मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टेकराज थामी काठमाडौं
२०७८ जेठ २ आइतबार ०८:४९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दैनिक १ सय ६० भन्दा बढीलाई नि:शुल्क एम्बुलेन्स सेवा

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ जेठ २ आइतबार ०८:४९:००

कोरोनाको एक वर्ष : नेपाल एम्बुलेन्स सर्भिसद्वारा ८ हजार ८ सय ४३ संक्रमितलाई नि:शुल्क सेवा प्रदान

कोभिड–१९ बाट संक्रमित ८१ वर्षीय न्हुच्छेनारायण मानन्धरको ‘अक्सिजन लेबल’ एकाएक घटेपछि परिवारका सदस्य आत्तिन थाले । उपचारका लागि उनलाई तुरुन्तै अस्पताल लैजानुपर्ने भयो । परिवारका सदस्य एम्बुलेन्सको खोजीमा जुटे । तर, सजिलै पाउन सक्ने छाँट देखिएन । तनावमा रहेका मानन्धर परिवारलाई आफन्तले १०२ नम्बर डायल गर्न सुझाए । उनीहरूले त्यसै गरे । नभन्दै १५ मिनेटभित्र एम्बुलेन्स घरमै आइपुग्यो । उपचारका लागि उनलाई मनमोहन अस्पताल लगियो । समयमै उपचार पाएका मानन्धरको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

सकेसम्म धेरैलाई सेवा दिने प्रयासमा छौँ : रञ्जित आचार्य, अध्यक्ष, नेपाल एम्बुलेन्स सर्भिस

कोभिड बिरामी केन्द्रित १४ वटा एम्बुलेन्स सञ्चालनमा छन् । २४सै घन्टा एम्बुलेन्स चल्छन् । दैनिकजसो धेरै ठाउँबाट फोन आउँछन् । सकेसम्म सबैलाई सेवा दिने कोसिस गर्छौं । पछिल्लो लकडाउनमा हामीले दैनिक एक सय ६० भन्दा बढीलाई नि:शुल्क सेवा दिँदै आएका छौँ । 

बसुन्धराका सागर शाक्य पनि कोभिड संक्रमित बने । अक्सिजन लेबल एकाएक घट्न पुगेपछि परिवारका सदस्यमा छटपटी बढ्न थाल्यो । तत्काल एम्बुलेन्स खोज्न थाले । कहीँबाट पनि उपलब्ध हुन नसकेपछि उनीहरूले पनि १०२ नम्बरमा डायल गरे । एम्बुलेन्स १५ मिनेटभित्रै घरमा आइपुग्यो । उपचारका लागि उनलाई कान्तिपुर अस्पताल लगियो । केही दिनको सघन उपचारपछि शाक्यको स्वास्थ्य अवस्था अहिले सामान्य बनेको छ । 

कोभिडबाट संक्रमित तीनकुने शान्तिनगरका ३४ वर्षीय गोकर्ण थापा एकाएक सिकिस्त बने । अक्सिमिटरबाट शरीरको अक्सिजन मापन भयो । स्थिति नाजुक देखिएपछि परिवारका सदस्य आत्तिए । तुरुन्तै अस्पताल लैजानुपर्ने भयो । एम्बुलेन्सको खोजी भयो । तर, सजिलै भेटाउन सक्ने अवस्था भएन । उनीहरूले पनि १०२ मा फोन गरे । नभन्दै १० मिनेटकै बीचमा एम्बुलेन्स घरमा आइपुग्यो । बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड अस्पतालमा उपचार गर्न लागिएका थापाको स्वास्थ्य अवस्था अहिले सामान्य छ । ‘यस्तो संकटमा १०२ मार्फत निःशुल्क एम्बुलेन्स सेवा पाइयो । भाइलाई बचाउन सक्यौँ नत्र अकालमै ज्यान जाने रहेछ । नेपाल एम्बुलेन्स सर्भिसलाई फोन नै गरेर धन्यवाद दिएँ,’ थापाकी दिदी रूपाले भनिन् ।

