मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २२ बुधबार १८:३७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा प्रेस स्वतन्त्रतामाथि प्रहारका ४५ घटना, कोरोना कालमा पाँच सय १७ पत्रकार विस्थापित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २२ बुधबार १८:३७:००

नेपालमा कोरोना महामारीको अवधिमा मात्रै पाँच सय १७ जना पत्रकार विस्थापित भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन इकाइले गरेको अध्ययनअनुसार यस वर्ष प्रेस स्वतन्त्रतामाथि प्रहारका ४५ वटा घटना भएकामा पत्रकारहरूको पेसागत सुरक्षाका घटना सबैभन्दा बढी रहेका छन् । जसमध्ये कोरोना महामारीको समयमा मात्रै पेसागत सुरक्षाका हिसाबले पीडित पत्रकारको संख्या पाँच सय १७ रहेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा सोमबार नेपाल पत्रकार महासंघले भर्चुअल कार्यक्रममार्फत सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष ४५ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका छन् । ती घटनामा पाँच सय ८४ जना पत्रकार र तीनवटा सञ्चार संस्था पीडित भएका छन् । पीडित पत्रकारमध्ये ७७ जना महिला पत्रकार रहेका छन् । 

यो वर्ष ६ जना पत्रकार गिरफ्तारीमा परेका छन् । यस्तै, कब्जा र अवरोधबाट चारजना पत्रकार पीडित भएका महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । ४८ पत्रकारमाथि आक्रमण भएको छ । १२ पत्रकार धम्की र दुव्र्यवहारमा परेका छन् ।

दिवसको सन्दर्भमा महासंघका पोखरेलले शुभकामना सन्देश दिँदै कोरोनाको बहानामा सञ्चारकर्मीलाई निष्कासन नगर्न, सेवासुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन् । उनले कोरोनाको नयाँ भेरियन्टसहितको दोस्रो चरणको संक्रमण बढिरहेका वेला कोरोनालाई कारण देखाएर सञ्चारगृहले पत्रकारलाई विस्थापित गराउने खतरा उत्तिकै रहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे । 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले सञ्चारकर्मीलाई स्वतन्त्र ढंगले काम गर्न पाउने वातावरण राज्यले निर्माण गर्नुपर्ने बताए । उनले नागरिकको सत्यतथ्य सूचना पाउने अधिकारको ग्यारेन्टी गरिनुपर्ने बताए । 

यस्तै, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतन्त्रको मुख्य आधार नै स्वच्छ र मर्यादित निर्वाचन भएको भन्दै त्यसका लागि पूर्ण प्रेस स्वतन्त्रताको भूमिका हुने बताए । उनले स्वच्छ र मर्यादित निर्वाचनका लागि मिडियाको सकारात्मक भूमिकाका लागि आग्रह गरे । प्रमुख आयुक्त थपलियाले अहिले बढ्दो क्रममा रहेको गलत सूचना सम्प्रेषणलाई निरुत्साहित गर्न महासंघले भूमिका खेल्नुपर्ने सुझाब दिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरू डा. सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँले, डा. महेन्द्र विष्ट र सल्लाहकार निर्मला आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए ।