिरामीलाई बोक्नुपर्ने बाध्यता छ, तैपनि अस्पताल नपुग्दै धेरैको ज्यान जान्छ

गत बुधबार बेलुका भक्तपुर जगातीबाट ६२ वर्षीय कोभिडका बिरामीलाई श्वास फेर्न गाह्रो भएको भन्दै फोन आएपछि मध्यपुर ठिमी अस्पतालको एम्बुलेन्स चलाउँदै आएका सीताराम बिसुंखे बिरामी लिएर भक्तपुर अस्पताल पुगे । अक्सिजनको अभाव भएको भन्दै अस्पतालले बिरामी राख्न मानेन । उनी बिरामी लिएर मध्यपुर अस्पताल पुगे, त्यहाँ पनि बेड उपलब्ध भएन । बिरामीका आफन्तले भक्तपुरका अन्य अस्पतालमा पनि बुझ्न लगाए, कतै अक्सिजन नपाएपछि उनीहरू ओम अस्पताल पुगे । आइसियूमा रहेका बिरामीका लागि पनि अक्सिजन नभएको अस्पताल प्रशासनको भनाइ थियो । तर, बिरामीका आफन्तले अक्सिजन नपाउँदासम्म बाहिर राख्न मानेनन् । त्यसपछि टिचिङ हुँदै वीर अस्पताल पुर्‍याइयो । 

निर्मल कार्की : एम्बुलेन्सचालक

उपत्यकामा बिरामीको चाप यति धेरै छ कि कहिलेकाहीँ त पिपिईसमेत लगाउन भ्याइँदैन । बिरामी सिकिस्त भएको खबर आउँछ, कतिपल्ट पन्जा, मास्क र फेससिल्ड लगाएर मात्रै कुदेको छु । सकेसम्म सुरक्षा अपनाएका छौँ, तर बिरामीको ज्यानै जान दिन त भएन ।

वीर अस्पतालसँग बिरामीलाई दिने अक्सिजन थिएन । अक्सिजन नभई बिरामीलाई अस्पतालको जिम्मा दिन मानेनन् । त्यहाँ अक्सिजन नपाएपछि अन्य अस्पतालमा बेड पाउने आशामा बिरामी बोकी हिँडेको एम्बुलेन्सले उपत्यकाका अस्पताल डुलाउँदा पनि बेड र अक्सिजन नभेटेपछि बिरामीलाई राति घरमै फिर्ता लगिदियो । एम्बुलेन्सचालक सीताराम बिसुंखे भन्छन्, ‘बिरामीलाई हाइफ्लो अक्सिजन आवश्यक भएकाले एम्बुलेन्समा राखिएको अक्सिजन सिलिन्डर डुलाउँदैमा सकिएको थियो । बिरामी छटपटिरहेका थिए, अस्पतालहरूले अक्सिजन नभएको भन्दै बिरामी झार्नै मानिरहेका थिएनन्, रातभरि डुल्दा पनि बेड र अक्सिजन नभेटिएपछि आफन्तले घरै पुर्‍याइदिन भने । एम्बुलेन्स घर पुग्दा बिहानको ४ बजिसकेको थियो । घर पुगेको लगभग एक घन्टामा बिरामीको मृत्यु भयो भनेर फोन आयो ।’

गत साता मंगलबार बिरामीलाई अस्पताल पुर्‍याइदिन भन्दै काठमाडौं रातोपुलबाट मध्यपुर अस्पतालको एम्बुलेन्सलाई फोन आयो । ड्युटीमा रहेका नवराज गड्तौला बिरामी लिन हिँडे । रातोपुल पुग्दा आफन्तले बिरामीलाई बाहिर ल्याइसकेका थिए, तत्काल अक्सिजन जोडेर उनी भक्तपुर दौडिए, तर अस्पताल पुग्नुभन्दा अगावै बिरामीको ज्यान गइसकेको थियो । एम्बुलेन्स रातोपुलबाट १२ मिनेटमै मध्यपुर अस्पताल पुगेको थियो, तर बिरामी निकै सिकिस्त भएकाले अस्पताल पुग्दानपुग्दै उनको निधन भयो, अस्पतालले पुग्नेबित्तिकै मृत घोषित गर्‍यो । 