उपत्यकाभित्र १४ वटा एम्बुलेन्स सञ्चालित
१०२ मार्फत नेपाल एम्बुलेन्स सर्भिसको कार्यालयमा एम्बुलेन्स आवश्यक परेको भन्दै जति फोन आउँछ, धन्यवादका ओइरो पनि उत्तिकै आउने गर्छन् । सर्भिसका अध्यक्ष रञ्जित आचार्यले भने, ‘स–सानो कामले पनि मान्छेलाई खुसी तुल्याउन सकिँदो रहेछ । धन्यवादका कलहरू आउँछन् । मनमा आनन्द छाउँछ ।’ उपत्यकाभित्र अहिले सर्भिसमार्फत १४ वटा एम्बुलेन्स सञ्चालित छन् । सञ्चालित सबै कोभिडका बिरामी केन्द्रित छ । त्यसो हुँदा सर्भिसले दैनिक एक सय ६० भन्दा धेरै बिरामीलाई निःशुल्क सेवा दिँदै आएको छ । ‘कोभिड बिरामी केन्द्रित १४ वटा एम्बुलेन्स सञ्चालनमा छन् । २४सै घन्टा एम्बुलेन्स चल्छन् । दैनिक धेरै ठाउँबाट फोन आउँछन् । सकेसम्म सबैलाई सेवा दिने कोसिस गर्छौं । पछिल्लो लकडाउनमा हामीले दैनिक एक सय ६० भन्दा बढीलाई निःशुल्क सेवा दिँदै आएका छौँ,’ आचार्यले भने ।

अध्ययनअनुसार समयमै अस्पताल लग्न नसकिएका कारण १८ प्रतिशत बिरामीको अकालमै मृत्यु हुन्छ । १९ प्रशित बिरामीको भने एम्बुलेन्सले बोक्न नजानेका कारण मृत्यु हुन्छ । अन्यभन्दा कोभिडका बिरामीको प्रकृति अझ फरक छ । र, संवेदनशील पनि उत्तिकै । त्यसैले सबै एम्बुलेन्सले न कोभिडका बिरामी बोक्न रुचाउँछन्, न बिरामीलाई सेवा दिन सक्छन् । सबै सुविधा हुने भएकाले सर्भिसबाट सञ्चालित एम्बुलेन्समा कोभिडमैत्री छ । कोभिड सुरु भएको एक वर्षमा सर्भिसले मुलुकभरका आठ हजार आठ सय ४३ संक्रमितलाई निःशुल्क सेवा दिइसकेको छ । दुई हजार दुई सय कोभिडका शंकास्पद बिरामीलाई बोकेको छ । ‘हामीसँग ५० जनाको विशेषज्ञ टोली छ । जसलाई हामीले विशेष तालिम नै दिएका छौँ । अस्पताल पुग्नुपूर्वका सबै उपचार हामी एम्बुलेन्सभित्रै गर्छौँ । त्यसो हुँदा बिरामीको ज्यान जाने सम्भावना निकै कम हुन्छ । त्यसैले पनि १०२ नम्बर लोकप्रिय हुन सकेको जस्तो लाग्छ,’ आचार्यले भने ।

भाइभरमार्फत कोभिडका बिरामीको उपचार 
अत्यधिक चापका कारण काठमाडौंलगायत देशका केही अस्पतालले कोभिडका नयाँ बिरामी भर्ना लिन सकेका छैनन् । देशभरका अस्पतालमा अक्सिजनको अभाव छ । विनाउपचार नै बिरामीको ज्यान जान सक्ने भएपछि नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा नेपाल एम्बुलेन्स सर्भिसले टेलिमेडिसिन सेवा सुरु गरेको छ । यो सुविधा बिरामीले घरमै बसेर लिन सक्नेछन् । यसका लागि कोभिड संक्रमितले २११११ मा भाइबर म्यासेज गर्न सक्नेछन् । म्यासेजमा उमेर, बिरामीको स्वास्थ्य अवस्था उल्लेख गर्नुपर्नेछ । सोही आधारमा भाइबरमार्फत नै चिकित्सकले बिरामीको घरमै बसेर उपचार गर्न सक्नेछन् । भर्खरै सुरु गरिएको यो सेवा लिने अहिले नै दुई सयभन्दा धेरै पुगिसकेका छन् । ‘अस्पतालमा बिरामी राख्ने ठाउँ छैन । अकालमै ज्यान जान सक्ने अवस्था देखिपछि हामीले वेबमार्फत उपचार गर्ने सोच बनायौँ । यसका लागि केही विधिहरू छन् । त्यो फलो गर्नुपर्ने हुन्छ । त्यसपछि हामीले कोभिडका बिरामीलाई घरमै निःशुल्क उपचार गराउन सक्छौँ,’ नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष आचार्यले भने ।