१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७८ बैशाख ९ बिहीबार ०६:१५:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जनता आफैँ सतर्क बनौँ किनकि सरकारको तयारी यस्तो छ : वीर, पाटन, पोखरा र धरानजस्ता प्रमुख अस्पतालका अक्सिजन प्लान्ट एक वर्षअघि नै बिग्रिएका हुन्, यो महामारीमा समेत बनेका छैनन्

Read Time : > 5 मिनेट
२०७८ बैशाख ९ बिहीबार ०६:१५:००

वीर अस्पतालको अक्सिन प्लान्ट एक वर्षदेखि बन्द छ

वीर : गत वर्ष जब दुनियाँभर नेपालमा कोभिडको पहिलो लहर आयो, त्यही वेला देशको जेठो अस्पताल तथा विपन्नको सहारा वीर अस्पतालको अक्सिजन प्लान्ट बिग्रियो । तर, देश महामारीको अभूतपूर्व चपेटामा छ, तर एक वर्षसम्म पनि वीर अस्पतालको अक्सिजन प्लान्ट अझै मर्मत भएको छैन । वीरमा सामान्य अवस्थामा दैनिक सय सिलिन्डर अक्सिजन खपत हुन्छ । तर, कोभिडको समयमा तीन सय सिलिन्डर खपत हुने बताउँछन् वीर अस्पतालका कोभिड संयोजक डा. अच्युत कार्की । यही वेला अक्सिजन प्लान्ट थन्किएको छ । ‘बीचमा केही दिन चलेको थियो, तर लगत्तै बिग्रियो, यही वेला अक्सिजनको सप्लाई कम हुन थालेको छ, अब कसरी व्यवस्था गर्ने भन्ने समस्या देखिएको छ,’ कार्की भन्छन् । 

पाटन अस्पतालको अक्सिन प्लान्ट पनि एक वर्षदेखि नै बन्द छ

पाटन : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट बिग्रिएको एक वर्ष भइसकेको छ । सयभन्दा बढी सिलिन्डर प्रयोग हुने अस्पतालमा अक्सिजन प्लान्ट अनिवार्य मानिन्छ । तर, करिब तीन सय सिलिन्डर प्रयोग हुने पाटनको अक्सिजन प्लान्ट एक वर्षदेखि बन्द छ । ‘मर्मत गर्ने वा नयाँ ल्याउने भन्नेमा विभिन्न चरणमा छलफल भयो, त्यसैले समय लाग्यो । अब नयाँ ल्याउनुपर्छ भन्ने टुंगोमा पुगेका छौँ,’ अस्पतालका निर्देशक डा. रवि शाक्य भन्छन् । तर, त्यो पनि कहिले आउने भन्ने टुंगो छैन । 

पोखरा : अक्सिजन प्लान्ट बनाउन आएको बजेट बैंकमा राखेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिलिन्डर खरिद गरिरहेको छ । अक्सिजन प्लान्टका लागि विनियोजित ६५ लाख रुपैयाँ पाँच वर्षदेखि बैँकमा छ । जब कि प्रतिष्ठानमा दैनिक करिब एक सय ५० सिलिन्डर खपत हुन्छन् । 

विनियोजित रकम अपुग भएकाले प्लान्ट खरिद गर्न नसकिएको र थप बजेट पनि प्राप्त नभएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए । ‘अक्सिजन प्लान्ट जडान गर्न ६५ लाख रुपैयाँ विनियोजन भएको थियो, तर दुई करोड रुपैयाँ लाग्ने भएपछि खरिद भएको छैन । त्यसैले म आउनुभन्दा केही वर्षअघिदेखि नै रकम बैंकमा छ,’ उनले भने । आचार्य निर्देशक भएको साढे तीन वर्ष भएको छ । 

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लान्ट बिग्रिएको छ । यो अस्पतालमा सामान्य अवस्थामा पनि दैनिक एक सय ५० सिलिन्डर खरिद गरिन्छ । अझ, अहिले कोभिड समयमा यसको प्रयोग दोब्बर भएको छ । तर, यस्तो वेला पनि अस्पतालले प्लान्ट बनाएको छैन । सिलिन्डर खरिद गरेर जुगाड चलाइरहेको छ । 

टेकु अस्पतालको प्लान्टमा अक्सिजन सकिएको छ, अहिले सिलिन्डरको भर

टेकु : टेकु अस्पतालले कोरोना संक्रमितलाई सिलिन्डरको माध्यमबाट अक्सिजन पुर्‍याउन नसकिने भन्दै एक वर्षअघि ‘लिक्विड अक्सिजन प्लान्ट’ जडान गरेको थियो । तर, यो प्लान्ट बुधबारबाट खाली भएको छ । ‘प्लान्ट भनिए पनि अक्सिजन आफैँ उत्पादन गर्ने होइन, बाहिरबाटै ल्याएर हाल्ने हो । तर, आपूर्ति घटेकाले प्लान्ट खाली भएको छ,’ अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भन्छन् । बुधबार दिउँसोबाट टेकुमा पनि सिलिन्डर प्रयोग गर्न थालिएको छ । 

‘टेकुमा ५० बेडमा निरन्तर अक्सिजन दिनुपर्दा एक घन्टामा ६ सिलिन्डर सकिन्छन् । यसरी एकै दिन टेकुमा मात्रै एक सय ४४ सिलिन्डर सकिन्छ । यति धेरै माग सिलिन्डिरबाट लामो समय धान्न गाह्रो छ, तर केही दिनमा प्लान्ट नै सञ्चालमा आउने विश्वासमा छौँ,’ टेकु अस्पतालका बायोमेडिकल टेक्निसियन लक्ष्मण रिमाल भन्छन् । 

...                           ...

