१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मुना कुँवर काठमाडाैं
२०७८ बैशाख १९ आइतबार ०९:१४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिमा समितिले एउटा पुनर्बिमा कम्पनीलाई मात्रै लाइसेन्स दिने, चुक्ता पुँजी १० अर्ब 

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७८ बैशाख १९ आइतबार ०९:१४:००

हालको पुनर्बिमा कम्पनीका लगानीकर्ताले नयाँमा लगानी गर्न नपाउने, हाल लाइसेन्स लिने प्रक्रियामा रहेका चारवटा कम्पनीमध्ये कसले मार्ला बाजी?

बिमा समितिले थप एउटा बिमा कम्पनीलाई मात्रै लाइसेन्स दिने भएको छ । यसअघि अनुमतिपत्रका लागि दर्ता भएका सबै कम्पनीलाई रद्द गर्दै समितिले नयाँ पुनर्बिमा कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान गरेको हो । समितिले आगामी २१ दिनभित्रमा प्रस्ताव बुझाउन सूचना जारी गरेको छ । 

समितिले जारी गरेको सूचनाअनुसार नयाँ पुनर्बिमा कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ हुनुपर्नेछ । त्यस्तै, यसअघि स्थापना भइसकेको नेपाल पुनर्बिमा कम्पनीमा लगानी गरेका लगानीकर्ताले नयाँ कम्पनीमा लगानी गर्न पाउनेछैनन् । अहिले सञ्चालनमा रहेको नेपाल पुनर्बिमा कम्पनीमा सबै निर्जीवन कम्पनीहरूको लगानी रहेकाले नयाँ कम्पनीमा उनीहरूले लगानी गर्न नपाउने भएका छन् । 

समितिले जारी गरेको सूचनाअनुसार निवेदन दिने कम्पनीमध्ये मूल्यांकनका आधारमा छनोट गरी एउटा पुनर्बिमा कम्पनीलाई मात्रै सञ्चालन अनुमति दिने उल्लेख छ । अहिले चारवटा पुनर्बिमा कम्पनीले सञ्चालनको तयारी गरिरहेका छन् । काठमाडाैँ रिइन्स्योरेन्स, अन्नपूर्ण रिइन्स्योरेन्स, प्रुडेन्सियल रिइन्स्योरेन्स र जेन्युन रिइन्स्योरेन्स कम्पनी पुनर्बिमा कम्पनीको लाइसेन्स लिने प्रयासमा थिए । 

महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, पूर्वबैंकर देवेन्द्रप्रताप शाहको सहभागितामा काठमाडौं रिइन्स्योरेन्स कम्पनी बिमा समितिमा दर्ता गरिएको छ । कम्पनीको अधिकृत पुँजी २० अर्ब, चुक्ता पुँजी ७ अर्ब, जारी पुँजी १० अर्ब रुपैयाँ तोकिएको छ । ४० प्रतिशत संस्थापक र २० प्रतिशत व्यक्तिगत संस्थापकको लगानी हुने कम्पनीले जनाएको छ । त्यस्तै, ३० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ ।

त्यस्तै, आइएमई ग्रुप, विशाल ग्रुप, शंकर ग्रुपलगायत व्यावसायिक घरानाको लगानीमा प्रुडेन्सियल रिइन्स्योरेन्स कम्पनी सञ्चालनको तयारी गरिएको छ । कम्पनीको अधिकृत पुँजी २० अर्ब, चुक्त पुँजी १० अर्ब रुपैयाँ रहने कम्पनीले जनाएको छ । त्यस्तै, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोसहितको लगानीमा अन्नपूर्ण रिइन्स्योरेन्स कम्पनीले पनि लाइसेन्स लिने प्रयास गरिरहेको छ । कम्पनीको अधिकृत पुँजी १५ अर्ब र चुक्ता पुँजी १० अर्ब रुपैयाँ हुने कम्पनीले जनाएको छ । बिमा समितिका पूर्वकार्यकारी निर्देशक श्रीमान कार्कीसहितको लगानीमा जेन्युन रिइन्स्योेरेन्स कम्पनी दर्ताको तयारीमा छ । कम्पनीको अधिकृत पुँजी २० अर्ब र चुक्ता पुँजी १० अर्ब हुने जनाइएको छ । 

यसअघि समितिमा दर्ता भएका कम्पनी रद्द हुने बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । ‘कुनै कम्पनी दर्ता हुन चाहेमा नयाँ प्रक्रियाबाट दर्ता हुनुपर्नेछ,’ उनले भने । समितिले निर्धारण गरेको मापदण्ड पूरा गरी आएका कम्पनीलाई मात्रै दर्ता गरिने र उत्कृष्ट कम्पनीलाई दर्ता अनुमति दिइने उनले बताए ।  

नेपालमा हाल एउटा मात्रै पुनर्बिमा कम्पनी थप्न सकिने बिमा समितिको अध्ययन प्रतिवेदनले देखाएको छ । समितिले बिमाविज्ञ भोजराज शर्मा, बिमक संघका अध्यक्ष एवं शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेसहितको अध्ययन समिति गठन गरी नेपालमा पुनर्बिमाको आवश्यकतासम्बन्धी अध्ययन गरेको थियो । सो अध्ययनले एउटा मात्रै कम्पनी थप्न सकिने निष्कर्ष निकालेको समितिका अध्यक्ष सिलवालले बताए । 

हाल नेपालमा एउटा मात्रै पुनर्बिमा कम्पनी– नेपाल पुनर्बिमा कम्पनी सञ्चालनमा छ । जसमा नेपाल सरकारको ४४ प्रतिशत, गुह्येश्वरी मर्चेन्ट बैँकिङ एन्ड फाइनान्सको शून्य दशमलव ३६, ग्लोबल आइएमई क्यापिटल शून्य दशमलव ३०, ग्लोबल आइएमई बैंकको शून्य दशमलव ६०, हाथवे इन्भेस्टमेन्टको शून्य दशमलव ९६, आइएमई समूहको १ दशमलव २० र विशाल ग्रुपको ३ प्रतिशत, बाँकी निर्जीवन बिमा कम्पनीहरूको लगानी रहेको छ । कम्पनीले सरकारी बन्ड र अन्य बैंक तथा वित्तीय संस्थामा समेत लगानी गरेको छ । नेपाल सञ्चालनमा रहेका बिमा कम्पनीहरूले प्रत्यक्ष पुनर्बिमाअन्तर्गत २० प्रतिशत पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनीमा नै गर्नुपर्ने सरकारले प्रावधान तोकेको छ ।

प्रस्तावित नयाँ पुनर्बिमा कम्पनीका सञ्चालकमध्ये एकतिहाइले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिकामा यस्तो व्यवस्था गरिएको छ । कम्पनीले सबैभन्दा पहिला बिमा समितिबाट बिमा व्यवसाय गर्ने कम्पनी संस्थापना गर्ने सहमति प्राप्त गर्नुपर्नेछ । संस्थापकहरू कालोसूचीमा नरहेको वा कालोसूचीबाट हटेको तीन वर्ष पूरा भएको पुष्टि गर्ने कागजात पेस गर्नुपर्नेछ । संस्थापकहरूको वित्तीय स्वार्थ भएको कुनै संस्था भए त्यस्तो संस्थाको विवरण खुल्ने कागजात हुनुपर्नेलगायत व्यवस्था गरिएको छ । प्रस्ताव गरिएको निवेदनमा समितिले जाँचबुझ गरी १ सय २० दिनभित्र सहमति दिनुपर्नेछ ।