रातोपुलमा बस्दै आएका कोभिड संक्रमित ७४ वर्षीय वृद्ध थिए, होम आइसोलेसनमा बसेका उनलाई छातीमा संक्रमण भइसकेको थियो । आफन्त र परिवारले सोमबारदेखि अस्पतालमा बेड र अक्सिजन खोजे, मंगलबार मध्यपुर अस्पताल ठिमीमा बेड पाइएपछि आफन्तले एम्बुलेन्स बोलाएका थिए । तर बिरामी अस्पताल नै पुग्न पाएनन् । दिनरात कोभिडका बिरामी बोकिरहेका एम्बुलेन्सचालक नवराज भन्छन्, ‘उनको अवस्था निकै गम्भीर थियो, अक्सिजन लगाएर लगेका थियौँ । सँगै रहेका उनका छोराले सम्हालिरहेका थिए । तर, लोकन्थली नपुग्दै उनको ज्यान गइसकेको थियो । अस्पतालमा शव छाडेर फर्किएँ, नजिकैको अस्पतालमा बेड पाएको भए बाँच्थे कि ?’

शव मात्रै पुर्‍याउन भए पनि अस्पतालसम्म पुग्छन् एम्बुलेन्सचालक
संक्रमण बढेपछि २४सै घन्टा बिरामी बोकेर अस्पताल कुदिरहेका एम्बुलेन्सचालकहरूले प्रतिदिन १५ देखि २५ जनासम्म बिरामीलाई अस्पतालसम्म पुर्‍याउँदै आएका छन् । तर, अस्पतालसम्म पुर्‍याए पनि बेड पाउने कुनै टुंगो हुँदैन, एउटै बिरामीलाई ६ घन्टासम्म एम्बुलेन्समा राखेर अस्पताल डुलाउन बाध्य छन्, एम्बुलेन्स चालकहरू । चालक सीताराम बिसुंखे भन्छन्, ‘यस्ता घटना दिनहुँ भइरहन्छन्, १५ वटा अस्पताल डुलाउँदा पनि बेड नपाएर एम्बुलेन्समै मर्छन् बिरामी । उपचारका लागि घरबाट लिएर गएको बिरामी अस्पताल पुग्दा नपुग्दै मरिसक्छ, कतिवेला त लास मात्रै पुर्‍याउन भए पनि अस्पतालसम्म पुग्नुपर्छ । अक्सिजन छैन भन्दै अस्पतालले बिरामी झार्नसमेत मान्दैनन्, उता बिरामी छटपटाइरहेको हुन्छ, योभन्दा दर्दनाक अवस्था के होला ?’

दिनमा २० देखि २५ जनासम्म बिरामीलाई अस्पताल पुर्‍याउँछन् चालक बिसुंखे । महामारी सुरु भएदेखि नै कोभिडका बिरामीलाई अस्पताल लग्दै आएका उनी दोस्रो लहर फैलिएसँगै बढेको संक्रमणले भोक निद्रा सबै हराएको बताउँछन् । भन्छन्, ‘२४ घन्टा ड्युटी गरेर अर्को २४ घन्टा बिदा बस्न पाइन्छ, तर अब त भोक निद्रा पनि लाग्न छोडिसक्यो । पछिल्लो वर्ष यति गाह्रो थिएन, अब त बिरामीलाई अस्पतालसम्म पुर्‍याएर बेडसम्म पाए भने हुन्थ्यो भन्ने मात्रै ध्याउन्न हुन्छ ।’ 

बिसुंखे एम्बुलेन्समा एक्लै हिँड्छन्, एम्बुलेन्समा कोभिडका बिरामी व्यवस्थापन सेवाबारे तालिम लिएकाले बिरामीको अवस्था हेरेर अक्सिजन लगाउन सक्ने, बिरामीलाई उपलब्ध औषधि दिन सक्छन् । कोभिडका बिरामीबाट संक्रमण फैलने डरका कारण अधिकांश आफन्त एम्बुलेन्समा बिरामीसँगै हिँड्न मान्दैनन् । एम्बुलेन्समा एक्लै हुँदा बिरामीको स्याहार गर्न नसकिने हुँदा गम्भीर बिरामीसँग एकजना अर्को व्यक्ति लिएरै हिँड्छन् । भन्छन्, ‘कतिवेला बिरामीका आफन्तले अस्पतालमै कुर्न लगाउँछन्, बिरामीलाई अस्पतालको जिम्मा नलिँदासम्म बचाउन हरकोसिस गर्नुपर्छ । सबै एम्बुलेन्समा नर्सहरू हुँदैनन्, कतिपय बिरामी एम्बुलेन्समै सेवा नपाएर मरिरहेका छन् ।’ 

