विश्वलाई जलवायु परिवर्तन क्षेत्रमा अमेरिका र चीनको सहकार्यको आवश्यकता छ, तर सहकार्य हुन्छ नै भनेर ढुक्क बस्न सकिँदैन
बढ्दो रणनीतिक प्रतिस्पर्धामाझ अमेरिका र चीनले भर्खरै जलवायु परिवर्तनविरुद्धको संघर्षमा सहकार्य गर्ने संकेत गरेका छन् । अप्रिलमा जलवायुसम्बन्धी अमेरिकी विशेष राष्ट्रपतीय दूत जोन केरीले उनको चिनियाँ समकक्षी सी झेनहुवासँग छलफल गरे । बैठकपछि जारी संयुक्त वक्तव्यमा दुई सरकारले जलवायु नीतिमा सहकार्य गर्ने स्पष्ट गरेका छन् । तिनले आपसी सम्बन्धलाई खुला शत्रुतामा जानबाट रोक्ने एक मुद्दा जलवायुलाई मानेका हुन सक्छ । तर, यस सवालमा अगाडिको बाटोमा भू–राजनीतिक धरापहरू छन् । अहिले अमेरिका र चीन किन जिम्मेवार देखिएका छन् भनेर बुझ्न त्यति गाह्रो छैन । दुवै देशले जलवायु परिवर्तनलाई मानव अस्तित्वमाथिकै खतराका रूपमा हेरेकाले सहकार्यको बलियो चाहना देखिएको हुन सक्छ । जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राम्ररी थाहा छ कि जलवायु परिवर्तनको विषयमा गरिने कुनै प्रकारको अवरोधले अन्तर्राष्ट्रिय छविमा नराम्रो असर पार्छ ।
शीतयुद्धको समयमा साम्यवाद र पुँजीवादबीचको वैचारिक संघर्षले विश्वलाई दुई खेमामा विभाजित गरेको थियो । गठबन्धन पनि त्यही हिसाबमा निर्माण हुन्थ्यो । तर, आगामी दशकमा विचारका आधारमा मात्र अमेरिका र चीनले मित्र हासिल गर्न सक्दैनन् । चीनको सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीको अहिले खासमा कुनै ठोस विचार देखिँदैन । बरु अमेरिकामा गहिरो राजनीतिक ध्रुवीकरण कायम छ । जलवायु परिवर्तनले मानव अस्तित्व नै जोखिममा पारेको अवस्थामा अन्य विषयमा मतभिन्नता हुँदा पनि यसमा अन्तर्राष्ट्रिय सहकार्य हुन सक्छ ।
जलवायु परिवर्तन नियन्त्रण गर्न गरिएका वाचालाई कसले कति व्यवहारमा उतार्न सक्छ भन्ने कुरा आगामी समयमा देखिन्छ । जलवायु विषयमा बाइडेनले विश्वका प्रमुख नेतासँग गरेको भर्चुअल संवादलगत्तै चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकासँगको आफूहरूको सहकार्य अमेरिकाले ‘चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने÷नगर्ने’ कुरामा भर पर्ने बताए । चीनले तिब्बत, सिनजियान, हङकङ र ताइवानलाई ‘आन्तरिक मामिला’ मान्छ । तर, केरीले भने जलवायु परिवर्तनको सहकार्यमा यी विषयलाई परित्याग नगर्ने स्पष्ट पारेका छन् । चीन अथवा अमेरिका आफ्नो अडानमा लचिलो भएनन् भने चीन–अमेरिकाबीच विभिन्न मुद्दामा तनाव थप बढ्नेछ । यसले द्विपक्षीय जलवायु प्रयास जोखिममा पर्नेछ ।
जलवायु विषयको सम्भावित सहकार्यलाई द्विपक्षीय विवादका मुद्दाबाट पन्छाउन अप्ठ्यारो छ । तर, यदि अमेरिका र चीनबीच सहकार्य भइहाले त्यसले के प्रतिफल दिनेछ, स्पष्ट छैन । अमेरिका–चीनद्वारा जारी संयुक्त वक्तव्यले यसबारे केही स्पष्ट पार्छ । विश्वासको अभावमा दुवै देश बलियो प्रतिबद्धताका लागि इच्छुक देखिँदैनन् । परिणामस्वरूप जलवायु परिवर्तनको विषयमा द्विपक्षीय सहकार्य अस्थिर, कमजोर वा धेरै भयो भने बिस्तारै सुधार हुन सक्छ । अस्थिरता अमेरिका–चीन सम्बन्धको समग्र सम्बन्धले प्रभावित हुनेछ । भविष्यमा तनाव बढ्यो भने जलवायु प्रयासमा हुन सक्ने सहकार्यमा पनि असर गर्नेछ । आपसी शंका र शत्रुता उत्पन्न भएमा दुवै पक्षले ठूलो कदम उठाउन सक्दैनन् । हल्का कदममा मात्र सहमति र सहकार्य हुने अवस्था हुनेछ ।