कोभिड महामारी बढ्दै गएकाले नेपालमा अक्सिजनको चरम संकट हुने देखिएको छ । तर, देशका प्रमुख वीर, पाटन, धरान र पोखरा अस्पतालमा वर्षौँअघि बिग्रिएका अक्सिजन प्लान्ट अझै बनेका छैनन् । यही वेला टेकु अस्पतालको प्लान्ट पनि खाली भएकाले सिलिन्डरबाट अक्सिजन दिन थालिएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार ८० प्रतिशत कोरोना संक्रमित सामान्य अवस्थाका हुन्छन् । १५ प्रतिशत लक्षणसहितका र पाँच प्रतिशत गम्भीर बिरामी हुन्छन् । तर, २० प्रतिशत बिरामीलाई कुनै पनि वेला अक्सिजन दिनुपर्ने हुन सक्छ । कोभिडको कुनै औषधि छैन, गम्भीर बिरामीलाई अक्सिजन नै ‘लाइफलाइन’ हो । प्लान्टबाट बेडसम्म जोडिएको प्रणालीले मात्र बिरामीलाई निरन्तर अक्सिजन सप्लाईको ग्यारेन्टी गर्छ । तर, यत्रो महामारीका वेला समेत ठूला सरकारी अस्पतालले प्लान्ट बनाएनन् । 

चिकित्सकका अनुसार कोरोना भाइरसले मुख्य गरी फोक्सोमा निमोनिया गराउने र अक्सिजन आयातमा ह्रास ल्याउँछ । ‘सामान्यतया अरू बिरामीको रगतमा अक्सिजन स्याचुरेसन ९० पुग्दा अक्सिजन दिने गरिन्छ । तर, कोभिड सीधै फोक्सोसँग सम्बन्धित भएकाले अक्सिजन लेभल ९४ बाट तल झर्नासाथ अक्सिजन दिनुपर्छ,’टेकु अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाले भन्छन् । 

कोरोना संक्रमित धेरै बढेकाले सबैलाई सिलिन्डरबाट अक्सिजन सेवा प्रवाह गर्न सहज नहुने बताउँछन् चिकित्सकहरू । सिलिन्डरको अक्सिजन सकिएका वेला तुरुन्त प्रतिस्थापन नभएमा बिरामीको मृत्युसमेत हुन्छ । तर, अस्पतालहरू यो जोखिम लिन तयार देखिएका छैनन् । 

देशभर निजी र सरकारी गरी ३० वटा अक्सिजन प्लान्ट छन् । तर, एक सय २५ सरकारी अस्पतालमध्ये १६ मा मात्रै अक्सिजन प्लान्ट छन्, त्यसमा पनि चार सञ्चालनमा देखिएको छ । एक वर्षअघिदेखि बिग्रिएका प्लान्ट अहिलेसम्म पनि मर्मत गर्ने पक्षमा सरकार र अस्पताल दुवै छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले उपत्यकाभित्र टेकु अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र शिक्षण अस्पताल तथा थापाथली प्रसूतिगृहमा मात्रै प्लान्ट सञ्चालनमा छन् ।

त्यस्तै उपत्यकाबाहिरका सरकारी अस्पतालमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, डडेल्धुरा अस्पताल, सेती प्रादेशिक अस्पताल, बयलपाटा अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, हुम्ला जिल्ला अस्पताल, धौलागिरि अस्पताल, पर्वत जिल्ला अस्पताल, गोरखा जिल्ला अस्पताल, त्रिशूली अस्पताल, भरतपुर अस्पताल, कोसी अस्पताल र धनकुटा अस्पतालमा अक्सिजन प्लान्ट छन् । 

निजी अस्पतालमध्ये अल्का, ग्रान्डी, नर्भिक, चितवन मेडिकल कलेज, चुरेहिल अस्पताल, माया मेट्रो अस्पताल कैलाली, चोपेडा अस्पताल डोटी, गण्डकी मेडिकल कलेज, फिस्टेल अस्पताल, फ्यु सिटी अस्पताल, नोबेल मेडिकल कलेज, न्युरो कार्डियो अस्पताल, बी एन्ड सी अस्पताल र मेरो अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार सरकारले अक्सिजन आयात गर्ने उद्योगीसँग छलफल सुरु गरेको छ । ‘खासमा कोभिड तीव्र गतिमा फैलिएकाले भारतले अक्सिजन निर्यातमा कडाइ गरेको छ । त्यसको असर नेपालमा पनि पर्छ । नेपाली उद्योगीले भारतबाट पर्याप्त अक्सिजन ल्याउन सकेका छैनन्, त्यसैले उनीहरूसँग छलफल गरेका छौँ,’ डा. पोखरेलले भने । 

