१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
किरण दहाल काठमाडाैं
२०७८ बैशाख २७ सोमबार ०६:२२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आज संसद्को विशेष अधिवेशन : संक्रमित २६ सांसदले पनि मतदान गर्ने, सोमबार नै अधिवेशन सक्ने तयारी

Read Time : > 2 मिनेट
किरण दहाल, काठमाडाैं
२०७८ बैशाख २७ सोमबार ०६:२२:००

सुरक्षा मापदण्डको विशेष व्यवस्था गरिएको हलमा कोरोना संक्रमितले मत दिनेछन् । उनीहरूले मतदान गरेपछि अन्त्यमा मूल बैठकको मत र संक्रमित सांसदले दिएको मत संकलन गरेर गणना गरिनेछ । र, सभामुखले मत सार्वजनिक गर्नेछन् । 

संक्रमित सांसद छलफलमा सहभागी हुन पाउँदैनन् । सभाहलमा के भइरहेको छ उनीहरूले सुन्न भने पाउनेछन् । त्यसका लागि सचिवालयले प्रांगणमा प्रोजेक्टरको व्यवस्था गर्नेछ । 

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबारबाट सुरु हुँदै छ । तर, मतदानमा २६ कोरोना संक्रमित सांसदलाई समेत सहभागी गराउनुपर्ने अवस्था रहेकाले यसपटकको अधिवेशन सञ्चालनको विधि नै बदलिएको छ ।

आइतबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले संक्रमित सांसदलाई पनि मतदानमा सहभागी गराउने सहमति गरेको थियो । त्यसका लागि संसद् सचिवालय, सरकार र सम्बन्धित राजनीतिक दलको समन्वयमा उनीहरूलाई मतदानमा सहभागी गराउन सबै दल सहमत भएका थिए । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले कोरोना संक्रमित सांसदको मताधिकारलाई संरक्षण गर्ने सहमति कार्यव्यवस्थाले गरेको बताए । उनका अनुसार सोमबार नै मतदान गरेर अधिवेशन अन्त्य गर्ने तयारी छ । 

संसद् सचिवालयले कोरोना संक्रमितका लागि मतदान गर्न विशेष तयारी गरेको छ । संसद् भवनको मुख्य सभाहलको छेउछाउमा भएका कोठामध्ये कुनै एकमा संक्रमित सांसदलाई मतदानको व्यवस्था गर्ने तयारी छ । यसका लागि भवनमा भएका कोठामध्ये सबैभन्दा ठूलो, फराकिलो र उपयुक्त कोठा छानिनेछ । उक्त कोठामा पर्याप्त मास्क, स्यानिटाइजरको व्यवस्था गरिनेछ । सांसदको सहयोगका लागि सचिवालयका कर्मचारी खटिनेछन् । त्यहाँ खटिने कर्मचारीका लागि सचिवालयले पिपिई, मास्क, फेससिल्ड, स्यानिटाइजर र पन्जालगायत सुरक्षा मापदण्डका सबै साधन उपलब्ध गराउनेछ । 
संक्रमित सांसदका लागि हाजिरी रजिस्टरसमेत बेग्लै हुनेछ । उनीहरू मूल सभाहलतिर जान पाउने छैनन् । विशेष व्यवस्था गरिएको हलमा उनीहरूले मत दिनेछन् । ‘हुन्छ’, ‘हुन्न’ र ‘मत दिन्नँ’ भन्न सक्ने व्यवस्थासहितको मतदान हुनेछ । यसरी भोट दिइसकेपछि अन्त्यमा मूल बैठकको मत र संक्रमित सांसदले दिएको मत संकलन गरेर गणना गरिनेछ । र, सभामुखले मत सार्वजनिक गर्नेछन् । 

मतदानमा सहभागी हुने भए पनि संक्रमित सांसद छलफलमा सहभागी हुन पाउँदैनन् । सभाहलमा के भइरहेको छ उनीहरूले सुन्न भने पाउनेछन् । त्यसका लागि सचिवालयले प्रोजेक्टर स्क्रिनको व्यवस्था गर्नेछ । सचिवालयको भनाइ छ, ‘संक्रमित सांसद छलफलमा सहभागी गर्न सक्ने अवस्था छैन । तर, छलफल सुन्न चाहने माननीय सदस्यलाई प्रोजेक्टर स्क्रिनको व्यवस्था गरिनेछ । उहाँहरूले भित्र भइरहेको छलफल सुन्न सक्नुहुन्छ ।’

मूल बैठकमा हरेक सांसदका लागि तीन मिटरको दूरीमा बस्ने व्यवस्था मिलाइए पनि संक्रमित सांसदका लागि दूरीको मापदण्ड छैन । तर, सकेसम्म एक–अर्काबाट टाढा रहने गरी बस्ने व्यवस्था मिलाइने सचिवालयको भनाइ छ ।
छलफल सुन्न नचाहने अथवा हलभित्र बस्न नचाहने सांसदका लागि हलबाहिरको प्रांगणमा बस्ने व्यवस्था मिलाइनेछ । प्रवक्ता पाण्डेले भने, ‘उहाँहरूलाई बस्नका लागि प्रांगणमा पाल टाँगिनेछ । त्यसका लागि हामीले व्यवस्था मिलाइसकेका छौँ । मतदान गर्ने समय भएपछि उहाँहरूलाई विशेष हलमा प्रवेश गराउने योजना छ ।’

तर, संक्रमित सांसदलाई घरबाट संसद् भवन बानेश्वर कसरी ल्याउने भन्नेबारे निर्णय भइसकेको छैन । सोमबार बिहानसम्म त्यसको टुंगो लाग्ने सचिवालयको भनाइ छ । ‘संक्रमित सांसद व्यक्तिगत गाडीमा चढेर आउनुहुन्न होला । कोरोनाको मापदण्डअनुसार पनि त्यसरी हिँड्न मिलेन । संक्रमितलाई आवतजावत गर्नका लागि एम्बुलेन्स अथवा अरू गाडीको व्यवस्था हुन्छ । उहाँहरू हिँड्ने गाडीमा ड्राइभर संक्रमित हुनुभएन । त्यसकारण उहाँहरूलाई ल्याउने र लैजाने विषयमा सरकारसँग छलफल गरेर टुंग्याउँछौँ,’ पाण्डेले नयाँ पत्रिकासँग भने ।

राष्ट्रिय सभाका तीन र प्रतिनिधिसभाका २६ गरी संघीय संसद्का २९ सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिनिधिसभाका ५४ जना सांसदको रिपोर्ट सचिवालयसँग छैन । उनीहरूलाई पनि पिसिआर परीक्षणका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकले आग्रह गरेको थियो ।