बिरामी थपिने क्रम बढेसँगै अस्पतालमा बेड अभाव
बिरामी थपिने क्रम बढेसँगै र अक्सिजन अभावका कारण एम्बुलेन्सहरू एउटै बिरामीलाई १० देखि १५ वटा अस्पताल डुलाउन बाध्य छन् । उपत्यकाका सरकारी अस्पतालबाहेक केही निजी अस्पतालले अक्सिजन सिलिन्डर नल्याएमा बिरामी डिस्चार्ज गरिदिनेसम्म बताउँदै आएका छन् । एम्बुलेन्स सेवाका लागि फोन आउँदा बिरामीलाई घरबाट ल्याए पनि अस्पतालले जिम्मा लिँदासम्म बिरामी बचाउन नसकिने पो हो कि भन्ने चिन्ताले हरेकपल्ट सताउने गरेको बताउँछन्, अल्का अस्पतालका एम्बुलेन्स चालक देवराज मोक्तान । उनले कोभिडका बिरामी अस्पताल पु¥याउँदै आएको १० महिना भयो । उपत्यकाभित्रका बिरामी बोक्दै आएका मोक्तान बिहान ५ देखि बेलुका ९ बजेसम्म ड्युटीमा खटिन्छन् । 

अस्पताल लैजाँदा बाटोमै बिरामीको मृत्यु भएका घटनाको सामना गर्नु नपरे पनि जसोतसो अस्पताल पुर्‍याएका प्रशस्तै अनुभव छ उनीसँग । भन्छन्, ‘एम्बुलेन्समा भएको अक्सिजन दिएर बल्लतल्ल अस्पतालसम्म बिरामी पुर्‍यायो, अस्पतालमा अक्सिजन नै हुँदैन, अर्को अस्पताल पुर्‍यायो, अक्सिजनविना बिरामी लिनै मान्दैन । यसो गर्दागर्दै बिरामी गम्भीर भइसकेको हुन्छ । एक अस्पतालबाट अर्कोसम्म पुर्‍याउँदा १० देखि १५ मिनेट लाग्छ, तर कहिलेकाहीँ अर्को अस्पताल डुलाउँदाडुलाउँदै तीन–चार घन्टा बितिसकेको हुन्छ । यस्तोमा बिरामीको मनस्थिति नै कमजोर भइसकेको हुन्छ ।’ 

सीताराम बिसुंखे : एम्बुलेन्सचालक, मध्यपुर अस्पताल

१५ वटा अस्पताल डुलाउँदा पनि बेड नपाएर एम्बुलेन्समै मर्छन् बिरामी । उपचारका लागि घरबाट लिएर गएको बिरामी अस्पताल पुग्दा नपुग्दै मरिसक्छ, कतिवेला त लास मात्रै पुर्‍याउन भए पनि अस्पतालसम्म पुग्नुपर्छ । अक्सिजन छैन भन्दै अस्पतालले बिरामी झार्नसमेत मान्दैनन् । 

बिरामीको चापले पिपिई लगाउनसमेत भ्याउँदैनन् एम्बुलेन्सचालक
निर्मल कार्की ओम समाज डेन्टल अस्पताल र अभियन्ताहरूद्वारा सञ्चालित एम्बुलेन्सका चालक हुन् । महामारीपछि पैसा नभएर अस्पताल जान नसक्नेका लागि उनले निःशुल्क अक्सिजनसहित एम्बुलेन्समा कोभिडका बिरामी बोक्दै आएका छन् । एम्बुलेन्सले निःशुल्क सेवा दिँदै आए पनि अस्पतालले समयमै बिरामी व्यवस्थापन गर्न सकेको देखिन्न । निर्मल भन्छन्, ‘सुरुको एक–दुई दिन मनोविज्ञानले गर्दा होला, जिउ भारी हुने, ज्वरो आएको जस्तो, कमजोरीपन भएजस्तो भएको थियो । अहिले बिरामीलाई कसरी बचाउने भन्नेमै ध्यान हुन्छ, अस्पतालसम्म पुर्‍याएर बिरामीलाई अक्सिजन दिन सकेँ भने त्योभन्दा ठूलो खुसी केही हुँदैन ।’ 

