१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o७:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्सेको थामिने प्रयाससँगै कारोबार रकममा वृद्धि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:o२:oo

चैत ३१ गतेदेखि ओरालो लाग्न थालेको नेप्से थामिने प्रयासमा देखिएसँगै कारोबार रकममा दैनिक रूपमा सुधार देखिन थालेको छ । २ हजार ७ सय ३५ बिन्दुको उचाइ छोएर घटिरहेको नेप्से बिहीबार दोहोरो अंकले बढेको छ । नेप्से करिब १६ अंकले बढेर २ हजार ६ सय ४८ मा आइपुगेको हो । दुई दिनयता कारोबार रकममा पनि क्रमिक सुधार भइरहेको छ । कारोबार रकम क्रमशः ४ प्रतिशत र २ दशमलव ४७ प्रतिशतले बढेको हो । बिहीबार ५ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको छ ।  

बिहीबार पनि नेप्सेमा उच्च उतारचढाव देखिएको छ । सर्वाधिक उचाइनजिककै बजार भएकाले बजारले स्पष्ट संकेत गर्न सकिरहेको छैन । यद्यपि, कम्पनीहरूको वित्तीय विवरणहरू प्रकाशित हुन थालेसँगै यसको प्रभाव बजारमा पर्न थालेको देखिन्छ । 

यस दिन तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको ज्योति विकास बैंक र सिभिल बैंकको मूल्य बढेको छ । त्यस्तै, दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको विशाल बजारको सेयर मूल्यसमेत करिब १० प्रतिशतले बढेको छ । 

ज्योति विकास बैंकको नाफा करिब ४० प्रतिशतले बढेर ६० करोड पुगेपछि मूल्य करिब ३ प्रतिशतले बढेर २ सय ६७ रुपैयाँ पुगेको हो । त्यस्तै, सिभिल बैंकको मूल्य सीमान्तदरमा बढेर २ सय ३९ रुपैयाँ पुगेको छ । लामो समय वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै कारोबार नै रोक्का गरेको विशाल बजारको कारोबार खुलेको दिन नै १० प्रतिशतले मूल्य बढेर ३ हजार १ सय ६८ रुपैयाँ पुगेको छ । 

विशाल बजार कम्पनीको दोस्रो त्रैमासमा नाफा मात्रै ५ प्रतिशतले बढेर ६ करोड २५ लाख पुगेको छ । तर, कम्पनीको नाफामा भन्दा पनि लगानीकर्ताको ध्यान भने कम्पनीले सार्वजनिक गरेको अन्य विवरणले तानेको हो । कम्पनीले सर्वोच्च अदालतको निर्णयअनुसार अधिकृत, जारी र चुक्ता पुँजी गरी ४ अर्ब १ करोड कायम गरेर सरकारको नाममा सेयर लागत राखिएको उल्लेख गरेको छ । हाल ५ करोड चुक्ता पुँजी रहेको कम्पनीको भवन सरकारी जग्गामा रहे पनि कम्पनीको स्वामित्व सरकारमा आउन सकिरहेको छैन । यही रकम सरकारी स्वामित्वका रूपमा कायम हुनेछ । त्यसैले पनि कम्पनीमा धेरैअघिदेखि लगानीकर्ता आकर्षित हुँदै आएका छन् । कम्पनीको कारोबार १२ माघ ०७७ बाट रोक्का थियो ।  

बिहीबार सिन्धु विकास बैंकको पनि मूल्य उच्च दरमा बढेको छ । अघिल्लो वर्षको तुलनामा त्रैमासिक नाफा उच्च दरमा बढिरहेकाले कम्पनीमा आकर्षण बढेको देखिन्छ । गत आवको दोस्रो त्रैमासमा १० करोड रुपैयाँ कमाएको कम्पनीले चालू आवको दोस्रो त्रैमासमा भने ३३ करोड रुपैयाँ कमाएको छ । तेस्रो त्रैमासिक वित्तीय विवरण आउने समय नजिकिँदै गर्दा मूल्य बढेको देखिन्छ । यद्यपि, कम्पनीको दोस्रो त्रैमासमा लाभांश क्षमता करिब ३ प्रतिशत मात्रै देखिएको र खराब कर्जादर पनि बढेर २ दशमलव ५२ प्रतिशत पुगेको थियो । 

यस दिन २ सय १४ कम्पनीको १ करोड ३० लाख कित्ता–इकाइ सेयर किनबेच भएको छ । सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक रहेको छ । बैंकको ६२ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । नबिल बैंकसँग मर्जरको हल्लाले कम्पनीको कारोबार बढाएको हो । 

कारोबार रकमका आधारमा नेपाल पूर्वाधार बैंक दोस्रो र एनआइसी एसिया लघुवित्त वित्तीय संस्था तेस्रो स्थानमा देखिएका छन् । तीन गुणाले नाफा बढाएको एनआइसी एसियाको २१  करोड ३५ लाख रुपैयाँको कारोबार भएको हो । कम्पनीको नाफा १२ करोडबाट बढेर ४२ करोड पुगेको छ । त्यस्तै, महिला लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंकको समेत मूल्य करिब १० प्रतिशत हाराहारी बढेको छ । यस दिन सबैभन्दा धेरै घट्नेमा हिमालयन ऊर्जा कम्पनी छ । 

ad
ad