१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुना कुँवर काठमाडाैं
२०७८ जेठ १ शनिबार ०७:३७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महामारीमा देशको मद्दतमा प्रवासी नेपाली : २ करोडबराबरको स्वास्थ्य सामग्री सहयोग गर्दै गैरआवासीय नेपालीहरू 

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७८ जेठ १ शनिबार ०७:३७:००

नेपाल कोरोनाको दोस्रो लहरले आक्रान्त बनेको समयमा रोजगारीको सिलसिलामा खाडी मुलुकलगायत विश्वका विभिन्न मुलुकमा रहेका प्रवासीहरू सहयोगमा जुटेका छन् । गैरआवासीय संघको नेतृत्वमा मध्यपूर्वमा रहेको नेपाली श्रमिकको सहयोगमा ओमानबाट ६ सय थान अक्सिजन सिलिन्डर नेपाल पठाउने तयारी भएको छ । 

त्यसका साथै विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरू सहयोगका लागि जुटेका छन् । विभिन्न मुलुकका गैरआवासीय नेपालीहरूले रकम संकलन गरी २ करोडभन्दा बढीको स्वास्थ्य सामग्री नेपाल पठाउँदै छन् । 

संघले चीनबाट एक सय थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउँदै छ । अमेरिकाका गैरआवासीय नेपालीहरूले जनकपुरमा आइसोलेसन सेन्टर बनाउने तथा बेलायतका नेपालीहरूले खोप पठाउन बेलायती सरकारसँग पहल गर्ने भएका छन् । गैरआवासीय नेपाली संघ अफ्रिकाद्वारा १० जिल्लामा अक्सिजन सहयोग गर्ने संघका अन्तर्राष्ट्रिय प्रवक्ता डिबी क्षत्रीले बताए ।

आगामी शनिबार गैरआवासीय नेपाली संघले ओमानबाट ६ सय थान सिलिन्डर नेपाल पठाउने भएको छ । संघले ओमानस्थित मेडिकल सप्लायर्स कम्पनी अल होस्नी ग्रुपसँग खरिद गरी सिलिन्डर पठाउने तयारी गरेको संघका अन्तर्राष्ट्रिय प्रवक्ता क्षत्रीले बताए । उनका अनुसार सिलिन्डर ४० लिटर क्षमताका हुनेछन् । करिब ७५ लाख रुपैयाँबराबरको सिलिन्डर संघले नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । सिलिन्डर खरिदका लागि हालसम्म ४० लाख रुपैयाँको प्रतिबद्धता आइसकेको ओमानमा रहेका संघ प्रवक्ता क्षत्रीले नयाँ पत्रिकालाई बताए । सिलिन्डर खरिद गर्नका लागि मध्यपूर्वमा रहेका नेपाली श्रमिकले आर्थिक सहयोग जुटाएका हुन् । 

सिलिन्डर नेपाल पठाउन ओमानस्थित नेपाली दूतावासले पहल गरेको छ । दूतावासको पहलमा नेपाल सरकारले सिलिन्डर नेपाल ल्याउनका लागि नेपाल एयरलाइन्सको विमान चार्टर गरी पठाउने भएको छ । संघले चीनस्थित सेन्जेन ट्याब्लेट इक्लेक्ट्रोनिक्स कम्पनीबाट १० लिटर क्षमताका १ सय थान अक्सिजन कन्सन्ट्रेटर किनेर पठाउने तयारी भएको संघका प्रवक्ता क्षत्रीले बताए । प्रतिथान करिब ७६ हजार रुपैयाँ पर्ने अक्सिजन कन्सन्ट्रेटर संघले ७६ लाख ७० हजार रुपैयाँमा खरिद गरेको हो । अक्सिजन कन्सन्ट्रेटरहरू आगामी पाँच दिनभित्रमा नेपाल आइपुग्ने प्रवक्ता क्षत्रीले बताए । 

त्यस्तै, गैरआवासीय नेपाली संघ अफ्रिकाले नेपालका विभिन्न १० जिल्लामा सिलिन्डरमार्फत अक्सिजन वितरणमा सहयोग गर्ने भएकोे छ । संघले चितवन, नवलपरासी, बारा, पर्सा, पूर्व–नवलपरासी, पश्चिम–नवलपरासी, पाल्पा, अर्घाखाँची, बुटवल, टीकापुरमा अक्सिजन खरिद गरी वितरण गर्ने भएको हो । संघले तत्काल १२ लाख रुपैयाँबराबरको अक्सिजन कन्सन्ट्रेटर वितरण गर्न लागेको प्रवक्ता क्षत्रीले बताए ।