मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २३ बिहीबार
  • Friday, 10 January, 2025
भैरहवाको भीम अस्पतालमा बेड भरिएपछि भुइँमै उपचार गराउँदै कोरोना संक्रमित । तस्बिर : दिपेश पछाई/नयाँ पत्रिका
नयाँ पत्रिका
२o७८ बैशाख २३ बिहीबार o७:२o:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संक्रमितको ग्राफ बढ्यो, अक्सिजन उत्पादन बढेन

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o७८ बैशाख २३ बिहीबार o७:२o:oo

नुवाकोट र सिन्धुलीमा प्लान्ट जडान, उत्पादन थालिएन, मकवानपुर, भक्तपुर र धादिङमा जडान अन्तिम चरणमा

बागमती प्रदेश सरकारले ८० लाख लागतमा अक्सिजन प्लान्ट योजना अघि बढाए पनि अझै उत्पादन सुरु हुन सकेको छैन । सामाजिक विकास मन्त्रालयले प्रदेशको पाँच जिल्लामा प्लान्ट निर्माण गरेर पर्याप्त अक्सिजन उत्पादन गर्ने दाबी गरेको थियो । तर, एक वर्ष बितिसक्दा पनि त्यसतर्फ ध्यान दिएको पाइँदैन ।

सात प्रदेशमध्ये कोरोना संक्रमण दर उच्च रहेको बागमतीमा अक्सिजनको मात्रा बढी आवश्यक पर्ने भए पनि प्लान्ट निर्माणमै मन्त्रालय अल्झिरहेको छ । मन्त्रालयका कोभिड प्रवक्ता डा.पुरुषोत्तमराज सेढाईंका अनुसार मकवानपुर, भक्तपुर र धादिङमा प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको र नुवाकोट, सिन्धुलीमा प्लान्ट निर्माण भए पनि अक्सिजन उत्पादन सुरु भएको छैन । सक्दो छिटो प्लान्ट निर्माण गरेर पाँचै जिल्लामा अक्सिजन उत्पादन गर्ने योजना रहेको सेढाईंले दाबी गरे । ‘सिन्धुलीको जिल्ला अस्पताल र नुवाकोटको त्रिशूलीमा प्लान्ट निर्माण भइसकेको छ,’ उनले भने, ‘मकवानपुर, धादिङ र भक्तपुरमा अन्तिम चरणमा पुगिसकेको छ ।’ अक्सिजन बिक्री गर्ने र जटिल बिरामीलाई तत्काल उपलब्ध गराउन अभाव हुन नदिने मन्त्रालयको योजना रहेको सेढाईंले दाबी गरे । 

हाल प्रदेश राजधानी हेटौँडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनमा हेटौँडा अस्पतालले अक्सिजनसहित २० बेडको कोभिड ट्रिटमेन्ट वार्ड सञ्चालन गरिरहेको छ । लायन्स क्लबहरूले जिल्ला प्रहरी कार्यालय मकवानपुरको परिसरमा अक्सिजन बैंक सञ्चालनमा ल्याएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसअघि नै घर, व्यावसायिक केन्द्र र उद्योगमा अक्सिजन सिलिन्डर आवश्यकताभन्दा बढी मौज्दात नराख्न अनुरोध गरिसकेको छ । 

पाँच जिल्लामा मात्र नभई अक्सिजन प्लान्ट पूर्णरूपमा सञ्चालनमा ल्याएपछि सिलिन्डरमा भरेर अन्यत्र ढुवानी गर्नेगरी व्यवस्थापन गरिने सेढाईंले जानकारी दिए । ‘हामी सकेसम्म प्रदेशमा अक्सिजन अभाव हुन दिँदैनौँ,’ उनले भने । सेढाईंका अनुसार मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र हेटौँडामा हाल ठूलो सिलिन्डर ८० थान मौज्दात छ  । पाँच जिल्ला अस्पतालबाट अक्सिजन उत्पादन सुरु भएपछि करिब एक हजारजनालाई अक्सिजन सिलिन्डर दिन सकिने मन्त्रालयको अनुमान छ ।

प्लान्ट छ, उत्पादन छैन
सिन्धुलीमा पाँच महिनाअघि नै अक्सिजन प्लान्ट निर्माण भइसके पनि हालसम्म उत्पादन सुरु गरिएको छैन । अस्पताल विकास समिति अध्यक्ष प्रल्हाद पोखरेलका अनुसार प्लान्ट जडान भइसके पनि बुस्टर नहुँदा उत्पादन सुरु नभएको र सिलिन्डरमा भर्न नसकिएको हो । प्लान्टबाट अक्सिजन उत्पादनका लागि बुस्टर आवश्यक पर्ने भएकाले खरिद प्रक्रिया अघि बढाइसकेको पोखरेलले बताए । ‘प्लान्टका लागि एक वर्षअघि नै निर्माण सुरु गरिएको थियो,’ उनले भने, ‘केही महिनाअघि कोरोना संक्रमण न्यून देखिएपछि रोकिएको हो । एक हप्ताभित्र प्लान्ट पूर्ण रूपमा सञ्चालनमा ल्याएर अक्सिजन उत्पादन थालिनेछ ।’ जिल्लामा एक वर्षअघि कोभिड युनिटका रूपमा पाँच करोड लगानीमा ५० बेडको आइसोलेसन भवन निर्माण गरिएको थियो । यसका लागि बागमती प्रदेश सरकारले ९७ लाख रुपैयाँ सहयोग गरेको पोखरेलले बताए । 