उनले नेपाली अक्सिजन उत्पादकलाई धेरैभन्दा धेरै उत्पादन गर्न अनुरोध गरेको पनि बताए । ‘नेपालमा अक्सिजन उत्पादन गर्ने करिब २० कम्पनी छन् । यो महामारीको समयमा धेरैभन्दा धेरै अक्सिजन उत्पादन गर्न नेपाली उद्योगहरूलाई अनुरोध गरेका छौँ,’ उनले भने । 

अक्सिजन प्लान्ट एक वर्षदेखि बन्द छ, त्यसैले चिन्ता थपिएको छ : प्राडा रवि शाक्य, निर्देशक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

कोरोनाको संक्रमण तीव्र गतिमा बढ्दै गएको छ । संक्रमितहरूको अस्पताल भर्ना हुने दर पनि विगतमा भन्दा बढ्न थालेको देखिन्छ । यतिवेला ठूला अस्पतालका अक्सिजन प्लान्ट बिग्रिएका छन् ।

पाटन अस्पतालमा अक्सिजन प्लान्ट एक वर्षअघि नै बिग्रिएको हो । पुरानो प्लान्ट मर्मत गर्ने कि नयाँ बनाउने भन्नेमा लामो समय विभिन्न चरणमा छलफल भए । तर, यो प्लान्ट नबन्ने निश्चित भएकाले नयाँ खरिद गर्ने विषयमा हामी जुटेका छौँ । 

पाटन अस्पतालमा अघिल्लो वर्ष कोरोना उच्च बिन्दुमा पुग्दा दैनिक तीन सय सिलिन्डर खपत भएको थियो । अहिले पुनः त्यही माग हुने देखिएको छ । तर, आफ्नो प्लान्ट नभएकाले भनेकै समयमा सिलिन्डर आइपुग्दैन कि भन्ने डर छ । त्यसैले अहिले हामी चुनौतीपूर्ण अवस्थामा छौँ । विगतमा भन्दा बढी चिन्तित छौँ । किनकि भारतमा अक्सिजनको अभाव देखिएको छैन, त्यताबाट पूर्ववत् रूपमा आउँछ भन्नेमा ढुक्क हुने अवस्था छैन । 

भारतले अक्सिजन निर्यात बन्द गरे पनि हामी अभाव हुन दिन्नौँ : विष्णु भण्डारी शंकर अक्सिजन उद्योग
भारतबाट अक्सिजन ल्याएर नेपालका अस्पतालमा भएका प्लान्टमा भर्ने गरिएको छ । अस्पतालको प्लान्टबाट बिरामीको बेडबेडमा अक्सिजन पुग्छ । तर, कोभिड सुरु भएदेखि अक्सिजनको माग बढेको छ, आपूर्ति घटेको छ । खासमा भारतमा कोरोना संक्रमण बढेकाले उनीहरूले निर्यातमा कडाइ गरेका छन् । खासमा भारतको सरकारले नै नियन्त्रण गरेको छ । 

भारतबाट अहिले नियन्त्रित रूपमा अक्सिजन आइरहेको छ । तर, भोलि उताको स्थिति गम्भीर हुँदै जाँदा उसले निर्यात ठप्प गर्न सक्छ । तर, हामीले अस्पतालहरूलाई भनेका पनि छौँ– भारतले बन्दै गरेछ भने पनि आत्तिनुपर्दैन । हामी जसरी पनि व्यवस्थापन गर्छौँ । हामीसँग प्रशस्तै सिलिन्डर छन् । प्लान्ट भर्न बाहिरबाट लिक्विड आएन भने पनि त्यसबराबरको सिलिन्डरबाट सबै बिरामीको बेडमा अक्सिजन पुर्‍याउन सक्छौँ । 

अक्सिजन प्लान्ट भएका अस्पताल

सुदूरपश्चिम
डडेल्धुरा अस्पताल
सेती प्रादेशिक अस्पताल 
बयलपाटा अस्पताल

कर्णाली प्रदेश
प्रादेशिक अस्पताल सुर्खेत 
जिल्ला अस्पताल हुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान 

गण्डकी प्रदेश
धौलागिरि अञ्चल अस्पताल
पर्वत जिल्ला अस्पताल
गोरखा अस्पताल

बागमती प्रदेश
टेकु अस्पताल (हालै खाली भयो)
भरतपुर अस्पताल 
ट्रमा सेन्टर
थापाथली प्रसूतिगृह
शिक्षण अस्पताल (एउटा बिग्रिएको)

प्रदेश १
कोसी अस्पताल
धनकुटा अस्पताल