मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ बैशाख १५ बुधबार १०:१८:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

पहिरोपीडितलाई सभामुखको आश्वासन :  वर्षाअघि नै जस्तापाताको टहरा

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ बैशाख १५ बुधबार १०:१८:००

चैतको हुरीले बाँसखर्कमा आश्रय लिइरहेका पहिरोपीडितको वास बनेको चाइनिज टेन्ट उडाएर भोटेसेलाङ पुर्‍यायो । टेन्ट उडाएपछि जुगल गाउँपालिका–२ लिदीका एक सय ७२ परिवार पहिरोपीडितले केही रात खुला आकाशमा बिताए । वडाध्यक्ष प्रताप लामाले प्रमुख जिल्ला अधिकारीसँग रोइकराइ गरेर ११ टेन्ट र ६० ओढ्ने–ओछ्याउने बाँसखर्क पुर्‍याएपछि केही राहत मिल्यो । तर, पहिरोपीडितलाई थाहा छ, यो अस्थायी राहत मात्र हो । 

‘टेन्ट नभए लुक्ने ठाउँ हुँदैन, भए पनि गर्मीले उकुस–मुकुस हुन्छ,’ पीडित विष्णु दोङले भने । गत वर्षको ३० साउनमा गाउँमाथिबाट झरेको ठूलो पहिरोले ३९ जनाको ज्यान लियो । ३० घर पुरिए । घरमा भएको अन्नपात र बस्तुभाउ छाडेर ज्यान जोगाउन लिदीवासी बाँसखर्क सरे । पहिरोपीडितलाई सरकारी र अन्य निकायबाट धेरै राहत सामग्री वितरण गरियो । तर, वर्ष दिन हुन लाग्यो बसोवासको कुनै टुंगो छैन । सहयोगीहरूले पीडितको नाममा दिएको ४० लाखभन्दा बढी रकम पालिकाको खातामा जम्मा भएको छ । त्यसउपर गाउँपालिकाले कुनै निर्णय लिन सक्दैन । जसका कारण उनीहरूको वासको अझै टुंगो लाग्न सकेको छैन । 

यही क्षेत्रका सांसदसमेत रहेका सभामुख अग्निप्रसाद सापकोटा सोमबार लिदीवासीलाई भेट्न पुगे । त्यसो त उनी यसअघि पनि पटक–पटक गएका छन् । तर, उनले पनि के गर्ने भनेर खास निर्णय दिनसकेका छैनन् । वर्षाले छोपिइसकेको छ । हुरीको झोक्काले प्वाल परेका टेन्टमा बसिरहेका पीडित भेट्न पुगेका सापकोटाले वर्षाअघि नै जस्तापाताको अस्थायी टहरो बनाएर बर्खेझरी छिचोल्ने आश्वासन बाँडेर फर्किए । उनले भने, ‘तपाईंहरू नआत्तिनुस् वर्षाअघि नै अस्थायी टहरो बनाइनेछ ।’ 

स्थायी संरचना बनाउन आउँदो आर्थिक वर्ष कुर्नुपर्ने भएकाले यसपालिको वर्षा कटाउन अस्थायी टहरो बनाउनुपर्ने अवस्था आएको सभामुखले बताए । अस्थायी टहरो निर्माणका लागि राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरणसँग कुरा गर्ने सभामुखको आश्वासन थियो । पीडितसँग अन्तक्र्रिया गरेर सभामुखले बाँसखर्कको वास्तविकता बुझ्ने प्रयास गरेका छन् । टेन्टमा बसिरहेका पहिरोपीडितका लागि वडाले राखेको भण्डारमा ३० बोरा चामल मात्रै मौज्दात छ । दाल, तेल ,चिनी र अन्य सामग्री सकिएको वडाध्यक्ष लामाले बताए । 

सभामुख, स्थानीय सरकार र जिल्लास्थित सरकारी निकायले संयुक्त रूपमा बाढीपहिरोपीडितको व्यवस्थापनका लागि धेरैपटक छलफल गरेका छन् । तर, हालसम्म कुनै ठोस कार्यान्वयन भएको छैन । लिदी मात्रै होइन बाह्रबिसेको जम्बु, नागपूजे र भोटेकोसीका पीडितका लागि पनि ठोस कदम चालिएको छैन ।