१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मुना कुँवर काठमाडौ
२o८१ जेठ १ मंगलबार o९:५२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मुलुकभरका ३० लाख श्रमिक बेरोजगार

पर्यटन तथा यातायात, निर्माणमा कार्यरत, सडकमा पसल गर्ने, सौन्दर्य क्षेत्रमा कार्यरत घरेलु श्रमिक तथा दैनिक ज्यालादारी गर्ने श्रमिकहरूले रोजगारी गुमाए

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौ
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:५२:oo

कोरोनाको दोस्रो वेभ नियन्त्रण गर्न भन्दै सरकारले गरेको लकडाउनका कारण नेपालभर करिब ३० लाख श्रमिक बेरोजगार भएका छन् । उद्योग, कलकारखाना, यातायात, निर्माण, पर्यटनलगायतका क्षेत्र बन्द हुँदा श्रमिकहरू बेरोजगार हुन पुगेका हुन् । 

नेपाल ट्रेड  युनियन महासंघ (जिफन्ट) को तथ्यांकअनुसार नेपालको औपचारिक तथा अनौपचारिक क्षेत्रमा १ करोड ३५ लाख श्रमिक छन् । त्यसमध्ये ८० प्रतिशत अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा छन् । तीमध्ये ३० लाख बेरोजगार बनेको प्रारम्भिक तथ्यांक प्राप्त भएका जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताए ।

नेपालमा दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि सरकारले वैशाख १६ गतेदेखि अति प्रभावित जिल्लाहरूमा लकडाउनको घोषणा गरेको थियो । अहिलेसम्म मुलुकका अधिकांश जिल्लामा लकडाउन घोषणा गरिएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको श्रमशक्ति सर्वेक्षणअनुसार नेपालमा तलब खाने वा उत्पादन बचाएर बेच्ने काम गर्ने ८० लाख श्रमशक्ति छ । तर, त्यसमा अनौपचारिक क्षेत्रको श्रमशक्ति समेटिएको छैन ।

दैनिक ज्यालादारी (भरिया) मा काम गर्ने ५० हजार बेरोजगार
दैनिक ज्यालादारीमा काम गर्दै आएका श्रमिक (भरिया) शतप्रतिशत नै बेरोजगार भएका छन् । सहरी क्षेत्रमा काम गर्ने यस्ता श्रमिकहरू लकडाउनका कारण बेरोजगार हुन पुगेको महासंघका अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार यस्ता श्रमिक करिब ५० हजार छन् । शतप्रतिशत श्रमिक नै बेरोजार हुन पुगेको उनले बताए ।

निर्माण क्षेत्रका पनि करिब ५० हजार श्रमिक बेरोजगार भएको संघको अनुमान छ । संघका अनुसार नेपालको निर्माण क्षेत्रमा २५ लाख ५६ हजार ५ सय श्रमिक छन् । जसमध्ये भवन निर्माणमा १५ लाख ८६ हजार, इँटाभट्टामा ६ लाख, क्रसर उद्योगमा ७६ हजार, खोला–किनारमा गिट्टी कुट्ने २ लाख ७५ हजार र वन जंगलमा काम गर्ने २२ हजार ५ सय श्रमिक छन् ।

जसमध्ये ५० हजार श्रमिक बेरोजगार भएको अनुमान छ । ‘सबै जिल्लामा पूर्ण लकडाउन नभएका कारण यसपटक निर्माण क्षेत्रमा कामहरू भइरहेको छ,’ उनले भने । ठूला उद्योगहरूमा काम भइरहेको छ । स–साना उद्योग र घर निर्माणका कामहरू पनि भइरहेको उनले बताए । कतिपय श्रमिकहरू लुकेर भए पनि काम गरी रहेका छन् । 

त्यस्तै, घरमा आधारित श्रमिकहरूमध्ये ७५ प्रतिशत बेरोजगार भएका छन् । संघका अनुसार घरको काम, चुरा बुन्ने, माला बनाउने, गुडिया बनाउने, मूर्ति बनाउने, मूर्तिमा जलप लगाउनेजस्ता घरासयी काम गर्ने श्रमिकको संख्या नेपालमा १३ लाख छ । जसमध्ये २५ प्रतिशत भने अहिले पनि रोजगारीमा रहेको उनको अनुमान छ ।  