संक्रमणका कारण गम्भीर समस्या भएपछि मात्रै एम्बुलेन्स बोलाउनेको संख्या बढी हुँदा जतिसक्दो छिटो सेवा दिनुपर्ने हुन्छ । तर, कतिपय बिरामी अस्पताल नपुग्दै मृत्यु भएको अनुभव निर्मलसँग पनि छ । भन्छन्, ‘उपत्यकामा बिरामीको चाप यति धेरै छ कि कहिलेकाहीँ त पिपिईसमेत लगाउन भ्याइँदैन । बिरामी सिकिस्त भएको खबर आउँछ, कतिपल्ट पन्जा, मास्क र फेससिल्ड लगाएर मात्रै कुदेको छु । सकेसम्म सुरक्षा अपनाएका छौँ, तर बिरामीको ज्यानै जान दिन त भएन नि ।’

बिरामीको स्वास्थ्य अवस्था निकै नाजुक भएपछि राति एकजना बिरामीलाई निर्मलले उपत्यकाकै दुइटा अस्पताल पुर्‍याए । एम्बुलेन्समा अस्पतालसम्म पुग्ने गरी मात्रै अक्सिजन हुन्छ । हाइफ्लो अक्सिजन आवश्यक भएकाले बाटोमै अक्सिजन सकियो । त्यतिवेलासम्म बिरामी बेहोस भइसकेका थिए । अन्तिम अवस्थामा एम्बुलेन्सले टेकु अस्पताल पुर्‍याए, अस्पतालका कर्मचारीले बिरामी निकाल्दासम्म उनको ज्यान गइसकेको थियो । चिकित्सकले मृत घोषित गरिसकेपछि उनी अर्को बिरामी लिन निस्किए ।

उपत्यकामा विभिन्न अस्पताल, संघसंस्था र नेपाल एम्बुलेन्स सेवामार्फत सञ्चालित एम्बुलेन्सले २४सै घन्टा सेवा दिइरहेका छन् । तर, स्वास्थ्य अवस्था गम्भीर भइसकेका बिरामीहरू अस्पतालसम्मै पुर्‍याउन नसकिएका घटना दिनदिनै भइरहेका छन् । नेपालमा हाल ६ हजार एम्बुलेन्स सञ्चालनमा छन्, दोस्रो महामारीपछि ७० प्रतिशत एम्बुलेन्सले कोभिडका बिरामीलाई सेवा दिइरहेका छन् । उपत्यकामा हाल नेपाल एम्बुलेन्स सर्भिस, काठमाडौं महानगरपालिका, संयुक्त एम्बुलेन्स चालक संघअन्तर्गतका एम्बुलेन्स र अन्य संघसंस्था र अस्पतालका गरी करिब दुई सयवटा एम्बुलेन्स कोभिडका लागि परिचालित छन् । तर, अस्पताल र निजी संस्थाहरूले कोभिडका लागि मात्रै सशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याइएकाले उपत्यकामा कोभिडका लागि सञ्चालित एम्बुलेन्सको यकिन तथ्यांक नभएको बताउँछन्, संयुक्त एम्बुलेन्सचालक संघ, नेपालका अध्यक्ष नवराज लामिछाने भन्छन्, ‘संघअन्तर्गत हाल नेपालमा ५८ सय चालक सदस्य छन् । समितिसँग जोडिएका अस्पताल र अन्य संस्थाका एम्बुलेन्स चालकलाई एम्बुलेन्स सुविधाबारे तालिम दिइएको हुन्छ । तर, महामारीमा अवस्था फेरिएको छ, कतिपय अवस्थामा एम्बुलेन्सले सही व्यवस्थापन गर्न नसक्दा पनि बिरामीको मृत्यु भइरहेको हुन्छ ।’ 