सिलिन्डर भर्ने व्यवस्था भएन
नुवाकोटको त्रिशूली अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ, तर हालसम्म सिलिन्डर भर्ने व्यवस्था मिलाइएको छैन । अक्सिजन सिलिन्डरमा भर्नका लागि थप मेसिन जडान गर्नुपर्ने भएकाले अझै २० दिन लाग्ने अस्पतालले जनाएको छ । फ्रान्सबाट मेसिन आउने क्रममा रहेकाले केही दिन पर्खनुको विकल्प नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन दीपेन्द्र पाण्डेले बताए । मेसिन जडानपछि दैनिक १५ वटा ठूलो सिलिन्डर भर्न सकिने उनले जानकारी दिए । निर्माण गरिएको प्लान्टबाट प्रतिसेकेन्ड तीन सय लिटर अक्सिजन उत्पादन गर्न सकिनेछ ।

प्रादेशिक अस्पताल जनकपुर अक्सिजन प्लान्टको बजेट फ्रिज हुने अवस्थामा 

प्रदेश २ सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि प्रादेशिक अस्पताल जनकपुरलाई पठाएको रकम फ्रिज हुने अवस्थामा पुगेको छ । आर्थिक वर्ष ०७७/०७८ मा प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई अक्सिजन प्लान्ट निर्माणका लागि दुई करोड ५० लाख रकम पठाएको थियो । अस्पतालले गत फागुनमा अक्सिजन प्लान्ट निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । विभिन्न पाँचवटा कम्पनीले टेन्डर भरेका पनि थिए । तर, मागअनुसारको कुनै पनि कम्पनीबाट प्रस्ताव नआएको भन्दै टेन्डर रद्द गरिएको छ । 

प्रादेशिक अस्पताल जनकपुरका मेसु डा.प्रमोद यादवले कम्पनीहरूले भरेको प्रास्तावमा प्राविधिक त्रुटि देखिएकाले रि–टेन्डर गरेको बताए । ‘१० दिनअघि पुनः टेन्डर गरेका छौँ,’ उनले भने, ‘प्राविधिक रूपमा भएको त्रुुटिलाई सच्याउन पुनः टेन्डर गरेका छौँ, अब त्यो काम अगाडि बढाउँछौँ ।’ अक्सिजनको अवश्यकता देखेर नै आफूहरूले जोड दिए पनि सरकारी प्रक्रियाअनुसार नै अगाडि बढ्ने उनले बताए ।

कोरोना भाइरसको दोस्रो लहरले महामारी लिइसक्दा पनि अक्सिजन प्लान्ट निर्माण कार्यले गति नलिएकाले बजेट नै फ्रिज हुने अवस्थामा पुगेको प्रादेशिक अस्पतालका चिकित्सकहरू बताउँछन् । कमिसनको लेनदेनसम्बन्धी विवाद नमिल्दा पहिलो टेन्डर रद्द भएको अस्पतालकै एक कर्मचारीले बताए । 

प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सञ्जय सिंहले अक्सिजन प्लान्ट अतिआवश्यक रहे पनि अस्पताल तथा प्रदेश सरकारको लापरबाहीका कारण काम अगाडि बढ्न नसकेको बताए । ‘कोरोना महामारीका वेला अक्सिजनको व्यापक अभाव छ, समयमै काम सुरु भएको भए केही महिनाभित्र अक्सिजन उत्पादन हुने आस पनि गरिन्थो, अस्पताल र यहाँका बिरामीका लागि राम्रो हुन्थ्यो । तर, अहिलेसम्मको अवस्था देखेर बजेट फ्रिज त हुने होइन भने चिन्ता थपिएको छ,’ उनले भने । गत आवमा पनि प्रदेश सरकारले (मुटुसम्बन्धी शल्यक्रिया) कैथलिक ल्याब सञ्चालनका लागि नौ करोड रकम विनियोजन गरेको थियो । तर, समयमै प्रक्रिया अघि नबढाउँदा रकम फ्रिज हुन पुग्यो । 