अग्रपंक्तिमा रहने श्रमिकलाई कोरोना भ्याक्सिन दिन महासंघको माग
अग्रपंक्तिमा रहेर काम गरेका श्रमिकलाई जतिसक्दो छिटो कोरोना भ्याक्सिन दिनुपर्ने महासंघले माग गरेको छ । सरकारले फास्ट ट्र्याकमा यस्ता श्रमिकलाई भ्याक्सिन दिनुपर्ने महासंघका अध्यक्ष श्रेष्ठले बताए । ‘सबै अस्पतालमा भिड हुन्छ । श्रमिक काम गरिरहेकै अवस्थामा आएर भ्याक्सिन लगाउन सक्दैनन् । त्यसैले छुट्टै व्यवस्था गरी भ्याक्सिन दिनुपर्छ,’ उनले भने । 

त्यस्तै, स्थानीय निकायले सबै श्रमिकको तथ्यांक राखी सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने समेत उनले सुझाब दिए । साथै, लकडाउन अवधिको सामाजिक सुरक्षा कोषमा भुक्तानी गर्नुपर्ने योगदान रकमसमेत सरकारले भुक्तानी गरिदिन उनीहरूले माग गरेका छन् । 

अघिल्लो लकडाउनमा औपचारिक क्षेत्रका कार्यरत श्रमिकमध्ये १५ प्रतिशतको रोजगारी गुमेको महासंघले बताएको छ । त्यस्तै, लकडाउन अवधिमा अनौपचारिक क्षेत्रका सबै श्रमिक बेरोजगार भएका थिए । बेरोजगार श्रमिकलाई सरकारले राहतस्वरूप खाद्यान्न सामग्री वितरण गरेको थियो । यो वर्ष अहिलेसम्म राहतको वितरण गरेको छैन । 

 पर्यटन र यातायात क्षेत्रका  श्रमिक सबैभन्दा प्रभावित
लकडाउनका कारण नेपालको पर्यटन र यातायात क्षेत्रमा कार्यरत श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् । महासंघका अध्यक्ष श्रेष्ठका अनुसार नेपालको पर्यटन क्षेत्रमा करिब ९ लाख श्रमिक कार्यरत छन् । जसमध्ये करिब ६ लाख होटेल क्षेत्रमा र पर्यटनका अन्य क्षेत्रमा करिब ३ लाख श्रमिक कार्यरत छन् । यीमध्ये केही श्रमिक रोजगारीमा भए पनि अधिकांश श्रमिकहरू बेरोजगार भएका छन् । 

त्यस्तै, नेपालको यातायात क्षेत्रमा करिब ११ लाख श्रमिक कार्यरत रहेको अध्यक्ष श्रेष्ठले बताए । जसमध्ये ९ लाख श्रमिक बेरोजगार भएको उनको दाबी छ । ‘एम्बुलेन्स, ट्यांकर, पानी, खाद्यान्न, दुग्धलगायतका अत्यावश्यकमा सामग्री ओसारपसार गर्ने यातायातलाई बन्दमा पनि चल्न पाउने भएकाले करिब २ लाख श्रमिकले रोजगारी पाएको हुन सक्छ,’ उनले भने ।

बाँकी ९ लाख श्रमिक बेरोजगार भएको महासंघको अनुमान रहेको उनले बताए । साथै, सडकमा पसल थाप्ने श्रमिकहरू पनि पूर्ण रूपमा प्रभावित भएका छन् । महासंघका अनुसार नेपालमा यस्ता श्रमिकको संख्या ३ लाख छ । त्यस्तै, सौन्दर्य क्षेत्रमा कार्यरत श्रमिक पनि पूर्ण रूपमा बेरोजगार भएको महासंघका अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार नेपालमा यस क्षेत्रमा काम गर्ने श्रमिकको संख्या पनि करिब ३ लाख छ ।
 

ad
ad