एम्बुलेन्समै राखेर इसिजी

शुक्रबार नवराज गड्तौलाले मध्यपुर ठिमीबाट कोभिडका बिरामीलाई गंगालाल अस्पताल पुर्‍याए । अस्पतालमा बिरामी राख्न ठाउँ थिएन, एम्बुलेन्समै राखेर इसिजी गर्नुपर्ने भएपछि उनले बिरामीलाई वीर अस्पताल दौडाए । भित्र बेड खाली थियो, तर अक्सिजन थिएन । चिकित्सकले अक्सिजन लगाइराख्नुपर्ने बताएपछि आफन्तहरू अक्सिजन खोज्न हिँडे । बिरामीलाई प्रतिमिनेट १५ लिटरभन्दा बढी अक्सिजन चाहिएको थियो । बिरामीलाई एम्बुलेन्समै ६ घन्टासम्म अक्सिजन दिएर राखियो । आफन्तले अक्सिजनको जोहो गरेपछि बल्ल बिरामी भित्र सारियो । चालक नवराज अर्को बिरामीलाई अस्पताल लैजान दौडिए । 

काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सर्भिसद्वारा सञ्चालित एम्बुलेन्सचालक डबल तामाङ पनि बिरामीलाई अस्पताल डुलाइरहनुपर्ने घटना दिनदिनै भइरहेको बताउँछन् । भन्छन्, ‘दुई दिनदेखि केसहरू घटेको छ, नत्र दैनिक ३० वटासम्म बिरामीलाई अस्पताल पुर्‍याउनुपथ्र्यो । कुनै वेला त एउटै बिरामीलाई अस्पताल नभेट्दा घन्टौँसम्म डुलाएको छु ।’ 

तामाङ सोमबार बिहानै टौदहबाट बिरामी लिएर जनमैत्री अस्पताल पुगे । बिरामीलाई अक्सिजन दिइएको थियो, अवस्था निकै नाजुक भएको भन्दै सँगै रहेका बिरामीका छोराले छिटो अस्पताल पुर्‍याउन आग्रह गरिरहेका थिए । जनमैत्री अस्पताल पुग्दा ८ः३० बजेको थियो । अस्पतालका कर्मचारीले १० बजेपछि मात्र ल्याउन भने । एम्बुलेन्समा रहेको अक्सिजन सकिँदै थियो । एकचोटि चिकित्सकलाई देखाएर मात्रै लाने भनेर कुरेर बसे । आधा घन्टा बितिसक्दा पनि चिकित्सक आएनन् । कीर्तिपुर अस्पतालमा बेड खाली भएको खबर आएपछि उनले फेरि एम्बुलेन्स दौडाए । अस्पताल पुग्दा बिरामीको अवस्था निकै नाजुक भइसकेको उनी बताउँछन् ।

गत बुधबार नेपाल एम्बुलेन्स सर्भिसलाई कलंकी सुनार गाउँबाट बिरामी अस्पताल लगिदिन भन्दै फोन आयो । एम्बुलेन्सचालक रामकाजी भुजेल बिरामी लिएर छाउनी अस्पताल पुगे । तर, सैनिकका परिवारको सदस्यबाहेक अन्यलाई नलिने भन्दै अस्पतालले फर्काइदियो । ४२ वर्षीय संक्रमित गाडीमा निकै छट्पटाइरहेका थिए । छाउनीबाट एम्बुलेन्स जनमैत्री अस्पताल पुग्यो, अक्सिजन र बेड छैन भनेपछि त्यहाँबाट टेकु अस्पताल पुर्‍याइयो । गाडीमा सानो अक्सिजन सिलिन्डर थियो, टेकु नपुग्दै सिद्धियो । त्यसवेलासम्म आफन्तले अक्सिजन सिलिन्डर ल्याइसकेका थिए । तर, अस्पतालका कर्मचारीले सिलिन्डरमा राख्ने थर्मामिटर छैन भनेपछि आफन्तहरू त्रिपुरेश्वर दौडिए । यतिवेलासम्म अक्सिजन हटाइएको २० मिनेट भइसकेको थियो । स्वास्थ्यकर्मीहरूले बिरामी झारे, तर उनको एम्बुलेन्समै मृत्यु भइसकेको थियो ।