आपसी विश्वासको अभाव हुँदा संयुक्त रूपमा कुनै लक्ष्य हासिल गर्नेभन्दा अमेरिका र चीनले निश्चित चिजबाट बचेर सहकार्य विकास गर्न सक्छन् । जस्तो, जलवायु सहकार्यलाई मानवअधिकार, व्यापार र सुरक्षाजस्ता द्विपक्षीय सम्बन्धको सबैभन्दा विवादित पक्षसँग जोड्नबाट बच्नुपर्छ । यस्तो संयमता अभ्यासमा अमेरिकाले भन्दा चीनले बढी काम गर्नुपर्ने हुन्छ । किनकि, चिनियाँ नेताले जलवायु मुद्दालाई बाइडेनका अन्य क्षेत्रमा उठाउने मुद्दाविरुद्ध प्रयोग गर्न सकिन्छ भनेर सोच्छन् । यस्तो सोच प्रत्युत्पादक हुन्छ भनेर चिनियाँ नेताले बुझ्नुपर्छ । अमेरिकाका दुवै पार्टीमा बढेको चीनविरोधी भावनाका कारण बाइडेनले धेरै लचकता अपनाउन सक्ने ठाउँ छैन । यस्तोमा चीनले आफ्नो हठ छाडेन भने जलवायु परिवर्तनको विषयमा सीको विश्वव्यापी विश्वसनीयतामाथि क्षति पुर्याउन सक्छ ।
एक–अर्काको अडानको विरोध गरेर आफू माथि पर्ने चाहनामाथि लगाम लगाए पनि अमेरिका र चीनले भावी जलवायु संवादलाई उपलब्धिमूलक बनाउन सक्छन् । कार्बन उत्सर्जन न्यूनीकरण गर्ने निश्चित लक्ष्य र विकासोन्मुख मुलुकलाई नवीकरणीय ऊर्जा प्रयोग गर्न लगानी गर्ने विषयमा दुवै देशले आफ्नो आलोचनामा वैज्ञानिक, आर्थिक र नैतिक आधार दिन सक्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा, तिनले आफ्नो आलोचना तेस्रो पक्षले हेर्दा तर्कपूर्ण, यथार्थवादी र उपयोगी होस् भन्नेमा सतर्क रहनुपर्छ ।
चीन र अमेरिका प्रविधि युद्ध लडिरहेको समयमा दुई देशले स्वच्छ ऊर्जामा सहकार्य गर्लान् भनेर सोच्नु नै असान्दर्भिक हुन्छ । यद्यपि, हालै जारी संयुक्त वक्तव्यमा अमेरिका र चीनले हरित प्रविधिमा सहकार्य गर्न छलफल गर्ने (प्रतिबद्धता गर्न भने होइन) सहमति जनाएका छन् । यसैले तिनले बृहत्तर रणनीतिक प्रतिस्पर्धामा हरित प्रविधिलाई अलग गर्ने प्रयास गर्लान् भन्ने आशा गर्न सकिन्छ ।
विशेषतः अमेरिका र चीनले भूराजनीतिक प्रतिस्पर्धामा अगाडि आउन सहयोगी हुने तर हरित प्रविधिको विकास तथा अंगीकारमा असर गर्ने नीतिबारे विचार गर्दा हानि न्यूनीकरण गर्ने प्रयास गर्नुपर्छ । विश्वलाई जलवायु परिवर्तन क्षेत्रमा अमेरिका र चीनको सहकार्यको आवश्यकता छ, तर सहकार्य हुन्छ नै भनेर ढुक्क बस्न सकिँदैन । अहिलेका लागि दुई महाशक्ति राष्ट्र भूराजनीतिक लाभको प्रतिस्पर्धामा लाग्दा मानव जातिको अस्तित्व नै जोखिममा नपर्लान् भनेर आशा मात्र गर्न सकिन्छ ।
क्लेरमोन्ट म्याक–केन्ना कलेजका प्राध्यापक मिनछिन पेई जर्मन मार्सल फन्डका गैर–आवासीय सिनियर फेलो हुन् ।
© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य