१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o८:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
सम्पादकीय प्रिन्ट संस्करण

सतर्कताको विकल्प के छ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:४८:oo

एक साताबीचमा दैनिक संक्रमित हुनेको संख्या एक सयबाट एक हजार र एक हजारबाट दुई हजार माथि उक्लिँदै जाँदा नेपाल स्वास्थ्य सेवा असफल हुने देशतिर उन्मुख हुने हो कि भन्ने चिन्ता छ । स्वास्थ्य मन्त्रालय यसबारे चेतावनी जारी गरिरहेको छ । आगामी ६० दिन नेपालमा संक्रमण दर उच्च हुन सक्ने र स्वास्थ्य सेवासम्बन्धी उपलब्ध स्रोत तथा साधनले संक्रमितको उपचारका लागि आवश्यक माग धान्न नसक्ने मन्त्रालयका अधिकारीहरू बताइरहेका छन् । यता देशका प्रमुख अस्पतालमा अक्सिजन उत्पादन गर्ने प्लान्टहरू बिग्रेर थन्किएका छन् । कोरोना संक्रमितलाई रोगले च्याप्दै जाँदा चाहिने भनेकै अक्सिजन हो ।

अहिलेको प्राथमिकता भनेको संक्रमण हुन नदिने प्रतिकारात्मक उपायको अवलम्बन नै हो । अहिले पनि आममानिस र विभिन्न संस्थाहरू कोरोना संक्रमणको सम्भावित चित्रलाई अनदेखा गरिरहेका छन्, जुन उचित होइन ।

एकातिर संक्रमणको दर र गम्भीर अवस्थाका बिरामीको संख्या दिनदिनै बढिरहेको छ भने अर्कोतिर त्यसले माग गर्ने अत्यावश्यक सुविधाहरू अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटरको उपलब्ध संख्या न्यून छ । दैनिक १० हजारभन्दा बढी संक्रमित हुन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनीलाई मध्यनजर गर्दा त्यस्ता संक्रमितमध्ये पाँच प्रतिशत मात्र गम्भीर बिरामी पर्ने हो भने बिरामीले सघन उपचार कक्ष र भेन्टिलेटर नै नपाउने अवस्था आउन सक्छ । त्यसैले अहिलेको प्राथमिकता भनेको संक्रमण हुन नदिने प्रतिकारात्मक उपायको अवलम्बन नै हो । स्वास्थ्य मन्त्रालयले यससम्बन्धी मापदण्ड र चेतावनी जारी गरिरहे पनि खासगरी सरकारका उच्चपदस्थ व्यक्तिबाटै चेतावनीको बेवास्ता गरी खेलाँची गरिरहेको देखिनु आपत्तिजनक छ । 

कतिसम्म भने पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका संस्कृतिमन्त्री भानुभक्त ढकाल र पूर्वसभामुख सुभाषचन्द्र नेम्बाङले त यस्तो चेतावनी या सतर्कतासम्बन्धी मापदण्डहरू राजपत्रमा प्रकाशित नभइसकेको भनेर आफ्ना लापर्बाहीपूर्ण गतिविधिको बचाउ गरेका छन् । राम र सीताको मूर्ति स्थापनाका नाममा प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको सहभागितामा जे–जस्तो भिड जम्मा गरियो, त्यसले संक्रमण दर घटाउन होइन, बढाउनकै लागि भूमिका खेल्छ । भर्खर कुम्भमेलामा पुगेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहको दम्पतीमा देखिएको कोरोनाले दिने सन्देश पनि यही हो कि कोरोनाले शक्ति, राजनीतिक आवश्यकता तथा आर्थिक, सामाजिक बाध्यता स्वीकार गर्दैन । 

तर, अहिले पनि सहरका चोक–चोक र खाजा पसलमा, सार्वजनिक यातायात र व्यापारिक कम्प्लेक्समा, सरकारी र निजी कार्यालयमा भौतिक दूरी कायम नगरी, मास्क र सेनिटाइजरको प्रयोग नगरी भिडभाड गर्नेको कमी छैन । मानिस आफूलाई कोरोनाले छुँदैन भनेझैँ गरी हिँडिरहेका छन् । यसले संक्रमण दर बढाउने र भयावह अवस्था आउनेतिरै संकेत गरेको छ । सरकारको क्षमताका सीमितता देखिसकेपछि उसलाई धारेहात लाउनेभन्दा पनि सबैले सतर्कता अपनाउनतर्फ जोड दिनु नै अहिलेका लागि एउटा विकल्प हो । अहिले पनि मुख्यतया आममानिस र विभिन्न संस्थाहरू कोरोना संक्रमणको सम्भावित चित्रलाई अनदेखा गरिरहेका छन्, जुन उचित होइन । पछि आवश्यक उपचार नपाएर आफँै आफन्त र प्रियजनको छटपटीमा तड्पिनुभन्दा अहिले नै सतर्क बनौँ । अन्यथा हामीलाई कोरोनाको त्रासदीबाट कसैले जोगाउन सक्दैन । 

ad
ad