रूपन्देहीमा पाँच दिनमा पाँच गुणाले अक्सिजनको माग बढ्यो

रूपन्देहीमा कोरोना संक्रमितको संख्या बढेसँगै बुधबारदेखि उपचारमा समस्या देखिन थालेको छ । भैरहवास्थित भीम अस्पतालमा बेड अभावमा अस्पतालबाहिरै उपचार थालिएको छ । अस्पतालमा आउने बिरामीका लागि प्रायः अक्सिजन आवश्यक देखिएको छ । २७ बेड क्षमताको अस्पतालमा बेड अभावमा गल्ली र अस्पतालबाहिर उपचार गर्न बाध्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्ताले बताइन् । बुधबार भीम अस्पतालले १६ वटा इमर्जेन्सी बेड थप गरेको छ । अस्पतालमा बेड संख्या ५६ पुगेको छ । एक सय बेड कोभिड अस्पताल सञ्चालन गरेको युनिभर्सल मेडिकल कलेजले ६० वटा एचडियु बेड थप गर्न स्थानीय प्रशासनसँग दैनिक तीन सय अक्सिजन सिलिन्डर माग गरेको छ ।

दैनिक ८० देखि एक सय अक्सिजन सिलिन्डर खपत गर्ने अस्पतालहरूले अक्सिजनको माग बढाएका छन् । युनिभर्सल मेडिकल कलेजले अन्य समयमा एक सय अक्सिजन सिलिन्डर खपत गर्दै आएको थियो । सय बेडको कोभिड अस्पताल बनाएसँगै दैनिक पाँच सय सिलिन्डर खपत गरेको छ । अस्पतालले केही दिनमै थप ६० वटा कोभिड एचडियु बेड थप गर्न लागेको छ । त्यसका लागि कलेजलाई थप तीन सय अक्सिजन सिलिन्डर आवश्यक पर्छ । जिल्लामा रहेका तीनवटा अक्सिजन उद्योगले ११ सय सिलिन्डर उत्पादन गर्दै आएका छन्, त्यसमा मेडिकल कलेजले मात्र आठ सय सिलिन्डर खपत गरेकाले अन्य अस्पतालमा अभाव देखिन थालेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । कोभिडका बिरामीलाई हाईफ्लोमा अक्सिजन दिनुपर्ने भएकाले खपत बढी भएको उनको भनाइ छ । बुधबारदेखि ५६ बेड सञ्चालनमा ल्याएको भीम अस्पतालमा दैनिक एक सय ४० सिलिन्डर खपत हुने गरेको छ । 

अक्सिजन नपाउँदा बाँकेका अस्पतालले क्षमता विस्तार गर्न सकेनन्
बाँकेमा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव भएपछि क्षमता विस्तारमा पूर्णविराम लागेको छ । अक्सिजन नपाएपछि तीन सय शड्ढयाको कोभिड अस्पताल बनाउने योजना तुहिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जनाएको छ । 

‘कोरोना संक्रमितको संख्या दिनदिनै थपिँदै गएपछि शिक्षण अस्पताल कोहलपुरलाई कोभिड र शिक्षण अस्पताल नेपालगन्जलाई ननकोभिड अस्पताल बनाउने तयारी थियो,’ कोभिड अस्पतालका इन्चार्ज डा. दिनेश श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘तर, अक्सिजन अभावमा योजना तुहियो ।’ अक्सिजन अभावका कारण शिक्षण अस्पतालले एक सय बेडको मात्र कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । एक सय बेडको कोभिड अस्पतालमा दैनिक एक सय २० सिलिन्डर अक्सिजन खपत हुने गरेको डा. श्रेष्ठले बताए । ‘तीन सय बेड कोभिड अस्पताल सञ्चालन गर्न तीन सय ५० सिलिन्डर अक्सिजन आवश्यक पर्छ,’ उनले भने, ‘जुन हामीसँग उपलब्ध हुन सकेन ।’

लिक्विड अक्सिजन पनि सीमित मात्रामा भएको उनले बताए । लिक्विड अक्सिजन भारतबाट आयात हुँदै आएको छ । भारतमै संक्रमित बढेपछि भारतले अक्सिजन पठाउन बन्द गरेको उनले बताए । ‘लिक्विड अक्सिजन भारतबाट ल्याउन सक्ने अवस्था छैन । हामीसँग भएको लिक्विड अक्सिजन पनि बढीमा दुई साता टिक्ला । त्यसपछि झन् समस्या आउन सक्छ,’ उनले भने, ‘सरकारले अक्सिजनको व्यवस्था गरे कोभिडका बिरामीलाई हामी सेवा दिन तयार छौँ ।’ 

बाँकेमा दुईवटा अक्सिजन प्लान्ट छ । यहाँका प्लान्टको दैनिक एक हजार पाँच सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ । बाँकेमा उत्पादन भएको अक्सिजन कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु तथा लुम्बिनी प्रादेशिक अस्पतालमा पु¥याउँदै आएका छन् । भेरी अस्पतालमा मात्र दैनिक पाँच सय सिलिन्डर अक्सिजन माग भएको छ । 


हेटौँडाबाट सुदीप शिवाकोटी, सिन्धुलीबाट विदुर पौडेल, नुवाकोटबाट नवदीप अजनबी, बाँकेबाट विश्वराज पछल्डङ्ग्या जनकपुरधामबाट हदिश खुद्दार, भैरहवाबाट दिपेश पछाई